21.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा अ ति मीठो स्याक्रिन हुनुहुन्छ , त्यसैले अरू सबै कुरा छोडेर उहाँ बाबालाई याद गर ेमा तिमी पनि स्याक्रिन जस्तै मीठो बन्नेछौ।”

प्रश्न:–
तिमीले बाबाबाट श्रीमत लिएर आफूभित्र कुन संस्कार भरिरहेका छौ?

उत्तर:–
भविष्यमा मन्त्री (वजीर) बिना सारा विश्वमा राज्य गर्ने। तिमी यहाँ आएकै हौ भविष्यमा राजधानी चलाउने श्रीमत लिन। बाबाले तिमीलाई यस्तो श्रीमत दिनुहुन्छ, जसले गर्दा आधाकल्पसम्म कसैको राय सल्लाह लिने आवश्यकता हुँदैन। राय सल्लाह उनीहरूले लिनुपर्छ जसको बुद्धि कमजोर हुन्छ।

गीत:–
तुम्हीं हो माता...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यो मीठा-प्यारा रुहानी बच्चाहरू कसले भन्नुभयो? अवश्य रुहानी बाबाले नै भन्न सक्नुहुन्छ। तिमी मीठा-प्यारा रुहानी बच्चाहरू अहिले बाबाको सामुन्ने बसेका छौ र तिमीहरूलाई बाबाले धेरै नै प्यारले सम्झाइरहनुभएको छ। अहिले तिमीलाई थाहा छ, रुहानी बाबाबाहेक सबैलाई सुखशान्ति दिने वा सबैलाई दुःखबाट मुक्त (लिबरेट) गर्ने दुनियाँभरमा अरू कोही छैन, त्यसैले दुःखमा बाबालाई याद गरिरहन्छन्। तिमी बच्चाहरू बाबाको सामुन्ने बसेका छौ। तिमीलाई थाहा छ, बाबाले हामीलाई सुखधामको लायक बनाइरहनुभएको छ। सदा सुखधामको मालिक बनाउने बाबाको सामुन्ने आएका छौ। अहिले जान्दछौ, सामुन्ने मुरली सुन्नु र टाढा बसेर सुन्नुमा धेरै फरक छ। मधुबनमा सामुन्ने आउँछौ, मधुबन प्रसिद्ध छ। मधुबन, वृन्दावनमा उनीहरूले श्रीकृष्णको चित्र देखाएका छन्। तर त्यहाँ श्रीकृष्ण त हुनुहुन्न। यहाँ त निराकार बाबा तिमी बच्चाहरूसँग मिल्नुहुन्छ। तिमीले स्वयंलाई घरी घरी आत्मा निश्चय गर्नु छ। म आत्माले बाबाबाट वर्सा लिइरहेको छु। सारा कल्पमा यो समय एकपटक मात्रै आउँछ। यो कल्पको सुन्दर सङ्गमयुग हो। यसको नाम राखिएको छ– पुरुषोत्तम। यही सङ्गमयुग हो, जसमा सबै मनुष्य मात्र उत्तम बन्छन्। अहिले त सबै मनुष्य मात्रको आत्मा तमोप्रधान छ, जुन फेरि सतोप्रधान बन्छ। सतोप्रधान भए भने मानिस उत्तम हुन्छन्। तमोप्रधान भएपछि मानिस पनि कनिष्ठ बन्छन्। त्यसैले बाबा सामुन्ने बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। सारा पार्ट आत्माले नै खेल्छ, न कि शरीरले। आत्मा र शरीर दुवैको मेल हुन्छ, अनि पार्ट खेलिन्छ। तिम्रो बुद्धिमा आएको छ कि हामी आत्मा वास्तवमा निराकारी दुनियाँ वा शान्तिधामका निवासी हौँ, यो कुरा अरू कसैलाई पनि थाहा छैन। उनीहरूले न आफैले बुझ्छन्, न सम्झाउन सक्छन्। अब तिम्रो बुद्धिको ताल्चा खुलेको छ, तिमीले बुझेका छौ, अवश्य आत्माहरू परमधाममा रहन्छन्। त्यो हो निराकारी दुनियाँ (इन्कर्पोरियल वर्ल्ड)। यो हो साकारी दुनियाँ (कर्पोरियल वर्ल्ड)। यहाँ हामी सबै आत्माहरू नाटकका पात्र पार्टधारी हौँ। पहिला सुरुमा हामी पार्ट खेल्न आउँछौँ। फेरि नम्बरवार आउँदै जान्छौँ। सबै नाटकका पात्रहरू सँगसँगै आउँदैनन्। भिन्न भिन्न प्रकारका नाटकका पात्रहरू आउँदै जान्छन्। सबै जम्मा भएपछि मात्र नाटक पूरा हुन्छ। अहिले तिमीलाई पहिचान मिलेको छ, आत्मा वास्तवमा शान्तिधाम निवासी हो– यहाँ आउँछ पार्ट खेल्न। बाबा सारा समय पार्ट खेल्न आउनुहुन्न। हामी नै पार्ट खेल्दाखेल्दै तमोप्रधान बन्छौँ। अहिले तिमी बच्चाहरूलाई सामुन्ने सुन्दा बडो मजा आउँछ। यति मजा मुरली पढ्दा आउँदैन। यहाँ सामुन्ने छौ नि! त्यसैले पहिला सत्ययुगी आदि सनातन देवीदेवता धर्मका आत्माहरू नै आउँछन्। तिमीलाई थाहा छ भारतवर्ष देवीदेवता (गड गडेज) को स्थान थियो, अहिले छैन। चित्रहरू प्रत्यक्ष देखिन्छन् भने तिनीहरू वास्तविक रूपमा अस्तित्वमा थिए भन्ने कुरा अवश्य हो। पहिला सुरुमा हामी देवीदेवता थियौँ, आफ्नो पार्टलाई त याद गर्छौ कि भुल्छौ? बाबा भन्नुहुन्छ– तिमीले यो पार्ट खेलेका छौ, यो ड्रामा हो। नयाँ दुनियाँ नै फेरि पुरानो हुन्छ। पहिला सुरुमा माथिबाट जुन आत्माहरू आउँछन्, ती सत्ययुग (गोल्डन एज) मा आउँछन्। यी सबै कुरा अहिले तिम्रो बुद्धिमा छन्। सत्ययुगको आदिमा तिमी नै पार्ट खेल्न आएका थियौ। तिमी विश्वका मालिक महाराजा-महारानी थियौ। तिम्रो राजधानी थियो। अहिले त राजधानी छैन। अब तिमीले सिकिरहेका छौ, हामीले राज्य कसरी चलाउँछौँ, त्यहाँ मन्त्री हुँदैनन्। राय सल्लाह दिनेको आवश्यकता नै हुँदैन। उनीहरू त श्रीमतद्वारा श्रेष्ठभन्दा श्रेष्ठ बन्छन्, फेरि उनीहरूलाई अरू कसैसँग राय सल्लाह लिने आवश्यकता हुँदैन। कसैसँग राय सल्लाह लिए भने यिनीहरूको बुद्धि कमजोर छ भन्ने बुझिन्छ। अहिले जुन श्रीमत मिल्छ, त्यो सत्ययुगमा पनि कायम रहन्छ। अहिले तिम्रो आत्मा फ्रेस भइरहेको छ। अब तिमी बच्चाहरू देहीअभिमानी बन्नु छ। शान्तिधामबाट आएर यहाँ तिमी आवाजमा (टकी) आउँछौ। आवाजमा नआई कर्म हुन सक्दैन। यी धेरै बुझ्ने कुराहरू हुन्। जसरी बाबामा सारा ज्ञान छ, त्यसैगरी अहिले तिम्रो आत्मामा पनि ज्ञान छ। आत्माले भन्छ, मैले एक शरीर छोडेर, संस्कार अनुसार फेरि अर्को शरीर लिन्छु। पुनर्जन्म पनि अवश्य हुन्छ। आत्मालाई जुन पनि पार्ट मिलेको छ, त्यो खेलिरहन्छ र संस्कार अनुसार अर्को जन्म लिइरहन्छ। आत्माको दिनप्रतिदिन पवित्रता (प्युरिटी) को डिग्री कम हुँदै जान्छ। पतित शब्द द्वापरपछि काममा ल्याउँछन्, तैपनि अलिकति फरक अवश्य पर्न जान्छ। तिमीले नयाँ भवन बनाऊ, एक महिनापछि केही फरक अवश्य पर्नेछ।

अहिले तिमीले बुझेका छौ, बाबाले हामीलाई वर्सा दिनुहुन्छ। बाबा भन्नुहुन्छ– म आएको हुँ तिमी बच्चाहरूलाई वर्सा दिन। जति जसले पुरुषार्थ गर्छन्, त्यति पद पाउनेछन्। बाबासँग कुनै भेदभाव वा फरक हुनेछैन। बाबालाई थाहा छ, मैले आत्माहरूलाई पढाउँछु। हरेक आत्माले आफ्नो लागि पुरुषार्थ गर्छ। महिला पुरुष (मेल-फिमेल) को दृष्टि यहाँ हुँदैन। तिमी सबै बच्चाहरूले बेहदको पिताबाट वर्सा लिइरहेका छौ। सबै आत्माहरू भाइ भाइ हुन्, जसलाई बाबाले पढाउनुहुन्छ, वर्सा दिनुहुन्छ। बाबाले नै रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ हे प्यारा मीठा सिकिलधे बच्चाहरू! तिमीहरू धेरै समय पार्ट खेल्दाखेल्दै अब फेरि आएर मिलेका छौ– आफ्नो वर्सा लिन। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। सुरुदेखि लिएर यो पार्ट पहिल्यै निश्चित छ। तिमी नाटकका पात्रहरू पार्ट खेल्दै अभिनय गरिरहन्छौ। आत्मा अविनाशी छ, यसमा अविनाशी पार्ट भरिएको छ। शरीर त परिवर्तन भइरहन्छ। बाँकी आत्मा केवल प्योरबाट इम्प्योर बन्छ। सत्ययुगमा आत्माहरू हुन्छन् पावन। यसलाई भनिन्छ पतित दुनियाँ। अब सुखधाम स्थापना हुन्छ। बाँकी सबै आत्माहरू मुक्तिधाममा रहनेछन्। अहिले आएर यो बेहदको नाटक पूरा भएको छ। सबै आत्माहरू लामखुट्टेजस्तै जानेछन्। यस समयमा कुनै पनि आत्मा आयो भने पतित दुनियाँमा उनीहरूको के महत्त्व हुन्छ र! वास्तवमा महत्त्व उनीहरूको हुन्छ जो पहिला सुरुमा नयाँ दुनियाँमा आउँछन्। नयाँ दुनियाँ थियो, त्यो फेरि पुरानो बनेको छ। नयाँ दुनियाँमा देवताहरू थिए, त्यहाँ दुःखको नाम थिएन। यहाँ त अथाह दुःख छ। बाबा आएर दुःखको पुरानो दुनियाँबाट मुक्त गर्नुहुन्छ। यो पुरानो दुनियाँ परिवर्तन अवश्य हुनु छ। जसरी दिनपछि रात, रातपछि दिन हुन्छ। तिमीले बुझेका छौ, अवश्य हामी सत्ययुगका मालिक बन्नेछौँ, त्यसोभए हामीले किन आत्मा निश्चय गरेर बाबालाई याद नगरौँ। केही त मेहनत गर्नुपर्छ। राज्य भाग्य पाउनु कुनै सहज कहाँ छ र! बाबालाई याद गर्नु छ। यो मायाको वन्डर हो, जसले घरी घरी तिमीलाई भुलाइदिन्छ। यसको लागि उपाय रच्नुपर्छ। यस्तो होइन मेरो बनेपछि याद जम्नेछ। बाँकी पुरुषार्थ के गर्छौ! होइन, जबसम्म जिउनु छ पुरुषार्थ गर्नु छ। ज्ञान अमृत पिइरहनु छ। यो पनि जान्दछौ, हाम्रो यो अन्तिम जन्म हो। यस शरीरको भान छोडेर देहीअभिमानी बन्नु छ। गृहस्थ व्यवहारमा पनि रहनु छ, पुरुषार्थ अवश्य गर्नु छ। केवल आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर। त्वमेव माता च पिता... यो सबै हो भक्तिमार्गको महिमा। तिमीले केवल एक अल्फलाई याद गर्नु छ। एक म नै स्याक्रिन हुँ, तिमी पनि अरू सबै कुरा छोडेर धेरै मीठो स्याक्रिन बन। अहिले तिम्रो आत्मा तमोप्रधान बनेको छ, त्यसलाई सतोप्रधान बनाउनको लागि यादको यात्रामा रहनुछ। सबैलाई यही बताऊ, बाबाबाट सुखको वर्सा लेऊ। सुख हुन्छ नै सत्ययुगमा। सुखधाम स्थापना गर्ने बाबा हुनुहुन्छ, बाबालाई याद गर्न धेरै सहज छ, तर मायाले धेरै अवरोध (अपोजिसन) गर्छ, त्यसैले कोसिस गरेर मलाई याद गरेमा आत्मामा परेको खाद निस्कनेछ। सेकेन्डमा जीवनमुक्ति हुन्छ भनिन्छ।

यस ड्रामामा हरेकले आफ्नो पार्ट रिपिट गर्नु छ। यस ड्रामाभित्र सबैभन्दा बढी हाम्रो पार्ट छ। सुख पनि सबैभन्दा बढी हामीलाई मिल्नेछ। बाबा भन्नुहुन्छ– तिम्रो देवीदेवता धर्म धेरै सुखदायक धर्म हो। अरू बाँकी सबै आत्माहरू शान्तिधाममा जान्छन्– हिसाबकिताब चुक्ता गरेर। धेरै विस्तारमा हामी किन जाऊँ। बाबा आउनु नै हुन्छ सबैलाई फर्काएर लैजान। लामखुट्टेजस्तै सबैलाई लैजानुहुन्छ। शरीर खतम हुनेछन्। बाँकी आत्मा जुन अविनाशी छ, त्यो आत्मा हिसाबकिताब चुक्ता गरेर जानेछ। यस्तो होइन आत्मा आगोमा राखेर पवित्र हुनेछ। आत्मा यादरूपी योगबाट नै पवित्र हुनु छ। योगको अग्नि हो यो। उनीहरूले फेरि बसेर नाटक बनाएका छन्– सीता आगोबाट पार भइन्। आगोबाट कुनै एक जना मात्र कहाँ पार हुनु छ र! बाबा सम्झाउनुहुन्छ– तिमी सबै सीताहरू यतिबेला पतित छौ, रावणको राज्यमा छौ। अब एक बाबाको यादबाट तिमी पावन बन्नु छ। राम एउटै हुनुहुन्छ। अग्नि शब्द सुनेर सम्झन्छन्, आगोबाट पार भइन्। कहाँ योग अग्नि, कहाँ त्यो स्थूल अग्नि। आत्माले परमात्मासँग योग राखेपछि पतितबाट पावन हुन्छ। रातदिनको फरक छ। आत्माहरू सबै सीता हुन्। सबै रावणको जेलमा, शोक वाटिकामा छन्। यहाँको सुख त काग विष्टाजस्तै हो। स्वर्गमा त अथाह सुख हुन्छ। त्यसैले बच्चाहरूले ज्ञान रत्नहरूले झोली भर्नुपर्छ। कुनै पनि प्रकारको संशय आउनुहुँदैन। देह अभिमान आएपछि फेरि अनेक प्रकारका प्रश्न आदि उठ्छन्। फेरि बाबाले जुन कामधन्दा दिनुहुन्छ, त्यो कामधन्दा गर्दैनन्। मूल कुरा हो, तिमी पतितबाट पावन बन्नु छ। अरू कुनै पनि सङ्कल्प उठाउन आवश्यक छैन। यो हो पतित दुनियाँ, त्यो हो पावन दुनियाँ। मुख्य कुरा हो नै पावन बन्ने। पावन कसले बनाउनुहुन्छ, मानिसहरूलाई यो कुरा केही पनि थाहा छैन। तिमी पतित हौ भन्यौ भने रिसाउँछन्। आफूलाई विकारी कसैले पनि सम्झँदैनन्, भन्छन् गृहस्थी त सबै थिए– रामसीता, लक्ष्मीनारायणका पनि त बालबच्चा थिए नि! त्यहाँ पनि त बच्चाहरू पैदा हुन्छन्, यो भुलेका छन् त्यसलाई निर्विकारी दुनियाँ (भाइसलेस वर्ल्ड) भनिन्छ। त्यो हो शिवालय।

बाबाले तिमी बच्चाहरूलाई कति युक्तिहरू बताइरहनुहुन्छ। उहाँ त पिता, शिक्षक, गुरु हुनुहुन्छ, जसले सबैलाई सद्गति दिनुहुन्छ। उनीहरूले त एक गुरु मरे भने फेरि बच्चालाई गद्दी दिन्छन्। अब उनले कसरी सद्गतिमा लैजान्छन्। सबैको सद्गतिदाता हुनुहुन्छ नै एक। रावण राज्यमा छ दुर्गति, रामराज्यमा हुन्छ सद्गति। बाबाले सबैलाई पावन बनाएर लैजानुहुन्छ, फेरि कोही तुरून्तै पतित बन्दैनन्, नम्बरवार ओर्लन्छन्। सतोप्रधानबाट सतो, रजो, तमो... तिम्रो बुद्धिमा ८४ को चक्र बसेको छ। तिमी मानौँ अब लाइट हाउस हौ।, तिमीले ज्ञानबाट यो यो चक्र कसरी घुम्छ भन्ने जानेका छौ। अहिले तिमी बच्चाहरूले अरू सबैलाई बाटो बताउनु छ। तिमी सबै सेना हौ। तिमी बाटो देखाउने पाइलट हौ। सबैलाई भन– अब शान्तिधाम, सुखधामलाई याद गर। कलियुग दुःखधामलाई भुलिदेऊ। हामीले तिमीलाई धेरै राम्रो बाटो देखाउँछौँ, पतितपावन एउटै निराकार बाबा हुनुहुन्छ। उहाँलाई याद गरेमा तिमी पावन बन्नेछौ। तिम्रो आत्मामा जुन खिया लागेको छ, त्यो उत्रिँदै जानेछ। भगवानुवाच मनमनाभव। शिव भगवानुवाच– विनाश काले विपरीत बुद्धि विनश्यन्ति र विनाश काले परमपिता परमात्मासँग प्रीत बुद्धि विजयन्ती। तिम्रो जति प्रीत बुद्धि हुन्छ, त्यति उच्च पद पाउनेछौ। देह अभिमानमा आएमा त्यति उच्च पद पाउन सक्नेछैनौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) रत्नहरूले आफ्नो झोली भर्नु छ। कुनै पनि प्रकारको संशय उठाउनुहुँदैन। जति सकिन्छ बाबालाई याद गर्ने पुरुषार्थ गरेर पावन बन्नु छ। बाँकी प्रश्नहरूमा जानुछैन।

२) एक बाबासँग सच्चा प्रीत राखेर बाबासमान मीठो स्याक्रिन बन्नु छ।

वरदान:–
सदा ज्ञान सूर्यको सम्मुख रहने अन्तर्मुखी , स्वमानधारी भव

जसरी सूर्यको सामुन्ने हेर्दा अवश्य सूर्यका किरणहरू आफूतिर आउँछन्, त्यसैगरी जुन बच्चाहरू ज्ञान सूर्य बाबाको सदा सम्मुख रहन्छन्, उनीहरूले ज्ञान सूर्यका सबै गुणका किरणहरू स्वयम्मा अनुभव गर्छन्। उनीहरूको अनुहारमा अन्तर्मुखताको झलक र सङ्गमयुगको वा भविष्यको सर्व स्वमानको नशा देखिन्छ। यसको लागि सदा स्मृतिमा रहोस् यो अन्तिम घडी हो। कुनै पनि घडी यस तनको विनाश हुन सक्छ, त्यसैले सदा प्रीतबुद्धि बनेर ज्ञान सूर्यको सम्मुख रहेर अन्तर्मुखता वा स्वमानको अनुभूतिमा रहनु छ।

स्लोगन:–
सदा उड्तीकलामा उड्नु नै झमेलाहरूको पहाडलाई पार (क्रस) गर्नु हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

पवित्रता नै महानता हो, यही योगी जीवनको आधार हो। अलिकति अंशमात्र पनि सङ्कल्पमा पनि कुनै प्रकारको अपवित्रता छ भने जहाँ अपवित्रताको अंश छ त्यहाँ पवित्र बाबा उहाँ जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ त्यस्तो याद आउन सक्दैन, त्यसैले मनसामा पनि अपवित्रताको अंशलाई समाप्त गरेर सम्पूर्ण स्वच्छ बन। सदा यही स्मृति रहोस् म पूज्य आत्मा यस शरीररूपी मन्दिरमा विराजमान छु।