26.07.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो सङ्गमयुग विकर्म विनाश गर्ने युग हो , यस युगमा कुनै पनि विकर्म तिमीले गर्नु छैन , पावन अवश्य बन्नु छ।”

प्रश्न:–
अतीन्द्रिय सुखको अनुभव कुन बच्चाहरूलाई हुन सक्छ?

उत्तर:–
जो अविनाशी ज्ञान रत्नले भरपुर छन्, उनीहरूलाई नै अतीन्द्रिय सुखको अनुभव हुन सक्छ। जसले जति ज्ञानलाई जीवनमा धारण गर्छन् त्यति नै धनवान बन्छन्। यदि ज्ञान रत्न धारण छैन भने गरिब छन्। बाबाले तिमीलाई विगत, वर्तमान, भविष्यको ज्ञान दिएर त्रिकालदर्शी बनाइरहनुभएको छ।

गीत:–
ओम् नमो शिवाय...

ओम् शान्ति ।
विगत नै वर्तमान चलिरहेको छ, फेरि यो जुन वर्तमान छ, त्यो विगत हुनेछ। यो गायन विगतको गर्छन्। अहिले तिमी पुरुषोत्तम सङ्गमयुगमा छौ। पुरुषोत्तम शब्द अवश्य राख्नुपर्छ। तिमीले वर्तमान देखिरहेका छौ, जुन विगतको गायन छ त्यो अब यथार्थमा भइरहेको छ, यसमा कुनै संशय ल्याउनु हुँदैन। बच्चाहरूलाई थाहा छ– सङ्गमयुग पनि हो, कलियुगको अन्त पनि हो। अवश्य सङ्गमयुग ५ हजार वर्ष पहिला विगत भइसकेको छ, अब फेरि वर्तमान छ। अब बाबा आउनुभएको छ, भविष्य पनि त्यही हुनेछ जुन विगत भयो। बाबाले राजयोग सिकाइरहनुभएको छ, फेरि सत्ययुगमा राज्य पाउनेछौ। अहिले हो सङ्गमयुग। यो कुरा तिमी बच्चाहरू बाहेक अरू कसैले पनि जान्दैनन्। तिमीले यथार्थमा राजयोग सिकिरहेका छौ। यो अति सहज छ।

जो पनि साना अथवा ठुला बच्चाहरू छन्, सबैलाई एउटा मुख्य कुरा अवश्य सम्झाउनु छ– बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। जब कि विकर्म विनाश हुने समय छ, त्यसोभए यस्तो को होला जसले फेरि विकर्म गर्ला। तर मायाले विकर्म गराइदिन्छ, सम्झन्छन्– झापड लाग्यो। हामीबाट यो ठुलो भुल भयो। बाबालाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। अब बाबा पावन बनाउन आउनुभएको छ भने पावन बन्नुपर्छ नि। ईश्वरको बनेर फेरि पतित बन्नु हुँदैन। सत्ययुगमा सबै पवित्र थिए। यो भारतवर्ष नै पावन थियो। गायन पनि गर्छन्– भाइसलेस वर्ल्ड र भिसियस वर्ल्ड। उनीहरू सम्पूर्ण निर्विकारी, हामी विकारी छौं किनकि हामी विकारमा जान्छौं। विकार नाम नै भिसियसको हो। पतितले नै बोलाउँछन्– आएर पावन बनाउनुहोस्। क्रोधीले बोलाउँदैनन्।

बाबा पनि फेरि ड्रामाको योजना अनुसार आउनुहुन्छ। अलिकति पनि फरक पर्न सक्दैन। जुन विगत भयो, त्यही वर्तमान भइरहेको छ। विगत, वर्तमान, भविष्यलाई जान्नु, उनीहरूलाई नै त्रिकालदर्शी भनिन्छ। यो याद राख्नुपर्छ। यी धेरै मेहनतका कुरा हुन्। घरी-घरी बिर्सन्छन्। नत्र तिमी बच्चाहरूलाई कति अतीन्द्रिय सुख रहनुपर्छ। तिमी यहाँ अविनाशी ज्ञान धनले धेरै-धेरै धनवान बनिरहेका छौ। जसको जति धारणा छ, ऊ त्यति धेरै धनवान बनिरहेको छ, तर नयाँ दुनियाँको लागि। तिमीलाई थाहा छ– हामी जे-जति गर्छौं, त्यो भविष्यको नयाँ दुनियाँको लागि हो। बाबा आउनुभएको नै नयाँ दुनियाँको स्थापना गर्न र पुरानो दुनियाँको विनाश गर्न हो। हुबहु कल्प पहिला जस्तै नै हुनेछ। तिमी बच्चाहरूले पनि देख्नेछौ। प्राकृतिक प्रकोपहरू पनि हुनु छ। भूकम्प आयो, समाप्त। यहाँ कति भूकम्प आउनेछ। हामी त भन्छौं– यो त हुनै छ। कल्प पहिला पनि भएको छ, त्यसैले त भन्छन्– सुनको द्वारिका तल गयो।

बच्चाहरूले यो राम्रोसँग बुद्धिमा राख्नुपर्छ– हामीले ५ हजार वर्ष पहिला पनि यो ज्ञान लिएका थियौं। यसमा अलिकति पनि फरक छैन। बाबा, ५ हजार वर्ष पहिला पनि हामीले हजुरबाट वर्सा लिएका थियौं। हामीले अनेक पटक हजुरबाट वर्सा लिएका छौं। त्यसको गन्ती हुन सक्दैन। कति पटक तिमी विश्वको मालिक बन्छौ, फेरि फकिर बन्छौ। यस समय भारत पुरै फकिर छ। तिमीले लेख्छौ पनि ड्रामाको योजना अनुसार। उनीहरूले ड्रामा शब्द भन्दैनन्। उनीहरूको योजना नै आफ्नो छ। तिमीले भन्छौ– ड्रामाको योजना अनुसार हामी फेरि स्थापना गरिरहेका छौं, ५ हजार वर्ष पहिला अनुसार। कल्प पहिला जुन कर्तव्य गरेका थियौं, त्यो अहिले पनि श्रीमतद्वारा गर्छौं। श्रीमतद्वारा नै शक्ति लिन्छौं। शिव शक्ति नाम पनि छ नि। त्यसैले तिमी शिव शक्ति देवीहरू हौ, जसको मन्दिरमा पनि पूजन हुन्छ। तिमी नै ती देवीहरू हौ जसले फेरि विश्वको राज्य पाउँछौ। जगत अम्बालाई हेर, कति पूजा छ। अनेक नाम राखिदिएका छन्। हुनुहुन्छ त एकै। जसरी बाबा पनि एकै शिव हुनुहुन्छ।

तिमीले पनि विश्वलाई स्वर्ग बनाउँछौ, त्यसैले तिम्रो पूजा हुन्छ। अनेक देवीहरू छन्, लक्ष्मीको कति पूजा गर्छन्। दीपावलीको दिन महालक्ष्मीको पूजा गर्छन्। उहाँ हुनुभयो मुख्य, महाराजा-महारानी मिलाएर महालक्ष्मी भनिदिन्छन्। त्यसमा दुवै आउँछन्। हामी पनि महालक्ष्मीको पूजा गर्थ्यौं, धन वृद्धि भयो भने महालक्ष्मीको कृपा भयो भनेर सम्झन्थ्यौं। बस्, हरेक वर्ष पूजा गर्छन्। अच्छा, उनीहरूसँग धन माग्छन्, देवीसँग के माग्ने? तिमी सङ्गमयुगी देवीहरू स्वर्गको वरदान दिनेवाला हौ। मानिसहरूलाई यो थाहा छैन– देवीहरूबाट स्वर्गका सबै कामनाहरू पूरा हुन्छन्। तिमी देवीहरू हौ नि। मानिसहरूलाई ज्ञान दान गर्छौ, जसबाट सबै कामनाहरू पूर्ण गरिदिन्छौ। बिरामी आदि भयो भने देवीहरूलाई भन्छन्– ठीक गरिदिनुहोस्, रक्षा गर्नुहोस्। अनेक प्रकारका देवीहरू छन्। तिमी हौ सङ्गमयुगका शिव शक्ति देवीहरू। तिमीले नै स्वर्गको वरदान दिन्छौ। बाबाले पनि दिनुहुन्छ, बच्चाहरूले पनि दिन्छन्। महालक्ष्मी देखाउँछन्। नारायणलाई गुप्त गरिदिन्छन्। बाबाले तिमी बच्चाहरूको कति प्रभाव बढाउनुहुन्छ। देवीहरूले २१ जन्मको लागि सुखका सबै कामनाहरू पूरा गरिदिन्छन्। लक्ष्मीसँग धन माग्छन्। धनको लागि नै मानिसले राम्रो व्यापार आदि गर्छन्।

तिमीलाई त बाबा आएर सारा विश्वको मालिक बनाउनुहुन्छ, अथाह धन दिनुहुन्छ। श्री लक्ष्मी-नारायण विश्वको मालिक थिए। अहिले कङ्गाल छन्। तिमी बच्चाहरूलाई थाहा छ– राजाइको बारेमा, फेरि कसरी बिस्तारै-बिस्तारै उतरती कला हुन्छ। पुनर्जन्म लिँदै-लिँदै कला कम हुँदै-हुँदै अहिले हेर कस्तो हालत भएको छ! यो पनि नयाँ कुरा होइन। हरेक ५ हजार वर्षपछि चक्र घुमिरहन्छ। अहिले भारत कति कङ्गाल छ। रावण राज्य छ। कति उच्च नम्बर वन थियो, अहिले अन्तिम नम्बर छ। अन्तिममा आएन भने नम्बर वनमा कसरी जाने। हिसाब छ नि। धैर्यले यदि विचार सागर मन्थन गर्यौ भने सबै कुरा आफैँ बुद्धिमा आउनेछन्। कति मीठा-मीठा कुरा छन्।

अहिले त तिमीले सारा सृष्टिचक्रलाई जानेका छौ। पढाइ केवल स्कुलमा पढिँदैन। शिक्षकले गृहकार्य (पाठ) घरमा पढ्नको लागि दिन्छन्, जसलाई गृहकार्य भनिन्छ। बाबाले पनि तिमीलाई घरको लागि पढाइ दिनुहुन्छ। दिनमा हुन त व्यापार आदि पनि गर, शरीर निर्वाह त गर्नै छ। अमृतबेला त सबैलाई फुर्सद रहन्छ। बिहान-सबेरै दुई-तीन बजेको समय धेरै राम्रो हुन्छ। त्यस समय उठेर बाबालाई प्यारले याद गर। बाँकी यिनै विकारहरूले नै तिमीलाई आदि-मध्य-अन्त दु:खी बनाएका छन्। रावणलाई जलाउँछन् तर यसको पनि अर्थ केही जान्दैनन्। बस् केवल परम्परादेखि रावणलाई जलाउने चलन चल्दै आएको छ। ड्रामा अनुसार यो पनि निश्चित छ। रावणलाई मार्दै आएका छन् तर रावण मर्दै मर्दैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो रावणलाई जलाउन कहिले बन्द हुन्छ। तिमीले अहिले सच्चा-सच्चा सत्यनारायणको कथा सुन्छौ। तिमीलाई थाहा छ– हामीलाई अहिले बाबाबाट वर्सा मिल्छ।

बाबालाई नजान्नाले नै सबै अनाथ छन्। बाबा, जसले विश्वलाई स्वर्ग बनाउनुहुन्छ, उहाँलाई पनि जान्दैनन्। यो पनि ड्रामामा निश्चित छ। सिँढी ओर्लंदै तमोप्रधान बने, तब न फेरि बाबा आउनुभयो। तर आफूलाई तमोप्रधान कहाँ सम्झन्छन् र। बाबा भन्नुहुन्छ– यस समय सारा वृक्ष जडजडीभूत अवस्थामा पुगेको छ। एक जना पनि सतोप्रधान छैनन्। सतोप्रधान त शान्तिधाम र सुखधाममा नै हुन्छन्। अहिले छन् तमोप्रधान। बाबाले नै आएर तिमी बच्चाहरूलाई अज्ञान निद्राबाट जगाउनुहुन्छ। तिमीले फेरि अरूलाई जगाउँछौ। जाग्दै जान्छन्। जसरी मानिस मर्छन् तब उनीहरूको दियो बाल्छन् ताकि प्रकाशमा आओस्। अब यो हो घोर अन्धकार, आत्माहरू फर्केर आफ्नो घर जान सक्दैनन्। हुन त दु:खबाट छुट्ने मन हुन्छ। तर एक जना पनि छुट्न सक्दैनन्।

जुन बच्चाहरूलाई पुरुषोत्तम सङ्गमयुगको स्मृति रहन्छ, उनीहरू ज्ञान रत्नको दान नगरी रहन सक्दैनन्। जसरी मानिसहरू पुरुषोत्तम मासमा धेरै दान-पुण्य गर्छन्, त्यसैगरी यस पुरुषोत्तम सङ्गमयुगमा तिमीले ज्ञान रत्नको दान गर्नु छ। यो पनि बुझेका छौ– स्वयं परमपिता परमात्माले पढाइरहनुभएको छ, श्रीकृष्णको कुरा होइन। श्रीकृष्ण त सत्ययुगका पहिला राजकुमार हुन्, फेरि त उनी पुनर्जन्म लिँदै आउँछन्। बाबाले विगत, वर्तमान, भविष्यको पनि रहस्य सम्झाउनुभएको छ। तिमी त्रिकालदर्शी बन्छौ, अरू कसैले त्रिकालदर्शी बनाउन सक्दैन, बाबा बाहेक। सृष्टिको आदि-मध्य-अन्तको ज्ञान बाबालाई नै छ, उहाँलाई नै ज्ञानको सागर भनिन्छ। सर्वोच्च भगवान नै गायन गरिएको छ, उहाँ नै रचयिता हुनुहुन्छ। हेभनली गड फादर शब्द धेरै स्पष्ट छ– स्वर्ग स्थापना गर्नेवाला। शिवजयन्ती पनि मनाउँछन् तर उहाँ कहिले आउनुभयो, के गर्नुभयो– यो केही पनि जान्दैनन्। जयन्तीको अर्थ नै थाहा छैन भने फेरि मनाएर के गर्छन्, यो पनि ड्रामामा सबै छ।

यस समय नै तिमी बच्चाहरूले ड्रामाको आदि-मध्य-अन्तलाई जान्दछौ, फेरि कहिल्यै जान्दैनौ। फेरि जब बाबा आउनुहुनेछ तब नै जान्नेछौ। अहिले तिमीलाई स्मृति आएको छ– यो ८४ को चक्र कसरी घुम्छ। भक्तिमार्गमा के छ, त्यसबाट त केही पनि मिल्दैन। कति भक्तहरू भिडमा धक्का खान जान्छन्, बाबाले तिमीलाई त्यसबाट छुटाइदिनुभयो। अब तिमीलाई थाहा छ– हामी श्रीमतमा फेरि विश्वलाई श्रेष्ठ बनाइरहेका छौ। श्रीमतबाट नै श्रेष्ठ बनिन्छ। श्रीमत सङ्गममा नै मिल्छ। तिमीले यथार्थ रीतिले जान्दछौ– हामी को थियौं, फेरि कसरी यस्तो बन्यौं, अब फेरि पुरुषार्थ गरिरहेका छौं। पुरुषार्थ गर्दा-गर्दै बच्चाहरू यदि कहिल्यै असफल भयौ भने बाबालाई समाचार देऊ, बाबाले फेरि खडा हुने सावधानी दिनुहुनेछ। कहिल्यै पनि असफल भएर बस्नु छैन। फेरि खडा होऊ, औषधि गर। सर्जन त बस्नुभएको छ नि।

बाबा सम्झाउनुहुन्छ– पाँच तलाबाट गिर्नु र २ तलाबाट गिर्नुमा कति फरक छ। काम विकार ५ तला हो, त्यसैले बाबाले भन्नुभएको छ– काम महाशत्रु हो, त्यसले तिमीलाई पतित बनाएको छ, अब पावन बन। पतित-पावन बाबाले नै आएर पावन बनाउनुहुन्छ। अवश्य सङ्गममा बनाउनुहुनेछ। कलियुग अन्त र सत्ययुग आदिको यो सङ्गम हो। बच्चाहरूलाई थाहा छ– बाबाले अहिले कलमी लगाइरहनुभएको छ, फेरि पुरै वृक्ष यहाँ बढ्नेछ। ब्राह्मणहरूको वृक्ष बढ्नेछ, फेरि सूर्यवंशी-चन्द्रवंशीमा गएर सुख भोग्नेछौ। कति सहज रूपमा सम्झाइन्छ। अच्छा, मुरली मिल्दैन भने बाबालाई याद गर। यो बुद्धिमा पक्का गर– शिवबाबाले ब्रह्मा तनबाट हामीलाई भन्नुहुन्छ– मलाई याद गर्यौ भने विष्णुको घराना (कुल) मा जानेछौ। सारा आधार पुरुषार्थमा छ। कल्प-कल्प जुन पुरुषार्थ गरेका छौ, हुबहु त्यही चल्नेछ। आधाकल्प देह-अभिमानी बन्यौ, अब देही-अभिमानी बन्ने पुरै पुरुषार्थ गर, यसमा मेहनत छ। पढाइ त सहज छ, मुख्य कुरा पावन बन्नु हो। बाबालाई बिर्सनु यो त ठुलो भुल हो। देह-अभिमानमा आउनाले नै बिर्सन्छौ। शरीर निर्वाहको लागि व्यापार आदि ठीक छ ८ घण्टा गर, बाँकी ८ घण्टा यादमा रहनको लागि पुरुषार्थ गर्नु छ। त्यो अवस्था छिट्टै हुँदैन। अन्तमा जब यो अवस्था हुन्छ तब विनाश हुनेछ। कर्मातीत अवस्था भयो भने फेरि यो शरीर रहन सक्दैन, छुट्नेछ किनकि आत्मा पवित्र बन्यो नि। जब नम्बरवार कर्मातीत अवस्था हुन्छ तब लडाइँ सुरु हुनेछ, तबसम्म रिहर्सल भइरहनेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पुरुषोत्तम मासमा अविनाशी ज्ञान रत्नको दान गर्नु छ। अमृतबेला उठेर विचार सागर मन्थन गर्नु छ। श्रीमतमा शरीर निर्वाह गर्दै बाबाले जुन गृहकार्य दिनुभएको छ, त्यो पनि अवश्य गर्नु छ।

२) पुरुषार्थमा कहिल्यै रुकावट आयो भने बाबालाई समाचार दिएर श्रीमत लिनु छ। सर्जनलाई सबै सुनाउनु छ। विकर्म विनाश गर्ने समयमा कुनै पनि विकर्म गर्नु छैन।

वरदान:–
अखण्ड योगको विधिद्वारा अखण्ड पूज्य बन्ने श्रेष्ठ महान आत्मा भव

आजकल जो महान आत्माहरू कहलिन्छन्, उनीहरूको नाम अखण्डानन्द आदि राख्छन् तर सबैमा अखण्ड स्वरूप त तिमी हौ– आनन्दमा पनि अखण्ड, सुखमा पनि अखण्ड... केवल सङ्गदोषमा नआऊ, अरूको अवगुणलाई देख्दा, सुन्दा वास्ता नगर (डन्टकेयर गर) तब यस विशेषताले अखण्ड योगी बन्नेछौ। जो अखण्ड योगी छन्, उनीहरू नै अखण्ड पूज्य बन्छन्। त्यसैले तिमी यस्ता महान आत्माहरू हौ जो आधाकल्प स्वयं पूज्य स्वरूपमा रहन्छौ र आधाकल्प तिम्रो जड चित्रहरूको पूजन हुन्छ।

स्लोगन:–
दिव्य बुद्धि नै साइलेन्सको शक्तिको आधार हो।

अव्यक्त इसारा:– जसले आफ्नो सूक्ष्म शक्ति (मन-बुद्धि) लाई ह्यान्डिल गर्न सक्छ, उसले अरूलाई पनि ह्यान्डिल गर्न सक्छ। त्यसैले स्वमाथि कन्ट्रोलिङ पावर, रुलिङ पावर भयो भने यही यथार्थ ह्यान्डलिङ पावर बन्छ। चाहे अज्ञानी आत्माहरूलाई सेवाद्वारा ह्यान्डिल गर, चाहे ब्राह्मण-परिवारमा स्नेह सम्पन्न, सन्तुष्टता सम्पन्न व्यवहार गर– दुवैमा सफल हुनेछौ।