26.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यस दुनियाँमा निष्काम सेवा केवल एक बाबाले मात्रै गर्नुहुन्छ , बाँकी तिमीले जुन पनि कर्म गर्छौ त्यसको फल अवश्य मिल्छ । ”

प्रश्न:–
ड्रामा अनुसार कुन कुरा १०० प्रतिशत निश्चित छ? जसको तिमी बच्चाहरूलाई खुसी छ?

उत्तर:–
ड्रामा अनुसार निश्चित छ– नयाँ राजधानी स्थापन हुनु नै छ। तिमी बच्चाहरूलाई खुसी छ– श्रीमतमा हामी आफ्नै लागि आफ्नो राजधानी स्थापन गरिरहेका छौँ। यस पुरानो दुनियाँको विनाश त हुनु नै छ। तिमी बच्चाहरूले जति पुरुषार्थ गर्छौ त्यति उच्च पद प्राप्त हुन्छ।

गीत:–
तुम्हें पाके हमने जहाँ पा लिया है...

ओम् शान्ति ।
जो बच्चाहरूले भन्छन्, बाबाले पनि त्यही भन्नुहुन्छ। बच्चाहरू भन्छन्– बाबा हजुरलाई पाएर हामी स्वर्गको मालिक बन्छौँ। बाबा पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू मनमनाभव। कुरा एउटै भयो। मानिसहरू सबैले सोध्छन्– ब्रह्माकुमार कुमारीहरूलाई यस सतसङ्गमा गएर के मिल्छ? तब ब्रह्माकुमार-कुमारीहरू भन्छन्– हामी बापदादाबाट विश्वको मालिक बन्छौँ। विश्वको मालिक अरू कोही बन्न सक्दैन। विश्वको मालिक यी लक्ष्मीनारायण नै हुन्, शिवबाबा त विश्वको मालिक हुन सक्नुहुन्न। तिमी बच्चाहरू विश्वको मालिक बन्छौ। तिम्रो बाबा विश्वको मालिक बन्नुहुन्न। यस्तो निष्काम सेवा गर्ने अरू कोही हुँदैन। हरेकलाई आफ्नो सेवाको फल पक्कै मिल्छ। भक्तिमार्गमा वा कुनै पनि प्रकारले जसले कोही केही पनि गर्छन्... सोसल वर्करलाई पनि सेवाको फल अवश्य मिल्छ। सरकारबाट तलब मिल्छ। बाबा भन्नुहुन्छ– म नै एक निष्काम सेवा गर्छु, जसले बच्चाहरूलाई विश्वको मालिक बनाउँछु तर म आफू बन्दिनँ। बच्चाहरूलाई सुखी बनाएर, सुखधामको मालिक बनाएर २१ जन्महरूको सुख दिएर म आफ्नो निर्वाणधाममा वा वानप्रस्थ अवस्थामा बस्छु। वानप्रस्थ त मूलवतनलाई नै भनिन्छ। मानिसहरूले वानप्रस्थ लिन्छन्। बच्चाहरूलाई सबै थोक दिएर जान्छन् सतसङ्ग आदि गर्छन्। गुरु बनाउँछन्– यसले मुक्तिको बाटो बतायोस्। अब तिमी बच्चाहरूले बुझेका छौ– मुक्ति जीवनमुक्तिको बाटो कुनै मनुष्य मात्रले कहिल्यै कसैलाई बताउन सक्दैनन्। उनीहरूले कसैलाई पनि सद्गति दिन सक्दैनन्। आफूलाई पनि सदगति दिन सक्दैनन्। आफूलाई दिए भने पो फेरि अरूलाई पनि दिन सक्छन्। बाबा आउनु नै हुन्छ परमधामबाट। उहाँ त्यहाँको निवासी हुनुहुन्छ, तिमी बच्चाहरू पनि त्यहाँका निवासी हौ। तिमीले पार्ट खेल्नुछ यस कर्मक्षेत्रमा। बाबाले पनि एकपटक यहाँ आउनुछ तिमी बच्चाहरूको लागि जब कि स्वर्गको स्थापना भइरहेको छ भने अवश्य नर्कको विनाश हुनु नै छ।

अहिले तिमीले बुझेका छौ– शिवबाबाले ब्रह्माद्वारा आदि सनातन देवीदेवता धर्मको स्थापना गरिरहनुभएको छ। तिमीलाई थाहा छ– हामी मानिसबाट देवता बनिरहेका छौँ फेरि। तिमी बच्चाहरूको बुद्धिमा छ– हर ५ हजार वर्षपछि हामी आएर फेरि ब्रह्माद्वारा शिवबाबाका बच्चाहरू बन्छौँ, वर्सा पाउनको लागि। पतित-पावन उहाँलाई भनिन्छ। नलेजफुल ज्ञानको सागर पनि हुनुहुन्छ। योग अर्थात् याद सिकाउनुहुन्छ तर निराकारले कसरी सम्झाउनुहुन्छ त्यसैले भन्नुहुन्छ– ब्रह्माद्वारा मानिसबाट देवता बनाउँछु अर्थात् देवीदेवता धर्मको स्थापना गराउँछु। अहिले त्यो धर्म छैन, फेरि बनाउनुपर्छ। अब फेरि आदि सनातन देवीदेवता धर्म स्थापन गरेर बाँकी सबैलाई मुक्तिधाममा लैजान्छु। भारतवर्ष प्राचीन खण्ड हो त्यसैले भारतवर्षको जनसङ्ख्या वास्तवमा सबैभन्दा बढी हुनुपर्छ। यस्ता कुरा अरू कसैको बुद्धिमा आउँदैन। आदि सनातन देवीदेवता धर्म सबैभन्दा बढी ठुलो हुनुपर्छ। ५ हजार वर्षदेखि उनीहरूको वृद्धि भइरहन्छ। बाँकी अरू त आउँछन् नै २५०० वर्षपछि। इस्लामीहरूको जनसङ्ख्या कम हुनुपर्छ फेरि थोरै समयपछि बौद्धी धर्मवालाहरू आउँछन् भने उनीहरूमा थोरै फरक हुनुपर्छ। इस्लामी, बौद्धी आदि पहिला सतोप्रधान हुन्छन् फेरि बिस्तारै बिस्तारै तमोप्रधान बन्छन्। यो पनि हिसाब हो। जो अनन्य समझदार बच्चाहरू छन् उनीहरूले ख्याल गर्नुपर्छ। आजकाल लेख्छन् चाइनिज सबैभन्दा धेरै छन्। तर उनीहरूलाई सृष्टि चक्रको ज्ञान त छैन। यी सबै रहस्य तिमी बच्चाहरूको बुद्धिमा छन्। जो पढेलेखेका छन् उनीहरूलाई विस्तारमा सम्झाउनुपर्छ। देवीदेवता धर्मका आत्माहरूलाई ५ हजार वर्ष भयो। त्यसैले यस समय उनीहरूको सङ्ख्या धेरै हुनुपर्छ। तर देवीदेवता धर्मवालाहरू फेरि अरू अरू धर्महरूमा परिवर्तन भएका छन्। पहिला-पहिला धेरै मुसलमान बने फेरि बौद्धी पनि धेरै बनेका छन्। यहाँ पनि बौद्धी धेरै छन्, क्रिस्चियन त अनगिन्ती छन्। देवता धर्मको त नाम नै छैन। हामी ब्राह्मण धर्म भन्यौँ भने पनि हिन्दुहरूको लाइनमा राखिदिन्छन्। अहिले तिमीलाई थाहा छ– आदि सनातन देवीदेवता धर्म स्थापन भइरहेको छ– हामी ब्राह्मणहरूद्वारा श्रीमतमा। यो पनि समझ हुनुपर्छ। धर्म गाइन्छन् नि। यहाँका मानिसहरूले आफूलाई हिन्दुको लाइनमा ल्याउँछन्। भन्छन् हिन्दु आर्य धर्म हो, सबैभन्दा पुरानो हो। तिमीहरू पहिला पहिला-पहिला आर्य थियौ, धेरै धनवान थियौ, अब अनार्य बनेका छौ। कुनै अक्कल छैन, जसलाई जे आउँछ त्यो धर्मको नाम राखिदिन्छन्। वृक्षको पछाडि साना साना पात हाँगाबिँगा निस्कन्छन्। नयाँको थोरै मान हुन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी बाबाबाट स्वर्गको वर्सा लिइरहेका छौँ। त्यसैले यस्तो वर्सा दिने बाबालाई कति याद गर्नुपर्छ। तिमीले जति बढी याद गर्छौ एउटा त वर्सा मिल्छ र तिमी पावन बन्छौ। लौकिक पिताबाट त धनको वर्सा मिल्छ। साथसाथै फेरि पतित बन्ने पनि वर्सा मिल्छ। ती लौकिक पिता, उहाँ पारलौकिक पिता र यिनी हुन् बिचमा अलौकिक पिता। यिनलाई बिचमा दुवैतर्फबाट जोडिदिन्छन्। शिवबाबालाई त कुनै कष्ट हुँदैन, यिनले कति गाली खानुपर्छ। वास्तवमा श्रीकृष्णलाई गाली मिल्दैन। बिचमा फसेका हुन् यी। भन्छन् नि– बाटो हिँड्दाहिँड्दै ब्राह्मण फस्यो। गाली खानको लागि यी फसेका हुन्। अलौकिक पिताले नै सहन गर्नुपर्छ। यो कसैलाई थाहा नै छैन– शिवबाबा यिनमा प्रवेश गरेर आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। पवित्र बनेपछि नै मार खान्छन्। बाबा भन्नुहुन्छ– म आएको छु सबैलाई फिर्ता लैजान। तिमीलाई थाहा छ, मृत्यु सामुन्ने खडा छ। विनाश त पक्कै हुनुपर्छ। विनाश बिना सुख शान्ति कसरी होस्। जब कुनै लडाइँ आदि हुन्छ तब मानिसहरू यज्ञ आदि रच्छन्, लडाइँ बन्द होस्। तिमी ब्राह्मण कुलभूषणलाई थाहा छ– विनाश त पक्कै हुन्छ। होइन भने स्वर्गका गेट कसरी खुल्छन्। सबै स्वर्गमा त आउँदैनन्। जसले पुरुषार्थ गर्छन् उनीहरू नै चल्छन् बाँकी जान्छन् मुक्तिधाम। यो कसैलाई पनि थाहा नभएको कारण कति डराउँछन्। शान्तिको लागि कति धक्का खान्छन्। सम्मेलन गरिरहन्छन्। केवल तिमी ब्राह्मणहरूलाई नै थाहा छ– सुखधाम, शान्तिधामको कसरी स्थापना भइरहेको छ। विनाश बाहेक स्थापना हुन सक्दैन। तिमी अहिले त्रिकालदर्शी बनेका छौ। तेस्रो नेत्र ज्ञानको मिलेको छ। उनीहरू त भनिरहन्छन् शान्ति कसरी होस्? अर्थात् कोही पनि नलडून्। सबैले भन्छन् एकता होस्। एकै बाबाको मत लिऊन्– हामी सबै एक बाबाका बच्चाहरू भाइ-भाइ हौँ भने एकता हुन्छ। एक बाबाका बच्चाहरू हौँ भने आपसमा लड्नुहुँदैन। यो पनि त सत्ययुगमा नै थियो। त्यहाँ कोही पनि आपसमा लड्दैनन्। त्यो त सत्ययुगको कुरा भयो, यहाँ त छ कलियुग। अवश्य सत्ययुगमा देवता थिए, बाँकी सबै आत्माहरू कहाँ थिए थाहा हुँदैन। तिमीले अहिले बुझेका छौ, एक राज्य केवल सत्ययुगमा नै थियो। त्यहाँ सुखशान्ति सबै थियो। यी सबै कुरा तिम्रो बुद्धिमा छन्– नम्बरवार पुरुषार्थ अनुसार। जान्दछन्, अवश्य हामी सत्ययुगमा राज्य गर्थ्यौँ, धेरै सुख थियो। अद्वैत धर्म थियो। यो ज्ञान कसैलाई छैन। यस समयमा तिमी नलेजफुल बन्छौ। बाबाले तिमीलाई आफूसमान बनाउनुहुन्छ। जुन बाबाको महिमा त्यही तिमी बन्नुछ। केवल दिव्य दृष्टिको साँचो बाबाको पासमा रहन्छ। बाबाले बताउनुभएको छ– भक्तिमार्गमा मैले काम गर्नुपर्छ, जसले जसको पूजा गर्छन् म उनीहरूको मनोकामना पूरा गर्छु। यहाँ पनि दिव्य दृष्टिको पार्ट चल्छ। भन्छन् नि– अर्जुनले विनाशको साक्षात्कार गरे। विनाश पनि अवश्य हुनुछ। विष्णुपुरी पनि अवश्य स्थापन हुनुछ। बाबाले जसरी कल्प पहिला सम्झाउनुभएको थियो– त्यसरी नै बसेर सम्झाउनुहुन्छ। बाबाले हामीलाई मानिसबाट देवता बनाउनुहुन्छ। जब देवता बन्छौँ तब आसुरी सृष्टिको विनाश पक्कै हुन्छ। चारैतर्फ हाहाकार मच्चिनुछ। बुद्धिले बुझ्न सक्छ, प्राकृतिक प्रकोप आउनुछ। मुसलधारे वर्षा पनि हुनुछ। यी सबैको विनाश होस् तब सत्ययुगको स्थापना होस्। ५ तत्त्वहरूको खाद पनि मिल्छ। यस धर्तीलाई खाद हेर कति मिल्छ। बाबा भन्नुहुन्छ– यस रुद्र ज्ञान यज्ञमा यो सबै स्वाहा हुन्छ। भक्तिमार्गमा हेर रुद्र यज्ञ कसरी रच्छन्। शिवबाबाको लिङ्ग र साना साना सालिग्राम धेरै बनाएर पूजा गरेर फेरि मेटाइदिन्छन्, फेरि दिनहुँ बनाउँछन्। पूजा गरेर फेरि तोडिदिन्छन्। शिवबाबाको साथमा जसले पनि सेवा गरे उनीहरूको पनि यो हाल गर्छन्। रावणको हेर हरेक वर्ष पुत्ला बनाएर उसलाई जलाउँछन्। दुश्मनको त एकदुई पटक पुत्ला बनाएर जलाउँछन्, यस्तो होइन, वर्ष वर्ष जलाउने नियम राख्छन्। एकपटक नै रिस निकाल्छन्। रावणलाई त हरेक वर्ष जलाउँछन्। यसको अर्थ कसैले बुझ्छन् कहाँ र। फेरि भन्छन् रावणले सीतालाई चोर्यो, केही अर्थ बुझ्दैनन्। विदेशीहरूले के बुझ्छन्, केही पनि होइन। दिनप्रतिदिन रावणलाई ठुलो बनाउँदै जान्छन् किनकि रावण धेरै दुःख दिनेवाला हो। अहिले तिमी यसमाथि जित पाउँछौ। सत्ययुगमा हुँदैहुँदैन। यो जुन कर्मको भोगना, रोग आदि हुन्छ, यो हो रावणको कारण। रावणको प्रवेशता भएको कारण मानिसहरूले जुन पनि कर्म गर्छन्, त्यो विकर्म हुन्छ। यो सुख-दुःखको खेल बनेको छ। यस हिस्ट्री-जोग्राफीको कसैलाई पनि थाहा छैन। लक्ष्मीनारायणलाई यो राज्य कसरी मिल्यो? कसैलाई थाहा छैन। तिमी साना साना बच्चाहरूले सम्झाउँछौ– यी लक्ष्मीनारायणले सत्ययुगमा राज्य गर्थे। सङ्गममा यो राजयोग सिकेर यो पद पाएका हुन्। बिरला (भारतका प्रसिद्ध व्यापारी) लाई पनि साना साना बच्चीहरू गएर सम्झाऊन्– यिनले यो राज्य कसरी पाए? अहिले त कलियुग छ, यसलाई सत्ययुग भनिँदैन। राजाइ त अहिले छैन। राजाहरूको ताज नै उडाइदिएका छन्। धर्मशास्त्र केवल ४ छन्। गीता धर्म शास्त्र हो, जसबाट ३ धर्म अहिले स्थापन हुन्छन्, न कि सत्ययुगमा। यस्तो होइन, लक्ष्मीनारायणले वा रामले कुनै धर्म स्थापन गरे। यो धर्म अहिले स्थापन गरिरहेका छन् फेरि इस्लामी, बौद्धी र क्रिस्चियन। क्रिस्चियनको एउटै धर्मशास्त्र हो बाइबल, बस्। फेरि पछि वृद्धि हुँदैजान्छ। आदि सनातन हो नै देवता धर्म अब फेरि देवीदेवता धर्मको स्थापना गर्नुहुन्छ। तिमीले ड्रामाको रहस्यलाई राम्रोसँग बुझेका छौ। खुसी पनि हुन्छ। जब कि तिमी बच्चाहरूलाई १०० प्रतिशत निश्चित छ– हामी फेरि आफ्नो राज्य-भाग्य स्थापन गरिरहेका छौँ– यसमा लडाइँ आदिको कुनै कुरा नै छैन। राजधानी स्थापन भइरहेको छ, यो निश्चित छ। मृत्यु जत्तिकै निश्चित। तिमीलाई थाहा छ– हामी फेरि राज्य भाग्य लिन्छौँ। कल्प कल्प बाबाबाट वर्सा लिन्छौँ। जति पुरुषार्थ गर्छौ त्यति उच्च पद पाउँछौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) जुन बाबाको महिमा छ त्यस महिमालाई स्वयंमा ल्याउनुछ। बाबासमान महिमा योग्य बन्नुछ। पारलौकिक बाबाबाट पवित्रताको वर्सा लिनुछ। पवित्र बन्नाले नै स्वर्गको वर्सा मिल्छ।

२) श्रीमतमा आफ्नै तन-मन-धनबाट एक आदि सनातन देवीदेवता धर्मको स्थापना गर्नुछ।

वरदान:–
पुराना संस्काररूपी अस्थिहरूलाई सम्पूर्ण स्थितिको सागरमा समाहित गर्ने समान र सम्पूर्ण भव

बाबासमान वा सम्पूर्ण बन्नको लागि सृष्टिको कयामत महाविनाशभन्दा पहिला आफ्ना कमजोरीहरू र कमीहरूको कयामत महाविनाश गर। कुनै पनि उल्झनको नाम निसान नरहोस् यस्तो आफूलाई उज्ज्वल बनाऊ। जसरी जन्म परिवर्तनपछि पुराना जन्मका कुरा भुलिन्छन् त्यसरी पुराना कुरालाई, पुराना संस्कारहरूलाई भस्म गर, अस्थिहरूलाई पनि सम्पूर्ण स्थितिको सागरमा समाहित गरिदेऊ तब भनिन्छ समान र सम्पूर्ण।

स्लोगन:–
विस्तारलाई सारमा समाहित गर्ने जादुगरी सिक्यौ भने बाबासमान बन्छौ।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन

सहनशीलता भएकाहरूले बाहिरमुखताको भाइब्रेसनलाई मात्र होइन, तर मनका सङ्कल्प पनि जुन उत्पन्न हुन्छन्, ती सङ्कल्पहरूको उत्पत्तिको देखेर पनि विचलित हुँदैनन्। आफ्नो सहनशीलताबाट सामना गर्छन् र अनुहारबाट सदैव सन्तुष्ट वा प्रसन्नचित्त देखिन्छन्। उनीहरूको नैन चैन कहिल्यै पनि असन्तुष्टताको देखिँदैन। उनीहरू सन्तुष्टमणि भएको कारण सदा हर्षित रहन्छन्।