21.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– एक बाबाको यादले तिमी सुप्रीम बन्नुछ , त्यसैले भुलेर पनि अरू कसैलाई याद गर्नुहुँदैन ।”

प्रश्न:–
बाबासँग कुन आशा नराखेर कृपा माग्नुको सट्टा, आफैले मेहनत गर्नुछ?

उत्तर:–
पुरानो शरीरको कुनै पनि कर्मभोग छ, दिवालिया भयो वा बिरामी भयौ भने बाबाले भन्नुहुनेछ– यो त तिम्रो आफ्नो हिसाब-किताब हो, यसमा बाबाले कुनै कृपा गर्नुहोला भन्ने आशा नराख। आफैले मेहनत गरेर योगबलले काम लेऊ, यादले नै आयु बढ्छ। कर्मभोग चुक्ता हुन्छ। बाबा जो प्राणभन्दा पनि प्यारो हुनुहुन्छ, उहाँसँग जति प्यार हुन्छ त्यति याद हुन्छ र कल्याण हुँदै जान्छ।

ओम् शान्ति ।
बेहदका बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर र आफ्नो घरलाई याद गर। त्यसलाई भनिन्छ नै टावर अफ साइलेन्स। टावर अफ सुख। टावर धेरै उच्च हुन्छ। तिमीले त्यहाँ जानको लागि पुरुषार्थ गरिरहेका छौ। उच्चभन्दा उच्च मौनताको स्तम्भमा तिमी कसरी जान सक्छौ, यो टावरमा रहने कुरा पनि बाबाले बसेर सिकाउनुहुन्छ। प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। हामी आत्मा शान्तिधाम निवासी हौँ। त्यो बाबाको घर हो। हिँड्दा डुल्दा यो बानी बसाल्नुछ। आफूलाई आत्मा सम्झ र शान्तिधाम, सुखधामलाई याद गर। बाबाले जान्नुहुन्छ– यसमा नै मेहनत छ, जो आत्म अभिमानी भएर रहन्छन्, उनीहरूलाई महावीर भनिन्छ। यादले नै तिमी महावीर, सुप्रीम बन्छौ। सुप्रीम अर्थात् शक्तिमान।

बच्चाहरूलाई खुसी हुनुपर्छ– स्वर्गको मालिक बनाउने बाबा, विश्वको मालिक बनाउने बाबाले हामीलाई पढाइरहनुभएको छ। आत्माको बुद्धि बाबातिर जान्छ। यो हो– आत्माको प्यार एक बाबासँग। सवेरै सवेरै उठेर बाबासँग मीठा मीठा कुरा गर। बाबा, हजुरको त कमाल छ, सपनामा पनि थिएन– हजुरले हामीलाई स्वर्गको मालिक बनाउनुहुनेछ। बाबा, हामी हजुरको शिक्षामा अवश्य चल्छौँ। कुनै पनि पापी काम गर्दैनौँ। बाबाले जसरी पुरुषार्थ गर्नुहुन्छ त्यो बच्चाहरूलाई पनि सुनाउनुहुन्छ। शिवबाबाका यति धेरै बच्चाहरू छन्, चिन्ता त लाग्छ नि। कति बच्चाहरूको सम्हाल हुन्छ। यहाँ तिमी ईश्वरीय परिवारमा बसेका छौ। बाबा सम्मुख बस्नुभएको छ। तिमीसँगै खाऊँ, तिमीसँगै बसूँ... तिमीले जान्दछौ– शिवबाबा यिनमा आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एकलाई याद गर। देहसहित देहका सबै सम्बन्धहरूलाई भुल। यो अन्तिम जन्म हो। यो पुरानो दुनियाँ, पुरानो देह खतम हुनुछ। भनाइ पनि छ– आफू मरेपछि दुनियाँ पनि मर्छ। पुरुषार्थको लागि सङ्गमको समय थोरै छ। बच्चाहरूले सोध्छन्– बाबा, यो पढाइ कहिलेसम्म चल्नेछ? दैवी राजधानी स्थापना नभएसम्म सुनाइरहन्छु। फेरि नयाँ दुनियाँमा ट्रान्सफर हुन्छौ। यो पुरानो शरीर हो, केही न केही कर्मभोग चलिरहन्छ, यसमा बाबाले मद्दत गर्नुहोला– यो आशा राख्नुहुँदैन। दिवालिया निस्कियो, बिरामी भयौ भने बाबाले भन्नुहुनेछ– यो तिम्रो हिसाबकिताब हो। हो, फेरि पनि योगले आयु बढ्छ। आफैले मेहनत गर। कृपा नमाग। जति बाबालाई याद गर्छौ, यसमा नै कल्याण छ, जति हुन सक्छ योगबलले काम लेऊ। गाउँछन् पनि– मुझे पलकों में छिपा लो... प्रिय चीजलाई नयनको नूर, प्राणप्यारो भनिन्छ। उहाँ बाबा त धेरै प्रिय हुनुहुन्छ, तर गुप्त हुनुहुन्छ। उहाँको लागि यस्तो प्यार हुनुपर्छ, जुन कुरै नसोध। बच्चाहरूले त बाबालाई परेलीमा लुकाउनुपर्छ। परेली कुनै यी आँखा होइनन्। यो त बुद्धिमा याद राख्नु हो। सबैभन्दा प्यारो निराकार बाबाले हामीलाई पढाइरहनुभएको छ। उहाँ ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ, प्यारको सागर हुनुहुन्छ। यस्ता सबैभन्दा प्यारा बाबासँग कति प्यार हुनुपर्छ। बच्चाहरूको कति निष्काम सेवा गर्नुहुन्छ। पतित शरीरमा आएर तिमी बच्चाहरूलाई हीरासमान बनाउनुहुन्छ। बाबा कति मीठो हुनुहुन्छ। त्यसैले बच्चाहरू पनि त्यस्तै मीठो बन्नुपर्छ। कति निरहङ्कारिताले बाबाले तिमी बच्चाहरूको सेवा गर्नुहुन्छ, त्यसैले तिमी बच्चाहरूले पनि त्यति सेवा गर्नुपर्छ। श्रीमतमा चल्नुपर्छ। कतै आफ्नो मत देखायौ भने तकदिरको रेखा मेटाइदिन्छौ। तिमी ब्राह्मण ईश्वरीय सन्तान हौ। ब्रह्माका सन्तान भाइ-बहिनी हौ। ईश्वरीय नातिनातिना हौ। उहाँ बाबाबाट वर्सा लिइरहेका छौ। जति पुरुषार्थ गर्छौ, त्यति पद पाउँनेछौ। यसमा साक्षी रहने पनि धेरै अभ्यास चाहिन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! हे आत्माहरू! म एकलाई याद गर, भुलचुकले पनि बाबाबाहेक अरू कसैलाई याद नगर्नु। तिम्रो प्रतिज्ञा छ– बाबा, मेरो त एक हजुर नै हुनुहुन्छ। हामी आत्मा हौँ, हजुर परमात्मा हुनुहुन्छ। हजुरबाटै वर्सा लिनुछ। हजुरबाटै राजयोग सिकिरहेका छौँ, जसबाट राज्य भाग्य पाउनेछौँ।

प्यारा बच्चाहरू! तिमीले जान्दछौ– यो अनादि ड्रामा हो, यसमा हारजितको खेल चल्छ। जे हुन्छ, त्यो ठीक हुन्छ। रचयितालाई ड्रामा अवश्य मनपर्छ होला नि, त्यसैले रचयिताका बच्चाहरूलाई पनि मनपर्छ। यस ड्रामामा बाबा एकै पटक बच्चाहरूकहाँ बच्चाहरूको दिलोज्यान र धेरै प्रेमले सेवा गर्न आउनुहुन्छ। बाबालाई त सबै बच्चाहरू प्यारा छन्। तिमीले जान्दछौ– सत्ययुगमा पनि सबैले एकअर्कालाई धेरै प्यार गर्छन्। जनावरहरूमा पनि प्यार हुन्छ। यस्ता कुनै जनावर हुँदैनन् जो प्यारले रहँदैनन्। त्यसैले तिमी बच्चाहरू यहाँ मास्टर प्यारको सागर बन्नुछ। यहाँ बन्यौ भने त्यो संस्कार अविनाशी बन्छ। बाबा भन्नुहुन्छ– कल्प पहिलाजस्तै हुबहु फेरि प्यारा बनाउन आएको छु। कहिल्यै कुनै बच्चाको क्रोधको आवाज सुन्नुभयो भने बाबाले शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! क्रोध गर्नु ठीक होइन, यसले तिमी पनि दुःखी हुन्छौ, अरूलाई पनि दुःखी बनाउँछौ। बाबा सदाकालको सुख दिनेवाला हुनुहुन्छ भने बच्चाहरू पनि बाबासमान बन्नुपर्छ। एकअर्कालाई कहिल्यै दुःख दिनुहुँदैन।

तिमी बच्चाहरूले जान्दछौ– शिवबाबा बिहानको साईं... रातलाई दिन अर्थात् बिहान बनाउनेवाला हुनुहुन्छ। साईं बेहदका बाबालाई भनिन्छ। उहाँ एउटै साईं बाबा, भोलानाथ शिवबाबा हुनुहुन्छ। नाम नै छ भोलानाथ। भोली भोली कन्या, माताहरूमाथि ज्ञानको कलश राख्नुहुन्छ। उनीहरूलाई नै विश्वको मालिक बनाउनुहुन्छ। कति सहज उपाय बताउनुहुन्छ। कति प्यारले तिम्रो ज्ञानको पालना गर्नुहुन्छ। आत्मालाई पावन बनाउनको लागि यादको यात्रामा बस्नुछ। योगको स्नान गर्नुछ। ज्ञान पढाइ हो। योग स्नानले पाप भस्म हुन्छन्। आफूलाई आत्मा सम्झने अभ्यास गरिराखेमा यो देहको अहङ्कार बिलकुल टुट्छ। योगले नै पवित्र सतोप्रधान बनेर बाबाकहाँ जानुछ। कति बच्चाहरूले यी कुराहरूलाई राम्रोसँग बुझ्दैनन्। आफ्नो चार्ट सच्चा सच्चा बताउँदैनन्। आधाकल्प झुटो दुनियाँमा बसेकाले मानौँ झुटै कुरा भित्र जमेको छ। सच्चाइसँग आफ्नो चार्ट बाबालाई बताउनुपर्छ। चेक गर्नुछ– हामी पौने घण्टा बस्यौँ, यसमा कति समय आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेछौँ! कतिलाई सत्य बताउन लाज लाग्छ। यो त तुरुन्त सुनाउँछन्– यति सेवा गरेँ, यतिलाई सम्झाएँ, तर यादको चार्ट कति रह्यो, त्यो सत्य सुनाउँदैनन्। यादमा नरहेका हुनाले नै तिम्रो कसैलाई तीर लाग्दैन। ज्ञान तरबारमा धार लाग्दैन। कसैले भन्छन्– हामी त निरन्तर यादमा रहन्छौँ, बाबा भन्नुहुन्छ– त्यो अवस्था छैन। निरन्तर याद रह्यो भने कर्मातीत अवस्था हुन्छ। ज्ञानको पराकाष्ठा देखिन्छ, यसमा धेरै मेहनत छ। विश्वको मालिक यत्तिकै कहाँ बनिन्छ र। एक बाबा बाहेक अरू कसैको याद नरहोस्। यो देह पनि याद नआओस्। यो अवस्था तिम्रो अन्त्यमा हुनेछ। यादको यात्राले नै तिम्रो कमाइ भइरहन्छ। यदि शरीर छुट्यो भने फेरि कमाइ गर्न सक्दैनौ। चाहे आत्माले संस्कार लैजान्छ तर टिचर त चाहिन्छ नि जसले फेरि स्मृति दिलाउनुहुन्छ। बाबाले घरी घरी स्मृति दिलाइरहनुहुन्छ। यस्ता धेरै बच्चाहरू छन्, जो गृहस्थ व्यवहारमा रहेरै, नोकरी आदि पनि गर्दै उच्च पद पाउनको लागि श्रीमतमा चलेर आफ्नो भविष्यको लागि पनि जम्मा गरिरहन्छन्। बाबासँग राय लिइरहन्छन्। पैसा छ भने त्यसलाई सफल कसरी गर्ने। बाबा भन्नुहुन्छ– सेन्टर खोल, जसबाट धेरैको कल्याण हुन्छ। मनुष्यले दानपुण्य आदि गर्छन्, अर्को जन्ममा त्यसको फल मिल्छ। तिमीलाई पनि भविष्यमा २१ जन्मको लागि राज्य भाग्य मिल्छ। तिम्रो यो नम्बरवन बैङ्क हो, यसमा ४ आना जम्मा गरेमा भविष्यमा हजार बन्नेछ। पत्थरबाट सुन बन्नेछ। तिम्रो हरेक चीज पारस बन्नेछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! उच्च पद पाउनुछ भने माता-पितालाई पूरा फलो गर र आफ्नो कर्मेन्द्रियहरूमाथि कन्ट्रोल गर। यदि कर्मेन्द्रियहरू वशमा छैनन्, चालचलन ठीक छैन भने उच्च पदबाट वञ्चित हुनेछौ। आफ्नो चालचलनलाई सुधार्नुछ। धेरै इच्छाहरू राख्नुहुँदैन।

बाबाले तिमी बच्चाहरूलाई कति ज्ञानले सिँगारेर सत्ययुगको महाराजा महारानी बनाउनुहुन्छ, यसमा धेरै राम्रो सहनशीलताको गुण चाहिन्छ। देहमाथि धेरै मोह हुनुहुँदैन। योगबलले पनि काम लिनुछ। बाबालाई जतिसुकै खोकी आदि लागे पनि फेरि पनि सदैव सेवामा तत्पर रहनुहुन्छ। ज्ञान योगले सिँगारेर बच्चाहरूलाई लायक बनाउनुहुन्छ। तिमी अहिले ईश्वरीय काखमा, माता-पिताको काखमा बसेका छौ। बाबाले ब्रह्मामुखद्वारा तिमी बच्चाहरूलाई जन्म दिनुहुन्छ, त्यसैले यिनी आमा भए। तर तिम्रो बुद्धि फेरि पनि शिवबाबातिर जान्छ। तिमी माता-पिता हामी बालक हजुरका...। तिमी यहीँ सर्वगुण सम्पन्न बन्नुछ। घरी घरी मायाबाट हार्नुहुँदैन। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ। आफूलाई यस्तो सम्झँदा कति मीठो लाग्छ। हामी के थियौँ, अब के बनिरहेका छौँ।

यो कस्तो आश्चर्यजनक ड्रामा बनेको छ, यो पनि तिमीले अहिले सम्झाउँछौ। यो पुरुषोत्तम सङ्गमयुग हो, यति मात्र याद रह्यो भने पनि निश्चय हुन्छ– हामी सत्ययुगमा जानेछौँ, अहिले सङ्गममा छौँ। फेरि जानुछ आफ्नो घर, त्यसैले पावन त अवश्य बन्नुछ। भित्र धेरै खुसी हुनुपर्छ। ओहो! बेहदका बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! मलाई याद गर, त्यसबाट तिमी सतोप्रधान बन्नेछौ। विश्वको मालिक बन्नेछौ। बाबाले बच्चाहरूलाई कति प्यार गर्नुहुन्छ। यस्तो होइन– केवल टिचरको रूपमा पढाएर घर जानुहुन्छ। उहाँ त बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। तिमीलाई पढाउनु पनि हुन्छ। यादको यात्रा पनि सिकाउनुहुन्छ।

यस्ता विश्वको मालिक बनाउने, पतितबाट पावन बनाउने बाबासँग धेरै प्यार हुनुपर्छ। सवेरै सवेरै उठ्नेबित्तिकै सबैभन्दा पहिला शिवबाबालाई गुडमर्निङ्ग भन्नुपर्छ। गुडमर्निङ्ग भन्नु अर्थात् याद गरेमा धेरै खुसी हुन्छौ। बच्चाहरूले आफ्नो दिललाई सोध्नुछ– हामी सवेरै उठेर बेहदका बाबालाई कति याद गर्छौँ। मनुष्यले भक्ति पनि सवेरै गर्छन् नि। भक्ति कति प्यारले गर्छन्। तर बाबाले जान्नुहुन्छ– कति बच्चाहरूले दिलोज्यान र धेरै नै प्रेमले याद गर्दैनन्। सवेरै उठेर बाबालाई गुडमर्निङ्ग भने, ज्ञानको चिन्तनमा रहे भने खुसीको पारा चढ्छ। बाबालाई गुडमर्निङ्ग भनेनौ भने पापको बोझ कसरी उत्रिन्छ! मुख्य हो नै याद, यसबाट तिम्रो भविष्यको लागि धेरै ठुलो कमाइ हुन्छ। कल्पकल्पान्तर यो कमाइ काम आउनेछ। धेरै धैर्य, गम्भीरता र समझले याद गर्नुपर्छ। मोटो हिसाबमा भन्न त यो भनिदिन्छन्– हामीले बाबालाई धेरै याद गर्छौँ, तर सही तरिकाले याद गर्नमा मेहनत छ। जसले बाबालाई धेरै याद गर्छन्, उनीहरूलाई धेरै करेन्ट मिल्छ किनकि यादले याद मिल्छ। योग र ज्ञान दुई चीज हुन्। योगको विषय अलग छ। यो धेरै महान् विषय हो। योगले नै आत्मा सतोप्रधान बन्छ। याद बिना सतोप्रधान हुन असम्भव छ। राम्रोसँग प्यारले बाबालाई याद गरेमा स्वत: करेन्ट मिल्छ, स्वस्थ बन्छौ। करेन्टले आयु पनि बढ्छ। बच्चाहरूले याद गरे भने बाबाले पनि सर्चलाइट दिनुहुन्छ। बाबाले तिमी बच्चाहरूलाई कति ठुलो श्रेष्ठ खजाना दिनुहुन्छ। अच्छा।

मीठे-मीठे सिकिलधे, नयनका नूर बच्चाहरूप्रति माता-पिता बापदादाको दिलोज्यान, सिक र प्रेमले याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबालाई धेरै धैर्यता, गम्भीरता र समझले याद गर्नुछ। सही तरिकाले याद भयो भने बाबाको करेन्ट मिल्छ, आयु बढ्छ, स्वस्थ बनिन्छ।

२) उच्च पद पाउनुछ भने आफ्नो चालचलनलाई सुधार्नुछ, अधिक इच्छाहरू राख्नुछैन। कर्मेन्द्रियहरूमाथि पूरा कन्ट्रोल राख्नुछ, माता-पितालाई पूरा पूरा फलो गर्नुछ।

वरदान:–
फलो फादर र सी फादरको महामन्त्रद्वारा एकरस स्थिति बनाउने श्रेष्ठ पुरुषार्थी भव

“सी फादर–फलो फादर”– यस मन्त्रलाई सदा सामुन्ने राख्दै चढ्तीकलामा चल्दै जाऊ, उड्दै जाऊ। कहिल्यै पनि आत्माहरूलाई नहेर किनकि आत्माहरू सबै पुरुषार्थी हुन्, पुरुषार्थीमा राम्रो कुरा पनि हुन्छ र केही कमी पनि हुन्छ, सम्पन्न हुँदैनन्, त्यसैले फलो फादर न कि ब्रदर-सिस्टर। त्यसैले जसरी फादर एकरस हुनुहुन्छ, त्यसैगरी फलो गर्नेहरू एकरस स्वतः हुन्छन्।

स्लोगन:–
परचिन्तनको प्रभावमा नआएर शुभचिन्तन गर्ने शुभचिन्तकमणि बन।

अव्यक्त इसारा:– यस अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

जसरी अरू स्थूल वस्तुहरूलाई चाहेको बेलामा लिन्छौ र चाहेको बेलामा छोडिदिन्छौ, त्यसैगरी देहको भानलाई चाहेको बेलामा छोडेर देहीअभिमानी बन– यो प्राक्टिस यति सरल होस्, जति कुनै स्थूल वस्तुलाई छोड्न सहज हुन्छ। तिमी रचयिताले जहिले चाहन्छौ रचनाको आधार लेऊ, जहिले चाहन्छौ रचनाको आधारलाई छोडिदेऊ, जहिले चाहन्छौ न्यारा, जहिले चाहन्छौ प्यारा बन– यति बन्धनमुक्त बन्नुछ।