23.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– रगतको सम्बन्धमा नै दुःख छ , तिमीले त्यसको त्याग गरेर आपसमा आत्मिक प्यार राख्नु छ , यही सुख र आनन्दको आधार हो।”

प्रश्न:–
विजयमालामा आउनको लागि विशेष कुन पुरुषार्थ चाहिन्छ?

उत्तर:–
विजयमालामा आउनु छ भने पवित्र बन्ने विशेष पुरुषार्थ गर। पक्का संन्यासी अर्थात् निर्विकारी बनेपछि विजय मालाको दाना बन्छौ। कुनै पनि कर्मबन्धनको हिसाबकिताब छ भने वारिस बन्न सक्दैनौ, प्रजामा जान्छौ।

गीत:–
महफिल में जल उठी शमा परवानों के लिए...

ओम् शान्ति ।
हेर हामीले आफ्नो बाबाको नै महिमा गर्छौँ । अहम् आत्माले अवश्य आफ्नो पिताको प्रत्यक्षता गर्छौँ नि! पुत्रले पितालाई प्रत्यक्ष गर्छ (सन सोज फादर)। त्यसैले अहम् आत्मा, तिमीले पनि भन्छौ– हामी आत्माहरू, हामी सबैको पिता एक परमात्मा हुनुहुन्छ, जो सबैको पिता हुनुहुन्छ। यो त सबैले मान्छन्। यस्तो भन्दैनन्– हामी आत्माहरूको पिता कोही छुट्टाछुट्टै हुनुहुन्छ। पिता सबैको एक हुनुहुन्छ। हामी उहाँका बच्चा भएका हुनाले उहाँको कर्तव्यलाई जान्दछौँ। हामीले यस्तो भन्न सक्दैनौँ– परमात्मा सर्वव्यापी हुनुहुन्छ। त्यसोभए त सबैमा परमात्मा हुनुपर्ने हो। पितालाई याद गरेर बच्चाहरू खुसी हुन्छन् किनकि जे जति पितासँग हुन्छ, त्यसको वर्सा बच्चालाई मिल्छ। अब हामी हौँ परमात्माका वारिस, उहाँसँग के छ? उहाँ आनन्दको सागर हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ, प्रेमको सागर हुनुहुन्छ। हामीलाई थाहा छ, त्यसैले हामी उहाँको महिमा गर्छौँ। अरूले यस्तो भन्दैनन्। कसैले भन्छन् पनि तर उहाँ कस्तो हुनुहुन्छ, उनीहरूलाई त यो कुरा थाहा नै छैन। बाँकी सबैले त भनिदिन्छन्, परमात्मा सर्वव्यापी हुनुहुन्छ। तर हामी उहाँका बच्चा हौँ, त्यसैले आफ्नो निराकार अविनाशी बाबाको महिमा वर्णन गर्छौँ– उहाँ आनन्दको सागर, ज्ञानको सागर, प्रेमको भण्डार हुनुहुन्छ। तर कसैले प्रश्न उठाएमा– तिमीले भन्छौ, त्यहाँ निराकारी दुनियाँमा त दुःखसुखबाट न्यारा अवस्था हुन्छ। त्यहाँ सुख अथवा आनन्द अथवा प्रेम कहाँबाट आयो? अब यी बुझ्ने कुरा हुन्। यो जुन आनन्द, सुख अथवा प्रेम भन्छौ, यो त भयो सुखको अवस्था तर त्यहाँ शान्ति देशमा आनन्द, प्रेम अथवा ज्ञान कहाँबाट आयो? उहाँ सुखको सागर यस साकार सृष्टिमा आउनुहुन्छ अनि आएर सुख दिनुहुन्छ। त्यहाँ त दुःखसुखबाट न्यारा अवस्थामा रहनुहुन्छ किनकि तिमीलाई सम्झाइएको छ– एउटा हुन्छ दुःखसुखबाट न्यारा दुनियाँ, जसलाई निराकारी दुनियाँ भनिन्छ। अर्को फेरि हुन्छ सुखको दुनियाँ, जहाँ सदा सुख, आनन्द हुन्छ, जसलाई स्वर्ग भनिन्छ र यो हो दुःखको दुनियाँ जसलाई नर्क अथवा कलियुगी दुनियाँ भनिन्छ। अब यस कलियुगी दुनियाँलाई परमपिता परमात्मा जो सुखको सागर हुनुहुन्छ, उहाँ आएर यसलाई परिवर्तन गरेर आनन्द, सुख, प्रेमको भण्डार बनाउनुहुन्छ। जहाँ सुख नै सुख हुन्छ। प्रेम नै प्रेम हुन्छ। त्यहाँ जनावरहरूमा पनि धेरै प्रेम हुन्छ। बाघ र गाईले पनि सँगसँगै पानी पिउँछन्, उनीहरूमा यति प्रेम हुन्छ। त्यसैले परमात्मा आएर जुन हाम्रो राजधानी स्थापन गर्नुहुन्छ, त्यसमा सुख र आनन्द हुन्छ। बाँकी निराकारी दुनियाँमा त सुख आनन्दको कुरा नै हुँदैन, प्रेमको कुरा नै हुँदैन। त्यो त हो निराकारी आत्माहरूको निवासस्थान। त्यो हो सबैको रिटायर लाइफ अथवा निर्वाण अवस्था। जहाँ दुःख-सुखको केही महसुस हुँदैन। त्यो दुःख-सुखको पार्ट त यस साकारी दुनियाँमा चल्छ। यही सृष्टिमा स्वर्ग हुँदा अविनाशी आत्मिक प्यार हुन्छ किनकि रगतको सम्बन्धमा दुःख हुन्छ। संन्यासीहरूमा पनि रगतको सम्बन्ध हुँदैन, त्यसैले उनीहरूमा पनि दुःखको कुनै कुरा हुँदैन। उनीहरूले त भन्छन्, म सत्, चित्, आनन्दस्वरूप हुँ किनकि रगतको सम्बन्धलाई त्यागिदिन्छन्। त्यसैगरी यहाँ पनि तिम्रो कुनै रगतको सम्बन्ध छैन। यहाँ हामी सबैको आत्मिक प्यार छ, जुन परमात्माले सिकाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– तिमी मेरा परमप्रिय बच्चाहरू हौ। मेरो आनन्द, प्रेम, सुख तिम्रो हो किनकि तिमीले त्यो दुनियाँ छोडेर आएर मेरो गोद लिएका छौ। यो गोदमा पनि तिमी यथार्थ जीवनमा आएर बसेका छौ। यस्तो होइन, जसरी बाँकी जसले संन्यास गरेर उनीहरूको गोद लिन्छन्, उनीहरू नै परमप्रिय बच्चा बन्छन् किनकि उनीहरू नै गुरु पछि गद्दीमा बस्छन्। बच्चा र प्रजामा रातदिनको फरक हुन्छ। उनीहरूले वारिस बनेर वर्सा लिन्छन्। जसरी तिमीले उनीहरूसँग रगतको सम्बन्ध तोडेर यस निराकार वा साकारको गोद लिएका छौ त्यसैले वारिस बनेका छौ। यसमा पनि फेरि जति ज्ञान लिन्छौ, त्यो हो आशीर्वाद। पढाइलाई आशीर्वाद भनिन्छ। त्यसैले जति उनीहरूले त्यस ज्ञानलाई धारण गर्छन्, त्यति त्यस राजधानीमा प्रजामा सुख लिन्छन्। यो ईश्वरीय पढाइ आशीर्वाद हो नि, जसबाट परम शान्ति र सुख मिल्छ। यो अटल अखण्ड सुख-शान्तिमय स्वराज्य हो ईश्वरको सम्पत्ति, जुन बच्चाहरूलाई मिल्छ। फेरि जति जति जसले ज्ञान धारण गर्छन्, त्यति बाबाको वर्सा मिल्छ। जसरी तिमीकहाँ यति जिज्ञासुहरू आउँछन्, उनीहरू हुन्, तिम्रा परमप्रिय प्रजाहरू। बच्चा होइनन् किनकि आउनेजाने गरिरहन्छन्, बच्चा पनि हुन सक्छन् किनकि प्रजाबाट कोही वारिस पनि त बन्छन्। ज्ञान लिँदालिँदै यहाँ त अथाह सुख र शान्ति छ, त्यस दुनियाँमा त दुःख छ भन्ने देख्छन् अनि आएर गोद लिन्छन्। तुरुन्तै त कोही बच्चा बन्दैन। तिमी पनि पहिला आउनेजाने गर्थ्यौ, फेरि सुन्दासुन्दै बस्यौ, अनि वारिस बन्यौ। संन्यासीहरूकहाँ पनि यस्तै हुन्छ। सुन्दासुन्दै संन्यासमा त शान्ति सुख छ भन्ने बुझ्छन् अनि संन्यास गर्छन्। यहाँ पनि रस बसेपछि परमप्रिय बच्चा बन्छन्, अनि उनीहरूलाई जन्मजन्मान्तरको लागि वर्सा मिल्छ। उनीहरू फेरि दैवी वंशावलीमा आउँछन्। प्रजा त सँगसँगै रहँदैनन्, उनीहरू कहाँ कहाँ कर्मबन्धनमा जान्छन्।

जसरी गीतमा भन्छन्– महफिल में जल उठी शमा परवानों के लिए। त्यसैले परवाना, पुतलीहरू पनि दीपकमा डान्स गर्दागर्दै मर्छन्। कोही चक्कर लगाएर जान्छन्। यो तन पनि एउटा दीपक हो, जसमा सर्वशक्तिमान् बाबा प्रवेश गर्नुभएको छ। तिमी परवाना बनेर आयौ, आउँदाजाँदा आखिर रहस्य बुझ्यौ अनि बस्यौ। आउन त हजारौँ लाखौँ आउँछन्, तिमीद्वारा पनि सुनिरहन्छन्। उनीहरूले त जति सुन्छन्, त्यति शान्ति र आनन्दको वरदान लिँदै जान्छन् किनकि अविनाशी पिताको यो शिक्षा त विनाश हुँदैन। यसलाई भनिन्छ अविनाशी ज्ञान धन। त्यसको विनाश हुँदैन। त्यसैले जसले जेजति सुने पनि उनीहरू प्रजामा अवश्य आउँछन्। त्यहाँ त प्रजा पनि धेरै नै सुखी हुन्छन्। आशीर्वाद अविनाशी हुन्छ किनकि त्यहाँ सबै आत्म अभिमानी हुन्छन्। यहाँ देहअभिमानी भएका छन्, त्यसैले दुःखी छन्। त्यहाँ त हुन्छ नै स्वर्ग, त्यहाँ दुःखको नामनिसान हुँदैन। जनावर नै कति सुखशान्तिमा हुन्छन् भने प्रजामा कति प्रेम र सुख होला। यो त अवश्य हो, सबै त वारिस बन्दैनन्। यहाँ त १०८ पक्का संन्यासी विजयमालाका दाना बन्नेवाला छन्। तिनीहरू पनि अहिले बनेका छैनन्, बनिरहेका छन्। साथसाथै प्रजा पनि बनिरहेका छन्। तिनीहरू पनि बाहिर बसेर सुनिरहन्छन्। घरमै बसेर योग लगाइरहेका छन्। योग लगाउँदा लगाउँदै कोही फेरि भित्र आए भने प्रजाबाट वारिस बन्छन्। उनीहरूको कर्मबन्धनको केही हिसाब छ रहँदासम्म बाहिर बसेर योग लगाउँछन्, निर्विकारी बन्दै आउँछन्। त्यसैले घरैमा बसेर निर्विकारी रहे भने घरमा झगडा अवश्य हुन्छ किनकि कामेश क्रोधेशु... काम महाशत्रुमाथि तिमीले विजय प्राप्त गर्छौ, विष दिन बन्द गर्छौ, अनि झगडा हुन्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मृत्यु सामुन्ने छ। सारा दुनियाँ विनाश हुनु छ। जसरी वृद्धहरूलाई भन्छन् मृत्यु सामुन्ने छ, परमात्मालाई याद गर। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! निर्विकारी बन। परमात्मालाई याद गर। जसरी तीर्थमा जाँदा काम, क्रोध सबै बन्द गरिदिन्छन्। बाटोमा कहाँ काम चेष्टा गर्छन् र! उनीहरूले त सारा बाटोभरी अमरनाथको जयजय गर्दै जान्छन् तर फर्केर आएपछि फेरि त्यही विकारहरूमा डुबुल्की मारिरहन्छन्, तिमी त त्यसरी फर्कनु छैन। काम, क्रोधमा आउनु छैन। विकारमा गयौ भने पद भ्रष्ट हुन्छ। पवित्र बन्दैनौ। जो पवित्र बन्छन्, उनीहरू विजयमालामा आउँछन्। जो फेल हुन्छन्, उनीहरू चन्द्रवंशी घरानामा जान्छन्।

यो कुरा तिमीहरू सबैलाई परमपिता परमात्मा बसेर पढाउनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ नि! त्यहाँ निराकारी दुनियाँमा त आत्माहरूलाई बसेर ज्ञान सुनाउनुहुन्न। यहाँ आएर तिमीहरूलाई ज्ञान सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीहरू मेरा बच्चा हौ। जसरी म पवित्र छु, त्यसैगरी तिमी पनि पवित्र बन। त्यसपछि तिमीले सत्ययुगमा सुखमय, प्रेममय राज्य गर्छौ, जसलाई वैकुण्ठ भनिन्छ। अब यो दुनियाँ परिवर्तन भइरहेको छ किनकि कलियुगबाट सत्ययुग बनिरहेको छ। फेरि सत्ययुगबाट त्रेतायुगमा परिवर्तन हुन्छ। त्रेतायुगबाट द्वापरयुग, फेरि द्वापरयुगबाट कलियुगमा परिवर्तन हुँदैजान्छ। यसरी दुनियाँ परिवर्तन भइरहन्छ। त्यसैले अब यो दुनियाँ परिवर्तन भइरहेको छ। कसले परिवर्तन गरिरहनुभएको छ? स्वयं भगवानले, जसका तिमी परमप्रिय बच्चा बनेका छौ। प्रजा पनि बनिरहेका छन् तर बच्चा, बच्चा हुन्, प्रजा प्रजा हुन्। जसले संन्यास गर्छन्, उनीहरू वारिस बन्छन्। उनीहरूलाई राजघरानामा अवश्य लैजानु छ। तर यति ज्ञान धारण गरेका छैनन् भने पद पाउँदैनन्। जसले पढ्छ, ऊ नवाब बन्छ। जो आउनेजाने गर्छन्, उनीहरू फेरि प्रजामा आउँछन्। फेरि जति पवित्र बन्छन्, त्यति सुख मिल्छ। परमप्रिय त उनीहरू पनि बन्छन् तर पूरा प्यारा त बाबाका बच्चा बनेपछि मात्र बन्छन्। बुझ्यौ।

संन्यासी पनि धेरै प्रकारका हुन्छन्। एकथरी हुन्छन् जो घरबार छोडेर जान्छन्, अर्का फेरि यस्ता पनि हुन्छन् जो गृहस्थमा रहेर विकारमा जाँदैनन्। उनीहरू बसेर अनुयायीहरूलाई शास्त्र आदि सुनाउँछन्। आत्माको ज्ञान दिन्छन्, उनीहरूका पनि शिष्य हुन्छन्। तर उनीहरूका शिष्य उनीहरूका परमप्रिय बच्चा बन्न सक्दैनन् किनकि ती त घरबार, बच्चावाला हुन्छन्। त्यसैले तिनले आफूसँग त बसाउन सक्दैनन्। न आफैले संन्यास गरेका हुन्छन्, न अरूलाई संन्यास गराउन सक्छन्। उनका शिष्य पनि गृहस्थमा रहन्छन्। उनीहरूकहाँ आउनेजाने गरिरहन्छन्। उनले केवल उनीहरूलाई ज्ञान दिइरहन्छ अथवा मन्त्र दिन्छन्। बस्। अब उनीहरूका वारिस बनेनन् भने त उनीहरूको उन्नति कसरी हुन्छ। बस् ज्ञान दिँदादिँदै शरीर छोडेर जान्छन्।

हेर, एउटा माला हुन्छ १०८ को, अर्को फेरि त्योभन्दा ठुलो १६१०८ को माला हुन्छ। त्यो हो चन्द्रवंशी घरानाका रोयल राजकुमार-राजकुमारीहरूको माला। त्यसैले यहाँ जसले त्यति ज्ञान धारण गर्न सक्दैनन्, पावन बन्दैनन् अनि सजाय खाएर चन्द्रवंशी घरानाको मालामा आउँछन्। राजकुमार-राजकुमारी त धेरै हुन्छन्। यो रहस्य पनि तिमीले अहिले सुन्छौ, जान्दछौ। त्यहाँ यी ज्ञानका कुरा हुँदैनन्। यो ज्ञान त केवल अहिले सङ्गममा मिल्छ जुनबेला दैवी धर्मको स्थापना भइरहेको छ। त्यसैले सुनाइयो, जसले पूरा कर्मेन्द्रियहरूलाई जित्दैनन्, उनीहरू चन्द्रवंशी घरानाको मालामा जान्छन्, जसले कर्मेन्द्रियहरूलाई जित्छन्, उनीहरू सूर्यवंशी घरानामा आउँछन्। उनीहरूमा पनि नम्बरवार त अवश्य बन्छन् । शरीर पनि अवस्था अनुसार मिल्छ। हेर, सबैभन्दा मम्मा तीक्ष्ण भएर गइन्, त्यसैले उनलाई छात्रवृत्ति मिलेको छ। मनिटर बनिन्। उनलाई सारा ज्ञानको कलश दिइयो, उनलाई मैले पनि माता भन्छु किनकि मैले पनि सारा तन-मन-धन उनको चरणमा स्वाहा गरिदिएँ, लौकिक बच्चाहरूलाई दिइनँ किनकि त्यो त रगतको सम्बन्ध भयो। यी त अविनाशी बच्चा बन्छन्, सबै संन्यास गरेर आउँछन्, त्यसैले उनीहरूमाथि बढी प्यार हुन्छ। अविनाशी प्यार सबैभन्दा गाढा हुन्छ। संन्यासी त घरबार छोडेर एक्लै भाग्छन्। यहाँ त सबै लिएर आएर स्वाहा गरेका छन्। परमात्माले स्वयं यथार्थमा कार्य गरेर देखाउनुहुन्छ।

यहाँ तिमीलाई कुनै पनि प्रश्नको जवाफ मिल्न सक्छ। उहाँ परमात्मा स्वयंले पनि आएर बताउन सक्नुहुन्छ। उहाँ त जादुगर हुनुहुन्छ, अहिले उहाँको यो जादुगरीको पार्ट चलिरहेको छ। तिमी त धेरै प्यारा बच्चाहरू हौ, बाबाले कहिल्यै तिम्रो चित्त दुखाउन सक्नुहुन्न। चित्त दुखाउनु भयो भने बच्चाहरूले पनि रिसाउन सिक्छन्। यहाँ त सबैको आन्तरिक प्यार छ। स्वर्गमा पनि कति प्रेम हुन्छ। त्यहाँ त सबै सतोप्रधान हुन्छन्।

यहाँ जुन आगन्तुकहरू आउँछन्, उनीहरूको पनि धेरै सेवा हुन्छ किनकि उनीहरूमाथि पनि शान्ति र सुखको वर्षा हुन्छ। तिनीहरू परमप्रिय प्रजा बन्नेछन्। मातापिता, बच्चाहरू सबै उनीहरूको सेवामा लाग्छन्। बन्न त देवीदेवता बनिरहेका छन् तर यहाँ त्यो पदको अहङ्कार हुँदैन। सबै आज्ञाकारी सेवक बनेर सेवामा उपस्थित हुन्छन्। भगवान पनि आज्ञाकारी सेवक बनेर आफ्ना प्यारा बच्चाहरू र प्रजाको सेवा गर्नुहुन्छ। उहाँको बच्चाहरूमाथि नै आशीर्वाद हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे नूरे रत्न, कल्प कल्पका विछोडिएका बच्चाहरू जो फेरि आएर मिलेका छन्, यस्ता बच्चाहरूप्रति मातापिता बापदादाको दिलोज्यान, स्नेह र प्रेमले याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) जसरी बापदादाले कहिल्यै बच्चाहरूलाई नाराज गर्नुहुन्न, त्यसैगरी तिमी बच्चाहरूले पनि कसैलाई नाराज गर्नुहुँदैन। आपसमा आन्तरिक प्यारसँग रहनु छ। कहिल्यै रिसाउनुहुँदैन।

२) शान्ति र आनन्दको वरदान लिनको लागि दीपक, बाबामा पूरा बलिहार हुनु छ। पढाइबाट परम शान्ति र सुखको ईश्वरीय अधिकार लिनु छ।

वरदान:–
आफ्नो प्रत्यक्ष प्रमाणद्वारा बाबालाई प्रत्यक्ष गर्ने श्रेष्ठ तकदिरवान् भव

कुनै पनि कुरालाई स्पष्ट पार्नको लागि अनेक प्रकारका प्रमाण दिइन्छ। तर सबैभन्दा श्रेष्ठ प्रमाण प्रत्यक्ष प्रमाण हो। प्रत्यक्ष प्रमाण अर्थात् जो हौ, जसका हौ, उहाँको स्मृतिमा रहनु। जुन बच्चाहरू आफ्नो यथार्थ वा अनादि स्वरूपमा स्थित रहन्छन्, उनीहरू नै बाबालाई प्रत्यक्ष गर्न निमित्त हुन्छन्। उनीहरूको भाग्यलाई देख्दा भाग्य बनाउनेको याद स्वतः आउँछ।

स्लोगन:–
आफ्नो दयाको दृष्टिले हरेक आत्मालाई परिवर्तन गर्नेहरू नै पुण्य आत्मा हुन्।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

कोही आफ्नो संस्कार वा स्वभावको कारण तिम्रो अगाडि परीक्षाको रूपमा आए पनि तिमीले सेकेन्डमा आफ्नो श्रेष्ठ संस्कारले, एकको स्मृतिले यस्तो आत्माप्रति पनि रहमदिलको संस्कार वा स्वभाव धारण गर– यही हो उपकार गर्नु।