24.08.25    Avyakt Bapdada     Nepali Murli    30.11.2006     Om Shanti     Madhuban


“ज्वालामुखी तपस्याद्वारा मैपनको पुच्छरलाई जलाएर बापदादा समान बन , तब समाप्ति समीप आउनेछ।”


आज अखुट अविनाशी खजानाका मालिक बापदादाले आफ्ना चारैतिरका सम्पन्न बच्चाहरूको जम्माको खाता हेरिरहनुभएको छ। तीन प्रकारका खाता हेरिरहनुभएको छ– एक हो आफ्नो पुरुषार्थद्वारा श्रेष्ठ प्रारब्ध जम्माको खाता। दोस्रो हो सदा सन्तुष्ट रहनु र सन्तुष्ट पार्नु, यो हो सन्तुष्टताद्वारा आशीर्वादको खाता। तेस्रो हो मनसा-वाचा-कर्मणा, सम्बन्ध-सम्पर्कद्वारा बेहदको निःस्वार्थ सेवाद्वारा पुण्यको खाता। तिमीहरू सबैले पनि आफ्ना यी तीन खातालाई जाँच गर्छौ नै। यी तीनवटै खाता कति जम्मा छन्, छन् वा छैनन् त्यसको निसानी हो– सदा सर्वप्रति, स्वयं प्रति सन्तुष्टता स्वरूप, सर्वप्रति शुभभावना, शुभकामना र सदा आफूलाई खुसी (खुसनुमा), सौभाग्यशाली (खुसनसिब) स्थितिमा अनुभव गर्नु। त्यसैले जाँच गर दुवै खाताका निसानीहरू स्वयंमा अनुभव हुन्छन्? यी सर्व खजाना जम्मा गर्ने चाबी हो– निमित्त भाव, निर्माण भाव, निःस्वार्थ भाव। जाँच गर्दै जाऊ र चाबीको नम्बर थाहा छ! चाबीको नम्बर हो– तीन बिन्दु। थ्री डट। एक– आत्मा बिन्दु, दोस्रो– बाबा बिन्दु, तेस्रो– ड्रामाको फुल स्टप बिन्दु। तिमीहरू सबैसँग चाबी त छ नि! खजाना खोलेर हेरिरहन्छौ नि! यी सबै खजानाको वृद्धिको विधि हो– दृढता। दृढता भयो भने कुनै पनि कार्यमा यो सङ्कल्प चल्दैन कि हुन्छ कि हुँदैन। दृढताको स्थिति हो– भइ नै सकेको छ, बनि नै सकेको छ। बन्छ, जम्मा हुन्छ, हुँदैन, होइन। गर्छु त, हुनु त पर्ने... त त पनि होइन। दृढतावाला निश्चयबुद्धि, निश्चित र निश्चित अनुभव गर्छ।

बापदादाले पहिला पनि सुनाउनुभएको छ– यदि धेरैभन्दा धेरै सर्व खजानाको खाता जम्मा गर्नुछ भने मनमनाभवको मन्त्रलाई यन्त्र बनाऊ। जसबाट सदा बाबाको साथ र पासमा रहने स्वतः अनुभव हुन्छ। पास हुनु नै छ, तीन रूपले पास छन्– एक हो पासमा रहनु, दोस्रो हो जे बित्यो सो पास भयो र तेस्रो हो पास विद अनर हुनु। यदि तीनवटै पास छन् भने, तिमीहरू सबैलाई राज्य अधिकारी बन्नको लागि फुल पास छ। त्यसोभए फुल पास लिइसक्यौ वा लिनुछ? जसले फुल पास लिइसकेका छौ, उनीहरूले हात उठाऊ। लिनुछैन, लिइसक्यौ? पहिलो लाइनवालाले उठाउँदैनन्, लिनुछ तिमीहरूलाई? सोच्छन् अहिले सम्पूर्ण बनेका छैनौँ, त्यसैले। तर निश्चयबुद्धि विजयी छँदैछन्, कि हुनुछ? अहिले त समयको पुकार, भक्तहरूको पुकार, आफ्नो मनको आवाज के आइरहेको छ? अहिलेको अहिल्यै सम्पन्न र समान बन्नु नै छ वा यो सोच्छौ– बन्छौँ, सोच्छौँ, गर्छौँ...! अब समय अनुसार हर समय एभररेडीको पार्ट पक्का रहनु नै छ। जब मेरो बाबा भन्यौ, प्यारा बाबा, मीठा बाबा मान्छौ नै। तब जो प्यारो हुन्छ, उसकोसमान बन्न मुस्किल हुँदैन।

बापदादाले देख्नुभएको छ, समय समयमा समान बन्नमा जुन विघ्न पर्छ, त्यो सबैसँग प्रसिद्ध शब्द छ, सबैलाई थाहा छ, अनुभवी छन्। त्यो हो “म”, मैपन, त्यसैले बापदादाले पहिला पनि भन्नुभएको छ, जहिले पनि म शब्द बोल्छौ त्यतिबेला केवल म नभन, भन म आत्मा। जुम्ल्याहा शब्द बोल। त्यसपछि म कहिले अभिमान लिएर आउँछ, देह अभिमानवाला म, आत्मावाला होइन। कहिले अभिमान पनि ल्याउँछ, कहिले अपमान पनि ल्याउँछ। कहिले निराश (दिलशिकस्त) पनि बनाउँछ, त्यसैले यो देह अभिमानको मैपनलाई सपनामा पनि आउन नदेऊ।

बापदादाले देख्नुभएको छ, स्नेहको विषयमा धेरैजसो पास छन्। तिमीहरू सबैलाई कसले यहाँ ल्याउनुभयो? सबै चाहे विमानमा आएका हौ, चाहे रेलमा, चाहे बसमा आएका हौ, तर वास्तवमा बापदादाको स्नेहको विमानमा यहाँ पुगेका हौ। त्यसैले जसरी स्नेहको विषयमा पास छौ, अब यो कमाल गर– समान बन्ने विषयमा पनि पास विद अनर बनेर देखाऊ। राम्रो लाग्यो? समान बन्न राम्रो लाग्यो? राम्रो लाग्यो तर बन्नमा अलिकति मुस्किल छ! समान बन्यौ भने समाप्ति सामुन्ने आउनेछ। तर कहिलेकाहीँ जुन दिलैदेखि प्रतिज्ञा गर्छौ, बन्नु नै छ। त्यतिबेला प्रतिज्ञा कमजोर हुन्छ र परीक्षा बलियो हुन्छ। चाहन्छन् सबैले तर चाहना एउटा हुन्छ, यथार्थमा अर्कै हुन्छ किनकि प्रतिज्ञा गर्छौ तर दृढताको कमी हुन्छ। समानता टाढा हुन्छ, समस्या प्रबल हुन्छ। अब के गर्छौ?

बापदादालाई एउटा कुरामा धेरै हाँसो उठिरहेको छ। कुन कुरा? छन् महावीर तर जसरी शास्त्रमा हनुमानलाई महावीर पनि भनिएको छ तर पुच्छर पनि देखाइएको छ। यो पुच्छर देखाइएको हो मैपनको। महावीरले यो पुच्छरलाई नजलाएसम्म लङ्का अर्थात् पुरानो दुनियाँ पनि समाप्त हुँदैन। त्यसैले अब यो म, म को पुच्छरलाई जलाऊ अनि समाप्ति समीप आउनेछ। जलाउनको लागि ज्वालामुखी तपस्या गर, साधारण याद होइन। ज्वालामुखी यादको आवश्यकता छ। त्यसैले ज्वाला देवीको पनि यादगार छ। शक्तिशाली याद। त्यसोभए सुन्यौ के गर्नुछ? अब यो मनमा धुन लागिरहोस्– समान बन्नु नै छ, समाप्तिलाई समीप ल्याउनु नै छ। तिमीले भन्छौ सङ्गमयुग त धेरै राम्रो छ नि, समाप्ति किन होस्? तर तिमी बाबासमान दयालु, कृपालु, रहमदिल आत्मा हौ, त्यसैले आजका दुःखी आत्माहरू र भक्त आत्माहरूमाथि हे रहमदिल आत्माहरू कृपा गर। दयालु बन। दुःख बढ्दै गइरहेको छ, दुःखीहरूमाथि कृपा गरेर उनीहरूलाई मुक्तिधाममा त पठाऊ। केवल वाणीको सेवा होइन तर अहिले आवश्यकता छ मनसा र वाणीको सेवा साथसाथै होस्। एकै समयमा दुवै सेवा साथै हुन्। केवल मौका मिलोस् सेवाको, यो नसोच, हिँड्दा-डुल्दा आफ्नो चेहरा र चालचलनद्वारा बाबाको परिचय दिँदै जाऊ। तिम्रो चेहराले बाबाको परिचय देओस्। तिम्रो चालचलनले बाबालाई प्रत्यक्ष गर्दै जाओस्। त्यसैले यस्ता सदा सेवाधारी भव! अच्छा।

बापदादाको सामुन्ने स्थूलमा त तिमीहरू सबै बसेका छौ तर सूक्ष्म स्वरूपले चारैतिरका बच्चाहरू दिलमा छन्। हेरिरहेका पनि छन्, सुनिरहेका पनि छन्। देश विदेशका अनेक बच्चाहरूले इमेलद्वारा, पत्रद्वारा, सन्देशद्वारा यादप्यार पठाएका छन्। सबैको नाम सहित बापदादालाई याद मिलेको छ र बापदादा दिलै-दिलमा सबै बच्चाहरूलाई सामुन्ने देखेर गीत गाइरहनुभएको छ– वाह! बच्चा वाह! हरेकको यस समयमा इमर्ज रूपमा याद रहन्छ। सबै सन्देशीलाई अलग अलग भन्छन्, फलानाले याद पठायो, फलानाले याद पठायो। बाबा भन्नुहुन्छ, बाबाको पासमा त सङ्कल्प गरिसकेपछि, साधनद्वारा पछि मिल्छ तर स्नेहको सङ्कल्प साधनभन्दा पहिला पुग्छ। ठीक छ नि! कतिलाई याद मिलेको छ नि! अच्छा।

अच्छा– पहिला हात उठाऊ जो पहिलो पटक आएका छौ। यिनीहरू सेवामा पनि पहिलोपटक आएका छन्। अच्छा बापदादा भन्नुहुन्छ, स्वागत छ, तिमीहरू आउने मौसम नै यही हो। अच्छा।

इन्दौर जोन:– (सबैको हातमा “मेरो बाबा” को मुटुको आकारको प्रतीक छ) हात त धेरै राम्रो हल्लाइरहेका छौ, तर दिललाई पनि हल्लाउनु। केवल सदा याद राख्नु, नभुल्नु मेरोलाई। अच्छा मौका लियौ, बापदादा सदा भन्नुहुन्छ, हिम्मत राख्नेहरूलाई बापदादाले पदमगुणा मद्दत दिनुहुन्छ। हिम्मत राखेका छौ नि! राम्रो गर्यौ। इन्दौर जोन हो। राम्रो छ, इन्दौर जोन साकार बाबाको अन्तिम स्मृतिको स्थान हो। राम्रो छ। सबै धेरै खुसी भइरहेका छौ नि! स्वर्णिम चिट्ठा मिलेको छ। जोनको सेवा मिल्दा सबै सेवाधारीहरूलाई छुट्टी मिल्छ र त्यस्तै संख्यामा मिल्छ यति ल्याऊ र अहिले हेर यति छन्। यो पनि जोन जोनलाई राम्रो मौका हो नि, जति ल्याउनुछ त्यति ल्याऊ। त तिमीहरू सबैको थोरै समयमा पुण्यको खाता कति धेरै जम्मा भयो। यज्ञ सेवा दिलले गर्नु अर्थात् आफ्नो पुण्यको खाता तीव्रगतिले बढाउनु किनकि सङ्कल्प, समय र शरीर तीनवटै सफल गर्यौ। सङ्कल्प पनि चल्छ भने यज्ञ सेवाको, समय पनि यज्ञ सेवामा व्यतीत भयो र शरीर पनि यज्ञ सेवामा अर्पण गर्यौ। यो सेवा हो कि मेवा हो? प्रत्यक्ष फल यज्ञ सेवा गर्दा कसैको पासमा कुनै व्यर्थ सङ्कल्प आयो? आयो कसैको पासमा? खुसी रह्यौ र खुसी बाँड्यौ। त्यसोभए यो जुन यहाँ स्वर्णिम चिट्ठा अनुभव गर्यौ, यो अनुभवलाई त्यहाँ पनि इमर्ज गरेर बढाइरहनु। कहिल्यै कुनै मायाको सङ्कल्प पनि आयो भने मनको विमानबाट शान्तिवनमा पुग्नु। मनको विमान त छ नि! सबैसँग मनको विमान छ। बापदादाले हर ब्राह्मणलाई जन्मको सौगात श्रेष्ठ मनको विमान दिनुभएको छ। यो विमानमा धेरै मेहनत गर्नुपर्दैन। स्टार्ट गर्ने हो भने मेरो बाबा, बस्। चलाउन आउँछ नि विमान! त्यसैले जहिले पनि केही भयो भने मधुबनमा पुगिहाल। भक्ति मार्गमा चार धाम गर्नेहरूले आफूलाई धेरै भाग्यवान् सम्झन्छन् र मधुबनमा पनि चार धाम छन्, चार धाम गर्यौ? पाण्डव भवनमा हेर, चार धाम छन्। जति पनि आउँछौ पाण्डव भवन त जान्छौ नि, एक शान्ति स्तम्भ महाधाम। दोस्रो बापदादाको कोठा, यो स्नेहको धाम। र तेस्रो झुपडी, यो स्नेहमिलनको धाम र चौथो– हिस्ट्री हल, त तिमीहरू सबैले चार धाम गर्यौ? त्यसोभए महान् भाग्यवान् त भयौ नै। अब कुनै पनि धामलाई याद गरिहाल, कहिले उदास भयौ भने झुपडीमा रुहरिहान गर्न आउनु। शक्तिशाली बन्ने आवश्यकता भयो भने शान्ति स्तम्भमा पुग्नु र व्यर्थ सङ्कल्प धेरै तीव्र भयो, धेरै फास्ट भयो भने हिस्ट्री हलमा पुग्नु। समान बन्ने दृढ सङ्कल्प उत्पन्न भयो भने बापदादाको कोठामा आउनु। राम्रो छ, सबैले स्वर्णिम मौका लियौ तर त्यहाँ रहँदा पनि सदा स्वर्णिम मौका लिइरहनु। अच्छा। हिम्मतवान् राम्रा छौ।

क्याड ग्रुप (दिलवाला बसेका छन्, धेरै राम्रो सम्मेलन सबैले मिलेर गरे):– राम्रो गर्यौ, आपसमा बैठक पनि गर्यौ र जो अध्यक्ष छन् उनको पनि इच्छा छ यो कार्य हुनुपर्छ। त जसरी उनको पनि इच्छा छ, उनलाई पनि साथमा मिलाउँदै अगाडि बढ्दै जाऊ र साथसाथै जुन ब्राह्मणहरूको बैठक छ, त्यसमा पनि आफ्नो कार्यक्रमको समाचार सुनाएर राय लिनु, त्यसपछि सर्व ब्राह्मणहरूको रायले अझै शक्ति भरिन्छ। बाँकी कार्य राम्रो छ, गर्दै जाऊ, फैलाउँदै जाऊ र भारतवर्षको विशेषता प्रकट गर्दै जाऊ। मेहनत राम्रो गरिरहेका छौ। कार्यक्रम पनि राम्रो गर्यौ, र दिलवालाहरूले आफ्नो ठुलो दिल देखायौ, त्यसको बधाई छ। अच्छा।

डबल विदेशी भाइ-बहिनीहरू:– राम्रो छ, हरेक पालोमा डबल विदेशीहरूको आगमनले यो सङ्गठनमा चार चाँद लगाइदिन्छ (गुणस्तर बढ्छ)। डबल विदेशीहरूलाई देखेर सबैलाई उमङ्ग पनि आउँछ, सबै डबल विदेशी डबल उमङ्ग-उत्साहले अगाडि उडिरहेका छन्, हिँडिरहेका छैनन्, उडिरहेका छन्, यस्तै हो! उड्नेवाला हौ कि हिँड्नेवाला हौ? जो सदा उडिरहन्छौ, हिँड्दैनौ तिमीहरूले हात उठाऊ। अच्छा। त्यसै पनि हेर विमानमा उडेरै आउनुपर्छ। त उड्ने त तिमीहरूलाई अभ्यास छँदैछ। त्यो शरीरले उड्ने, यो मनले उड्ने, हिम्मत पनि राम्रो राखेका छौ। बापदादाले हेर कहाँ कुना कुनाबाट आफ्ना बच्चाहरूलाई खोज्नुभयो नि! धेरै राम्रो छ, भन्नमा डबल विदेशी छन्, त्यसरी त वास्तवमा भारतवर्षका हुन्। र राज्य पनि कहाँ गर्नुछ? भारतवर्षमा गर्नुछ नि! तर सेवाको लागि पाँचै खण्डमा पुगेका छौ। पाँचै खण्डमा भिन्न भिन्न स्थानमा सेवा पनि राम्रो उमङ्ग-उत्साहले गरिरहेका छौ। विघ्नविनाशक हौ नि! कुनै पनि विघ्न आयो भने आत्तिने त छैनौ नि, यो किन भइरहेको छ, यो के भइरहेको छ, होइन। जे हुन्छ त्यो अझै हाम्रो हिम्मत बढाउने साधन हो। अत्त्याउने होइन, उमङ्ग-उत्साह बढाउने साधन हो। यस्ता पक्का छौ नि! पक्का छौ? कि अलिअलि कच्चा छौ? होइन, कच्चा शब्द राम्रो लाग्दैन। पक्का छौँ, पक्का रहनेछौँ, पक्का भएर साथमा चल्नेछौँ। अच्छा।

दादी जानकी जी अस्ट्रेलियाको चक्कर लगाएर आउनुभएको छ , उहाँले धेरै याद दिनुभएको छ:– बापदादाको पासमा इमेलमा पनि सन्देश आएका छन् र बापदादा देख्नुहुन्छ, आजकल ठुला कार्यक्रम पनि यस्ता भएका छन् मानौँ भइ नै सकेका छन्। सबैले सिकिसकेका छन्। सेवाका साधनहरूलाई कार्यमा लगाउने राम्रो अभ्यास भएको छ। बापदादालाई अस्ट्रेलिया नम्बर वन देखिन्छ तर अहिले यु.के. अलिकति नम्बरले अगाडि गइरहेको छ। अस्ट्रेलियाले पहिला सुरुमा नम्बर वन लिएको छ, अब फेरि अस्ट्रेलियालाई नम्बर वन हुनु नै छ। यु.के. नम्बर दुई हुँदैन, त्यो पनि नम्बर वन नै हुन्छ। पुराना पुराना अस्ट्रेलियाका बच्चाहरू बापदादालाई याद छन्। र बापदादाकी लाडली निर्मल आश्रम, तिमीहरूले त भन्छौ निर्मला दिदी, दिदी भन्छौ नि, तर बापदादाले सुरुदेखि उनलाई टाइटल दिनुभएको छ निर्मल आश्रम, जुन आश्रममा अनेक आत्माहरूले सहारा लिए र बाबाका बनेका छन् र बनिरहेका छन्, बन्दै जानेछन्। त्यसोभए एक एक अस्ट्रेलिया निवासी बच्चाहरूलाई विशेष याद, यिनीहरू सामुन्ने बसेका छन्, अस्ट्रेलियाका हुन् नि! अस्ट्रेलियावाला उठ। धेरै राम्रो। यिनीहरूलाई कति राम्रो उमङ्ग आइरहेको छ, विश्वको सेवाको लागि खुब तयारी गरिरहेका छन्। बापदादाको मद्दत छ र सफलता पनि छँदैछ।

अच्छा– अहिले के दृढ सङ्कल्प गरिरहेका छौ? अहिले यही सङ्कल्पमा बस कि सफलता हाम्रो जन्मसिद्ध अधिकार हो। विजय हाम्रो गलाको माला हो। यो निश्चय र रुहानी नशामा अनुभवी स्वरूप भएर बस। अच्छा!

चारैतिरको फिक्रबाट फारिग बेफिक्र बादसाहहरूलाई, सदा बेगमपुरका बादसाह स्वरूपमा स्थित रहने बच्चाहरूलाई, सर्व खजानाले सम्पन्न विश्वमा सबैभन्दा धनी सर्व बच्चाहरूलाई, सदा उमङ्ग-उत्साहको पङ्खले उड्तीकलाका बच्चाहरूलाई, सदा समाप्तिलाई समीप ल्याउने बापदादासमान बच्चाहरूलाई बापदादाको यादप्यार, दिलको आशीर्वाद, वरदाताको वरदान एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
स्वयंको सर्व कमजोरीहरूलाई दानको विधिद्वारा समाप्त गर्ने दाता , विधाता भव

भक्तिमा यो नियम हुन्छ, जब कुनै वस्तुको कमी हुन्छ तब भन्छन् दान गर। दान गर्नाले दिनु लिनु हुन्छ। त्यसैले कुनै पनि कमजोरीलाई समाप्त गर्नको लागि दाता र विधाता बन। यदि तिमीले अरूलाई बाबाको खजाना दिने निमित्त सहारा बन्यौ भने कमजोरीहरूको किनारा स्वतः हुनेछ। आफ्नो दाता-विधातापनको शक्तिशाली संस्कारलाई इमर्ज गर तब कमजोर संस्कार स्वतः समाप्त हुनेछ।

स्लोगन:–
आफ्नो श्रेष्ठ भाग्यको गुण गाइराख, कमजोरीको होइन।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन

जससँग प्यार हुन्छ, उसलाई जे राम्रो लाग्छ त्यही गरिन्छ। त बाबालाई बच्चाहरू अपसेट भएको राम्रो लाग्दैन, त्यसैले कहिल्यै यो नभन– के गरौँ, कुरा नै यस्तो थियो त्यसैले अपसेट भइयो... यदि अपसेटको कुरा आउँछ पनि भने तिमी अपसेट स्थितिमा नआऊ। दिलले बाबा भन र त्यही प्यारमा समाहित होऊ।