30.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाले तिमीलाई पुरुषोत्तम बनाउनको लागि पढाइरहनुभएको छ , तिमी अहिले कनिष्ठबाट उत्तम पुरुष बन्छौ , सबैभन्दा उत्तम देवताहरू हुन्।”

प्रश्न:–
यहाँ तिमी बच्चाहरूले कुनचाहिँ मेहनत गर्छौ जुन सत्ययुगमा हुँदैन?

उत्तर:–
यहाँ देहसहित देहका सबै सम्बन्धहरूलाई भुलेर आत्म अभिमानी भएर शरीर छोड्नमा धेरै मेहनत गर्नुपर्छ। सत्ययुगमा बिना मेहनत बसी बसी शरीर छोडिदिन्छन्। अहिले यही मेहनत वा अभ्यास गर्छौ– हामी आत्मा हौँ, हामीले यो पुरानो दुनियाँ, पुरानो शरीरलाई छोड्नुछ, नयाँ लिनुछ। सत्ययुगमा यस अभ्यासको आवश्यकता हुँदैन।

गीत:–
दूर देश का रहने वाला...

ओम् शान्ति ।
मीठा प्यारा रूहानी बच्चाहरूलाई थाहा छ– फेरि अर्थात् कल्प कल्प पछि। यसलाई भनिन्छ– दूरदेशका रहनेवाला फेरि आउनुभएको छ पराइ देशमा। यो केवल उहाँ एकको लागि नै गायन हो, उहाँलाई नै सबैले याद गर्छन्, उहाँ विचित्र हुनुहुन्छ। उहाँको कुनै चित्र छैन। ब्रह्मा, विष्णु, शङ्करलाई देवता भनिन्छ। शिव भगवानुवाच भनिन्छ, उहाँ परमधाममा रहनुहुन्छ। उहाँलाई सुखधाममा कहिल्यै बोलाउँदैनन्, दुःखधाममा नै बोलाउँछन्। उहाँ आउनुहुन्छ पनि सङ्गमयुगमा। यो त बच्चाहरूलाई थाहा छ– सत्ययुगमा सारा विश्वमा तिमी पुरुषोत्तम रहन्छौ। मध्यम, कनिष्ठ त्यहाँ हुँदैनन्। उत्तमभन्दा उत्तम पुरुष यी श्री लक्ष्मी-नारायण हुन् नि। यिनीहरूलाई यस्तो बनाउनेवाला श्री श्री शिवबाबालाई भनिन्छ। श्री श्री उहाँ शिवबाबालाई नै भनिन्छ। आजकाल त संन्यासी आदिले पनि आफूलाई श्री श्री भनिदिन्छन्। बाबा नै आएर यस सृष्टिलाई पुरुषोत्तम बनाउनुहुन्छ। सत्ययुगमा सारा सृष्टिमा उत्तमभन्दा उत्तम पुरुष रहन्छन्। उत्तमभन्दा उत्तम र कनिष्ठभन्दा कनिष्ठको फरक यतिबेला तिमीले बुझेका छौ। कनिष्ठ मनुष्यले आफ्नो निचपना देखाउँछन्। अहिले तिमीले बुझेका छौ– हामी के थियौँ, अब फेरि हामी स्वर्गवासी पुरुषोत्तम बनिरहेका छौँ। यो हो नै सङ्गमयुग। तिमीलाई निश्चय छ– यो पुरानो दुनियाँ नयाँ बन्नुछ। पुरानो सो नयाँ, नयाँ सो पुरानो अवश्य बन्छ। नयाँलाई सत्ययुग, पुरानोलाई कलियुग भनिन्छ। बाबा हुनुहुन्छ नै सच्चा सुन, सत्य बोल्नेवाला। उहाँलाई ट्रुथ (सत्य) भनिन्छ। सबै कुरा सत्य बताउनुहुन्छ। यो जुन भन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो झुटो हो। अब बाबा भन्नुहुन्छ– झुटो कुरा नसुन। हियर नो इभिल, सी नो इभिल... राजविद्याको कुरा अलग छ। त्यो त हो नै अल्पकाल सुखको लागि। तिमीले अर्को जन्म लियौ फेरि नयाँ सिराबाट पढ्नुपर्छ। त्यो हो अल्पकालको सुख। यो हो २१ जन्म, २१ पिँढीको लागि। पिँढी वृद्धावस्थालाई भनिन्छ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। यहाँ त हेर कसरी अकालमा मृत्यु भइरहन्छ। ज्ञानमा पनि मर्छन्। तिमीले अहिले कालमाथि विजय प्राप्त गरिरहेका छौ। थाहा छ– त्यो हो अमरलोक, यो हो मृत्युलोक। त्यहाँ त वृद्ध भएपछि साक्षात्कार हुन्छ– हामी यो शरीर छोडेर गएर बच्चा बन्नेछौँ। वृद्धावस्था पूरा हुन्छ र शरीर छोडिदिन्छन्। नयाँ शरीर मिल्यो भने त्यो राम्रो नै हो नि। बसी बसी खुसीले शरीर छोडिदिन्छन्। यहाँ त त्यस अवस्थामा रहेर शरीर छोड्नको लागि मेहनत गर्नुपर्छ। यहाँको मेहनत त्यहाँ फेरि कमन (सामान्य) हुन्छ। यहाँ देहसहित जे जति छ सबैलाई भुल्नुछ। आफूलाई आत्मा सम्झनुछ, यो पुरानो दुनियाँलाई छोड्नुछ। नयाँ शरीर लिनुछ। आत्मा सतोप्रधान थियो त्यसैले सुन्दर शरीर मिल्यो। फेरि काम चितामा बस्नाले कालो तमोप्रधान भयो, त्यसपछि शरीर पनि कालो मिल्छ, सुन्दरबाट श्याम बन्यो। श्रीकृष्णको नाम त श्रीकृष्ण नै हो फेरि उनलाई श्याम सुन्दर किन भनिन्छ? चित्रहरूमा पनि श्रीकृष्णको चित्र कालो बनाइदिन्छन् तर अर्थ बुझ्दैनन्। अहिले तिमीले जान्दछौ– हामी सतोप्रधान थियौँ त्यतिबेला सुन्दर थियौँ। अहिले तमोप्रधान श्याम बनेका छौँ। सतोप्रधानलाई पुरुषोत्तम भनिन्छ, तमोप्रधानलाई कनिष्ठ भनिन्छ। बाबा त एभर प्योर (सदा पवित्र) हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै हसिन बनाउन। यात्री हुनुहुन्छ नि। कल्प कल्प आउनुहुन्छ, नत्र पुरानो दुनियाँलाई नयाँ कसले बनाउँछ! यो त पतित विकारी दुनियाँ हो। यी कुराहरू दुनियाँमा कसैलाई थाहा छैन। अहिले तिमीलाई थाहा छ– बाबाले हामीलाई पुरुषोत्तम बनाउनको लागि पढाइरहनुभएको छ। फेरि देवता बन्नको लागि हामी नै ब्राह्मण बनेका छौँ। तिमी हौ सङ्गमयुगी ब्राह्मण। दुनियाँलाई यो थाहा छैन– अहिले सङ्गमयुग हो। शास्त्रहरूमा कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन् त्यसैले सम्झन्छन्– कलियुग त अहिले बच्चा छ। अहिले तिमीले दिलैदेखि बुझेका छौ– हामी यहाँ आएका छौँ उत्तमभन्दा उत्तम, कलियुगी पतितबाट सतयुगी पावन, मनुष्यबाट देवता बन्नको लागि। ग्रन्थमा पनि महिमा छ– मूत पलीती कपड धोए। तर ग्रन्थ पढ्नेहरूले पनि अर्थ बुझ्दैनन्। यस समयमा त बाबा आएर सारा दुनियाँका मनुष्य मात्रलाई सफा गर्नुहुन्छ। तिमी उहाँ बाबाको सामुन्ने बसेका छौ। बाबाले नै बच्चाहरूलाई सम्झाउनुहुन्छ। यो रचयिता र रचनाको ज्ञान अरू कसैलाई थाहा नै छैन। बाबा नै ज्ञानको सागर हुनुहुन्छ। उहाँ सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, अमर हुनुहुन्छ। पुनर्जन्मरहित हुनुहुन्छ। शान्तिको सागर, सुखको सागर, पवित्रताको सागर हुनुहुन्छ। उहाँलाई नै बोलाउँछन्– आएर यो वर्सा दिनुहोस्। तिमीलाई अहिले बाबाले २१ जन्मको लागि वर्सा दिइरहनुभएको छ। यो हो अविनाशी पढाइ। पढाउनेवाला पनि अविनाशी बाबा हुनुहुन्छ। आधाकल्प तिमीले राज्य पाउँछौ फेरि रावणराज्य हुन्छ। आधाकल्प हो रामराज्य, आधाकल्प हो रावण राज्य। प्राणभन्दा प्यारा एक बाबा मात्रै हुनुहुन्छ किनकि उहाँले नै तिमी बच्चाहरूलाई सबै दुःखबाट छुटाएर अपार सुखमा लैजानुहुन्छ। तिमीले निश्चयले भन्छौ– उहाँ हाम्रो प्राणभन्दा प्यारा पारलौकिक बाबा हुनुहुन्छ। प्राण आत्मालाई भनिन्छ। सबै मनुष्य मात्रले उहाँलाई याद गर्छन् किनकि आधाकल्पको लागि दुःखबाट छुटाएर शान्ति र सुख दिनेवाला बाबा नै हुनुहुन्छ। त्यसैले प्राणभन्दा प्यारा हुनुभयो नि। तिमीलाई थाहा छ– सत्ययुगमा हामी सदा सुखी रहन्छौँ। बाँकी सबै शान्तिधाममा जान्छन्। फेरि रावणराज्यमा दुःख सुरु हुन्छ। यो दुःख र सुखको खेल हो। मनुष्यले सम्झन्छन्– यहाँ नै भर्खरै सुख छ, भर्खरै दुःख छ। तर होइन, तिमीलाई थाहा छ– स्वर्ग अलग छ, नर्क अलग हो। स्वर्गको स्थापना बाबा रामले गर्नुहुन्छ, नर्कको स्थापना रावणले गर्छ, जसलाई वर्ष वर्ष जलाउँछन्। तर रावणलाई किन जलाउँछन्? रावण के चीज हो? केही थाहा छैन। कति खर्च गर्छन्। कति कहानीहरू बसेर सुनाउँछन्, रामकी सीता भगवतीलाई रावणले लग्यो। मनुष्यले पनि सम्झन्छन्– यस्तो भएको होला।

अहिले तिमीले सबैको कर्तव्य थाहा पाएका छौ। यो ज्ञान तिम्रो बुद्धिमा छ। सारा विश्वको हिस्ट्री-जोग्राफीलाई कुनै पनि मनुष्य मात्रले जानेका हुँदैनन्। बाबालाई मात्र थाहा छ। उहाँलाई विश्वको रचयिता पनि भनिँदैन। विश्व त छँदैछ, बाबाले केवल आएर ज्ञान दिनुहुन्छ– यो चक्र कसरी घुम्छ। भारतवर्षमा यी लक्ष्मी-नारायणको राज्य थियो फेरि के भयो? देवताहरूले कसैसँग लडाइँ गरे कि? केही पनि होइन। आधाकल्प पछि रावण राज्य सुरु हुनाले देवताहरू वाम मार्गमा जान्छन्। बाँकी यस्तो होइन– युद्धमा कसैले हरायो। सेना आदिको कुनै कुरा होइन। न लडाइँबाट राज्य लिन्छन्, न गुमाउँछन्। यो त तिमीले योगमा रहेर पवित्र बनेर पवित्र राज्य स्थापना गर्छौ। बाँकी हातमा कुनै चीज हुँदैन। यो हो डबल अहिंसा। एक त पवित्रताको अहिंसा, अर्को तिमीले कसैलाई दुःख दिँदैनौ। सबैभन्दा कडा हिंसा हो काम कटारीको। जसले नै आदि-मध्य-अन्त्य दुःख दिन्छ। रावणको राज्यमा नै दुःख सुरु हुन्छ। बिमारीहरू सुरु हुन्छन्। कति धेरै बिमारीहरू छन्। अनेक प्रकारका दबाइहरू निस्किरहन्छन्। सबै रोगी बनेका छन् नि। तिमी यस योग बलद्वारा २१ जन्मको लागि निरोगी बन्छौ। त्यहाँ दुःख वा बिमारीको नामनिसान रहँदैन। त्यसको लागि तिमीले पढिरहेका छौ। बच्चाहरूलाई थाहा छ– भगवानले हामीलाई पढाएर भगवान भगवती बनाइरहनुभएको छ। यो पढाइ पनि कति सहज छ। आधा-पौने घण्टामा सारा चक्रको ज्ञान सम्झाइदिनुहुन्छ। ८४ जन्म पनि कस कसले लिन्छन्– यो तिमीलाई थाहा छ।

भगवानले हामीलाई पढाउनुहुन्छ, उहाँ हुनुहुन्छ नै निराकार। उहाँको सच्चा सच्चा नाम हो शिव। कल्याणकारी हुनुहुन्छ नि। सर्वका कल्याणकारी, सर्वका सद्गतिदाता हुनुहुन्छ उच्चभन्दा उच्च बाबा। उच्चभन्दा उच्च मनुष्य बनाउनुहुन्छ। बाबाले पढाएर होसियार बनाउनुभयो, अब भन्नुहुन्छ– गएर पढाऊ। यी ब्रह्माकुमार-कुमारीहरूलाई पढाउनेवाला शिवबाबा हुनुहुन्छ। ब्रह्माद्वारा तिमीलाई एडप्ट गर्नुभएको छ। प्रजापिता ब्रह्मा कहाँबाट आए? यस कुरामा नै अल्मलिन्छन्। यिनलाई एडप्ट गर्नुभयो, भन्नुहुन्छ– धेरै जन्महरूको अन्त्यमा... तर धेरै जन्म कसले लिए? यी लक्ष्मी-नारायणले नै पूरा ८४ जन्म लिएका छन् त्यसैले श्रीकृष्णको लागि भनिदिन्छन् श्याम सुन्दर। हामी नै सुन्दर थियौँ फेरि २ कला कम भयो। कला कम हुँदै हुँदै अहिले नो कला (कलाशून्य) भएका छौँ। अहिले तमोप्रधानबाट फेरि सतोप्रधान कसरी बन्ने? बाबा भन्नुहुन्छ– मलाई याद गर त्यसपछि तिमी पावन बन्छौ। यो पनि थाहा छ– यो रुद्र ज्ञान यज्ञ हो। अब यज्ञमा चाहिन्छ ब्राह्मण। तिमी सच्चा ब्राह्मण हौ सच्चा गीता सुनाउनेवाला त्यसैले तिमीले लेख्छौ पनि सच्चा गीता पाठशाला। त्यो गीतामा त नाम नै परिवर्तन गरिदिएका छन्। हो, जसले जसरी कल्प पहिला वर्सा लिएका थिए उनीहरू आएर त्यसरी नै वर्सा लिनेछन्। आफ्नो दिलसँग सोध– मैले पूरा वर्सा लिनसक्छु? मनुष्यले शरीर छोड्छन् तब खाली हात जान्छन्, त्यो विनाशी कमाइ त साथमा जानेछैन। तिमीले शरीर छोड्छौ त्यसपछि हात भरिपूर्ण हुन्छ किनकि २१ जन्मको लागि तिमीले आफ्नो कमाइ जम्मा गरिरहेका छौ। मनुष्यहरूको त सारा कमाइ माटोमा मिल्नेछ। यो भन्दा त हामीले किन ट्रान्सफर (हस्तान्तरण) गरेर बाबालाई नदिने। जसले धेरै दान गर्छन् उनीहरू त अर्को जन्ममा धनवान बन्छन्, ट्रान्सफर गर्छन् नि। अहिले तिमीले २१ जन्मको लागि नयाँ दुनियाँमा ट्रान्सफर गर्छौ। तिमीलाई मा २१ जन्मको लागि रिटर्न (प्रतिफल) मिल्छ। उनीहरूले त एक जन्मको लागि अल्पकालको लागि ट्रान्सफर गर्छन्। तिमीले त ट्रान्सफर गर्छौ २१ जन्मको लागि। बाबा त हुनुहुन्छ नै दाता। यो ड्रामामा निश्चित छ। जसले जति गर्छन्, उनीहरूले त्यति पाउँछन्। उनीहरूले इनडाइरेक्ट (अप्रत्यक्ष) दानपुण्य गर्छन् त्यसबाट अल्पकालको लागि रिटर्न मिल्छ। यो हो डाइरेक्ट (प्रत्यक्ष)। अहिले सबै कुरा नयाँ दुनियाँमा ट्रान्सफर गर्नुछ। यिनलाई (ब्रह्मालाई) हेर कति बहादुरी गरे। तिमीले भन्छौ– सबै कुरा ईश्वरले दिनुभएको हो। अब बाबा भन्नुहुन्छ– यो सबै मलाई देऊ। मैले तिमीलाई विश्वको बादसाही दिन्छु। यी बाबाले त तुरुन्तै दिए, सोचेनन्। फुल पावर (पूरा अधिकार) दिए। हामीलाई विश्वको बादसाही मिल्छ, त्यो नशा चढ्यो। बच्चा आदिको केही पनि ख्याल गरेनन्। दिनेवाला ईश्वर हुनुहुन्छ भने फेरि कसैको जिम्मेवारी कहाँ रह्यो र। २१ जन्मको लागि ट्रान्सफर कसरी गर्नुपर्छ– यी बाबालाई (ब्रह्मा बाबालाई) हेर, फलो फादर। प्रजापिता ब्रह्माले गरे नि। ईश्वर त दाता हुनुहुन्छ। उहाँले यिनीद्वारा गराउनुभयो। तिमीलाई पनि थाहा छ– हामी आएका छौँ बाबाबाट बादसाही लिन। दिनप्रतिदिन टाइम घट्दै जान्छ। आपत्तिहरू यस्ता आउनेछन् कुरै नगर। व्यापारीहरूको सास त मुठीमा हुन्छ। कुनै जमघट (सङ्कट) नआओस्। सिपाहीको मुख देखेर मनुष्य बेहोस हुन्छन्। पछि गएर धेरै हैरान पार्नेछन्। सुन आदि केही पनि राख्न दिनेछैनन्। बाँकी तिम्रो साथमा के रहनेछ! पैसा नै रहनेछैन जसले केही खरिद गर्न सकियोस्। नोट आदि पनि चल्न सक्दैनन्। राज्य परिवर्तन हुन्छ। अन्त्यमा धेरै दुःखी भएर मर्नेछन्। धेरै दुःखपछि फेरि सुख हुनेछ। यो हो अनाहक हत्याको खेल। प्राकृतिक प्रकोप पनि हुनेछन्। यसभन्दा पहिला बाबाबाट पूरा वर्सा त लिनुपर्छ। ठीकै छ घुमफिर गर, केवल बाबालाई याद गरिरह्यौ भने पावन बन्छौ। बाँकी आपत्तिहरू धेरै आउनेछन्। धेरै हाय हाय गरिरहनेछन्। तिमी बच्चाहरूले अहिले यस्तो प्राक्टिस गर्नुछ जसबाट अन्त्यमा एक शिवबाबाको मात्रै याद रहोस्। उहाँको यादमा रहेर नै शरीर छोडौँ र कुनै मित्र-सम्बन्धी आदि याद नआऊन्। यो प्राक्टिस गर्नुछ। बाबालाई नै याद गर्नुछ र नारायण बन्नुछ। यो प्राक्टिस धेरै गर्नुपर्छ। नत्र धेरै पछुताउनुपर्छ। अरू कसैको याद आयो भने फेल भइन्छ। जो पास हुन्छन् उनीहरू नै विजय मालामा उनिन्छन्। आफूसँग सोध्नुपर्छ– मैले बाबालाई कति याद गर्छु? केही पनि हातमा छ भने त्यो अन्त्यकालमा याद आउँछ। हातमा छैन भने याद पनि आउँदैन। बाबा भन्नुहुन्छ– मेरो साथमा त केही पनि छैन। यो मेरो चीज होइन। त्यो ज्ञानको सट्टामा यो ज्ञान लियौ भने २१ जन्मको लागि वर्सा मिल्नेछ। नत्र स्वर्गको बादसाही गुमाउनेछौ। तिमी यहाँ आउँछौ नै बाबाबाट वर्सा लिन। पावन त अवश्य बन्नुपर्छ। नत्र सजाय खाएर हिसाबकिताब चुक्ता गरेर जानेछौ। पद केही मिल्दैन। श्रीमतमा चल्यौ भने श्रीकृष्णको काख मिल्नेछ। भन्छन् नि श्रीकृष्णजस्तो पति मिलोस् वा बच्चा मिलोस्। कसैले त राम्रोसँग बुझ्छन्छन्, कसैले त फेरि उल्टोसुल्टो बोलिदिन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी ब्रह्माबाबाले आफ्नो सबै कुरा ट्रान्सफर (हस्तान्तरण) गरेर फुल पावर बाबालाई दिनुभयो, सोच्नुभएन, त्यसरी नै फलो फादर गरेर २१ जन्मको प्रारब्ध जम्मा गर्नुछ।

२) प्राक्टिस गर्नुछ– अन्त्यकालमा एक बाबा सिवाय अरू कुनै पनि चीज याद नआओस्। मेरो केही छैन, सबै बाबाको हो। अल्फ र बे, यही स्मृतिद्वारा पास भएर विजयमालामा आउनुछ।

वरदान:–
मनसामा फुल अटेन्सन दिने चढ्ती कलाको अनुभवी विश्व परिवर्तक भव

अब अन्तिम समयमा मनसाद्वारा नै विश्व परिवर्तनको निमित्त बन्नुछ त्यसैले अब मनसाको एक सङ्कल्प पनि व्यर्थ भयो भने धेरै कुरा गुमाइन्छ, एक सङ्कल्पलाई पनि साधारण कुरा नसम्झ, वर्तमान समयमा सङ्कल्पको हलचल पनि ठुलो हलचल गनिन्छ किनकि अब समय परिवर्तन भएको छ, पुरुषार्थको गति पनि परिवर्तन भएको छ त्यसैले सङ्कल्पमा नै पूर्णविराम लगाउनु पर्छ। मनसामा यति अटेन्सन भएपछि मात्र चढ्तीकलाद्वारा विश्व परिवर्तक बन्न सकिन्छ।

स्लोगन:–
कर्ममा योगको अनुभव हुनु अर्थात् कर्मयोगी बन्नु।