24.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– मातापितालाई अनुसरण गरेर तख्तनसिन बन , यसमा कुनै तकलिफ छैन , केवल बाबालाई याद गर र पवित्र बन।”

प्रश्न:–
गरिब-निवाज बाबाले आफ्ना बच्चाहरूको भाग्य बनाउनको लागि कुन सल्लाह दिनुहुन्छ?

उत्तर:–
प्यारा बच्चाहरू! शिवबाबालाई तिम्रो केही पनि चाहिँदैन। तिमीले चाहे खाऊ, पिऊ, पढ– रिफ्रेस भएर जाऊ तर एक मुठी चामलको पनि महिमा छ। २१ जन्मको लागि धनवान् बन्नु छ भने गरिबको एक पैसा पनि धनवानको १०० रुपैयाँ बराबर हुन्छ। बाबा साक्षात आउनुभएको छ भने आफ्नो सबैथोक सफल गर।

गीत:–
तुम्हीं हो माता पिता तुम्हीं हो...

ओम् शान्ति ।
गीतको अर्थ त बच्चाहरूले बुझ्यौ। उनीहरूले पुकार्न त पुकार्छन् तर बुझ्दैनन्। तिमीलाई थाहा छ, उहाँ हाम्रो बाबा हुनुहुन्छ। वास्तवमा उहाँ तिम्रो मात्र बाबा हुनुहुन्न तर सबैको बाबा हुनुहुन्छ। यो पनि बुझ्ने कुरा हो। जति पनि सबै आत्माहरू छन्, परमात्मा ती सबैको पिता अवश्य हुनुहुन्छ। बाबा बाबा भन्दा वर्सा अवश्य याद आउँछ। बाबालाई याद गरेमा नै विकर्म विनाश हुन्छन्। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– तिम्रो आत्मा पतित बनेको छ, अब त्यसलाई पावन बनाउनु छ। बाबा सबैको हुनुहुन्छ त्यसैले बच्चाहरू अवश्य निर्विकारी हुनुपर्छ। कुनै समयमा सबै निर्विकारी थिए। बाबाले स्वयं सम्झाउनुहुन्छ– श्री लक्ष्मीनारायणको राज्य हुँदा सबै निर्विकारी थिए। जुन यति सबै मनुष्य आत्माहरू देख्छौ, ती पनि निर्विकारी हुनेछन् किनकि शरीर त विनाश हुनेछ, बाँकी आत्माहरू गएर निराकारी दुनियाँमा रहन्छन्। त्यहाँ त विकारको नामनिसान हुँदैन। शरीर नै हुँदैन। त्यहाँबाट नै सबै आत्माहरू यस दुनियाँमा पार्ट खेल्न आउँछन्। पहिला सुरुमा तिमी बच्चाहरू आउँछौ। भारतवर्षमा पहिला सुरुमा यी लक्ष्मीनारायणको राज्य हुँदा अरू सबै धर्मका आत्माहरू निराकारी दुनियाँमा थिए। यतिबेला सबै साकारी दुनियाँमा छन्। अहिले बाबाले तिमी बच्चाहरूलाई निर्विकारी देवीदेवता बनाउनको लागि निर्विकारी बनाउनुहुन्छ। तिमी देवीदेवता बन्छौ त्यसपछि तिम्रो लागि अवश्य नयाँ दुनियाँ चाहिन्छ। पुरानो दुनियाँ खतम हुनुपर्छ। शास्त्रहरूमा महाभारत लडाइँ पनि देखाइएको छ। देखाउँछन्, ५ पाण्डव बाँकी रहे, उनीहरू पनि पहाडमा गले। कोही बचेनन्। अच्छा त्यति सबै आत्माहरू कहाँ गए? आत्मा त विनाश हुँदैन। त्यसैले भनिन्छ, निराकारी, निर्विकारी दुनियाँमा गए। बाबाले विकारी दुनियाँबाट निराकारी, निर्विकारी दुनियाँमा लैजानुहुन्छ। तिमीलाई थाहा छ, बाबाबाट त अवश्य वर्सा मिल्नुपर्छ। अहिले दुःख बढेको छ। यस समयमा हामीलाई सुखशान्ति दुवै चाहिन्छ। भगवानसँग सबैले माग्छन्– हे भगवान हामीलाई सुख दिनुहोस्, शान्ति दिनुहोस्! हरेक मानिसले पुरुषार्थ गर्छ नै धनको लागि। पैसा भयो भने सुख हुन्छ। तिमीलाई बेहदको बाबाले त धेरै पैसा दिनुहुन्छ। तिमी सत्ययुगमा कति धनवान् थियौ। हिरा जुहारतका महल थिए। तिमी बच्चाहरूलाई थाहा छ, हामी बेहदको बाबाबाट बेहद स्वर्गको वर्सा लिन आएका छौँ। सारा दुनियाँ त आउँदैन। बाबा भारतभूमिमा नै आउनुहुन्छ। दुनियाँका मानिसहरू नै यतिबेला नर्कवासी छन्, फेरि बाबाले स्वर्गवासी बनाउनुहुन्छ। भक्तिमा दुःखको कारण बाबालाई जन्मजन्मान्तर याद गरेका छन्। हे परमपिता परमात्मा, हे कल्याणकारी दुःख हर्ता, सुख कर्ता बाबा भनेर उहाँलाई याद गर्छन् भने अवश्य उहाँ आउनु पनि हुन्छ होला। यत्तिकै सित्तैमा कहाँ याद गर्छन् र! सम्झन्छन्, भगवान बाबाले आएर भक्तहरूलाई फल दिनुहुनेछ। त्यो त सबैलाई दिनुहुन्छ नि! बाबा त सबैको हुनुहुन्छ नि!

तिमीलाई थाहा छ, हामी सुखधाममा जान्छौँ। बाँकी सबै शान्तिधाममा जान्छन्। हामी सुखधाममा हुँदा सारा सृष्टिमा सुखशान्ति हुन्छ। बाबाको त बच्चाहरूमाथि प्यार हुन्छ नि! अनि फेरि बच्चाहरूको पनि मातापितामाथि प्यार हुन्छ। यो पनि गाउँछन्– हजुर नै मातापिता... जिस्मानी मातापिता हुँदाहुँदै पनि गाउँछन्– हजुर नै मातापिता... हजुरको कृपाले धेरै सुख। लौकिक मातापिताको लागि त यस्तो भन्दैनन्। सम्हाल्न त उनीहरूले पनि बच्चाहरूलाई सम्हाल्छन्, मेहनत गर्छन्, वर्सा दिन्छन्। सगाई गराउँछन्। तैपनि पारलौकिक मातापिताले नै धेरै सुख दिनुहुन्छ। अहिले तिमी हौ ईश्वरीय धर्मका बच्चा। उनीहरू सबै हुन् आसुरी धर्मका बच्चा। सत्ययुगमा कहिल्यै कसैले धर्मका बच्चा बनाउँदैनन्। त्यहाँ त सुख नै सुख हुन्छ। दुःखको नामनिसान हुँदैन। बाबा भन्नुहुन्छ– म आएको छु २१ पिँढीको लागि तिमीलाई धेरै स्वर्गको सुख दिन।

अहिले तिमीलाई थाहा छ, बेहदको बाबाबाट हामीले स्वर्गको धेरै सुख पाइरहेका छौँ। यी दुःखका सबै बन्धन खलास हुनेछन्। सत्ययुगमा हुन्छ सुखको सम्बन्ध। कलियुगमा छ दुःखको बन्धन। बाबाले सुखको सम्बन्धमा लैजानुहुन्छ। उहाँलाई भनिन्छ नै– दुःखहर्ता सुखकर्ता। बाबा आएर बच्चाहरूको सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म आज्ञाकारी सेवक हुँ। तिमीले मलाई आधाकल्प याद गरेका छौ, हे बाबा आएर हामीलाई धेरै सुख दिनुहोस्! अब म त्यो सुख दिन आएको छु त्यसेले तिमी श्रीमतमा चल्नुपर्छ। यो मृत्युलोक सबै खतम हुनेवाला छ। अमरलोक स्थापन हुन्छ। अमरपुरीमा जानको लागि अमरनाथ बाबाबाट तिमीले अमरकथा सुन्छौ। त्यहाँ त कोही मर्दैनन्। मुखबाट कहिल्यै यस्तो भन्दैनन् फलानो मरेछ। आत्माले भन्छ– मैले यो जीर्ण शरीर छोडेर नयाँ लिन्छु। त्यो त राम्रो भयो नि! त्यहाँ कुनै रोगव्याधि आदि हुँदैन। मृत्युलोकको नाम हुँदैन। म आएको छु तिमीलाई अमरपुरीको मालिक बनाउन। त्यहाँ तिमीले राज्य गर्दा मृत्युलोकको केही पनि याद हुँदैन। तल ओर्लंदा ओर्लंदै हामी के बन्छौँ, त्यो पनि थाहा हुँदैन। नत्र त सुखको मजा नै उडेर जान्छ। यहाँ त तिमीले सारा चक्र बुद्धिमा राख्नु छ। अवश्य स्वर्ग थियो, अहिले नर्क छ, त्यसैले त बाबालाई बोलाउँछौ। तिमी आत्माहरू शान्तिधाम निवासी हौ। यहाँ आएर पार्ट खेल्छौ। यहाँबाट तिमीले संस्कार लिएर घर जान्छौ। फेरि त्यहाँबाट आएर नयाँ शरीर धारण गरेर राज्य गर्छौ। अहिले तिमीलाई निराकारी, आकारी र साकारी दुनियाँको समाचार सुनाउँछु। सत्ययुगमा कहाँ यो थाहा हुन्छ र! त्यहाँ त केवल राज्य गर्छौ। ड्रामाको विषयमा अहिले तिमीले जान्दछौ। तिम्रो आत्मालाई थाहा छ, हामीले सत्ययुगको लागि पुरुषार्थ गरिरहेका छौँ। स्वर्गमा जानलायक अवश्य बन्छौँ। आफ्नो पनि कल्याण र अरूको पनि कल्याण गर्छौँ। फेरि उनीहरूको आशीर्वाद तिम्रो शिरमा आइरहन्छ। तिम्रो योजना हेर कस्तो छ। यतिबेला सबैको आआफ्नो योजना छ। बाबाको पनि योजना छ। उनीहरूले बाँध आदि बनाउँदा बिजुली आदिमा कति करोडौँ रुपैयाँ खर्च गर्छन्। बाबा सम्झाउनुहुन्छ– अब ती सबै हुन् आसुरी योजना। हाम्रो हो ईश्वरीय योजना। अब कसको योजनाले विजय पाउँछ? उनीहरू त आपसमै लड्छन्। सबैको योजना माटोमा मिल्छ। उनीहरूले कुनै स्वर्गको स्थापना त गर्दैनन्। उनीहरूले जे जति गर्छन् त्यसबाट दुःख नै हुन्छ। बाबाको योजनात हो स्वर्ग बनाउने। नर्कवासी मानिसहरूले नर्कमा नै बस्नको लागि योजना बनाउँछन्। बाबाको स्वर्ग बनाउने योजना चलिरहेको छ। त्यसैले तिमीलाई कति खुसी हुनुपर्छ। गाउँछौ पनि– हजुरको कृपाले धेरै सुख। त्यो त पुरुषार्थ गरेर लिनु छ नि! बाबा भन्नुहुन्छ– जे चाहिन्छ त्यो लेऊ, चाहे विश्वको मालिक राजारानी बन, चाहे फेरि दासदासी बन। जति पुरुषार्थ गर्छौ त्यति पाउँछौ। बाबा केवल भन्नुहुन्छ– एक त पवित्र बन र हरेकलाई बाबाको परिचय दिँदै जाऊ। अल्फलाई याद गरेमा बे बादसाही तिम्रो। बाबालाई याद गर्दा नै मायाले धेरै विघ्न पार्छ। बुद्धियोग तोडिदिन्छ। बाबा भन्नुहुन्छ, जति मलाई याद गर्छौ, त्यति पाप पनि भस्म हुन्छन् र उच्च पद पनि पाउँछौ, त्यसैले भारतवर्षको प्राचीन योग प्रख्यात छ। बाबालाई मुक्तिदाता पनि भनिन्छ। २१ जन्मको लागि बाबाले तिमीलाई दुःखबाट मुक्त गर्नुहुन्छ। तिमी बच्चाहरू सुखधाममा हुनेछौ, बाँकी सबै शान्तिधाममा हुनेछन्। निराकारी दुनियाँ र साकारी दुनियाँको योजना देखाएमा तुरून्त बुझ्छन्, अरू धर्मका आत्माहरू स्वर्गमा आउन सक्दैनन्। स्वर्गमा त हुन्छन् नै देवीदेवताहरू। यो ड्रामाको ज्ञान बाबा बाहेक अरू कसैले बुझाउन सक्दैन। बच्चाहरू आउँछन् नै बाबाबाट वर्सा लिन। धेरै सुख त हुन्छ नै सत्ययुगमा। पछि रावणराज्य हुन्छ। त्यसमा हुन्छ धेरै दुःख। अहिले तिमीले जान्दछौ, बाबाले हामीलाई सच्चा सच्चा कथा सुनाएर अमरलोकमा जान लायक बनाउनुहुन्छ। अहिले यस्ता कर्म गर्छौ, त्यसैले त २१ जन्मको लागि धनवान् बन्छौ। भन्छन् पनि, धनवान् भव, पुत्रवान् भव... त्यहाँ तिमीलाई एउटा बच्चा, एउटी बच्ची अवश्य हुन्छन्। आयुष्मान् भव, तिम्रो आयु पनि १५० वर्ष हुन्छ। कहिल्यै अकालमा मृत्यु हुँदैन। यो कुरा बाबाले नै सम्झाउनुहुन्छ। तिमीले आधाकल्प मलाई पुकार्दै आएका हौ। संन्यासीले यस्तो भन्छन् र? उनीहरूलाई के थाहा! बाबा बसेर कति प्यारले सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! यो एक जन्म पावन बन्यौ भने २१ जन्म पावन दुनियाँका मालिक बन्छौ। पवित्रतामा त सुख छ नि! तिमी पवित्र दैवी धर्मका थियौ। अब अपवित्र बनेर दुःखमा आएका छौ। स्वर्गमा निर्विकारी थियौ, अहिले विकारी बनेपछि नर्कमा दुःखी भएका छौ। बाबाले त पुरुषार्थ गराउनुहुन्छ नि! स्वर्गको महाराजा-महारानी बन। तिम्रा बाबा मम्मा बन्छन् नि, त्यसैले तिमीले पनि पुरुषार्थ गर, यसमा अलमलिनुपर्ने कुनै कुरा नै छैन। बाबाले त कसैलाई पनि पाउ पर्न दिनुहुन्न।

बाबा सम्झाउनुहुन्छ– मैले तिमीलाई सुनका, हिराका महल दिएँ। स्वर्गको मालिक बनाएँ। फेरि आधाकल्प तिमीले भक्तिमार्गमा ढोग्दै आयौ, पैसा पनि दिँदै आयौ। ती सबै सुनका, हिराका महल कहाँ गए? तिमी स्वर्गबाट ओर्लंदाओर्लंदै नर्कमा आइपुगेका छौ। अब तिमीलाई फेरि स्वर्गमा लैजान्छु। तिमीलाई कुनै तकलिफ दिन्नँ। केवल मलाई याद गर र पवित्र बन। बरू एक पैसा पनि नदेऊ। खाऊ, पिऊ, पढ, रिफ्रेस भएर जाऊ। बाबाले त केवल पढाउनुहुन्छ। पढाइको लागि केही लिनुहुन्न। भन्छन् बाबा हामीले अवश्य दिन्छौँ, नत्र त्यहाँ महल आदि कसरी मिल्छन्। भक्तिमार्गमा पनि तिमीले ईश्वर अर्थ गरिबहरूलाई दान दिन्थ्यौ, फल पनि ईश्वरले दिनुहुन्छ। गरिबले कहाँ दिन्छ र! तर त्यो मिल्छ एक जन्मको लागि। अब त बाबा हजुर साक्षात आउनुभएको छ। हामीले यो थोरै पैसा दिन्छौँ, हजुरले हामीलाई २१ जन्मको लागि स्वर्गमा दिनुहोला। बाबाले सबैलाई धनवान् बनाइदिनुहुन्छ। पैसा दियौ भने तिमी नै बस्नको लागि भवन आदि बनाउँछौ। नत्र यी भवन सबै कसरी बन्छन्। तिमी बच्चाहरूले नै यी भवन आदि बनाउँछौ नि! शिवबाबा भन्नुहुन्छ– म त यी भवनमा बस्नु छैन। शिवबाबा त निराकार दाता हुनुहुन्छ नि! तिमीले दिन्छौ, तिमीलाई २१ जन्मको लागि फल दिनुहुन्छ। म त तिम्रो स्वर्गमा नै आउन्नँ। म नर्कमा आउनुपर्छ, तिमीलाई नर्कबाट निकाल्नको लागि। तिम्रा गुरुहरूले त झन् दलदलमा फसाइदिन्छन्। उनीहरूले कुनै सद्गति दिँदैनन्। अब बाबा आउनुभएको छ पवित्र दुनियाँमा लैजान, फेरि यस्ता बाबाको याद किन गर्दैनौ। बाबा भन्नुहुन्छ– कत्ति पनि पैसा नदेऊ केवल मलाई याद गर, अनि तिम्रा पाप नाश हुन्छन् अनि तिमी मेरो समीप आउँछौ। यी भवन आदि तिमी बच्चाहरूले आफ्नै लागि बनाएका हौ। यहाँ एक मुठी चामलको महिमा छ नि! गरिबले आफ्नो हिम्मत अनुसार जति दिन्छन्, त्यति उनीहरूको पनि भाग्य बन्छ। जस्तो धनवानको पद, त्यस्तै गरिबको। दुवैको एउटै हुन्छ। गरिबसँग हुन्छ नै १०० रुपैयाँ, त्यसबाट एक रुपैयाँ दिन्छ र धनवानसँग धेरै रहेछ भने उसले १०० दिए पनि दुवैको एउटै फल मिल्छ, त्यसैले बाबालाई गरिब-निवाज भनिन्छ। सबैभन्दा गरिब छ भारतखण्ड। म आएर यसलाई नै धनवान् बनाउँछु। गरिबलाई नै दान दिइन्छ नि! बाबाले कति स्पष्ट पारेर सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! अहिले मृत्यु सामुन्ने छ, अब छिटो छिटो पुरुषार्थ गर। यादको गति बढाऊ। परमप्रिय बाबालाई जति याद गर्छौ, त्यति वर्सा मिल्छ। तिमी धेरै धनवान् बन्छौ। बाबाले तिमीलाई यस्तो भन्नुहुन्न– मलाई ढोग। मेला, महोत्सवमा जाऊ। होइन। घरमा बसेर बाबा र वर्सालाई याद गर। बस्। बाबा हुनुहुन्छ बिन्दु। उहाँलाई परमपिता परमात्मा भनिन्छ। परम आत्मा, सबैभन्दा उच्चभन्दा उच्च हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि बिन्दु हुँ, तिमी पनि बिन्दु हौ। केवल भक्तिमार्गको लागि मेरो ठुलो रूप बनाएर राखेका छन्। नत्र बिन्दुको पूजा कसरी गर्छन्। उहाँलाई भन्छन् पनि शिवबाबा। कसले भन्यो? अहिले तिमीले भन्छौ, शिवबाबाले हामीलाई वर्सा दिइरहनुभएको छ। अचम्म छ नि! ८४ को चक्र घुमिरहन्छ। अनेकौँपटक तिमीले वर्सा लिएका छौ र लिइरहनेछौ। बाबा बसेर कति राम्रोसँग सम्झाउनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मृत्यु सामुन्ने छ, त्यसैले अब यादको गतिलाई बढाउनु छ। सत्ययुगी दुनियाँमा उच्च पद पाउनको लागि पूरा पुरुषार्थ गर्नु छ।

२) आफ्नो र अरूको कल्याण गरेर आशीर्वाद लिनु छ। पवित्र दुनियाँमा जानको लागि पवित्र अवश्य बन्नु छ।

वरदान:–
कनेक्सन र रिलेसनद्वारा मनसा शक्तिको प्रत्यक्ष प्रमाण देख्ने सूक्ष्म सेवाधारी भव

जसरी वाणीको शक्ति वा कर्मको शक्तिको प्रत्यक्ष प्रमाण देखिन्छ, त्यसैगरी सबैभन्दा शक्तिशाली साइलेन्स शक्तिको प्रत्यक्ष प्रमाण देख्नको लागि बापदादाको साथमा निरन्तर स्पष्ट कनेक्सन (सम्बन्ध) र रिलेसन (नाता) छ भने यसलाई नै योगबल भनिन्छ। यस्ता योगबल भएका आत्माहरूले स्थूलमा टाढा रहेका आत्मालाई सम्मुखको अनुभव गराउन सक्छन्। आत्माहरूलाई आह्वान गरेर उनीहरूलाई परिवर्तन गर्न सक्छन्। यही सूक्ष्म सेवा हो, यसको लागि एकाग्रताको शक्तिलाई बढाऊ।

स्लोगन:–
आफ्ना सर्व खजानाहरूलाई सफल गर्नेहरू नै महादानी आत्मा हुन्।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

कोही देहधारी दृष्टिले तिम्रो अगाडि आए पनि तिमीले एक सेकेन्डमा उसको दृष्टिलाई आत्मिक दृष्टिमा परिवर्तन गरिदेऊ। कोही गिराउने वृत्तिले वा आफ्नो सङ्ग दोषमा ल्याउने दृष्टिले सामुन्ने आए पनि तिमीले उसलाई सदा श्रेष्ठ सङ्गको आधारले, सङ्ग दोषबाट निकालेर श्रेष्ठ सङ्ग लगाउने बनाइदेऊ। यस्तो परिवर्तन गर्ने युक्ति आएमा कहिल्यै पनि विघ्नसँग हार खाँदैनौ। सम्पर्कमा आउनेहरू तिम्रो यस सूक्ष्म श्रेष्ठ सेवामा बलिहार जानेछन्।