26.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सङ्गदोषबाट बचेर पढाइमा पूरा पूरा ध्यान दियौ भने कुनै पनि तुफान आउन सक्दैन , बाँकी मायालाई दोषी नबनाऊ।”

प्रश्न:–
कुन एउटा कुरा सदा ध्यानमा राख्यौ भने बेडा पार हुनेछ?

उत्तर:–
“बाबा हजुरको जो हुकुम”, यसरी सदा बाबाको हुकुममा चलिरह्यौ भने तिम्रो बेडा पार हुनेछ। हुकुममा चल्नेहरू मायाको वारबाट बच्छन्, बुद्धिको ताला खुल्छ। अपार खुसी हुन्छ। कुनै पनि उल्टो कर्म हुँदैन।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
मीठा-प्यारा सबै सेन्टरका बच्चाहरूले गीत सुन्यौ। सबैलाई थाहा छ, बेहदको बाबाबाट फेरि ५ हजार वर्ष पहिलाजस्तै हामीले विश्वको बादसाही लिइरहेका छौँ। कल्प कल्प हामीले लिँदै आएका छौँ। बादसाही लिन्छौँ फेरि गुमाउँछौँ। बच्चाहरूलाई थाहा छ अहिले हामीले बेहदको बाबाको गोद लिएका छौँ वा उहाँका बच्चा बनेका छौँ। अवश्य हुन पनि हो। घरमै बसेर पुरुषार्थ गर्छौं। बेहदको बाबाबाट उच्च पद पाउनको लागि पढाइ चलिरहेको छ। तिमीलाई थाहा छ ज्ञान सागर, पतित-पावन सर्वको सद्गतिदाता शिवबाबा नै हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र सदगुरु पनि हुनुहुन्छ। उहाँबाट हामीले वर्सा लिन्छौँ त्यसैले उच्च पद पाउनको लागि हामीले कति पुरुषार्थ गर्नुपर्ला। अज्ञान कालमा पनि स्कुलमा पढ्दा आफ्नो पढाइ अनुसार नम्बरवार मार्क्स ल्याएर पास हुन्छन्। त्यहाँ यसरी त कसैले भन्दैनन्, मायाले हामीलाई विघ्न पार्छ वा तुफान आउँछ। ठीक तरिकाले पढ्दैनन् वा गएर नराम्रो सङ्गतमा फस्छन्। खेलकुदमा लाग्छन् त्यसैले पढ्दैनन्। फेल हुन्छन्। बाँकी यसलाई मायाको तुफान भनिँदैन। चालचलन ठीक छैन भने टिचरले पनि सर्टिफिकेट दिन्छन्, यिनको चालचलन ठिक छैन। कुसङ्गमा बिग्रिएको छ, यसमा माया रावणलाई दोषी बनाउने कुरा छैन। ठुला ठुला राम्रा मानिसहरूका बच्चाहरू कुनैले त राम्रो उन्नति गर्छन्, कसैले मदिरापान आदि गर्न थाल्छन्। विकारी मार्गमा गए भने पिताले पनि भन्छन्, यो त कपुत भयो। त्यो पढाइमा त धेरै विषयहरू हुन्छन्। यो त एकै प्रकारको पढाइ हो। त्यहाँ मानिसले पढाउँछन्। यहाँ बच्चाहरूलाई थाहा छ हामीलाई भगवानले पढाउनुहुन्छ। हामीले राम्रोसँग पढ्यौँ भने विश्वको मालिक बन्न सक्छौँ। बच्चाहरू त धेरै छन् फेरि कोही कोहीले सङ्गदोषमा आएर पढ्न सक्दैनन्। यसलाई मायाको तुफान किन भन्ने? सङ्गदोषमा आएर कसैले पढ्दैन भने यसमा माया वा टिचर वा बाबाले के गर्नुहुन्छ! पढ्न सकेनन् भने आफ्नै घर जान्छन्। यो ड्रामा अनुसार त पहिला भट्ठीमा पर्नु नै थियो। आएर शरण लिए। कसैलाई पतिले कुट्यो, हैरान पारिदियो भने कसैलाई वैराग्य आयो। घरमा चल्न सकेनन् फेरि कोही यहाँ आएर पनि गए, पढ्न सकेनन् अनि गएर नोकरी आदिमा लागे वा विवाह गरे। मायाको तुफानले पढ्न सकेनौँ भन्ने यो त एउटा बहाना हो। यो बुझ्दैनन्, सङ्गदोषको कारण हाम्रो यो हालत भएको हो अनि हामीमा विकार पनि बलवान छन्। यो किन भन्छौ, मायाको तुफान लाग्यो त्यसपछि गिरेका हौँ। यो त सबै आफैमा भर पर्छ।

बाबा, टिचर, सद्गुरुबाट जुन शिक्षा मिल्छ, त्यसमा चल्नुपर्छ। चल्दैनन् भने कुनै नराम्रो सङ्गत छ वा कामको नसा वा देह अभिमानको नसा छ। सबै सेन्टरका आत्माहरूलाई थाहा छ, हामीले बेहदको बाबाबाट विश्वको बादसाही लिनको लागि पढिरहेका छौँ। निश्चय छैन भने बस्ने नै किन अरू पनि धेरै आश्रम छन्। तर त्यहाँ त केही प्राप्ति हुँदैन। लक्ष्य उद्देश्य छैन। ती सबै साना साना मठपन्थ, हाँगाबिँगा हुन्। वृक्षले वृद्धि पाउनु नै छ। यहाँ त यो सारा कनेक्सन छ। मीठो दैवी वृक्षमा जे हुनुपर्ने हो त्यो निस्केर आउँछ। सबैभन्दा मीठा को हुन्छन्? जो सत्ययुगका महाराजा महारानी बन्छन्। अहिले तिमीले बुझेका छौ जो पहिलो नम्बरमा आउँछन्, उनीहरूले अवश्य राम्रो पढाइ पढेका होलान्। उनीहरू नै सूर्यवंशी घराना गए। यस्ता पनि छन् जसको जीवन गृहस्थ व्यवहारमा रहेर पनि अर्पणमय छ। धेरै सेवा गरिरहेका छन्। फरक छ नि। बस्न त यहाँ पनि बस्छन् तर पढाउन सकेनन् भने अरू सेवामा लाग्छन्। अन्त्यमा सानो राजकीय पद पाउनेछन्। देखिन्छ पढ्न र पढाउनमा बाहिर गृहस्थ व्यवहारमा रहनेहरू धेरै तीक्ष्ण हुन्छन्। सबै त गृहस्थी हुँदैनन्। कन्या वा कुमारलाई गृहस्थी भनिँदैन अनि जो वानप्रस्थी छन् उनीहरू ६० वर्षपछि फेरि सबैथोक बच्चाहरूलाई सुम्पिएर आफै कुनै साधु आदिको सङ्गतमा गएर बस्छन्। आजकाल त तमोप्रधान छन् त्यसैले मर्ने बेलासम्म पनि कामधन्दा आदि छोड्दैनन्। पहिला ६० वर्षमा वानप्रस्थ अवस्थामा जान्थे। बनारसमा गएर बस्थे। यो त बच्चाहरूले बुझेका छौ फर्केर कोही जान सक्दैनन्। सद्गति पाउन सक्दैनन्। बाबा नै मुक्ति-जीवनमुक्तिदाता हुनुहुन्छ। तिनीहरू सबैले पनि जीवनमुक्ति पाउँदैनन्। कोही त मुक्तिमा जान्छन्। अहिले आदि सनातन देवीदेवता धर्मको स्थापना भइरहेको छ, फेरि जसले जति पुरुषार्थ गर्छन्। त्यसमा पनि कुमारीहरूलाई राम्रो चान्स छ। पारलौकिक बाबाको वारिस बन्छन्। यहाँ त सबै बच्चाहरू बाबाबाट वर्सा लिने हकदार छन्। त्यहाँ त छोरीहरूलाई वर्सा मिल्दैन। बच्चाहरूलाई लालच हुन्छ। हुन त यस्ता पनि छन् जसले सम्झन्छन्, यो वर्सा पनि मिलेकोछ, त्यो पनि लिऊँ, त्यसलाई किन छोड्ने। दुवैतिर पढ्छन्। यस्ता किसिम किसिमका आत्माहरू छन्। अहिले यो त बुझेका छौ जसले पढ्छन् उनीहरूले उच्च पद पाउँछन्। प्रजामा धेरै धनवान् बन्छन्। यहाँ बस्नेहरू भित्रै बस्नुपर्छ। दासदासी बन्छन्। फेरि त्रेताको अन्त्यमा ३-४-५ जन्म गरेर राज्य पद मिल्छ, उनीहरूभन्दा त ती धनवान राम्रा हुन् जसको सत्ययुगदेखि लिएर उनीहरूको सम्पन्नता कायम हुन्छ। गृहस्थ व्यवहारमा रहेर सम्पन्न पद किन नलिने। कोसिस गर्छन् हामीले राज्य पद पाऊँ। तर चिप्लिए भने प्रजामा राम्रो पद पाउने पुरुषार्थ गर्नुपर्छ। त्यो पनि त उच्च पद भयो नि। यहाँ बस्नेहरूभन्दा बाहिर बस्नेहरूले धेरै उच्च पद पाउन सक्छन्। सारा पुरुषार्थमा आधारित छ। पुरुषार्थ कहिल्यै लुक्न सक्दैन। प्रजामा जो ठुलोभन्दा ठुलो धनवान् बन्छ, ऊ पनि लुकेको हुँदैन। यस्तो होइन बाहिर जानेहरूलाई कुनै सानो पद मिल्छ। अन्त्यमा राजकीय पद पाउनु राम्रो वा प्रजामा सुरुदेखि लिएर उच्च पद पाउनु राम्रो? गृहस्थ व्यवहारमा रहनेहरूलाई त्यति मायाको तुफान आउँदैन। यहाँ बस्नेहरूलाई धेरै तुफान आउँछ। हिम्मत गर्छन् हामी शिवबाबाको शरणमा बसेका छौँ तर सङ्गदोषमा आएर पढ्दैनन्। अन्त्यमा सबै थाहा हुन्छ। कसले के पद पाउँछन् त्यो साक्षात्कार हुनेछ। नम्बरवार पढ्छन् नि। कसैले त आफैले सेन्टर चलाउँछन्। कहीँ त सेन्टर चलाउनेभन्दा पनि पढ्नेहरू तीक्ष्ण हुन्छन्। सारा पुरुषार्थमा आधारित छ। यस्तो होइन मायाका तुफान आउँछन्। होइन। आफ्नो चालचलन ठीक छैन। श्रीमतमा चल्दैनन्। लौकिकमा पनि यस्तो हुन्छ। टिचर वा आमाबुबाको मतमा चल्दैनन्। तिमी त यस्तो बाबाको बच्चा बनेका छौ जसको कुनै पिता नै छैन। त्यहाँ त बाहिर धेरै जानुपर्छ। कति बच्चाहरू सङ्गदोषमा फस्छन् अनि फेल हुन्छन्। यस्तो किन भन्छौ मायाको तुफान आउँछ। यो आफ्नै मूर्खता हो। निर्देशनमा चल्दैनन्। यस्तो चालचलनले फेल हुन्छन्। धेरैलाई लालच हुन्छ, कसैमा क्रोध, कसैमा चोरीको बानी, अन्त्यमा त थाहा भइहाल्छ। फलाना फलाना यस्तो यस्तो चालचलनको कारण गए। बुझिन्छ यिनीहरू शूद्र कुलका बने। उनीहरूलाई फेरि ब्राह्मण भनिँदैन। फेरि गएर शूद्र बने। पढाइ छोडिदिए। अलिकति मात्रै ज्ञान सुने भने पनि प्रजामा आउँछन्। वृक्ष ठुलो छ। कहाँ कहाँबाट निस्केर आउँछन्। देवीदेवता धर्मका अरू धर्ममा कन्भर्ट भएका होलान् तिनीहरू निस्केर आउनेछन्। धेरै आउनेछन् भने सबैले अचम्म मान्छन्। अरू धर्मवालाहरूले पनि मुक्तिको वर्सा त लिन सक्छन् नि। यहाँ कोही पनि आउन सक्छन्। आफ्नो घरानामा उच्च पद पाउनुछ भने उनीहरूले पनि आएर लक्ष्य लिएर जानेछन्। बाबाले तिमीलाई साक्षात्कार गराउनुभएको थियो, उनीहरूले पनि आएर लक्ष्य लिएर जानेछन्। यस्तो होइन यहाँ बसेर नै लक्ष्यमा पुग्न सक्नेछन्। कुनै पनि धर्मका मानिसहरूले लक्ष्य लिन सक्छन्। लक्ष्य मिल्छ– बाबालाई याद गर। शान्तिधामलाई याद गरेमा आफ्नो धर्ममा उच्च पद पाउनेछौ। उनीहरूलाई जीवनमुक्ति त मिल्नेछैन, न त्यहाँ आउँछन्। दिल लाग्दैन। सच्चा दिल उनीहरूको लाग्छ जो यहाँका हुन्। अन्त्यमा आत्माहरूले आफ्नो बाबालाई त चिन्नेछन्। धेरै सेन्टरमा यस्ता पनि छन् जसको पढाइमा अटेन्सन हुँदैन। त्यसैले सम्झिइन्छ यिनले उच्च पद पाउन सक्दैनन्। निश्चय छ भने यो भन्नै सक्दैनन्, फुर्सत छैन। तर भाग्यमा छैन भने भन्छन् फुर्सत छैन, यो काम छ। भाग्यमा छ भने दिनरात पुरुषार्थ गर्न थाल्नेछन्। चल्दाचल्दै सङ्गतमा बस्नेहरू पनि बिग्रिन्छन्। त्यसलाई ग्रहदशा पनि भन्न सकिन्छ। बृहस्पतिको दशा परिवर्तन भएर मङ्गलको दशा लाग्छ। सायद पछि गएर उत्रिन्छ। कसैको लागि बाबा भन्नुहुन्छ राहुको दशा लागेको छ। भगवानको कुरा पनि मान्दैनन्। सम्झन्छन् यी ब्रह्माले भन्छन्। बच्चाहरूलाई यो थाहा हुँदैन, को हुनुहुन्छ जसले निर्देशन दिनुहुन्छ। देह अभिमान भएको कारण साकारको लागि सम्झन्छन्। देहीअभिमानी छन् भने सम्झन्छन्, शिवबाबाले जे पनि भन्नुहुन्छ त्यो हामीले गर्नुछ। जिम्मेवारी (रेस्पोन्सिबिलिटी) शिवबाबामाथि छ। शिवबाबाको मतमा त चल्नुपर्छ नि। देह अभिमानमा आएपछि शिवबाबालाई भुल्छन् फेरि शिवबाबा जिम्मेवार हुन सक्नुहुन्न। उहाँको अर्डर त शिरमा धारण गर्नुपर्छ। तर बुझ्दैनन् कसले सम्झाउनुहुन्छ। त्यो पनि अरू त कसैले अर्डर गर्दैनन् केवल बाबा भन्नुहुन्छ मैले तिमीलाई श्रीमत दिन्छु। एक त मलाई याद गर अनि मैले जुन ज्ञान सुनाउँछु त्यो धारण गर र गराऊ। बस्, यही धन्दा गर। अच्छा बाबा जो हुकुम। राजाहरूको अगाडि जो रहन्छन् उनीहरूले यसरी भन्छन्– “जो हुकुम”। ती राजाहरूले हुकुम गर्थे। यो शिवबाबाको हुकुम हो। घरी घरी भन्नुपर्छ– “जो हुकुम शिवबाबा”। अनि तिमीलाई पनि खुसी हुन्छ। सम्झन्छौ शिवबाबाले हुकुम दिनुहुन्छ। शिवबाबाको याद भयो भने बुद्धिको ताला खुल्छ। शिवबाबा भन्नुहुन्छ यो प्राक्टिस गर्नुपर्छ अनि बेडा पार हुन्छ। तर यसैमा कठिनाइ छ। घरी घरी भुल्छन्। यस्तो किन भन्नुपर्छ, मायाले भुलाउँछ। हामीले भुल्यौँ त्यसैले उल्टा काम भइरहनेछन्।

धेरै बच्चीहरू छन्, ज्ञान त धेरै राम्रो दिन्छन् तर योग हुँदैन, जसबाट विकर्म विनाश हुन्छ। यस्ता धेरै राम्रा राम्रा बच्चाहरू छन्, जसको योग बिल्कुलै हुँदैन। चालचलनबाट बुझिन्छ– योगमा रहेनन् भने फेरि पाप बाँकी रहन्छन् जुन भोग्नुपर्छ। यसमा तुफानको त कुरै छैन। सम्झ यो मेरो भुल हो, म श्रीमतमा चलिनँ। यहाँ तिमी आएका छौ राजयोग सिक्न। यहाँ प्रजा योग सिकाइँदैन। माता-पिता त छन् नै। यिनीहरूलाई फलो गरेमा तिमी पनि गद्दीनसीन बन्छौ। यिनको त निश्चित छ नि। यिनी श्री लक्ष्मीनारायण बन्छन् त्यसैले फलो मदर फादर। अरू धर्मका मानिसहरूले मदर फादरलाई फलो गर्दैनन्। उनीहरूले त फादरलाई नै मान्छन्। यहाँ त दुवै हुनुहुन्छ। परमात्मा त रचयिता हुनुहुन्छ। माताको फेरि गुप्त राज छ। आमाबुबाले पढाइरहनुहुन्छ। सम्झाउनुहुन्छ यस्तो नगर, यो गर। टिचरले कुनै पनि सजाय दिए भने स्कुलको बीचमा दिन्छन् नि। बच्चाले कहाँ यस्तो भन्छ र मेरो इज्जत लियौ। पिताले ५-६ बच्चाहरूको अगाडि थप्पड हान्छन्। अनि यस्तो बच्चाले कहाँ भन्छ र ५-६ जनाको अगाडि किन हान्नुभयो। होइन। यहाँ त बच्चाहरूलाई शिक्षा दिइन्छ तैपनि चल्न सक्दैनन् भने अच्छा गृहस्थ व्यवहारमा रहेर फेरि पुरुषार्थ गर। यहाँ बसेर डिससर्भिस गरेमा जे जति अलिकति होला त्यो पनि खतम हुनेछ। पढ्नुछैन भने छोडिदेऊ। बस्, हामी चल्न सक्दैनौँ। ग्लानि किन गर्नुपर्छ। धेरै बच्चाहरू छन्। कसैले पढ्नेछन् कोही छोडिदिनेछन्। हरेक आफ्नो पढाइमा मस्त रहनुपर्छ।

बाबा भन्नुहुन्छ एक-अर्कासँग सेवा नलेऊ। कुनै अहङ्कार आउनुहुँदैन। अरूसँग सेवा लिनु यो पनि देह अहङ्कार हो। बाबाले सम्झाउनु त पर्छ नि। नत्र जब धर्मराजको धर्मसभा (ट्रिब्युनल) बस्छ अनि भन्छन्– हामीलाई काइदा कानुनको विषयमा कहाँ थाहा थियो र त्यसैले बाबाले सम्झाइदिनुहुन्छ फेरि साक्षात्कार गराएर सजाय दिनुहुन्छ। प्रमाण (प्रुफ) बिना सजाय कहाँ मिल्न सक्छ र। अच्छा सम्झाउन त धेरै सम्झाउनुहुन्छ कल्प पहिलाजस्तै। हरेकको भाग्य हेरिन्छ। कतिले सेवा गरेर आफ्नो जीवन हिराजस्तो बनाउँछन्, कति छन् जसले भाग्यको रेखा मेटाइदिन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबा टिचर सदगुरुद्वारा जुन शिक्षा मिल्छ त्यसैमा चल्नुछ। मायालाई दोष नदिएर आफ्नो कमी कमजोरीहरूको जाँच गरेर त्यसलाई निकाल्नुछ।

२) अहङ्कारको त्याग गरेर आफ्नो पढाइमा मस्त रहनुछ। कहिल्यै अरूसँग सेवा लिनुहुँदैन। सङ्गदोषबाट धेरै धेरै सम्हाल्नुछ।

वरदान:–
सङ्कल्पको इसाराले सारा कारोबार चलाउने सदा लाइटको ताजधारी भव

जुन बच्चाहरू सदा लाइट रहन्छन् उनीहरूको सङ्कल्प वा समय कहिल्यै व्यर्थ जाँदैन। त्यही सङ्कल्प उठ्छ जुन हुनेवाला छ। जसरी बोलेर कुरालाई स्पष्ट पार्छन् त्यसरी नै सङ्कल्पबाट सारा कारोबार चल्छ। यस्तो विधि अपनाइसकेपछि यो साकार वतन सूक्ष्मवतन बन्छ। यसको लागि साइलेन्सको शक्ति जम्मा गर र लाइटको ताजधारी होऊ।

स्लोगन:–
यो दुःखधामबाट किनारा गरेमा कहिल्यै दुःखको लहर आउन सक्दैन।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चिन्त होऊ”

जसरी कारमा ब्याट्री अलिकति कमजोर हुन्छ, कार आफै चलेन भने अरूलाई अलिकति कार ठेल्न लगाउँछन्, त्यसैगरी जुन आत्मामा तिम्रो विश्वास छ र यिनीबाट हामीलाई मदत मिल्न सक्छ भनेर सम्झन्छौ भने उनीहरूसँग अलिकति सहयोग लिएर अगाडि बढ्नुपर्छ। कमजोरीको कुरालाई धेरै नसोच्नु अनि मात्रै खुसीमा अगाडि बढ्दै जानेछौ।