22.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
पढाइको आधार हो पवित्रता , पवित्रता छ भने योगको जौहर भरिन सक्छ , योगको जौहर छ भने
वाणीमा शक्ति हुन्छ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई अहिले कुनचाहिँ प्रयत्न पूरा-पूरा गर्नु छ?
उत्तर:–
शिरमा जुन
विकर्मको बोझ छ, त्यसलाई उतार्ने पूरा-पूरा प्रयत्न गर्नु छ। बाबाको बनेर कुनै
विकर्म गर्यौ भने धेरै जोडले गिर्नेछौ। बी.के. को यदि निन्दा गरायौ, कुनै तकलिफ दियौ
भने धेरै पाप लाग्नेछ। त्यसपछि ज्ञान सुन्नु-सुनाउनुले कुनै फाइदा हुँदैन।
ओम् शान्ति ।
रुहानी बाबाले
बच्चाहरूलाई सम्झाइरहनुभएको छ– तिमी पतितबाट पावन बनेर पावन दुनियाँको मालिक कसरी
बन्न सक्छौ! पावन दुनियाँलाई स्वर्ग अथवा विष्णुपुरी, लक्ष्मी-नारायणको राज्य
भनिन्छ। विष्णु अर्थात् लक्ष्मी-नारायणको संयुक्त चित्र यस्तो बनाइएको छ, त्यसैले
सम्झाइन्छ। बाँकी विष्णुको जब पूजा गर्छन् त्यतिबेला बुझ्न सक्दैनन्– यिनी को हुन्?
महालक्ष्मीको पूजा गर्छन् तर बुझ्दैनन्– यिनी को हुन्? बाबाले अहिले तिमी
बच्चाहरूलाई भिन्न-भिन्न रीतिले सम्झाउनुहुन्छ। राम्रोसँग धारण गर।
कसै-कसैको बुद्धिमा
रहन्छ– परमात्माले त सबै कुरा जान्नुहुन्छ। हामीले जे-जति राम्रो वा नराम्रो गर्छौं,
उहाँले सबै जान्नुहुन्छ। अब यसलाई अन्धश्रद्धाको भाव भनिन्छ। भगवानले यी कुराहरू
जान्नु नै हुन्न। तिमी बच्चाहरूलाई थाहा छ– भगवान त पतितहरूलाई पावन बनाउनेवाला
हुनुहुन्छ। पावन बनाएर स्वर्गको मालिक बनाउनुहुन्छ, अनि जसले राम्रोसँग पढ्छन्,
उनीहरूले उच्च पद पाउँछन्। बाँकी यस्तो नसम्झनु– बाबाले सबैको दिललाई जान्नुहुन्छ।
यो त फेरि नबुझ्नु भनिन्छ। मानिसहरूले जुन कर्म गर्छन्, त्यसको राम्रो वा नराम्रो
फल ड्रामा अनुसार उनीहरूलाई मिल्छ नै। यसमा बाबाको कुनै सम्बन्ध नै छैन। यो ख्याल
कहिल्यै नगर्नु– बाबाले त सबै कुरा जान्नु नै हुन्छ।
धेरै छन् जो विकारमा
जान्छन्, पाप गरिरहन्छन् र फेरि यहाँ अथवा सेन्टरहरूमा आइपुग्छन्। सम्झन्छन्– बाबाले
त जान्नुहुन्छ। तर बाबा भन्नुहुन्छ– म यो धन्दा नै गर्दिनँ। जानी जाननहार शब्द पनि
गलत छ। तिमीले बाबालाई बोलाउँछौ– आएर पतितबाट पावन बनाउनुहोस्, स्वर्गको मालिक
बनाउनुहोस् किनकि जन्म-जन्मान्तरका पाप शिरमा धेरै छन्। यो जन्मका पनि छन्। यो
जन्मका पाप बताउँछन् पनि। धेरैले यस्ता पाप गरेका छन्, जसले गर्दा पावन बन्न धेरै
मुस्किल लाग्छ। मुख्य कुरा नै पावन बन्नु हो। पढाइ त धेरै सहज छ, तर विकर्मको बोझ
कसरी उत्रियोस्, त्यसको प्रयत्न गर्नुपर्छ। यस्ता धेरै छन्, जसले अथाह पाप गर्छन्,
धेरै डिससर्भिस गर्छन्। बी.के. आश्रमलाई तकलिफ दिने कोसिस गर्छन्। यसको धेरै पाप
चढ्छ। त्यो पाप आदि कुनै ज्ञान दिनाले मेटिन सक्दैन। पाप मेटिन्छन्, फेरि पनि योगले।
पहिला त योगको पूरा
पुरुषार्थ गर्नुपर्छ, तब कसैलाई तीर पनि लाग्न सक्छ। पहिला पवित्र बन, योग होस्, तब
वाणीमा पनि जौहर भरिन्छ। नत्र कसैलाई जति सम्झाए पनि, कसैको बुद्धिमा बस्दैन, तीर
लाग्दैन। जन्म-जन्मान्तरका पाप छन् नि। अहिले जुन पाप गर्छन्, त्यो त
जन्म-जन्मान्तरको भन्दा पनि धेरै हुन्छ, त्यसैले गायन छ– सद्गुरुका निन्दक...। उहाँ
सच्चा बाबा, सच्चा टिचर, सद्गुरु हुनुहुन्छ। बाबा भन्नुहुन्छ– बी.के. को निन्दा
गराउनेको पनि पाप धेरै भारी छ। पहिला आफू त पावन बन। कसैलाई सम्झाउने धेरै सोख
राख्छन्। योग एक पैसाको पनि छैन, यसबाट फाइदा के? बाबा भन्नुहुन्छ– मुख्य कुरा नै
यादद्वारा पावन बन्नु हो। बोलाउँछन् पनि पावन बन्नका लागि। भक्तिमार्गमा एउटा आदत
बसेको छ, धक्का खाने, व्यर्थ आवाज गर्ने। प्रार्थना गर्छन् तर भगवानको कान कहाँ छ,
बिना कान, बिना मुख, कसरी सुन्नुहुन्छ, बोल्नुहुन्छ? उहाँ त अव्यक्त हुनुहुन्छ। यो
सबै अन्धश्रद्धा हो।
तिमीले बाबालाई जति
याद गर्छौ, त्यति पाप नाश हुन्छन्। यस्तो होइन– बाबाले जान्नुहुन्छ, यसले धेरै याद
गर्छ, यसले कम याद गर्छ, यो त आफ्नो चार्ट आफैँले नै हेर्नु छ। बाबाले भन्नुभएको छ–
यादले नै तिम्रो विकर्म विनाश हुन्छन्। बाबाले पनि तिमीसँग नै सोध्नुहुन्छ– कति याद
गर्छौ? चलनबाट पनि थाहा हुन्छ। याद बिना पाप काटिन सक्दैन। यस्तो होइन, कसैलाई
ज्ञान सुनाउँछौ भने तिम्रो वा उसको पाप काटिन्छ। होइन, जब आफैँले याद गर्छन्, तब
पाप काटिन्छन्। मूल कुरा हो पावन बन्नु। बाबा भन्नुहुन्छ– मेरो बनेका छौ त्यसैले
कुनै पाप नगर। नत्र धेरै जोडले गिर्नेछौ। आशा पनि नराख्नु– मैले राम्रो पद पाउन
सक्छु।
प्रदर्शनीमा धेरैलाई
सम्झाउँछन्, बस् खुसी हुन्छन्– हामीले धेरै सर्भिस गर्यौँ। तर बाबा भन्नुहुन्छ–
पहिला तिमी त पावन बन। बाबालाई याद गर। यादमा धेरै असफल हुन्छन्। ज्ञान त धेरै सहज
छ, केवल ८४ को चक्रलाई जान्नु छ, त्यो पढाइमा कति हिसाब-किताब पढ्छन्, मेहनत गर्छन्।
कमाउँछन् के? पढ्दा-पढ्दै मरे भने पढाइ खत्तम। तिमी बच्चाहरू त जति यादमा रहन्छौ,
त्यति धारणा हुन्छ। पवित्र बनेनौ, पाप मेटाएनौ भने धेरै सजाय भोग्नुपर्छ। यस्तो
होइन, हाम्रो याद त बाबालाई पुग्छ नै। बाबाले के गर्नुहुन्छ! तिमीले याद गर्यौ भने
तिमी पावन बन्छौ, बाबाले त्यसमा के गर्नुहुन्छ, के स्याबास दिनुहुन्छ। धेरै बच्चाहरू
छन् जसले भन्छन्– हामी त सदैव बाबालाई याद गर्छौं नै, उहाँ बिना हाम्रो को नै छ र?
यो पनि गफ हाँक्छन्। यादमा त ठुलो मेहनत छ। मैले याद गर्छु वा गर्दिनँ, यो पनि
बुझ्न सक्दैनन्। अन्जानमा भनिदिन्छन्– म त याद गर्छु नै। मेहनत बिना कोही विश्वको
मालिक कहाँ बन्न सक्छन्। उच्च पद पाउन सक्दैनन्।
यादको जौहर जब भरिन्छ,
तब सर्भिस गर्न सक्छन्। फेरि हेर्नुपर्यो, कति सर्भिस गरेर प्रजा बनाएँ। हिसाब
चाहिन्छ नि। मैले कतिलाई आफूसमान बनाउँछु। प्रजा बनाउनुपर्छ नि, तब राजाई पद पाउन
सकिन्छ। त्यो त अहिले केही छैन। योगमा रहुन्, जौहर भरियोस्, तब कसैलाई पूरा तीर
लाग्छ। शास्त्रहरूमा पनि छ नि– अन्त्यमा भीष्मपितामह, द्रोणाचार्य आदिलाई ज्ञान
दिइयो। जब तिम्रो पतितपना निस्किएर आत्मा सतोप्रधानसम्म आउँछ, तब जौहर भरिन्छ र
झट्ट तीर लाग्छ। यो कहिल्यै ख्याल नगर– बाबाले त सबै कुरा जान्नुहुन्छ। बाबालाई
जान्ने के दरकार छ, जे गर्छौ, त्यही पाउँछौ। बाबा साक्षी भएर हेरिरहनुहुन्छ।
बाबालाई लेख्छन्– हामीले फलानो ठाउँमा गएर सर्भिस गर्यौँ, बाबाले सोध्नुहुन्छ– पहिला
तिमी यादको यात्रामा तत्पर छौ? पहिलो कुरा नै यो हो– अरूको सङ्ग तोडेर एक बाबासँग
जोड। देही-अभिमानी बन्नुपर्छ। घरमा बस्दा पनि सम्झनु छ– यो त पुरानो दुनियाँ, पुरानो
देह हो। यो सबै खत्तम हुनु छ। हाम्रो काम बाबा र वर्सासँग छ। बाबाले यस्तो
भन्नुहुन्न– गृहस्थ व्यवहारमा नबस, कसैसँग कुरा नगर। बाबासँग सोध्छन्– विवाहमा जाऔँ?
बाबाले भन्नुहुन्छ– ठीकै छ, जाऊ। त्यहाँ पनि गएर सर्भिस गर। बुद्धिको योग
शिवबाबासँग होस्।
जन्म-जन्मान्तरका
विकर्म यादको बलले नै भस्म हुन्छन्। यहाँ पनि यदि विकर्म गर्छन् भने धेरै सजाय
भोग्नुपर्छ। पावन बन्दा-बन्दै विकारमा गिर्यो भने मर्यो। एकदम टुक्रा-टुक्रा हुन्छन्।
श्रीमतमा नचलेर धेरै नोक्सान गर्छन्। कदम-कदममा श्रीमत चाहिन्छ। यस्ता-यस्ता पाप
गर्छन्, जसले गर्दा योग लाग्न सक्दैन। याद गर्न सक्दैनन्। कसैलाई गएर भन्छन्– भगवान
आउनुभएको छ, उहाँबाट वर्सा लिनुहोस्, तर उनीहरूले मान्दैनन्। तीर लाग्दैन। बाबाले
भन्नुभएको छ– भक्तहरूलाई ज्ञान सुनाऊ, व्यर्थ कसैलाई नदेऊ, नत्र झन् निन्दा गराउँछन्।
कयौँ बच्चाहरूले बाबासँग सोध्छन्– बाबा, हामीलाई दान गर्ने आदत छ, अब त ज्ञानमा आयौँ,
अब के गरौँ? बाबाले राय दिनुहुन्छ– प्यारा बच्चाहरू! गरिबहरूलाई दान दिने त धेरै छन्।
गरिब कोही भोकै मर्दैनन्, फकिरहरूसँग धेरै पैसा रहेको हुन्छ, त्यसैले यी सबै
कुराबाट तिम्रो बुद्धि हट्नुपर्छ। दान आदिमा पनि धेरै होसियार रहनुपर्छ। धेरैले
यस्ता-यस्ता काम गर्छन्, कुरै नगर र फेरि आफैँले सम्झँदैनन्– मेरो शिरमा बोझ धेरै
भारी हुँदै जान्छ।
ज्ञानमार्ग कुनै
हाँसोठट्टाको मार्ग होइन। बाबाको साथमा त फेरि धर्मराज पनि छन्। धर्मराजको ठुला-ठुला
डन्डा खानुपर्छ। भनिन्छ नि, जब अन्त्यमा धर्मराजले लेखा लिन्छन्, तब थाहा हुन्छ।
जन्म-जन्मान्तरको सजाय खान कुनै समय लाग्दैन। बाबाले काशी कलवटको पनि उदाहरण
सम्झाउनुभएको छ। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। मानिसहरूको पनि बलि चढाउँछन्,
यो पनि ड्रामामा निश्चित छ। यी सबै कुरालाई बुझ्नु छ, यस्तो होइन– यो ड्रामा किन
बनाइयो? चक्रमा किन ल्याइयो? चक्रमा त आइ नै रहन्छन्। यो त अनादि ड्रामा हो नि।
चक्रमा नआउने हो भने फेरि दुनियाँ नै रहँदैन। मोक्ष त हुँदैन। मुख्यको पनि मोक्ष
हुन सक्दैन। ५ हजार वर्षपछि फेरि यस्तै चक्र लगाउँछन्। यो त ड्रामा हो नि। केवल
कसैलाई सम्झाउनाले, वाणी चलाउनाले पद मिल्दैन, पहिला त पतितबाट पावन बन्नु छ। यस्तो
होइन– बाबाले सबै जान्नुहुन्छ। बाबाले जानेर पनि के गर्नुहुन्छ, पहिला त तिम्रो
आत्माले जान्दछ– श्रीमतमा मैले के गर्छु, कहाँसम्म बाबालाई याद गर्छु? बाँकी बाबाले
यो बसेर जान्नु, यसबाट फाइदा नै के? तिमीले जे-जति गर्छौ, सो तिमीले पाउँछौ। बाबाले
तिम्रो कर्म र सर्भिसबाट जान्नुहुन्छ– यो बच्चाले राम्रो सर्भिस गर्छ। फलानाले
बाबाको बनेर धेरै विकर्म गरेको छ भने उसको मुरलीमा जौहर भरिन सक्दैन।
यो ज्ञान तरवार हो।
त्यसमा यादको बलको जौहर चाहिन्छ। योगबलले तिमीले विश्वमाथि विजय प्राप्त गर्छौ,
बाँकी ज्ञानद्वारा नयाँ दुनियाँमा उच्च पद पाउँछौ। पहिला त पवित्र बन्नु छ, पवित्र
नबनी उच्च पद मिल्न सक्दैन। यहाँ आउँछन् नरबाट नारायण बन्नका लागि। पतित कहाँ नरबाट
नारायण बन्छन् र। पावन बन्ने पूरा युक्ति चाहिन्छ। अनन्य बच्चाहरू जो सेन्टर
सम्हाल्छन्, उनीहरूले पनि ठुलो मेहनत गर्नुपर्छ, यति मेहनत गर्दैनन्, त्यसैले त्यो
जौहर भरिँदैन, तीर लाग्दैन, यादको यात्रा कहाँ! केवल प्रदर्शनीमा धेरैलाई सम्झाउँछन्,
पहिला यादद्वारा पवित्र बन्नु छ, अनि हो ज्ञान। पावन भइयो भने ज्ञानको धारणा हुन्छ।
पतितलाई धारणा हुँदैन। मुख्य विषय यादको हो। त्यो पढाइमा पनि विषय हुन्छन् नि।
तिमीकहाँ पनि हुन त बी.के. बन्छन् तर ब्रह्माकुमार-कुमारी, भाइ-बहिनी बन्नु
सानीआमाको घर होइन। केवल भन्नका लागि मात्र बन्नु छैन। देवता बन्नका लागि पहिला
पवित्र अवश्य बन्नु छ। फेरि हो पढाइ। केवल पढाइ हुन्छ, पवित्र हुँदैनन् भने उच्च पद
पाउन सक्दैनन्। आत्मा पवित्र चाहिन्छ। पवित्र भएमा पवित्र दुनियाँमा उच्च पद पाउन
सकिन्छ।
पवित्रतामाथि नै
बाबाले जोड दिनुहुन्छ। पवित्रता बिना कसैलाई ज्ञान दिन सकिँदैन। बाँकी बाबाले केही
पनि हेर्नुहुन्न। स्वयं बस्नुभएको छ नि, सबै कुरा सम्झाउनुहुन्छ। भक्तिमार्गमा
भावनाको भाडा मिल्छ। त्यो पनि ड्रामामा निश्चित छ, शरीर बिना बाबाले कसरी कुरा
गर्नुहुन्छ? कसरी सुन्नुहुन्छ? आत्मालाई शरीर छ, तब सुन्छ, बोल्छ। बाबा भन्नुहुन्छ–
मसँग अङ्गहरू नै छैन भने कसरी सुनूँ, जानूँ? सम्झन्छन्– बाबाले त जान्नुहुन्छ, हामी
विकारमा जान्छौँ। यदि जान्नुहुन्न भने भगवान नै मान्दैनौँ। यस्ता पनि धेरै हुन्छन्।
बाबा भन्नुहुन्छ– म आएको छु तिमीलाई पावन बन्ने मार्ग बताउन। साक्षी भएर हेर्छु।
बच्चाहरूको चलनबाट थाहा हुन्छ– यो कपुत हो वा सपुत हो? सर्भिसको पनि प्रमाण चाहिन्छ
नि। यो पनि जान्नुहुन्छ– जसले जे गर्छ, उसले त्यही पाउँछ। श्रीमतमा चल्यो भने
श्रेष्ठ बन्छ। चलेन भने आफैँ गन्दा बनेर गिर्छ। कुनै पनि कुरा छ भने स्पष्ट सोध।
अन्धश्रद्धाको कुरा छैन। बाबा केवल भन्नुहुन्छ– यादको जौहर छैन भने पावन कसरी बन्छौ?
यो जन्ममा पनि यस्ता-यस्ता पाप गर्छन्, कुरै नगर। यो हो नै पाप आत्माहरूको दुनियाँ,
सत्ययुग हो पुण्य आत्माहरूको दुनियाँ। यो हो सङ्गम। कोही त कमजोर बुद्धि छन्,
त्यसैले धारणा गर्न सक्दैनन्। बाबालाई याद गर्न सक्दैनन्। फेरि धेरै ढिलो हुन्छ,
संसारमा आगो लाग्छ, अनि योगमा पनि रहन सक्दैनन्। त्यस समय त हाहाकार मच्चिन्छ। धेरै
दु:खका पहाड गिर्नेवाला छन्। यही धुन रहनुपर्छ– हामीले आफ्नो राज्य-भाग्य त बाबाबाट
लिऔँ। देह-अभिमान छोडेर सर्भिसमा लाग्नुपर्छ। कल्याणकारी बन्नु छ। धन व्यर्थ गुमाउनु
छैन। जो लायक नै छैन, यस्तो पतितलाई कहिल्यै दान दिनु हुँदैन, नत्र दान दिनेमाथि पनि
आउँछ। यस्तो होइन– झ्याली पिट्नु छ, भगवान आउनुभएको छ। यस्ता भगवान कहलाउनेहरू
भारतमा धेरै छन्। कसैले मान्दैनन्। यो तिमीलाई थाहा छ– तिमीलाई प्रकाश मिलेको छ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पढाइको साथ-साथ पवित्र अवश्य बन्नु छ। यस्तो लायक वा सपुत बच्चा बनेर सर्भिसको
प्रमाण दिनु छ। श्रीमतमा स्वयंलाई श्रेष्ठ बनाउनु छ।
२) स्थूल धन पनि
व्यर्थ गुमाउनु छैन। पतितहरूलाई दान गर्नु छैन। ज्ञान धन पनि पात्रलाई हेरेर दिनु
छ।
वरदान:–
पुराना
संस्कारहरूको अग्नि संस्कार गर्ने सच्चा मरजीवा भव
जसरी मरेपछि शरीरको
संस्कार गर्छन्, तब नाम-रूप समाप्त हुन्छ, त्यसैगरी तिमी बच्चाहरू जब मरजीवा बन्छौ,
तब शरीर हुन त त्यही हो तर पुराना संस्कार, स्मृति वा स्वभावहरूको संस्कार गरिदिन्छौ।
संस्कार गरिएको मनुष्य फेरि अगाडि आयो भने त्यसलाई भूत भनिन्छ। यसरी यहाँ पनि यदि
कुनै संस्कार गरिएका संस्कार जागृत हुन्छन् भने, यी पनि मायाका भूत हुन्। यी
भूतहरूलाई भगाऊ, यिनको वर्णन पनि नगर।
स्लोगन:–
कर्मभोगको
वर्णन गर्नुको सट्टा, कर्मयोगको स्थितिको वर्णन गरिराख।
अव्यक्त इसारा:– जसरी
राजाले स्वयम् कुनै कार्य गर्दैन, गराउँछ। गर्ने राज्य कारोबारी अलग हुन्छन्। यदि
राज्य कारोबारी ठीक छैनन् भने राज्य डगमग हुन्छ। यस्तै आत्मा पनि गराउनेवाला हो,
गर्नेवाला यी विशेष त्रिमूर्ति शक्तिहरू हुन्। पहिला यिनीहरूमाथि रुलिङ पावर होस्,
तब यी साकार कर्मेन्द्रियहरू उनीहरूको आधारमा स्वत: नै सही बाटोमा चल्नेछन्।