28.07.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– सबैलाई
यो खुसखबरी सुनाऊ– अब फेरि विश्वमा शान्ति स्थापना भइरहेको छ, बाबा आउनुभएको छ एक
आदि सनातन देवी-देवता धर्म स्थापना गर्न।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई बारम्बार यादमा रहने इसारा किन दिइन्छ?
उत्तर:–
किनकि सदा
स्वस्थ र सदैव पावन बन्नका लागि नै हो याद, त्यसैले जब समय मिल्छ यादमा रहने गर।
सवेरै सवेरै स्नान आदि गरेर फेरि एकान्तमा चक्कर लगाऊ वा बस। यसमा त कमाइ नै कमाइ
छ। यादबाटै विश्वको मालिक बन्नेछौ।
ओम् शान्ति ।
प्यारा
बच्चाहरूलाई थाहा छ– यस समयमा सबैले विश्वमा शान्ति चाहन्छन्। यो आवाज सुनिरहिन्छ
कि विश्वमा शान्ति कसरी हुन्छ? तर विश्वमा शान्ति कहिले थियो र फेरि अब चाहन्छन्–
यो कसैलाई थाहा छैन। तिमी बच्चाहरूलाई मात्र थाहा छ– विश्वमा यी लक्ष्मी-नारायणको
राज्य हुँदा शान्ति थियो। अहिलेसम्म पनि लक्ष्मी-नारायणका मन्दिर बनाइरहन्छन्।
तिमीले कसैलाई पनि यो बताउन सक्छौ– विश्वमा शान्ति ५ हजार वर्ष पहिला थियो, अब फेरि
स्थापना भइरहेको छ। कसले स्थापना गर्नुहुन्छ? यो कुरा मानिसहरूलाई थाहा छैन। तिमी
बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ, तिमीले कसैलाई पनि सम्झाउन सक्छौ। तिमीले लेख्न
सक्छौ। तर अहिलेसम्म कसैको हिम्मत छैन जुन कसैले लेखुन्। अखबारमा आवाज त सुन्छन्–
सबैले भन्छन् विश्वमा शान्ति होस्। लडाइँ आदि भयो भने मानिसहरूले विश्वमा शान्तिको
लागि यज्ञ रच्छन्। कुन यज्ञ? रुद्र यज्ञ रच्छन्। अब बच्चाहरूलाई थाहा भएको छ– यस
समयमा बाबा जसलाई रुद्र शिव पनि भनिन्छ, उहाँले ज्ञान यज्ञ रच्नुभएको छ। विश्वमा
शान्ति अहिले स्थापना भइरहेको छ। सत्ययुग नयाँ दुनियाँमा जहाँ शान्ति थियो, अवश्य
त्यहाँ राज्य गर्नेहरू पनि थिए होलान्। निराकारी दुनियाँको लागि त भनिँदैन– विश्वमा
शान्ति होस्। त्यहाँ त शान्ति नै हुन्छ। विश्व मानिसहरूको हुन्छ। निराकारी
दुनियाँलाई विश्व भनिँदैन। त्यो हो शान्तिधाम। बाबाले बारम्बार सम्झाइरहनुहुन्छ,
फेरि पनि कसैले भुल्छन्, कसै कसैको बुद्धिमा हुन्छ, उनीहरूले सम्झाउन सक्छन्।
विश्वमा शान्ति कसरी थियो, अब फेरि कसरी स्थापना भइरहेको छ– यो जसलाई पनि सम्झाउन
धेरै सहज छ। भारतवर्षमा आदि सनातन देवी-देवता धर्मको राज्य हुँदा एउटै धर्म थियो।
विश्वमा शान्ति थियो, यो धेरै सहजै सम्झाउने र लेख्ने कुरा हो। ठुला ठुला मन्दिर
बनाउनेहरूलाई पनि तिमीले लेख्न सक्छौ– विश्वमा शान्ति आजभन्दा ५ हजार वर्ष पहिला
थियो, त्यतिबेला उनीहरूको राज्य थियो, जसको तिमीले मन्दिर बनाउँछौ। भारतवर्षमा नै
उनीहरूको राज्य थियो र अरू कुनै धर्म थिएन। यो त सहज छ र बुद्धिमानीको कुरा हो।
ड्रामा अनुसार पछि गएर सबैले बुझ्नेछन्। तिमीले यो खुसखबरी सबैलाई सुनाउन सक्छौ,
छपाउन पनि सक्छौ, सुन्दर कार्डमा। विश्वमा शान्ति आजभन्दा ५ हजार वर्ष पहिला थियो,
त्यतिबेला नयाँ दुनियाँ नयाँ भारतवर्ष थियो। लक्ष्मी-नारायणको राज्य थियो। अब फेरि
विश्वमा शान्ति स्थापना भइरहेको छ। यी कुराहरू स्मरण गर्नाले पनि तिमी बच्चाहरूलाई
धेरै खुसी हुनुपर्छ। तिमीलाई थाहा छ– बाबालाई याद गर्नाले नै हामी विश्वको मालिक
बन्नेछौँ। सारा कुरा तिमी बच्चाहरूको पुरुषार्थमा आधारित छ। बाबाले सम्झाउनुभएको छ–
जति पनि समय मिल्छ, बाबाको यादमा रहने गर। बिहानै स्नान गरेर फेरि एकान्तमा गएर
चक्कर लगाऊ वा बस। यहाँ त कमाइ नै कमाइ गर्नुछ। सदा स्वस्थ र सदैव पावन बन्नका लागि
नै याद हो। यहाँ हुन त संन्यासीहरू पवित्र हुन्छन्, तैपनि बिरामी अवश्य हुन्छन्। यो
हो नै रोगी दुनियाँ। त्यो हो निरोगी दुनियाँ। यो पनि तिमीलाई थाहा छ। दुनियाँमा
कसलाई के थाहा– स्वर्गमा सबै निरोगी हुन्छन्। स्वर्ग केलाई भनिन्छ, कसैलाई थाहा छैन।
तिमीलाई अहिले थाहा भएको छ। बाबा भन्नुहुन्छ– जोसुकै मिलेपनि तिमीले सम्झाउन सक्छौ।
मानौँ, कसैले आफूलाई राजा-रानी कहलाउँछन्। तर राजा-रानी त कोही छैनन्। भन– तपाई
अहिले राजा-रानी त हुनुहुन्न। यो बुद्धिबाट पनि निकाल्नुपर्छ। महाराजा-महारानी
श्रीलक्ष्मी-नारायणको राजधानी त अब स्थापना भइरहेको छ। त्यसैले अवश्य यहाँ कोही पनि
राजा-रानी छैनन्। हामी राजा-रानी हौँ, यो पनि भुल्नुहोस्। साधारण मानिसहरू जसरी
चल्नुहोला। यिनीहरूसँग पनि पैसा, सुन आदि हुन्छ त होला नि। अहिले नियम पास भइरहेको
छ, यो सबै लिनेछन्। फेरि साधारण मानिसहरू जस्तै हुनेछन्। यी युक्तिहरू पनि रचिरहेका
छन्। गायन पनि छ नि, कसैको दबिन्छ धुलोमा, कसैको राजाले खान्छन्...। अब राजाले कसैको
खाँदैनन्। राजाहरू त छैनन्। प्रजाले नै प्रजाको खाइरहेका छन्। आजकालको राज्य धेरै
आश्चर्यजनक छ। जब बिल्कुल राजाहरूको नाम निस्केपछि फेरि राजधानी स्थापना हुन्छ।
अहिले तिमीलाई थाहा छ– हामी त्यहाँ जाँदैछौँ जहाँ विश्वमा शान्ति हुन्छ। त्यो हो नै
सुखधाम, सतोप्रधान दुनियाँ। हामीले त्यहाँ जानका लागि पुरुषार्थ गरिरहेका छौँ।
बच्चाहरू बसेर रवाफले सम्झाउनुछ, केवल बाहिरको बनावटी रवाफ चाहिँदैन। आजकाल त बनाबटी
पनि धेरै निस्किएका छन् नि। यहाँ त पक्का ब्रह्माकुमार-कुमारीहरू चाहिन्छन्।
तिमी ब्राह्मणहरूले
ब्रह्मा बाबासँगै विश्वमा शान्ति स्थापनाको कार्य गरिरहेका छौ। यस्तो शान्ति स्थापना
गर्ने बच्चाहरू धेरै शान्तचित्त र धेरै मीठो हुनुपर्छ किनकि तिमीहरूलाई थाहा छ– हामी
निमित्त बनेका छौँ विश्वमा शान्ति स्थापना गर्न। त्यसैले पहिला हामीमा धेरै शान्ति
हुनुपर्छ। कुराकानी पनि धेरै बिस्तारै बिस्तारै, धेरै रोयल्टीले गर्नुछ। तिमी
बिल्कुल गुप्त छौ। तिम्रो बुद्धिमा अविनाशी ज्ञान रत्नहरूको खजाना भरिएको छ। बाबाका
तिमी वारिस हौ नि। बाबासँग जति खजाना छन्, तिमीले उहाँबाट लिएर पूरा भर्नुपर्छ। सारा
सम्पत्ति हजुरको हो भन्न सक्नुपर्छ, तर त्यो हिम्मत छैन भने लिन सक्दैनौ। लिनेहरूले
नै उच्च पद पाउँछन्। कसैलाई पनि सम्झाउने धेरै सोख हुनुपर्छ। हामीले विश्वलाई फेरि
स्वर्ग बनाउनुछ। कामधन्दा आदि गर्दागर्दै साथमा यो पनि सेवा गर्नुछ, त्यसैले बाबाले
छिटो छिटो गर्न भन्नुहुन्छ। फेरि पनि हुन्छ त ड्रामा अनुसार नै। हरेक आफ्नो समयमा
चलिरहेको छ, बच्चाहरूलाई पनि पुरुषार्थ गराइरहनुभएको छ। तिमी बच्चाहरूलाई निश्चय छ–
अब थोरै समय बाँकी छ। यो हाम्रो अन्तिम जन्म हो, फेरि हामी स्वर्गमा हुन्छौँ। यो
दु:खधाम हो, फेरि सुखधाम हुन्छ। सुखधाम बन्नमा त समय लाग्छ नि। यो विनाश सानो कहाँ
हो र। जसरी नयाँ घर बन्यो भने फेरि नयाँ घरकै याद आउँछ। त्यो हो हदको कुरा, त्यसमा
कुनै सम्बन्ध आदि कहाँ परिवर्तन हुन्छन् र। यहाँ त पुरानो दुनियाँ नै परिवर्तन
गर्नुछ, फेरि जसले राम्रोसँग पढ्छन् उनीहरू राजकुलमा आउँछन्। नत्र प्रजामा जान्छन्।
बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। बाबाले सम्झाउनुभएको छ– ५०-६० जन्म तिमीले सुख
पाउँछौ। द्वापरमा पनि तिमीसँग धेरै धन हुन्छ। दु:ख त पछि हुन्छ। राजाहरू आपसमा
लड्छन्, फुट पर्छ त्यसपछि दु:ख सुरु हुन्छ। पहिला त अन्न आदि पनि धेरै सस्तो हुन्छ।
अनिकाल आदि पनि पछि पर्नेछ। तिमीसँग धेरै धन हुन्छ। सतोप्रधानबाट तमोप्रधानमा
बिस्तारै बिस्तारै आउँछौ। त्यसैले तिमी बच्चाहरूको मनमा धेरै खुसी हुनुपर्छ। आफूलाई
नै खुसी हुँदैन, शान्ति हुँदैन भने उनीहरूले कसरी विश्वमा शान्ति स्थापना गर्छन्!
धेरैको बुद्धिमा अशान्ति हुन्छ। बाबा आउनुहुन्छ नै शान्तिको वरदान दिन। भन्नुहुन्छ–
मलाई याद गर, त्यसपछि तमोप्रधान बनेका कारण जुन आत्मा अशान्त भएको छ, त्यो यादले
सतोप्रधान शान्त बन्छ। तर बच्चाहरूबाट यादको मेहनत पुग्दैन, यादमा नरहने हुनाले नै
फेरि मायाका तुफान आउँछन्। यादमा रहेर पूरा पावन बनेनौ भने सजाय भोग्नुपर्छ। पद पनि
भ्रष्ट हुन्छ। यस्तो नसम्झनु– स्वर्गमा त जान्छौँ नि। अरे, मार खाएर पाई पैसाको सुख
पाउनु यो कुनै राम्रो हो र। मानिसहरूले उच्च पद पाउनका लागि कति पुरुषार्थ गर्छन्।
यस्तो होइन जे मिल्यो त्यो राम्रो छ। यस्तो कोही हुँदैन जसले पुरुषार्थ गर्दैन। भीख
माग्ने फकिरहरूले पनि आफूसँग पैसा जम्मा गर्छन्। पैसाको त सबै भोका हुन्छन्। पैसाले
हरेक कुराको सुख हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले बाबाबाट अथाह धन लिन्छौँ।
पुरुषार्थ कम गर्यौ भने धन पनि कम मिल्छ। बाबाले धन दिनुहुन्छ नि। भन्नुहुन्छ पनि–
धन छ भने अमेरिका आदिको चक्कर लगाऊ। तिमीले जति बाबालाई याद गर्छौ र सर्भिस गर्छौ
त्यति सुख पाउँछौ। बाबाले हरेक कुरामा पुरुषार्थ गराएर उच्च बनाउनुहुन्छ।
सम्झनुहुन्छ– बच्चाहरूले आफ्नो कुलको नाम प्रसिद्ध गर्नेछन्। तिमी बच्चाहरूले पनि
ईश्वरीय कुलको, बाबाको नाम प्रसिद्ध गर्नुछ। उहाँ सत् बाबा, सत् टिचर, सद्गुरु
हुनुभयो। उच्चभन्दा उच्च बाबा, उच्चभन्दा उच्च सच्चा सद्गुरु पनि हुनुभयो। यो पनि
सम्झाउनुभएको छ– गुरु एउटै हुनुहुन्छ, अर्को गुरु कोही छैन। सबैको सद्गतिदाता एक।
यो पनि तिमीलाई थाहा छ। अहिले तिमी पारसबुद्धि बनिरहेका छौ। पारसपुरीका पारसनाथ
राजा-रानी बन्छौ। कति सहज कुरा छ। भारतवर्ष गोल्डेन एजेड थियो, विश्वमा शान्ति कसरी
थियो– यो तिमीले यस लक्ष्मी-नारायणको चित्रमा सम्झाउन सक्छौ। स्वर्गमा शान्ति थियो।
अहिले नर्क छ। यसमा अशान्ति छ। स्वर्गमा यी लक्ष्मी-नारायण रहन्छन् नि।
श्रीकृष्णलाई लर्ड कृष्ण पनि भनिन्छ। श्रीकृष्ण भगवान पनि भनिन्छ। तर लर्ड त धेरै
छन्, जोसँग जमिन धेरै हुन्छ, उनीहरूलाई पनि भनिन्छ– लेन्ड लर्ड (जमिन्दार)।
श्रीकृष्ण त विश्वको राजकुमार थिए, जुन विश्वमा शान्ति थियो। यो पनि कसैलाई थाहा
छैन– राधा-कृष्ण नै लक्ष्मी-नारायण बन्छन्।
तिम्रो लागि
मानिसहरूले कति कुरा बनाउँछन्, हङ्गामा मच्चाउँछन्, भन्छन्– यिनीहरूले त भाइ-बहिनी
बनाउँछन्। सम्झाइन्छ– प्रजापिता ब्रह्माको मुख वंशावली ब्राह्मण, जसको लागि नै गायन
गरिन्छ– ब्राह्मण देवी देवताय नम:। ब्राह्मणले पनि उनीहरूलाई नमस्कार गर्छन् किनकि
उनीहरू सच्चा भाइ-बहिनी हुन्। पवित्र रहन्छन्। त्यसोभए पवित्रको किन इज्जत नगर्ने।
कन्या पवित्र छिन् त्यसैले उनको पनि पाउ पर्छन्। बाहिरको आगन्तुक आउँदा उनले पनि
कन्यालाई नमन गर्छन्। यस समयमा कन्याको यति मान किन भएको छ? किनकि तिमी
ब्रह्माकुमार-कुमारीहरू हौ नि। बढी संख्यामा तिमी कन्याहरू छौ। शिवशक्ति पाण्डव सेना
गायन गरिएको छ। यसमा पुरुष पनि छन्, धेरै माताहरू छन्, त्यसैले गायन छ। जसले
राम्रोसँग पढ्छन्, उनीहरू उच्च बन्छन्। अहिले तिमीले सारा विश्वको हिस्ट्री-जोग्राफी
जानेका छौ। चक्रमा पनि सम्झाउन धेरै सहज छ। भारतवर्ष पारसपुरी थियो, अहिले पत्थरपुरी
छ। त्यसैले सबै पत्थरनाथ भए नि। तिमी बच्चाहरूले यस ८४ को चक्रलाई पनि जानेका छौ।
अब घर जानुछ, त्यसैले बाबालाई पनि याद गर्नुछ, जसबाट पाप काटिन्छन्। तर बच्चाहरूबाट
यादको मेहनत पुग्दैन किनकि अलबेलापन छ। बिहानै उठ्दैनन्। यदि उठे भने पनि मजा
आउँदैन। निद्रा लाग्न थाल्छ, फेरि सुत्छन्। निराश हुन्छन्। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! यो युद्धको मैदान हो नि, यसमा निराश हुनुहुँदैन। यादको बलले नै मायामाथि
विजय पाउनुछ, यसमा मेहनत गर्नुपर्छ। धेरै राम्रा राम्रा बच्चाहरू जसले यथार्थ रीतिले
याद गर्दैनन्, चार्ट राख्नाले घाटा-फाइदाको थाहा हुन्छ। भन्छन्– चार्टले त मेरो
अवस्थामा कमाल गरिदिएको छ। यस्तो विरलै कसैले चार्ट राख्छ। यो पनि ठुलो मेहनत हो।
धेरै सेन्टरहरूमा झुटा पनि गएर बस्छन्, विकर्म गरिरहन्छन्। बाबाको निर्देशन पालन
नगर्नाले धेरै नोक्सान पारिदिन्छन्। बच्चाहरूलाई कहाँ थाहा हुन्छ र– निराकारले
भन्नुहुन्छ वा साकारले? बच्चाहरूलाई बारम्बार सम्झाइन्छ– सदा सम्झ शिवबाबाले
निर्देशन दिनुहुन्छ। तब तिम्रो बुद्धि त्यहाँ लागिरहन्छ।
आजकाल मगनी हुँदा फोटो
देखाउँछन्, अखबारमा पनि लेख्छन्– यिनको लागि यस्तो यस्तो राम्रो घरको वर चाहिन्छ।
दुनियाँको के हालत भएको छ, के हुने हो! तिमी बच्चाहरूलाई थाहा छ– अनेक प्रकारका मत
छन्। तिमी ब्राह्मणहरूको एउटै मत छ। विश्वमा शान्ति स्थापना गर्ने मत। तिमी
बच्चाहरूले श्रीमत अनुसार विश्वमा शान्ति स्थापना गर्छौ त्यसैले बच्चाहरू पनि
शान्तिमा रहनुपर्यो। जसले गर्छ, उसले पाउँछ। नत्र धेरै घाटा पर्छ। जन्मजन्मान्तरको
घाटा पर्छ। बच्चाहरूलाई भन्नुहुन्छ– आफ्नो घाटा र फाइदा हेर। चार्ट हेर– मैले
कसैलाई दु:ख त दिइनँ? बाबा भन्नुहुन्छ– यो समयमा तिम्रो एक एक सेकेन्ड अति मूल्यवान
छ, सजाय खाएर रोटी टुक्रा खानु त्यो के ठुलो कुरा हो। तिमी त धेरै धनवान बन्न
चाहन्छौ नि। पहिला सुरुमा जो पूज्य हुन्छन्, उनीहरूलाई नै पुजारी बन्नुछ। यति धन
हुन्छ, सोमनाथको मन्दिर बनाए त्यसपछि त पूजा गर्छन्। यो पनि हिसाब हो। बच्चाहरूलाई
फेरि पनि सम्झाउनुहुन्छ– चार्ट राखेमा धेरै फाइदा हुन्छ। नोट गर्नुपर्छ। सबैलाई
सन्देश दिँदै जाऊ, चुप लागेर नबस। ट्रेनमा पनि तिमीले सम्झाएर पत्रिका देऊ। भन, यो
करोडौँको सम्पत्ति हो। यहाँ लक्ष्मी-नारायणको राज्य भएको बेलामा विश्वमा शान्ति थियो।
अहिले बाबा फेरि त्यो राजधानी स्थापना गर्न आउनुभएको छ, तिमीले बाबालाई याद गर्यौ
भने विकर्म विनाश हुन्छन् र विश्वमा शान्ति हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामी विश्वमा शान्ति स्थापना गर्ने निमित्त ब्राह्मण हौँ, हामी धेरै धेरै
शान्तचित्त रहनुछ, कुराकानी धेरै बिस्तारै वा रोयल्टीले गर्नुछ।
२) अलबेलापन छोडेर
यादको मेहनत गर्नुछ। कहिल्यै निराश बन्नुछैन।
वरदान:–
परीक्षामा
आत्तिनुको सट्टा पूर्णविराम लगाएर पूर्ण पास हुने सफलतामूर्त भव
जब कुनै पनि प्रकारको
परीक्षा आउँछ तब नआत्तिनु, प्रश्नचिह्नमा नआउनु, यो किन आयो? यो सोच्नमा समय बर्बाद
नगर। प्रश्नचिह्न खतम र पूर्णविराम, अनि कक्षा परिवर्तन हुन्छ अर्थात् परीक्षामा
पास हुन्छौ। पूर्णविराम दिनेवाला पूर्ण पास हुन्छ किनकि पूर्णविराम हो बिन्दुको
स्टेज। देखेर पनि नदेख्नु, सुनेर पनि नसुन्नु। बाबाले सुनाउनुभएको सुन, बाबाले जे
दिनुभएको छ त्यो हेर, तब पूर्ण पास हुन्छौ र पास हुने निसानी– सदैव चढ्ती कलाको
अनुभव गर्दै सफलताका सितारा बन्छौ।
स्लोगन:–
स्व-उन्नति
गर्नुछ भने क्वेस्चन, करेक्सन र कोटेसनलाई त्याग गरेर आफ्नो कनेक्सन ठीक राख।
अव्यक्त इसारा–
सङ्कल्पहरूको शक्ति जम्मा गरेर श्रेष्ठ सेवाको निमित्त बन
अन्तिम समयमा आफ्नो
सुरक्षाको लागि मनसा शक्ति नै साधन बन्छ। मनसा शक्तिद्वारा नै स्वयंको अन्त्यको
अवस्था सुन्दर बनाउने निमित्त बन्न सकिन्छ। त्यस समयमा मनसा शक्ति अर्थात् श्रेष्ठ
सङ्कल्प शक्ति, एकसँग लाइन क्लियर चाहिन्छ। बेहदको सेवाको लागि, स्वयंको सुरक्षाको
लागि मनसा शक्ति र निर्भयताको शक्ति जम्मा गर।