27.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रा दुःखका दिन पूरा भए , अब तिमी यस्तो दुनियामा जाँदैछौ जहाँ कुनै पनि अप्राप्त वस्तु हुँदै न।”

प्रश्न:–
कुन दुई शब्दको रहस्य तिम्रो बुद्धिमा भएको कारणले पुरानो दुनियाबाट तिमीलाई बेहदको वैराग्य हुन्छ?

उत्तर:–
उतरतीकला र चढ्तीकलाको रहस्य तिम्रो बुद्धिमा छ। तिमीलाई थाहा छ– आधाकल्प हामी उत्रँदै आयौँ, अहिले हो चढ्ने समय। बाबा आउनुभएको छ नरबाट नारायण बनाउने सत्य ज्ञान दिन। हाम्रो लागि अब कलियुग पूरा भयो, नयाँ दुनियामा जानुछ त्यसैले हामीलाई यस दुनियाबाट बेहदको वैराग्य छ।

गीत:–
धीरज धर मनुवा...

ओम् शान्ति । मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बाबा बसेर सम्झाउनुहुन्छ– यो एउटै पुरुषोत्तम सङ्गमयुग हो जुनबेला कल्प कल्प बाबा आएर रुहानी बच्चाहरूलाई पढाउनुहुन्छ। राजयोग सिकाउनुहुन्छ। बाबाले रुहानी बच्चाहरूलाई भन्नुहुन्छ– मनुवा अर्थात् आत्मा, हे आत्मा धैर्यता राख! आत्माहरूसँग कुरा गर्नुहुन्छ। यस शरीरको मालिक आत्मा हो। आत्माले भन्छ– म अविनाशी आत्मा हुँ, यो मेरो विनाशी शरीर हो। रुहानी बाबा भन्नुहुन्छ– म एकै पटक कल्पको सङ्गममा आएर तिमी बच्चाहरूलाई धैर्यता दिन्छु– अब सुखका दिन आउनेछन्। अहिले तिमी दुःखधाम रौरव नर्कमा छौ। केवल तिमी छैनौ तर सारा दुनिया रौरव नर्कमा छ, तिमी मेरा बच्चा बनेका छौ, जो रौरव नर्कबाट निस्किएर स्वर्गमा हिँडिरहेका छौ। सत्ययुग, त्रेता, द्वापर बित्यो। कलियुग पनि तिम्रो लागि बित्यो। तिम्रो लागि यो पुरुषोत्तम सङ्गमयुग हो, यसैबेला तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। आत्मा सतोप्रधान बनिसकेपछि फेरि यो शरीर पनि छोड्छ। सतोप्रधान आत्मालाई सत्ययुगमा नयाँ शरीर चाहिन्छ। त्यहाँ सबै कुरा नयाँ हुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब दुःखधामबाट सुखधाममा जानुछ, त्यसको लागि पुरुषार्थ गर्नुछ। सुखधाममा यी लक्ष्मीनारायणको राज्य थियो। तिमी पुरुषार्थ गरिरहेका छौ नरबाट नारायण बन्ने। यो सत्य नरबाट नारायण बन्ने ज्ञान हो। भक्तिमार्गमा हरेक पूर्णिमामा कथा सुन्दै आयौ, तर त्यो हो नै भक्तिमार्ग। त्यसलाई सत्य मार्ग भनिँदैन, ज्ञानमार्ग हो सत्यमार्ग। तिमी सिँढी उत्रँदै उत्रँदै झुटखण्डमा आउँछौ। अहिले तिमीलाई थाहा छ– सत्य बाबाबाट हामीले यो ज्ञान पाएपछि २१ जन्म देवीदेवता बन्छौँ। हामी नै देवीदेवता थियौँ, फेरि सिँढी उत्रँदै आयौँ। उतरतीकला र चढ्तीकलाको रहस्य तिम्रो बुद्धिमा छ। पुकार्छन् पनि– हे बाबा आएर हामीलाई पावन बनाउनुहोस्! एक बाबाले नै पावन बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी सत्ययुगमा विश्वका मालिक थियौ। धेरै धनवान, धेरै सुखी थियौ। अब थोरै समय बाँकी छ। पुरानो दुनियाको विनाश सामुन्ने आएको छ। नयाँ दुनियामा एक राज्य, एक भाषा थियो। त्यसलाई भनिन्छ अद्वैत राज्य। अहिले कति द्वैत छ, अनेक भाषाहरू छन्। जसरी मानिसहरूको वृक्ष बढ्दै जान्छ, भाषाहरूको पनि वृक्ष वृद्धि हुँदै जान्छ। फेरि हुन्छ एक भाषा। गायन छ नि– वर्ल्ड हिस्ट्री जोग्रफी रिपिट (विश्वको इतिहास भूगोल दोहोरिन्छ)। मानिसहरूको बुद्धिमा बस्दैन। बाबाले नै दुःखको पुरानो दुनियालाई परिवर्तन गरेर सुखको नयाँ दुनिया स्थापना गर्नुहुन्छ। लेखिएको छ– प्रजापिता ब्रह्माद्वारा देवता धर्मको स्थापना। यो हो राजयोगको पढाइ। यो ज्ञान जुन गीतामा लेखिएको छ, बाबाले जुन सम्मुख सुनाउनुभयो त्यो फेरि मानिसहरूले भक्तिमार्गको लागि बसेर लेखेका हुन्, जसबाट तिमी उत्रँदै आएका हौ। अहिले भगवानले तिमीलाई पढाउनुहुन्छ माथि चढ्नको लागि। भक्तिलाई भनिन्छ नै उतरतीकलाको मार्ग। ज्ञान हो चढ्तीकलाको मार्ग। यो सम्झाउनमा तिमी नडराऊ। यस्ता पनि छन् जसले यी कुराहरू नबुझेका हुनाले विरोध गर्छन्, शास्त्रवाद गर्छन्। तर तिमीले कसैसँग शास्त्रवाद गर्नुछैन। भन– शास्त्र, वेद, उपनिषद् वा गङ्गा स्नान गर्नु, तीर्थ आदि गर्नु यी सबै भक्ति काण्ड हुन्। भारतवर्षमा रावण पनि छ अवश्य, जसको पुत्ला जलाउँछन्। त्यसो त दुस्मनहरूका पुत्ला जलाउँछन्, अल्पकालको लागि। यो यस एक रावणको नै पुत्ला हरेक वर्ष जलाउँदै आएका छन्। बाबा भन्नुहुन्छ– तिमी सत्ययुगी बुद्धिबाट कलियुगी बुद्धि भएका छौ। तिमी कति सुखी थियौ। बाबा आउनुहुन्छ नै सुखधामको स्थापना गर्न। फेरि पछि जब भक्तिमार्ग सुरुहुन्छ त्यसपछि दुःखी बन्छन्। फेरि सुखदातालाई याद गर्छन्, त्यो पनि नाम मात्र किनकि उहाँलाई चिन्दैनन्। गीतामा नाम परिवर्तन गरिदिएका छन्। पहिला सुरुमा तिमीले यो सम्झाऊ– उच्चभन्दा उच्च भगवान एक हुनुहुन्छ, याद पनि उहाँलाई नै गर्नुपर्छ। एकलाई याद गर्नु त्यसलाई नै अव्यभिचारी याद, अव्यभिचारी ज्ञान भनिन्छ। तिमी अहिले ब्राह्मण बनेका छौ त्यसैले भक्ति गर्दैनौ। तिमीलाई ज्ञान छ। बाबाले पढाउनुहुन्छ जसबाट हामी यी देवता बन्छौँ। दैवीगुण पनि धारण गर्नुछ त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो चार्ट राख्यौ भने थाहा हुन्छ– हामीमा कुनै आसुरी अवगुण त छैनन्। देह अभिमान हो पहिलो अवगुण फेरि दुस्मन हो काम। काममाथि विजय पाउनाले नै तिमी जगतजित बन्छौ। तिम्रो उद्देश्य नै यो हो। यी लक्ष्मीनारायणको राज्यमा कुनै अनेक धर्म थिएनन्। सत्ययुगमा देवताहरूको नै राज्य हुन्छ। मनुष्य हुन्छन् कलियुगमा। हुन त उनीहरू पनि मनुष्य हुन् तर दैवीगुण भएका। यस समयमा सबै मनुष्य छन् आसुरी अवगुण भएका। सत्ययुगमा काम महाशत्रु हुँदैन। बाबा भन्नुहुन्छ– यस काम महाशत्रुमाथि विजय पाउनाले तिमी जगतजित बन्छौ। त्यहाँ रावण हुँदैन। यो पनि मानिसहरूले बुझ्न सक्दैनन्। सत्ययुगबाट उत्रँदै उत्रँदै तमोप्रधान बुद्धि बनेका छन्। अब फेरि सतोप्रधान बन्नुछ। त्यसको लागि एउटै औषधि मिल्छ– बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर त्यसबाट जन्मजन्मान्तरका पाप भस्म हुन्छन्। तिमी बसेका छौ पापहरूलाई भस्म गर्न भने फेरि यसपछि पाप गर्नुहुँदैन। नत्र त्यसको सय गुणा दण्ड हुन्छ। विकारमा गए भने सय गुणा दण्ड हुन्छ, फेरि उनीहरू मुस्किलले चढ्न सक्छन्। पहिलो नम्बर दुस्मन हो यो काम। ५ तलाबाट खस्यौ भने हाडजोर्नी सबै भाँचिन्छन्। सायद मर्न पनि सक्छन्। माथिबाट खसेभने एकदम चकनाचुर हुन्छन्। बाबासँग गरेको प्रतिज्ञा तोडेर कालो मुख बनायौ भने अर्थात् आसुरी दुनियामा गयौ। यहाँबाट मरिसक्यौ। त्यसलाई ब्राह्मण पनि होइन, शूद्र भनिन्छ।

बाबाले कति सहजै सम्झाउनुहुन्छ। पहिला त यो नसा हुनुपर्छ। यदि मानौँ श्रीकृष्ण भगवानुवाच हो भने पनि उहाँले पनि त अवश्य पढाएर आफूसमान बनाउनुहुन्छ नि। तर श्रीकृष्ण त भगवान हुन सक्नुहुन्न। उहाँ त पुनर्जन्ममा आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म नै पुनर्जन्मरहित हुँ। राधाकृष्ण, लक्ष्मीनारायण अथवा विष्णु एउटै कुरा हो। विष्णुका दुई रूप लक्ष्मीनारायण र लक्ष्मीनारायणको नै बाल्यकाल हो राधाकृष्ण। ब्रह्माको पनि रहस्य सम्झाइएको छ– ब्रह्मा-सरस्वती सो लक्ष्मीनारायण। अब ट्रान्सफर हुन्छन्। अन्त्यको यिनको नाम ब्रह्मा राखिएको छ। बाँकी यी ब्रह्मा त हेर एकदम आइरन एजमा उभिएका छन्। यिनै फेरि तपस्या गरेर श्रीकृष्ण वा श्री नारायण बन्छन्। विष्णु भन्नाले त्यसमा दुवै आउँछन्। ब्रह्माकी छोरी सरस्वती। यी कुराहरू कसैले बुझ्न सक्दैनन्। ४ हात ब्रह्माका पनि देखाउँछन् किनकि प्रवृत्ति मार्ग हो नि। निवृत्ति मार्गकाले यो ज्ञान दिन सक्दैनन्। हिँड हामी प्राचीन राजयोग सिकाउँछौँ भनेर धेरैलाई बाहिरबाट फसाएर ल्याउँछन्। तर संन्यासीले राजयोग सिकाउन सक्दैनन्। अब ईश्वर आउनुभएको छ, तिमी अब उहाँका बच्चा ईश्वरीय सम्प्रदाय बनेका छौ। ईश्वर आउनुभएको छ तिमीलाई पढाउन। तिमीलाई राजयोग सिकाइरहनुभएको छ। उहाँ त हुनुहुन्छ निराकार। ब्रह्माद्वारा तिमीलाई आफ्नो बनाउनुभएको छ। बाबा! बाबा! तिमीले उहाँलाई भन्छौ, ब्रह्मा त बीचमा दोभाषे हुन्। भाग्यशाली रथ हुन्। यिनीद्वारा बाबाले तिमीलाई पढाउनुहुन्छ। तिमी पनि पतितबाट पावन बन्छौ। बाबाले पढाउनुहुन्छ– मनुष्यबाट देवता बनाउन। अहिले त रावण राज्य, आसुरी सम्प्रदाय हो नि। यहाँ तिमी ईश्वरीय सम्प्रदाय बनेका छौ फेरि दैवी सम्प्रदाय बन्छौ। अहिले तिमी पुरुषोत्तम सङ्गमयुगमा छौ, पावन बनिरहेका छौ। संन्यासीहरू त घरबार छोडेर जान्छन्। यहाँ बाबा त भन्नुहुन्छ– स्त्रीपुरुष घरमा सँगै बस, यस्तो नसोच– स्त्री नागिनी हुन् त्यसैले हामी अलग भयौँ भने छुट्छौँ। तिमी भाग्नुछैन। त्यो हदको संन्यास हो जहाँ भाग्छन्, तिमी यहाँ बसेका छौ तर तिमीलाई यस विकारी दुनियाबाट वैराग्य छ। यी सबै कुरा तिमीले राम्रोसँग धारण गर्नुछ, नोट गर्नुछ र परहेज पनि राख्नुछ। दैवीगुण धारण गर्नुछ। श्रीकृष्णका गुण गायन गरिन्छ नि। लक्ष्मीनारायण तिम्रो लक्ष्य उद्देश्य हुन्। बाबा बन्नुहुन्न, तिमीलाई त्यस्तो बनाउनुहुन्छ। फेरि आधाकल्पपछि तिमी तल उत्रन्छौ, तमोप्रधान बन्छौ। म त्यस्तो बन्दिन, तिनीहरू बन्छन्। ८४ जन्म पनि यिनैले लिएका छन्। यिनलाई पनि अहिले सतोप्रधान बन्नुछ, यिनी पुरुषार्थी हुन्। नयाँ दुनियालाई सतोप्रधान भनिन्छ। हरेक चीज पहिला सतोप्रधान फेरि सतो-रजो-तमोमा आउँछ। सानो बच्चालाई पनि महात्मा भनिन्छ किनकि उनीहरूमा विकार हुँदैन, त्यसैले उनीहरूलाई फूल भनिन्छ। संन्यासीहरूभन्दा साना बच्चाहरूलाई उत्तम भनिन्छ किनकि संन्यासी त फेरि पनि जीवन बिताएर आउँछन् नि। उनीहरूलाई ५ विकारहरूको अनुभव छ। बच्चाहरूलाई त थाहा हुँदैन त्यसैले बच्चाहरूलाई देखेर खुसी हुन्छ, बच्चाहरू त चैतन्य फूल हुन्। हाम्रो त हो नै प्रवृत्तिमार्ग।

अब तिमी बच्चाहरू यस पुरानो दुनियाबाट नयाँ दुनियामा जानुछ। अमरलोकमा जानको लागि तिमीहरू सबैले पुरुषार्थ गर्छौ, मृत्युलोकबाट ट्रान्सफर हुन्छौ। देवता बन्नुछ भने त्यसको लागि अब मेहनत गर्नुपर्छ। प्रजापिता ब्रह्माका बच्चा भाइबहिनी हुन्छन्। भाइबहिनी त थिए नि। प्रजापिता ब्रह्माका सन्तान आपसमा के ठहरिए? प्रजापिता ब्रह्माको गायन गरिन्छ। प्रजापिताको बच्चा नबनेसम्म, सृष्टिको रचना कसरी हुन्छ? सबै प्रजापिता ब्रह्माका रुहानी बच्चा हुन्। ती ब्राह्मण हुन्छन् जिस्मानी यात्रा गर्नेहरू। तिमी हौ रुहानी यात्रा गर्नेहरू। तिनीहरू पतित, तिमी पावन। तिनीहरू कुनै प्रजापिताका सन्तान होइनन्, यो तिमीले जान्दछौ। भाइबहिनी सम्झिए भने विकारमा जाँदैनन्। बाबा पनि भन्नुहुन्छ– खबरदार रहनुछ, मेरो बच्चा बनेर कुनै विकारी काम नगर, नत्र पत्थरबुद्धि बन्छौ। इन्द्रसभाको कहानी पनि छ। कुनै ब्राह्मणीले शूद्रलाई इन्द्रसभामा ल्याइन् र इन्द्रसभामा उसको दुर्गन्ध आउन थाल्यो। त्यसपछि भनियो– पतितलाई यहाँ किन ल्याएको। फेरि उसलाई श्राप दिइयो। वास्तवमा यस सभामा पनि कुनै पतित आउन सक्दैनन्। बाबालाई थाहा भएपनि वा नभएपनि, यिनीहरूले त आफ्नै नोक्सान पार्छन्, झन् सयगुणा दण्ड पर्छ। पतितलाई यहाँ आउने अनुमति छैन। उनीहरूको लागि भेटघाट कक्ष ठीक छ। जुनबेला पावन बनेको ग्यारेन्टी गर्छ, दैवीगुण धारण गर्छ त्यसपछि मात्र अनुमति हुन्छ। दैवीगुण धारण गर्नमा समय लाग्छ। एउटै पावन बन्ने प्रतिज्ञा हो।

यो पनि सम्झाइएको छ, देवताहरूको र परमात्माको महिमा अलग अलग छ। पतितपावन, मुक्तिदाता, गाइड बाबा नै हुनुहुन्छ। सबै दुःखहरूबाट मुक्त गरेर आफ्नो शान्तिधाममा लैजानुहुन्छ। शान्तिधाम, सुखधाम र दुःखधाम यो पनि चक्र हो। अब दुःखधामलाई भुल्नुछ। शान्तिधामबाट सुखधाममा उनीहरू आउँछन् जो नम्बरवार पास हुन्छन्, उनीहरू नै आइरहन्छन्। यो चक्र घुमिरहन्छ। धेरै धेरै आत्माहरू छन्, सबैको पार्ट नम्बरवार छ। जान्छन् पनि नम्बरवार। उनीहरूलाई भनिन्छ शिवबाबाको सिजरा अथवा रुद्र माला। नम्बरवार जान्छन् फेरि नम्बरवार आउँछन्। अरू धर्मवालाहरूको पनि यस्तै हुन्छ। बच्चाहरूलाई दिनहुँ सम्झाइन्छ, स्कुलमा दिनहुँ पढेनौ, मुरली सुनेनौ भने फेरि गयल हुन्छौ। पढाइको लिफ्ट त अवश्य चाहिन्छ। ईश्वरीय विश्व विद्यालयमा कहाँ गयल हुन पाइन्छ र! यो पढाइ कति उच्च छ, जसबाट तिमी सुखधामका मालिक बन्छौ। त्यहाँ त सबै अन्न निःशुल्क हुन्छ, पैसा लाग्दैन। अहिले त कति महँगो छ। १०० वर्षमा कति महँगो भएको छ। त्यहाँ कुनै अप्राप्त वस्तुहुँदैन जसको लागि मुस्किल हुन्छ। त्यो हो नै सुखधाम। तिमीले अहिले त्यहाँको लागि तयारी गरिरहेका छौ। तिमी भिखारीबाट राजकुमार बन्छौ। धनवान मानिसहरूले आफूलाई भिखारी सम्झँदैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मात-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबासँग जुन सम्पूर्ण पावन बन्ने प्रतिज्ञा गरेका छौ, त्यसलाई तोड्नुछैन। धेरै धेरै परहेज गर्नुछ। आफ्नो चार्ट हेर्नुछ– हामीमा कुनै अवगुण त छैन?

२) ईश्वरीय विश्व विद्यालयमा कहिल्यै पनि गयल हुनुछैन। सुखधामको मालिक बन्ने उच्च पढाइ एक दिन पनि छुटाउनुछैन। मुरली अवश्य दिनहुँ सुन्नुछ।

वरदान:–
हर सेकेन्ड हर सङ्कल्पको महत्त्वलाई जानेर पुण्यको पुँजी जम्मा गर्ने पदमापदमपति भव

तिमी पुण्य आत्माहरूको सङ्कल्पमा यति विशेष शक्ति छ जुन शक्तिद्वारा असम्भवलाई सम्भव बनाउन सक्छौ। जसरी आजकाल यन्त्रहरूद्वारा मरुभूमिमा हरियाली बनाइदिन्छन्, पहाडहरूमा फूल उमार्छन् त्यसैगरी तिमीले आफ्ना श्रेष्ठ सङ्कल्पहरूद्वारा निराश आत्माहरूलाई आशावादी बनाउन सक्छौ। केवल हर सेकेन्ड हर सङ्कल्पको महत्वलाई जानेर, सङ्कल्प र सेकेन्डलाई प्रयोग गरेर पुण्यको पुँजी जम्मा गर। तिम्रो सङ्कल्पको शक्ति यति श्रेष्ठ छ जुन एक सङ्कल्पले पनि पदमापदमपति बनाइदिन्छ।

स्लोगन:–
हरेक कर्म अधिकारीपनको निश्चय र नसाले गरेमा मेहनत समाप्त हुन्छ।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

कर्मातीत स्थिति प्राप्त गर्नको लागि विशेष स्वयंमा समेट्ने र समाहित गर्ने शक्ति धारण गर्न आवश्यक छ। जहाँ कर्मबन्धनी आत्माहरू छन् त्यहीँ नै कार्य गर्न सक्छन्, कर्मातीत आत्माहरूले एकै समयमा चारैतिर आफ्नो सेवाको पार्ट खेल्न सक्छन् किनकि तिनीहरू कर्मातीत हुन्छन्। तिनीहरूको पुरुषार्थको गति धेरै तीव्र हुन्छ, सेकेन्डमा जहाँ चाहे त्यहाँ पुग्न सक्छन्, त्यसैले यस अनुभूतिलाई बढाऊ।