02.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यहाँ आफ्नो राजाइ तकदिर बनाउन आएका छौ , जति यादमा रहन्छौ , पढाइमा ध्यान दिन्छौ त्यति तकदिर श्रेष्ठ बन्दै जानेछ।”

प्रश्न:–
सङ्गममा कुन श्रीमतको पालना गरेर २१ जन्मको लागि तिमीले आफ्नो तकदिर श्रेष्ठ बनाउँछौ?

उत्तर:–
सङ्गममा बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! निर्विकारी बन। देहीअभिमानी बन्ने पूरा पूरा पुरुषार्थ गर। कहिल्यै कुनै पाप कर्म गरेनौ भने २१ जन्मको लागि तकदिर श्रेष्ठ बन्नेछ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। अब यी दुई लाइनको अर्थ जसले बुझेका छौ, उनीहरूले हात उठाऊ। तकदिर जगाएर आएको छु, यो कसले भन्यो? आत्माले। सबैको आत्माले भन्छ– म तकदिर बनाएर आएको छु, कुन तकदिर? नयाँ दुनियाँमा जाने तकदिर। नयाँ दुनियाँ स्वर्ग हो। यो पुरानो दुनियाँ नर्क हो। यो सबै आत्माहरूले भन्छन्। आत्मालाई त शरीर अवश्य चाहिन्छ, तब त बोल्छ। जीवका आत्माहरूले भन्छन्– हामी आएका छौँ स्कुलमा तकदिर बनाउन। पढाउने को हुनुहुन्छ? शिवबाबा ज्ञानको सागर। मनुष्यबाट देवता अथवा पतितलाई पावन, नर्कवासीलाई स्वर्गवासी बनाउने उहाँ एक बाबा मात्रै हुनुहुन्छ। यस नर्कमा आगो लाग्नु छ। दुनियाँमा यस्तो कुनै स्कुल छैन जहाँ बच्चाहरूले भन्छन्– हामी बेहदको बाबाको समीप आएका छौँ अथवा यस्तो पनि कोही छैन जसले भन्छ– म पिता पनि हुँ, टिचर पनि हुँ, गुरु पनि हुँ। यसरी ब्रह्माले पनि भन्न सक्दैनन्। एक शिवबाबाले मात्रै भन्नुहुन्छ– म सबैको पिता, टिचर, गुरु हुँ। उहाँ नै बसेर पढाउनुहुन्छ। अब बच्चाहरूले तकदिर बनाउनु छ। तिमी बच्चाहरूले भन्छौ– हामी आएका छौँ नयाँ दुनियाँको राजधानीको तकदिर बनाउन। हामीलाई थाहा छ, यो पुरानो दुनियाँ खतम हुनु छ। बाबा आएर नयाँ दुनियाँ स्थापन गर्नुहुन्छ। तिमीले २१ जन्मको राज्य-भाग्य लिन पढ्छौ। अर्थात् तिमी राजकीय तकदिर बनाउन आएका छौ। यहाँ राजयोग सिकिरहेका छौ। यो गीत लेख्न त ती नाटककारहरूले लेखेका हुन् तर यसको अर्थ फेरि सम्झाइन्छ। जसरी बाबा बसेर सबै वेद, शास्त्रहरूको सार सम्झाउनुहुन्छ। यतिबेला सारा दुनियाँमा भक्ति छ। सत्ययुगमा भक्ति, मन्दिर आदि हुँदैनन्। तिमीले आधाकल्प भक्ति गरेका छौ, अब त भगवान मिल्नुभएको छ। पहिला सुरुमा भारतवर्षमा यी देवीदेवताहरूको राज्य थियो, फेरि ८४ जन्म लिँदालिँदा तकदिर बिग्रिएको छ। अब फेरि तकदिर बनाउँछौँ। बाबा आउनुभएकै हो तकदिर बनाउन। बच्चाहरूलाई भन्नुहुन्छ– मलाई याद गर। तिमी धेरै नै पाप आत्मा बनेका छौ। पहिला सुरुमा एक शिवबाबाको भक्ति गरिन्छ, त्यो अव्यभिचारी भक्ति हो। फेरि भक्ति पनि व्यभिचारी हुन्छ। तिमी बच्चाहरूलाई पहिला सुरुमा यो निश्चय हुनुपर्छ– जसलाई भगवान भनिन्छ, उहाँले हामीलाई पढाउनुहुन्छ। उहाँको कुनै शरीर छैन, उहाँ यस शरीरमा बसेर बोल्नुहुन्छ। जसरी तिम्रो आत्मा यस शरीरमा आएपछि बोल्न थाल्छ। कहिलेकाहीँ मानिसहरू मर्छन्, फेरि जब मसानघाटमा लैजान्छन्, त्यतिबेला आधा बाटोमा चल्मलाउन थाल्छन्। यसरी आत्मा गयो अनि फेरि आयो, होइन। आत्मा एकदमै सूक्ष्म छ नि, त्यो कहाँ लुक्छ। यसो भनिन्छ बेहोस भयो, कसैलाई थाहा भएन। कहिलेकाहीँ यस्तो हुन्छ। चिताबाट पनि उठ्छन्, फेरि तिनीहरूलाई उठाउँछन्। यो के भयो? आत्मा कहाँ लुक्यो। फेरि आफ्नो ठेगानामा आयो। आत्मा भएन भने शरीर एकदम मुर्दा हुन्छ। आत्माहरूको देश परमधाम हो। तिमीलाई थाहा छ, हामी त्यहाँ त्यस घरमा निवास गर्थ्यौँ। पहिला सुरुमा हामी आत्माहरू घरबाट सत्ययुगमा आयौँ। तिमीहरू जो देवीदेवता थियौ, तिमीहरू नै आएका हौला। वास्तवमा जस जसले धर्म स्थापन गर्छन्, तिनीहरू नै अन्त्यसम्म कायम रहन्छन्। बुद्धको धर्म कायम छ, क्राइस्टको धर्म कायम छ। केवल देवीदेवता धर्मका आत्माहरू जसले राज्य गर्थे, उनीहरूको नाम नै गुम भएको छ। कोही पनि छैन जसले आफूलाई देवीदेवता धर्मको भन्छ।

बाबा सम्झाउनुहुन्छ– यहाँका मानिसहरू आफ्नो धर्मलाई भुलेका छन्, हाम्रो गृहस्थ धर्म पवित्र थियो। सम्पूर्ण निर्विकारी, महाराजा-महारानीको राज्य थियो। उनीहरूलाई भनिन्छ भगवती लक्ष्मी र भगवान नारायण। वास्तवमा भगवान एक हुनुहुन्छ, उहाँलाई नै ज्ञान सागर भनिन्छ। यी लक्ष्मी-नारायणमा त कुनै ज्ञान हुँदैन। ज्ञानको सागर एक शिवबाबा मात्रै हुनुहुन्छ। उहाँ बसेर तिमी बच्चाहरूलाई ज्ञान दिनुहुन्छ। तिमीले अहिले पढिरहेका छौ, यो पढाइ फेरि त्यहाँ भुल्नेछौ। अहिले तिमी हरेकले बुझेका छौ– मेरो आत्मामा ८४ जन्मको रेकर्ड भरिएको छ। आत्माले अहिले ज्ञान लिइरहेको छ। फेरि सत्ययुगमा गएर आफ्नो राज्य-भाग्य प्राप्त गर्नेछ। तिमीले भन्छौ– मैले ८४ को चक्कर लगाएँ। अब बाबाबाट मैले स्वर्गको बादसाही लिइरहेको छु। हरेकले उहाँ दादाबाट वर्सा लिन्छन्, तर आआफ्नो पुरुषार्थ अनुसार। यसमा कुनै अंश (हिस्सा) बाँडिँदैन। अज्ञानकालमा बाँडिन्छ नि। बेहदको बाबा भन्नुहुन्छ– मैले वैकुण्ठ स्थापन गर्छु। त्यसमा उच्च पद पाउनु, त्यो तिम्रो पुरुषार्थमा आधारित छ। जति बाबालाई याद गर्छौ त्यति विकर्म विनाश हुन्छन्। पवित्र बन्छौ। सुनलाई भट्टीमा राखेर गालिन्छ नि। अनि त्यसबाट खाद निस्केर सक्कली सुनको डल्लो बन्छ। यो आत्मा पनि सक्कली सुन थियो, यहाँ पार्ट खेल्न आउँछ। पहिला सत्ययुगी थियो, फेरि पहिला चाँदीको अलाय मिसिन्छ। त्यसबाट आत्मा केही अपवित्र बन्छ, अनि फेरि बिस्तारै बिस्तारै केही सुद्धता (क्यारेट) घट्दै जान्छ। घर पनि पहिला नयाँ हुन्छ फेरि बिस्तारै बिस्तारै पुरानो हुँदैजान्छ। १०० वर्षपछि पुरानो भनिन्छ। त्यसैगरी दुनियाँ पनि नयाँ र पुरानो हुन्छ। आजभन्दा ५ हजार वर्ष पहिला दुनियाँ नयाँ थियो, यी देवीदेवताहरूको राज्य जो थियो– त्यो राज्य कहाँ गयो? ८४ जन्म भोग्दा भोग्दा पुरानो भयो। आत्मा पनि मैलो, अनि शरीर पनि मैलो भयो। गोरोबाट श्याम भए। श्रीकृष्णलाई पनि गोरो र श्याम देखाउँछन् नि। खुट्टा नर्कतिर, मुख स्वर्गतिर देखाउनु छ। तिमी पनि त्यसै कुलका हौ। तिम्रो पनि खुट्टा नर्कतिर मुख स्वर्गतिर छ। अब तिमी पहिला निर्वाणधाममा गएर फेरि स्वर्गमा आउनेछौ। कलियुगलाई आगो लाग्नेछ। मुसलधारे वर्षा, आगलागी, भूकम्प आदि हुनेछ। पतित आत्माहरू सबै हिसाबकिताब चुक्ता गरेर घर जानेछन्। बाँकी थोरै बच्नेछन्। पवित्र आत्माहरू आउँदै जानेछन्। अहिले त सबै काँडा छन्। कामकटारी चलाउनु, यो काँडाले घोच्नु हो। यहाँ त बाबा भन्नुहुन्छ– सम्पूर्ण निर्विकारी बन्नु छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा मैले तिमीलाई स्वर्गको वर्सा दिनेछु, तिमी पवित्र बन्नेछौ। तिमी पावन थियौ, त्यतिबेला गृहस्थ व्यवहार पनि पवित्र थियो। अहिले तिमी पतित बनेका छौ, त्यसैले गृहस्थ व्यवहार पनि अपवित्र, विकारी छ। सत्ययुगमा व्यवहार कामधन्दा पनि सच्चा चल्छ। त्यहाँ झुटो आदि बोल्ने आवश्यकता हुँदैन, धेरै पैसा कमाउने लोभ भएपछि मात्र झुटो बोलिन्छ। त्यहाँ त अथाह पैसा मिल्छ। अनाज आदिको कुनै मूल्य हुँदैन। त्यहाँ कोही गरिब हुँदैहुँदैन, जसले राम्रो पुरुषार्थ गर्छन् उनीहरू महाराजा बन्नेछन्। हिरा-जुहारतका महल मिल्नेछन्। पुरुषार्थ पूरा गरेनौ भने प्रजामा जानेछौ। राजा-रानी त्यसपछि राजकुमार-राजकुमारी सारा घराना हुन्छ नि। फेरि प्रजामा पनि नम्बरवार धनवान् र गरिब प्रजा हुन्छन्। त्यहाँ त सबै पवित्र हुनेछन्। राजा-रानी, मन्त्री पनि एउटा। त्यहाँ धेरै मन्त्रीहरू हुँदैनन्। राजामा राज्य चलाउने क्षमता हुन्छ। जसरी बाबाले सम्झाउनुहुन्छ, त्यसरी नै बच्चाहरूले पनि सम्झाउनुपर्छ। हामी देवीदेवता थियौँ। सत्ययुगमा हाम्रो राज्य थियो। गृहस्थ व्यवहारमा हामी पवित्र थियौँ, स्वर्गवासी थियौँ फेरि पतित बन्दाबन्दै नर्कवासी बनेका छौँ फेरि स्वर्गवासी बन्छौँ। खेल यस्तै बनेको छ। स्वर्गवासी एक जन्ममा बन्नेछौँ फेरि नर्कवासी बन्न ८४ जन्म लिनुपर्नेछ। सिँढीमा एकदम स्पष्ट देखाइएको छ। अहिले बुद्धिमा आएको छ– गएर हामीले स्वर्गमा राज्य गर्नेछौँ। अहिले बाबाबाट वर्सा लिइरहेका छौँ। बाबाले नै सत्य बताएर नरबाट नारायण बनाउनुहुन्छ। ती मानिसहरू जसले सत्य नारायणको कथा सुन्छन्, उनीहरू कोही नरबाट नारायण बन्दैनन्। त्यसैले त्यो कथा झुटो भयो नि। यहाँ तिमी बसेकै छौ नै नरबाट नारायण बन्नको लागि, उनीहरूले यसरी कहाँ भन्छन् र– पवित्र बन, म एकलाई याद गर। सत्यनारायणको कथा पूर्णिमाको दिन सुनाउँछन्। अहिले यतिबेलालाई १६ कला चन्द्रमालाई पूर्णिमा भनिन्छ। अन्त्य भएपछि गएर चन्द्रमाको रेखा मात्र रहन्छ, जसलाई औँसी भनिन्छ। औँसी अर्थात् अँध्यारो रात। सत्ययुग त्रेतालाई दिन, द्वापर कलियुगलाई रात भनिन्छ। यी सबै बुझ्नुपर्ने पोइन्ट हुन्। यो सबै शिवबाबा बसेर पढाउनुहुन्छ। उहाँ पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ र गुरु पनि हुनुहुन्छ। यिनमा प्रवेश गरेर आत्माहरूलाई पढाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– जसरी यिनको आत्मा भृकुटीको बीचमा बसेको छ, म पनि आएर यहीँ बस्छु। बसेर तिमीलाई सम्झाउँछु। तिमी पहिला पावन थियौ फेरि पतित बनेका छौ। अब म बाबालाई याद गर, पवित्र नबनीकन घर फर्केर जान सक्दैनौ। पवित्र बनेपछि मात्रै उड्नेछौ। सबैले पुकार्छन् पनि– हे पतितपावन आउनुहोस्, पावन बनाउनुहोस्, अनि हामी उड्छौँ। आफ्नो घर मुक्तिधाममा जान्छौँ। त्यो हामी आत्माहरूको घर हो। पतित आत्मा घर जान सक्दैनन्। जसले राम्रोसँग शिक्षालाई धारण गर्छन् उनीहरू छिट्टै स्वर्गमा आउनेछन्, नत्रभने ढिलो आउनेछन्। नयाँ घरमा आउनुपर्छ नि। नयाँ घरमा बस्न मजा हुन्छ नि। पहिला सुरुमा सत्ययुगमा आउनुपर्छ। मम्मा बाबा सत्ययुगमा जानुहुन्छ, म फेरि किन ढिलो जाऊँ! तिमीले पनि फलो गर ब्रह्मालाई। बाबालाई याद गरिराख। कुनै कुरामा तकलीफ भयो भने शिवबाबालाई सोध। श्रीमतबाट नै श्रेष्ठ बन्नेछौ। पुरानो दुनियाँमा त पाँच विकाररूपी रावणको मतमा चल्दै आएका छौ। पहिला सुरुमा देह अभिमान हुन्छ। अब तिमी बच्चाहरू देहीअभिमानी बन्नु छ। म आत्मा परमधाम निवासी हुँ, त्यसलाई शान्तिधाम भनिन्छ। यस्ता यस्ता कुरा अरू कसैले सम्झाउन सक्दैन। बाबाले नै सम्झाउनुहुन्छ, तिम्रो आत्माले यी इन्द्रियहरूद्वारा सुन्छ, सत्ययुगमा कहिल्यै शरीर बिरामी हुँदैहुँदैन। यहाँ त बस्दाबस्दै अकालमा मृत्यु हुन्छ। सत्ययुगमा यस्तो कुनै कुरा हुँदैन, त्यसलाई भनिन्छ नै स्वर्ग, वैकुण्ठ। फेरि मैले चक्कर लगाएर पुनर्जन्म लिँदालिँदा ८४ को चक्र पूरा गरेको छु, फेरि बाबा आएर बच्चाहरूलाई स्वर्गको लायक बनाउनुहुन्छ। अहिले तिमी नयाँ दुनियाँको लायक बनेका छौ। अहिले त नर्क छ। अहिले तिमी आएका छौ नर्कवासीबाट स्वर्गवासी बन्ने तकदिर बनाउन। भन्छन्– हामी शिवबाबाको समीप आएका छौँ तकदिर बनाउन। कल्प कल्प हर ५ हजार वर्षपछि हामीले तकदिर बनाउँछौँ। हामी स्वर्गवासी बन्छौँ फेरि रावण राज्य सुरु भएपछि हामी विकारी बन्छौँ। अहिले सबै विकारी पतित छन् त्यसैले हजुर आएर नयाँ दुनियाँ स्थापन गर्नुहुन्छ। नयाँ दुनियाँमा केवल तिमी बच्चाहरू मात्रै हुनेछौ। बाँकी सबै शान्तिधाममा जानेछन्। माथि आत्माहरूको वृक्ष हुन्छ। फेरि आआफ्नो समयमा आउनेछन्। हाम्रो राज्य भइसकेपछि त्यहाँ अरू धर्मका आत्माहरू हुनेछैनन्। फेरि द्वापरमा रावण राज्य सुरु हुनेछ। यी सबै कुरा राम्रोसँग धारण गर्नु छ। यहाँ नर्कवासीबाट स्वर्गवासी बन्नु छ। नर्कवासी मनुष्यलाई असुर र स्वर्गवासी मनुष्यलाई देवता भनिन्छ। अहिले सबै आसुरी स्वभावका छन्। अब बाबा बसेर पुरुषार्थ गराउनुहुन्छ। बाबा भन्नुहुन्छ– पवित्र बन। हरेक कुरामा सोधिराख। कसैले सोध्छन्– बाबा कामधन्दामा झुटो बोल्नुपर्छ, झुटो बोल्दा अलिकति पाप हुन्छ। तिनीहरूले फेरि बाबालाई याद गरिरहे भने पाप काटिनेछ। आजकालको दुनियाँमा सबैले पाप गरिरहन्छन्। कति घुस खाइरहन्छन्। यी प्रदर्शनीका चित्र, नक्सा हुन्, यस्ता नक्सा कहीँ हुँदैनन्। कसैले देखेर नक्कल गरेर बनाए पनि त्यसको अर्थ केही पनि बुझ्न सक्दैनन्। प्रदर्शनी मेलामा त धेरै आउँछन्। भनिन्छ ७ दिनको लागि बुझ्न आऊ अनि तिमी स्वर्गवासी बन्न लायक बन्नेछौ। अहिले नर्कवासी छौ, सिँढीमा हेर कति स्पष्ट छ। यो पतित दुनियाँ हो, पावन दुनियाँ माथि छ।

अहिले तिमी बच्चाहरूले शिवबाबासँग प्रतिज्ञा गर्छौ– बाबा हामी नर्कवासीबाट स्वर्गवासी अवश्य बन्नेछौँ। अहिले तिमी तयारी गरिरहेका छौ शिवालयमा जानको लागि, त्यसैले विकारमा कहिल्यै जानु छैन। तुफान त धेरै आउनेछन् तर नङ्गन (पतित) हुनु छैन। पतित भएमा ठुलो भुल हुनेछ फेरि धर्मराजको धेरै ठुलो सजाय खानुपर्नेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मनुष्यबाट देवता बन्नको लागि जुन पनि आसुरी स्वभाव छ, झुटो बोल्ने बानी छ, त्यसको त्याग गर्नु छ। दैवी स्वभाव धारण गर्नु छ।

२) घर जानको लागि पवित्र अवश्य बन्नु छ। मायाका तुफान आए पनि कर्मेन्द्रियहरूद्वारा कहिल्यै कुनै विकर्म गर्नु छैन।

वरदान:–
अधिकारीपनको स्थितिद्वारा बाबालाई आफ्नो साथी बनाउने सदा विजयी भव

बाबालाई साथी बनाउने सहज तरिका हो– अधिकारीपनको स्थिति। जब अधिकारीपनको स्थितिमा स्थित रहन्छौ तब व्यर्थ सङ्कल्प वा अशुद्ध सङ्कल्पहरूको हलचलमा वा अनेक रसहरूमा बुद्धि डगमगाउँदैन। बुद्धिको एकाग्रताद्वारा सामना गर्ने, परख गर्ने र निर्णय गर्ने शक्ति प्राप्त हुन्छ, जसले सहजै मायाको अनेक प्रकारको आक्रमणबाट विजयी बनाइदिन्छ।

स्लोगन:–
राजयोगी उनीहरू हुन् जो सेकेन्डमा सारबाट विस्तार र विस्तारबाट सारमा जाने अभ्यासी छन्।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

ब्रह्माबाबाले सम्पूर्ण बन्नको लागि आफ्नो सर्व खजाना आदिदेखि अन्तिम दिनसम्म सफल गर्नुभयो, यसको प्रत्यक्ष प्रमाण देख्यौ– सम्पूर्ण फरिस्ता बन्नुभयो। त्यसैले लक्ष्य राख– म बाबासमान सम्पन्न र सम्पूर्ण बन्नु नै छ। जस्तोसुकै पुरुषार्थ गर्नुपरोस् तर निश्चित छ, बाबा समान बन्नु नै छ।