03.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाद्वारा जुन ज्ञान मिलेको छ त्यसलाई बुद्धिमा कायम राख्नु छ , सबेरै सबेरै उठेर स्वदर्शन चक्रधारी बनेर विचार सागर मन्थन गर्नु छ।”

प्रश्न:–
यस ईश्वरीय पढाइको नियम कुन हो? त्यसको लागि कुन निर्देशन मिलेको छ?

उत्तर:–
यस ईश्वरीय पढाइको नियम हो– नियमित पढ्नु। कहिले पढ्ने, कहिले नपढ्ने यो नियम होइन। बाबाले पढाइको लागि धेरै प्रबन्ध मिलाइदिनुभएको छ। पढाइ (मुरली) यहाँबाट हुलाकमा जान्छ। ७ दिनको कोर्स लिएर जहाँ गएर पनि पढ्न सक्छौ। पढाइ कहिल्यै छुटाउनु छैन।

गीत:–
ओम् नमो शिवाय.....

ओम् शान्ति ।
बच्चाहरू जो यहाँ बसेका छौ तिमीहरूले रचयिता र रचनाको आदि-मध्य-अन्त्य अथवा स्वदर्शन चक्रलाई याद गर्छौ। बाबाले बच्चाहरूलाई ज्ञान दिनुभएको छ– स्वदर्शन चक्रधारी बन्ने। तिमी ब्राह्मण बच्चाहरूको उद्देश्य हो स्वदर्शन चक्रधारी बन्नु। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन, यो ८४ जन्मको चक्रलाई बुद्धिमा राख्नु छ। अरू सबै कुरा बुद्धिबाट निकाल्नु छ। अहिले तिमी बच्चाहरूको बुद्धिमा छ, अवश्य बाबाले हामीलाई सूर्यवंशी, चन्द्रवंशी बनाउनुभएको थियो, फेरि ८४ जन्म लिएका हौँ। हिँड्दाडुल्दा, उठ्दाबस्दा यो स्व आत्मालाई बाबाको र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान छ। अहिले तिमीलाई शिवबाबाले शूद्रबाट ब्राह्मण बनाउनुभएको छ। बाबाले सम्झाउनुभएको छ– तिमीले ८४ जन्मको चक्रको बाजोली कसरी खेल्छौ। पहिला सुरुमा हामी ब्राह्मण हौँ, हामी ब्राह्मणहरूलाई ब्रह्माद्वारा शिवबाबाले रच्नुहुन्छ। रचयिता र रचनाको ज्ञानबाट नै तिमी स्वदर्शन चक्रधारी बन्छौ। यो ज्ञान बुद्धिमा राखिराख्नु छ। सबेरै उठेर स्वदर्शन चक्रधारी बनेर बस्नुपर्छ। हामीले आफ्नो ८४ जन्मको चक्रलाई जानेका छौँ। हामी सबै आत्माहरूका रचयिता एक बाबा हुनुहुन्छ। भन्छन् पनि– हामी सबै भाइ भाइ हौँ। हाम्रा पिता उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ, उहाँ परमधाममा निवास गर्नुहुन्छ। हामी पनि त्यहीँ निवास गर्थ्यौँ, उहाँ हाम्रो बाबा हुनुहुन्छ। बाबा शब्द धेरै प्रिय छ। शिवबाबाका मन्दिरमा गएर कति पूजा गर्छन्, उहाँलाई धेरै याद गर्छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई मनुष्यबाट देवता, तुच्छ बुद्धिबाट स्वच्छ बुद्धि बनाउँछु। तुच्छ बुद्धि अर्थात् शूद्र बुद्धिबाट स्वच्छ बुद्धि बनाउनुभएको थियो अर्थात् उच्च बुद्धि, पुरुषोत्तम बुद्धि बनाउनुभएको थियो। सबै स्त्रीपुरुषले यी लक्ष्मीनारायणलाई नमस्कार गर्छन्। तर यो जान्दैनन्– यिनीहरू को हुन्? कहिले आए, के गरे? बाबाले सम्झाउनुभएको छ– यो भारतखण्ड अविनाशी खण्ड हो किनकि यो खण्ड अविनाशी पिता परमपिता परमात्माको पनि जन्मभूमि हो। पतितपावन, सर्वका सद्गतिदाताको जन्मस्थान हो त्यसैले यो भयो सबैभन्दा ठुलो तीर्थस्थान। यो परमपिता परमात्माको, सर्वका सद्गतिदाता पिताको जन्मभूमि हो, यति नसा कहाँ कसलाई छ र। पतितपावनको जयन्ती भारतभूमिमा हुन्छ। शिवजयन्ती मनाउँछन् त्यसैले अवश्य शिवको जन्म यहाँ नै हुन्छ। यो भारतभूमि ठुलो तीर्थस्थान हो। तर ड्रामा अनुसार कसैलाई थाहा छैन, यो हाम्रो परमपिता अथवा मातापिता, पतितपावन सर्वका सद्गतिदाताको जन्मस्थान हो त्यसैले भारतभूमिलाई वन्दे मातरम् भन्छन् अर्थात् यस भूमिमा यी बच्चीहरू जसले श्रीमतबाट विश्वलाई स्वर्ग बनाउँछन्, उनीहरूलाई यो नसा हुनुपर्छ– श्रीमतमा हामीले कल्प कल्प विश्वलाई स्वर्ग बनाउँछौँ। जो जति श्रीमतमा चल्छन् त्यति उच्च पद पाउनेछन्। यहाँका मानिसहरूले कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन्। तिमीलाई थाहा छ, बाबा जसको यो भारतभूमि जन्मस्थान हो, उहाँले जुन धर्म स्थापन गर्नुभयो, त्यही धर्मको हो यो गीता। गीता कसले उच्चारण गर्नुभएको हो, यो यहाँका मानिसहरूले भुलेका छन्। कति फरक भएको छ। कहाँ निराकार शिव, कहाँ श्रीकृष्ण। तिमीलाई थाहा छ, श्रीकृष्णको आत्मा जुन गोरो थियो त्यो अब धेरै जन्मको अन्त्यको जन्ममा तमोप्रधान बनेको छ। फेरि यिनमा प्रवेश गरेर यिनी अर्थात् श्रीकृष्णलाई नै गोरो बनाइरहेको छु त्यसैले श्रीकृष्णलाई कालो र गोरो, श्याम र सुन्दर भन्छन्। यिनी सत्ययुगका पहिलो नम्बरका सुन्दर राजकुमार थिए। यिनको महिमा हो– मर्यादा पुरुषोत्तम, अहिंसा परमोधर्म। यहाँका मानिसहरूलाई यो थाहा छैन, राधाकृष्ण र लक्ष्मीनारायणको आपसमा के सम्बन्ध छ! बाबा भन्नुहुन्छ– अहिलेसम्म तिमीले जेजति पढ्दै आएका छौ, त्यसमा कुनै सार छैन। अहिले तिमी सम्मुख बसेका छौ। तिमीलाई थाहा छ, बाबाले ५ हजार वर्षपछि हामीलाई फेरि राजयोगको शिक्षा दिइरहनुभएको छ। तिमीलाई थाहा छ, श्रीकृष्णको आत्माले पनि अघिल्लो जन्ममा यो ज्ञान प्राप्त गरेको थियो, जुन ज्ञान अब यिनको आत्माले प्राप्त गरिरहेको छ, जसको नाम मैले ब्रह्मा राखेको छु। श्रीकृष्णको धेरै जन्मको अन्त्यको जन्ममा म प्रवेश गर्छु। तिमी मरजीवा बनेका छौ नि। तिम्रा अव्यक्त नाम पनि राखिएको थियो। अब राखिँदैन किनकि धेरैले छोडेर गए। बाबाका बनेर नाम राख्न लगाएर भागे, यो त सुहाउँदैन त्यसैले नाम राख्न बन्द गरिदिएँ। अहिले तिमी ब्राह्मण बनेका छौ। प्रजापिता ब्रह्माका बच्चा, शिवबाबाका नाति हौ। बाबा भन्नुहुन्छ–तिमीले मबाट वर्सा लिनु छ त्यसैले मलाई याद गर। यिनको यो धेरै जन्मको अन्त्यको जन्म हो। सूक्ष्मवतनमा जुन ब्रह्मा देखाउँछन् उनी त पावन छन्। सूक्ष्मवतनमा त प्रजापिता हुन सक्दैनन्। बाबा सम्झाउनुहुन्छ– यिनी व्यक्त हुन्, वृक्षको जरामा उभिएका छन्। पवित्र फरिस्ता बन्नको लागि यहाँ बच्चाहरूसँग योगमा बसेका छन् त्यसैले सूक्ष्मवतनमा देखाउनुपर्छ। यहाँ पनि प्रजापिता अवश्य हुनुपर्छ। उनी अव्यक्त, यिनी व्यक्त। तिमी पनि फरिस्ता बन्न आएका हौ। यसैमा मानिसहरू अलमलिन्छन् किनकि यो एकदमै नयाँ ज्ञान हो। कुनै पनि शास्त्र आदिमा यो ज्ञान छैन। भगवान एक हुनुहुन्छ उच्चभन्दा उच्च निराकार परमपिता परमात्मा, सबै आत्माहरूका पिता। उहाँको निवासस्थान परमधाम हो। उहाँलाई सबैले याद गर्दा भन्छन्– बाबा आउनुहोस्, हामीमाथि मायाको छायाँ परेको छ। पतित बनेका छौँ। यी कुराहरू नयाँ आउनेहरूको बुद्धिमा बस्दैन। अहिले तिमीले रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। सत्ययुगमा हामी धेरै कमले राज्य गर्थ्यौँ। त्यहाँ अधर्मको कुरा हुन सक्दैन। शास्त्रहरूमा कति कुराहरू लेखिदिएका छन्, तर त्यसमा कुनै सार छैन। सिँढी ओर्लंदा ओर्लंदै अब अन्त्यमा आएर पतित बनेका छौँ। अब तिमी फड्को मार्छौ, ओर्लन ८४ जन्म लाग्यो, फड्को सेकेन्डमा मार्छौ।

तिमी बच्चाहरूले अहिले राजयोग सिकिरहेका छौ, फेरि शान्तिधाममा गएर सुखधाममा आउनेछौ। यो दुःखधाम हो। पहिला तिमी आएका हौ त्यसैले बाबा पनि पहिला सुरुमा तिमीसँग मिल्नुहुन्छ। यहाँ पिता र बच्चाहरू, आत्मा र परमात्माको मेला लाग्छ। हिसाब छ नि– हामीले ५ हजार वर्ष भयो बाबाबाट बिदा लिएको। पहिला सुरुमा स्वर्गमा पार्ट खेल्यौ, त्यहाँबाट पार्ट खेल्दाखेल्दै तिमी तल ओर्लंदै आएका हौ। अहिले तिमी बाबाको समीप आएका छौ, बाँकी जेजति होलान् उनीहरू पनि आउनेछन्। फेरि तिम्रो पढाइ समाप्त हुनेछ, सबैलाई यहाँ आउनु छ। त्यहाँ खाली भइसकेपछि फेरि बाबाले सबैलाई लैजानुहुनेछ। यी बुझ्नुपर्ने कुराहरू हुन्। पढ्नु छ। स्कुलमा कहिले जाने, कहिले नजाने यो नियम होइन। बाबाले पढाइको लागि धेरै प्रबन्ध पनि मिलाइदिनुभएको छ। नत्र कहिल्यै पनि कसैकहाँ मुरली हुलाकबाट जाँदैन। यो बेहदको बाबाको मुरली हुलाकबाट जान्छ। कति कागज छापिन्छन्। कहाँ कहाँ जान्छन्। ७ दिनको कोर्स लिएर फेरि जहाँ गए पनि पढिराख। यतिबेला सबै आधाकल्पका रोगी छन्, त्यसैले ७ दिन भट्ठीमा राख्नुपर्छ। यो ५ विकारको रोग सारा दुनियाँमा फैलिएको छ। सत्ययुगमा तिम्रो काया निरोगी थियो, सदा स्वस्थ सदा सम्पन्न थियौ। अहिले त के हाल भएको छ। यो सारा खेल यहीँको हो। अहिले तिमीलाई ८४ जन्मको स्मृति आएको छ। कल्प कल्प तिमी नै स्वदर्शन चक्रधारी बन्छौ र चक्रवर्ती राजा पनि बन्छौ। यहाँ राज्य स्थापन भइरहेको छ, यसमा नम्बरवार पद हुनेछन्। प्रजा पनि अनेक प्रकारका चाहिन्छन्। आफ्नै मनलाई सोध्नुपर्छ– मैले कति जनालाई आफूसमान स्वदर्शन चक्रधारी बनाएको छु। जसले जति बनाउँछ उसले त्यति नै उच्च पद पाउँछ। बाबाले तिमीलाई मायासँग युद्ध गर्न सिकाउनुहुन्छ, त्यसैले यिनको नाम युधिष्ठिर राखिदिएका छन्। मायामाथि विजय प्राप्त गर्ने युद्ध सिकाउनुहुन्छ। युधिष्ठिर र धृतराष्ट्र पनि देखाउँछन्। भनिन्छ पनि माया जिते जगतजित, कति समय तिम्रो विजय कायम रह्यो फेरि हार कति समय खान्छौ। यो पनि तिमीलाई थाहा छ। यो जिस्मानी युद्ध होइन। न देवताहरू र असुरहरूको युद्ध हुन्छ। न कौरवहरू र पाण्डवहरूको युद्ध हुन्छ। झूठी काया, झूठी माया... यो भारतवर्ष झुटखण्ड हो। सचखण्ड थियो, रावण राज्य सुरु भएदेखि यो झुटखण्ड बन्यो। ईश्वरको लागि कति झुटो बोल्छन्। कति कलङ्क लगाउँछन्। कलङ्गी अवतार पनि भनिएको छ। सबैभन्दा बढी कलङ्क बाबामाथि लाग्छ। उहाँको लागि भन्छन् कछुवा, माछा अवतार हुन्छ, ढुङ्गा, माटोमा ईश्वर हुनुहुन्छ। कति गाली गर्छन्। के यो सभ्यता हो? अहिले तिमीलाई ज्ञानको प्रकाश मिलेको छ। तिमीलाई थाहा छ, बाबाले हामीलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको राज सम्झाइरहनुभएको छ, जुन अरू कसैले जान्दैनन्। बाबा नै सद्गतिदाता हुनुहुन्छ। बाबाको ज्ञानबाट सबैको सद्गति हुन्छ। बाँकी जो स्वयं नै दुर्गतिमा छन् उनीहरूले कसरी अरूको सद्गति गर्छन्। म आएर तिमीलाई राजाहरूको राजा बनाउँछु। तिमी नै पवित्र पूज्य थियौ, अहिले आएर पुजारी बनेका छौ। पवित्र राजाहरूको अपवित्र राजाहरूले पूजा गर्छन्। सत्ययुगमा डबल ताजधारी थियौ। राजाहरू विकारी भएपछि सिङ्गल ताज रहन्छ। तिनीहरू पनि महाराजा महारानी हुन्। तर पवित्रलाई अपवित्रले गएर ढोग्छन्। तिमीहरू पवित्र प्रवृत्तिमार्गका, तिमीहरू नै फेरि पतित प्रवृत्तिमार्गका बन्छौ। अब बाबा भन्नुहुन्छ– तिम्रो यस मृत्युलोकमा यो अन्तिम जन्म हो। अहिले म आएको छु तिमीलाई फेरि सत्ययुगमा लैजान। यो मिसाइल (मुसल) हरूको लडाइँ ५ हजार वर्ष पहिला पनि भएको थियो। यो पुरानो दुनियाँ खलास हुनु छ। बाबा सम्झाउनुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन्नु छ। कमल फूलसमान तिमी ब्राह्मणहरू नै बनेका छौ। तर यो निसानी विष्णुलाई दिइएको छ किनकि तिमी सदैव एकरस अवस्थामा रहँदैनौ। आज कमल फूलसमान बन्छौ, दुई वर्षपछि पतित बन्न पुग्छौ। तिम्रो यो सर्वोत्तम कुल हो। तिमी ब्राह्मण टुपी हौ। फेरि पुनर्जन्म लिँदालिँदा देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौ। शूद्रबाट तुरून्तै देवता कहाँ बन्छन् र। ब्राह्मण टुपी त हुनुपर्छ। अहिले ब्राह्मणहरूलाई बाबाले पढाइरहनुभएको छ। त्यसैले यस्ता बाबालाई कहाँ छोडिदिनहुन्छ र। बाबा भन्नुहुन्छ– आश्चर्यवत मेरा बनछन, सुन्छन्, फेरि पनि भागेर मायाका बन्छन्। ट्रेटर बन्छन्, मेरो निन्दा गराउँछन्... तिनलाई भनिन्छ सद्गुरुको निन्दकले स्वर्गको स्थान पाउँदैनन्। बाँकी ती भक्तिमार्गका गुरु हुन्, तिनीहरू कुनै सद्गतिदाता होइनन्। सबै आत्माहरूका पिता, टिचर, गुरु एक मात्र निराकार पिता हुनुहुन्छ। उहाँ नै सबैको उद्धार गर्न आउनुभएको छ। धेरै पछि गएर बुझ्नेछन् फेरि टु लेट हुनेछन्। उनीहरू फेरि आफ्नै धर्ममा जानेछन्। श्रेष्ठभन्दा श्रेष्ठ हो देवता धर्म। त्यसभन्दा पनि उच्च तिमी ब्राह्मण हौ जो बाबाको साथमा बसेका छौ। तिमीलाई पढाउने विचित्र र विदेही हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो देह छैन। मलाई भन्छन् शिव, मेरो नाम परिवर्तन हुन सक्दैन। अरू सबैको शरीरको नाम परिवर्तन हुन्छ। म हुँ परम आत्मा, मेरो जन्मकुण्डली कसैले निकाल्न सक्दैन। बेहदको रात भएपछि मात्रै म आउँछु दिन बनाउन। अहिले सङ्गम हो, यी कुराहरू राम्रोसँग बुझेर फेरि धारण गर्नुपर्छ। स्मृतिमा ल्याउनुपर्छ। यहाँ तिमी बच्चाहरू आउँछौ, तिमीहरूलाई फुर्सत मिल्छ। विचार सागर मन्थन यहाँ राम्रो गर्न सक्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो सर्वोत्तम कुलको स्मृतिद्वारा गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन्नु छ। कहिल्यै पनि सद्गुरुको निन्दा गराउनु छैन।

२) श्रीमतमा विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ। स्वदर्शन चक्रधारी बन्नु र बनाउनु छ। जतिबेला पनि फुर्सत मिल्छ, विचार सागर मन्थन अवश्य गर्नु छ।

वरदान:–
सदा कल्याणकारी भावनाद्वारा गुणग्राही बन्ने अचल अडोल भव

आफ्नो स्थिति अचल अडोल बनाउनको लागि सदा गुणग्राही बन। हरेक कुरामा गुणग्राही बन्यौ भने हलचलमा आउनेछैनौ। गुणग्राही अर्थात् कल्याणको भावना। अवगुणमा गुण देख्नु यसलाई भनिन्छ गुणग्राही त्यसैले अवगुण भएकाबाट पनि गुण ग्रहण गर। जसरी उनी अवगुणमा दृढ छन् त्यसरी नै तिमी गुणमा दृढ होऊ। गुणको ग्राहक बन, अवगुणको होइन।

स्लोगन:–
आफ्नो सबैथोक बाबालाई अर्पण गरेर सदा हल्का रहने नै फरिस्ता हुन्।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

बाबासमान बन्नको लागि ब्रह्माबाबालाई अनुसरण गर्दै जाऊ। सोच, ब्रह्माबाबा सम्पूर्ण कसरी बन्नुभयो? उहाँको के विशेषता रह्यो? सम्पूर्णताको विशेष आधार के रह्यो? ब्रह्माबाबाले आफ्नो हर पल सफल गर्नुभयो। श्वास श्वास, सेकेन्ड सेकेन्ड सफल गर्नुभयो। त्यसैले बाबासमान बन्नको लागि लक्ष्य राख– सफल गर्नु छ र सफलतामूर्त बन्नु छ।