27.07.25    Avyakt Bapdada     Nepali Murli    14.03.2006     Om Shanti     Madhuban


“ परमात्म मिलनको अनुभूतिको लागि उल्टो मै-पनलाई जलाउने होली मनाऊ , दृष्टिको पिचकारीद्वारा सर्व आत्माहरूलाई सुख , शान्ति , प्रेम , आनन्दको रङ्ग लगाऊ”


आज होलीएस्ट बाबा आफ्ना होली बच्चाहरूसँग मिलन मनाइरहनुभएको छ। चारैतिरका होली बच्चाहरू टाढा बसेर पनि समीप छन्। बापदादा यस्ता होली अर्थात् महान् पवित्र बच्चाहरूको मस्तकमा चम्किरहेको भाग्यको सितारा देखिरहनुभएको छ। यस्ता महान् पवित्र सारा कल्पमा अरू कोही बन्दैन। यस सङ्गमयुगमा पवित्रताको व्रत लिने भाग्यवान् बच्चाहरू भविष्यमा डबल पवित्र, शरीरले पनि पवित्र र आत्मा पनि पवित्र बन्छन्। सारा कल्पमा चक्र लगाऊ, चाहे जति पनि महान् आत्माहरू आएका छन्, शरीर पनि पवित्र र आत्मा पनि पवित्र, यस्तो पवित्र न धर्मात्मा बनेका छन्, न महात्मा बनेका छन्। बापदादालाई तिमी बच्चाहरूमाथि गर्व छ– वाह! मेरा महान् पवित्र बच्चाहरू वाह! डबल पवित्र, डबल ताजधारी पनि कोही बन्दैन, डबल ताजधारी पनि तिमी श्रेष्ठ आत्माहरू बन्छौ। आफ्नो त्यो डबल पवित्र, डबल ताजधारी स्वरूप अगाडि आइरहेको छ नि! त्यसैले तिमी बच्चाहरूको जुन यस सङ्गमयुगमा यथार्थ जीवन बनेको छ, त्यस एक-एक जीवनको विशेषताको यादगार दुनियाँका मानिसहरूले उत्सवको रूपमा मनाइरहन्छन्।

आज पनि तिमीहरू सबै स्नेहको विमानमा होली मनाउनको लागि पुगेका छौ। होली मनाउन आएका हौ नि! तिमीहरू सबैले आफ्नो जीवनमा पवित्रताको होली मनाएका छौ, हरेक आध्यात्मिक रहस्यलाई दुनियाँका मानिसहरूले स्थूल रूप दिएका छन् किनकि उनीहरू देह-अभिमानी छन् नि! तिमीहरू आत्म-अभिमानी छौ, आध्यात्मिक जीवन भएका छौ र उनीहरू देह-अभिमानी छन्। त्यसैले सबैले स्थूल रूप लिए। तिमीले योग अग्निद्वारा आफ्नो पुरानो संस्कार-स्वभावलाई भस्म गर्यौ, जलायौ र दुनियाँका मानिसहरूले स्थूल आगोमा जलाउँछन्। किन? पुरानो संस्कार नजलाएसम्म न परमात्म सङ्गको रङ्ग लाग्न सक्छ, न परमात्म मिलनको अनुभव गर्न सक्छन्। त्यसैले तिम्रो जीवनको यति महत्त्व छ, जुन तिम्रो एक-एक कदम उत्सवको रूपमा मनाइन्छ। किन? तिमीले पुरै सङ्गमयुग उत्साह-उमङ्गको जीवन बनाएका छौ। तिम्रो जीवनको यादगार एक दिनको उत्सव मनाउँछन्।

त्यसोभए सबैको यस्तो सदैव उत्साह, उमङ्ग, खुसीको जीवन छ नि! छ कि कहिलेकाहीँ छ? सदैव उत्साह छ वा कहिलेकाहीँ छ? जसले सम्झन्छन्– सदैव उत्साहमा रहन्छौँ, खुसीमा रहन्छौँ, खुसी हाम्रो जीवनको विशेष परमात्म गिफ्ट हो, जेसुकै होस् तर ब्राह्मण जीवनको खुसी, उत्साह, उमङ्ग जान सक्दैन। यस्तो अनुभव हुन्छ, उनीहरूले हात उठाऊ। बापदादा हरेक बच्चाको चेहरा सदैव हँसिलो हेर्न चाहनुहुन्छ किनकि तिमीजस्तो खुसनसिब न कोही बनेको छ, न बन्न सक्छ।

भिन्न-भिन्न वर्गका बसेका छौ, यस्तो अनुभवी मूर्त बन्नको लागि स्वप्रति योजना बनाएका छौ? बापदादा खुसी हुनुहुन्छ, आज फलानो वर्ग, फलानो वर्ग आएका छन्, स्वागत छ। बधाई छ, आएका छन्। सेवाको उमङ्ग-उत्साह राम्रो छ। तर पहिला स्वको योजना, बापदादाले देख्नुभएको छ– योजनाहरू सबै वर्गकाले एक-अर्कोभन्दा अगाडि बनाउँछन् र धेरै राम्रो बनाउँछन्, साथ-साथै स्व-उन्नतिको योजना बनाउनु धेरै आवश्यक छ। बापदादा यही चाहनुहुन्छ– हरेक वर्गले स्व-उन्नतिको यथार्थ योजना बनाऊन् र नम्बर लिऊन्। जसरी सङ्गठनमा भेला हुन्छौ, चाहे विदेशका होऊन्, चाहे देशका, मिटिङ गर्छौ, योजना बनाउँछौ, बापदादा त्यसमा पनि राजी हुनुहुन्छ तर जसरी उमङ्ग-उत्साहले सङ्गठित रूपमा सेवाको योजना बनाउँछौ, त्यसरी नै त्यति नै उमङ्ग-उत्साहले स्व-उन्नतिको नम्बर र अटेन्सन दिएर बनाउनु छ। बापदादा सुन्न चाहनुहुन्छ– यस महिनामा यस वर्गकाले स्व-उन्नतिको योजना यथार्थमा ल्याएका छन्? जो पनि वर्गका आएका छन्, सबै वर्गले हात उठाऊ। अच्छा, यति आएका छन्, धेरै आएका छन्। सुनेको छु ५-६ वर्ग आएका छन्। धेरै राम्रो, ठीकै छ आयौ।

अब एउटा अन्तिम टर्न बाँकी छ, बापदादाले गृहकार्य त दिइसक्नुभएको थियो। बापदादा त दिनहुँ नतिजा हेर्नुहुन्छ, तिमीले सम्झन्छौ– बापदादाले अन्तिम टर्नमा हिसाब लिनुहुनेछ तर बापदादा दिनहुँ हेर्नुहुन्छ, अझै पनि १५ दिन छ, यो १५ दिनमा हरेक वर्गका जो आएका छन् उनीहरू पनि, जो आएका छैनन् ती वर्गका निमित्त बनेका बच्चाहरूलाई बापदादा यही इसारा दिनुहुन्छ– हरेक वर्गले आफ्नो स्व-उन्नतिको कुनै पनि योजना बनाऊ, कुनै विशेष शक्ति स्वरूप बन्ने वा विशेष कुनै गुण मूर्त बन्ने वा विश्व कल्याणप्रति कुनै न कुनै प्रकाश-शक्ति दिने हरेक वर्गले आपसमा निश्चित गर र फेरि चेक गर– जो पनि वर्गका सदस्य छन्, सदस्य बनेर धेरै राम्रो गर्यौ तर हरेक सदस्य नम्बर वन हुनुपर्छ। केवल नाम नोट भयो– फलानो वर्गका सदस्य छन्, होइन, फलानो वर्गका स्व-उन्नतिका सदस्य छन्। यो हुन सक्छ? जो वर्गका निमित्त छन्, ती निमित्तहरू उठ। विदेशमा पनि जो ४-५ निमित्त छन्, उनीहरू उठ। बापदादालाई त सबै धेरै शक्तिशाली मूर्तिहरू लाग्छन्। धेरै राम्रा मूर्तिहरू छन्।

त्यसोभए तिमीहरू सबैले सम्झन्छौ– १५ दिनमा केही गरेर देखाउनेछौँ। भन, हुन सक्छ? (पुरै पुरुषार्थ गर्नेछौँ) भन, के हुन सक्छ? (प्रशासक वर्गले योजना बनाएको छ– कोही पनि रिसाउने छैनौँ)। उनीहरूको जाँच पनि गर्छौ? तिमी बहिनीहरूले (टिचरहरूसँग) हिम्मत राख्छौ– १५ दिनमा जाँच गरेर नतिजा बताउन सक्छौ। विदेशकाले त अँ भनिरहेका छन्। तिमी के सम्झन्छौ, हुन सक्छ? भारतकाले बताऊ, हुन सक्छ? बापदादालाई त तिमीहरू सबैको अनुहार हेरेर लाग्छ– नतिजा राम्रो छ। तर यदि १५ दिन पनि अटेन्सन राख्ने पुरुषार्थ गर्यौ भने यो अभ्यास पछि पनि काममा आउनेछ। अहिले यस्तो मिटिङ गर, जसलाई लक्ष्य लिनु छ कुनै पनि गुणको, कुनै पनि शक्ति रूपको, यसमा बापदादाले नम्बर दिनुहुनेछ। बापदादा त हेरिरहनुहुन्छ। नम्बर वन वर्ग स्व-सेवामा को-को छन्? किनकि बापदादाले देख्नुभएको छ– योजना धेरै राम्रा बन्छन् तर सेवा र स्व-उन्नति दुवै यदि साथ-साथ छैनन् भने सेवाको योजनामा जति सफलता चाहिन्छ, त्यति हुँदैन। त्यसैले समयको समीपतालाई अगाडि हेर्दै सेवा र स्व-उन्नतिलाई संयुक्त राख। केवल स्व-उन्नतिले मात्र पनि हुँदैन, सेवा पनि चाहिन्छ तर स्व-उन्नतिको स्थितिले सेवामा सफलता अधिक हुनेछ। सेवा वा स्व-उन्नतिको सफलताको निसानी हो– स्वयं पनि दुवैमा स्वयंसँग पनि सन्तुष्ट होऊ र जसको सेवा गर्छौ, उनीहरूलाई पनि सेवाद्वारा सन्तुष्टताको अनुभव होस्। यदि स्वलाई वा जसको सेवाका निमित्त छौ, उनीहरूलाई सन्तुष्टताको अनुभव हुँदैन भने सफलता कम, मेहनत ज्यादा गर्नुपर्छ। तिमीहरू सबैलाई थाहा छ– सेवामा वा स्व-उन्नतिमा सफलता सहज प्राप्त गर्ने गोल्डेन चाबी कुन हो? अनुभव त सबैलाई छ। गोल्डेन चाबी हो– चलन, चेहरा, सम्बन्ध-सम्पर्कमा निमित्त भाव, निर्मान भाव, निर्मल वाणी।

जसरी ब्रह्मा बाबा र जगदम्बालाई देख्यौ तर अहिले कहीँ-कहीँ सेवाको सफलतामा प्रतिशत हुन्छ, त्यसको कारण, जे चाहन्छौ, जति गर्छौ, जति योजना बनाउँछौ, त्यसमा प्रतिशत किन हुन्छ? बापदादाले धेरैजसोमा कारण देख्नुभएको छ– सफलतामा कमीको कारण हो एक शब्द, त्यो कुन हो? “म”। म शब्द तीन प्रकारले प्रयोग हुन्छ। देही-अभिमानीमा पनि म आत्मा हुँ, म शब्द आउँछ। देह-अभिमानमा पनि मैले जे भन्छु, गर्छु त्यो ठीक छ, म बुद्धिमान् छु, यो हदको “म, म” देह-अभिमानमा पनि म आउँछ र तेस्रो म, जब कोही निराश हुन्छ तब पनि म आउँछ। मैले यो गर्न सक्दिनँ, ममा हिम्मत छैन। मैले यो सुन्न सक्दिनँ, मैले यो समाउन सक्दिनँ... त्यसैले बापदादा तीनै प्रकारका म, म का गीत धेरै सुनिरहनुहुन्छ। ब्रह्मा बाबाले, जगदम्बाले जुन नम्बर लिनुभयो, उहाँहरूको विशेषता यही रह्यो– उल्टो मै-पनको अभाव रह्यो, अविद्या रह्यो। कहिल्यै ब्रह्मा बाबाले यो भन्नुभएन– मैले राय दिन्छु, म सही छु, बाबा, बाबा... बाबाले गराइरहनुभएको छ, मैले गर्दिनँ। म होसियार छैन, बच्चाहरू होसियार छन्। जगदम्बाको पनि स्लोगन याद छ? पुरानालाई याद होला। जगदम्बा यही भन्नुहुन्थ्यो– “हुक्मी हुकुम चलाइरहेछ”। म होइन, चलाउनेवाला बाबाले चलाइरहनुभएको छ। गराउनेवाला बाबाले गराइरहनुभएको छ। त्यसैले पहिला सबैले आफूभित्रबाट यो अभिमान र अपमानको मलाई समाप्त गरेर अगाडि बढ। स्वाभाविक रूपमा हरेक कुरामा बाबा-बाबा निस्कियोस्। स्वाभाविक रूपमा निस्कियोस् किनकि बाबा समान बन्ने सङ्कल्प त सबैले लिएकै छौ। त्यसैले समान बन्नको लागि केवल यो एक रोयल ‘म’ लाई जलाइदेऊ।

अच्छा, क्रोध पनि गर्नेछैनौँ। क्रोध किन आउँछ? किनकि मै-पन आउँछ। होली मनाउन आएका हौ नि! पहिला कुन होली मनाइन्छ? जलाउने। हुन त धेरै राम्रा छौ, धेरै योग्य छौ। बाबाका आशाहरूका दीपक हौ, केवल यो अलिकति ‘म’लाई कट गरिदेऊ। दुईवटा ‘म’लाई कट गर, एउटा ‘म’लाई राख। किन? बापदादा हेरिरहनुभएको छ, तिम्रै अनेक दाजुभाइ-दिदीबहिनीहरू, ब्राह्मण होइनन् अज्ञानी आत्माहरू, आफ्नो जीवनदेखि हिम्मत हारिसकेका छन्। अब उनीहरूलाई हिम्मतका पङ्ख लगाउनुपर्छ। बिल्कुल बेसहारा भएका छन्, निराश भएका छन्। त्यसैले हे रहमदिल, कृपा-दया गर्ने विश्वका आत्माहरूका इष्टदेव आत्माहरू, आफ्नो शुभ भावना, रहमको भावना, आत्म-भावनाद्वारा उनीहरूको भावना पूर्ण गर। तिमीलाई दु:ख, अशान्तिको भाइब्रेसन आउँदैन? निमित्त आत्मा हौ, पूर्वज हौ, पूज्य हौ, वृक्षको फेद हौ, फाउन्डेसन हौ। सबैले तिमीलाई खोजिरहेका छन्, कहाँ गए हाम्रा रक्षक! कहाँ गए हाम्रा इष्टदेव! बाबालाई त धेरै पुकार सुन्नमा आउँछ। अब स्व-उन्नतिद्वारा भिन्न-भिन्न शक्तिहरूको सकाश देऊ। हिम्मतका पङ्ख लगाऊ। आफ्नो दृष्टिद्वारा, दृष्टि नै तिम्रो पिचकारी हो, त्यसैले आफ्नो दृष्टिको पिचकारीद्वारा सुखको रङ्ग लगाऊ, शान्तिको रङ्ग लगाऊ, प्रेमको रङ्ग लगाऊ, आनन्दको रङ्ग लगाऊ। तिमी त परमात्म सङ्गको रङ्गमा आयौ। अरू आत्माहरूलाई पनि अलिकति आध्यात्मिक रङ्गको अनुभव गराऊ। परमात्म मिलनको, मङ्गल मेलाको अनुभव गराऊ। भट्किरहेका आत्माहरूलाई ठेगानाको मार्ग बताऊ।

त्यसैले स्व-उन्नतिको योजना बनाउनेछौ, यसमा स्वयंको चेकर बनेर चेक गर्नु, यो रोयल ‘म’ त आइरहेको छैन? किनकि आज होली मनाउन आएका छौ। त्यसैले बापदादा यही सङ्कल्प दिनुहुन्छ– आज देह-अभिमान र अपमानको जुन ‘म’ आउँछ, निराशको ‘म’ आउँछ, यसलाई जलाएरै जानु, साथमा नलैजानु। केही त जलाउँछौ नि। आगो जलाउँछौ कि? ज्वालामुखी योग अग्नि जलाऊ। जलाउन आउँछ? ज्वालामुखी योग, आउँछ कि साधारण योग आउँछ? ज्वालामुखी बन। लाइट-माइट हाउस। यो मन पर्यो? कृपया ध्यान देऊ, ‘म’लाई जलाऊ। बापदादा जब “म-म”को गीत सुन्नुहुन्छ नि, तब स्विच बन्द गरिदिनुहुन्छ। वाह! वाह! का गीत हुन्छन् भने आवाज ठुलो बनाइदिनुहुन्छ किनकि “म-म”मा खिचावट धेरै हुन्छ। हरेक कुरामा खिचावट गर्छन्, यो होइन, यो होइन, यस्तो होइन, त्यस्तो होइन। खिचावट हुनाले तनाव पैदा हुन्छ। बापदादालाई लगाव, तनाव र स्वभाव, उल्टो स्वभाव राम्रो लाग्दैन। वास्तवमा स्वभाव शब्द धेरै राम्रो छ। स्वभाव, स्वको भाव। तर त्यसलाई उल्टो बनाइदिएका छन्। न कुराको खिचावट गर, न आफूतर्फ कसैलाई तान। त्यसले पनि धेरै हैरानी दिन्छ। कसैले जतिसुकै तिमीलाई भनोस्, तर आफूतर्फ नतान। न कुरालाई तान, न आफूतर्फ तान, खिचावट खत्तम। बाबा, बाबा र बाबा। मन पर्छ नि! त्यसैले उल्टो ‘म’लाई यहाँ छोडेर जानु, साथमा लिएर नजानु, ट्रेनमा बोझ हुन्छ। तिम्रो गीत छ नि– म बाबाको, बाबा मेरो। छ नि! त्यसैले एउटा ‘म’ राख, दुईवटा ‘म’ खत्तम।

त्यसोभए होली मनायौ, सङ्कल्पमा जलायौ? अहिले त सङ्कल्प गर्नेछौ। सङ्कल्प गर्यौ? हात उठाऊ। गर्यौ कि अलि-अलि रहनेछ? अलि-अलिको छुट्टी दिऊँ? जसले सम्झन्छन्– अलि-अलिको छुट्टी हुनुपर्छ, उनीहरूले हात उठाऊ। अलिकति त रहन्छ नि, रहँदैन? तिमी त धेरै बहादुर छौ। बधाई छ। खुसीमा नाच, गाऊ। तनावमा होइन। तानातानमा होइन।

अहिले एक सेकेन्डमा आफ्नो मनबाट सबै सङ्कल्प समाप्त गरेर एक सेकेन्डमा बाबासँग परमधाममा उच्च भन्दा उच्च स्थान, उच्च भन्दा उच्च बाबा, उहाँसँग उच्च स्थितिमा बस। बाबा समान मास्टर सर्वशक्तिमान् बनेर विश्वका आत्माहरूलाई शक्तिहरूको किरण देऊ। अच्छा!

चारैतिरका होलीएस्ट, हाइएस्ट बच्चाहरूलाई, सर्व विश्व कल्याणकारी विशेष आत्माहरूलाई, सर्व पूर्वज र पूज्य आत्माहरूलाई, सर्व बाबाको दिलतख्तनसिन बच्चाहरूलाई बापदादाको यादप्यार एवं दिलको आशीर्वादसहित, दिलको स्नेह एवं नमस्ते। टाढा-टाढाबाट आएका पत्र, कार्ड, इ-मेल, कम्प्युटरद्वारा सन्देश बापदादालाई प्राप्त भयो र बापदादा ती बच्चाहरूलाई सम्मुख हेरेर पद्मगुणा यादप्यार दिइरहनुभएको छ। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
आफ्नो पूर्वज स्वरूपको स्मृतिद्वारा सर्व आत्माहरूलाई शक्तिशाली बनाउने आधार , उद्धारमूर्त भव

यस सृष्टि वृक्षको मूल फेद, सर्वका पूर्वज तिमी ब्राह्मण अनि देवता हौ। हरेक कर्मको आधार, कुल मर्यादाहरूको आधार, रीति-रस्मको आधार तिमी पूर्वज सर्व आत्माहरूका आधार र उद्धारमूर्त हौ। तिमी फेदद्वारा नै सर्व आत्माहरूलाई श्रेष्ठ सङ्कल्पहरूको शक्ति वा सर्वशक्तिहरूको प्राप्ति हुन्छ। तिमीलाई सबैले फलो गरिरहेका छन्, त्यसैले यति ठुलो जिम्मेवारी सम्झेर हरेक सङ्कल्प र कर्म गर किनकि तिमी पूर्वज आत्माहरूको आधारमा नै सृष्टिको समय र स्थितिको आधार छ।

स्लोगन:–
जसले सर्व शक्तिरूपी किरणहरू चारैतिर फैलाउँछन्, उनै मास्टर ज्ञान-सूर्य हुन्।

अव्यक्त इसारा:– तीन शब्दका कारण कन्ट्रोलिङ पावर, रुलिङ पावर कम हुन्छ। ती तीन शब्द हुन् – १. व्हाय (Why किन), २. ह्वाट (What के), ३. वान्ट (Want चाहियो)। यी तीन शब्द समाप्त गरेर केवल एउटा शब्द बोल। “वाह” तब कन्ट्रोलिङ पावर आउनेछ, अनि सङ्कल्प शक्तिद्वारा बेहद सेवाको निमित्त बन्न सक्नेछौ।