04.10.26 Avyakt Bapdada Nepali Murli 31.12.2011 Om Shanti Madhuban
नयाँ वर्षमा तीव्र
पुरुषार्थी भवको वरदानद्वारा आफ्नो अनुहारबाट फरिस्तारूप देखाऊ , लाइट माइट स्वरूपको
ज्वालामुखी योगद्वारा व्यर्थलाई जलाऊ , दुःखी अशान्त आत्माहरूलाई शक्तिहरूको दान
देऊ
आज ब्राह्मण परिवारका
रचयिताले आफ्ना चारैतिरका परिवारहरूलाई देखिरहनुभएको छ। छ सानो परिवार, सानो संसार
छ तर धेरै प्यारो छ, किनकि तिमीहरू करोडौँमा कोही हौ। तिमीहरू किन प्यारा छौ? किनकि
बाबालाई चिनेका छौ। बाबाबाट वर्साका अधिकारी बनेका छौ। त्यसैले जसरी बाबा प्यारो
हुनुहुन्छ, त्यसरी नै यो ब्राह्मण परिवार पनि प्यारो छ। बापदादाले जन्मँदै हरेक
बच्चाको मस्तकमा भाग्यको सितारा चम्काउनुभएको छ, त्यसैले यो सानो संसार अति प्यारो
छ। तिमीहरू सबैले पनि आफ्ना यति धेरै स्वमान जान्दछौ नि! बापदादा पनि एक एक
बच्चालाई देखेर खुसी हुनुहुन्छ र के गीत गाउनुहुन्छ? वाह बच्चा वाह!
आज त सबै यस श्रेष्ठ
दिनमा बाबासँग भेट्न आएका छौ। आजको दिन हो सङ्गमको दिन। बिदाइको दिन पनि हो र बधाइको
दिन पनि हो। त्यसै पनि सङ्गमको महत्त्व छ। जहाँ पनि सागर र नदीको सङ्गम हुन्छ,
त्यसको धेरै महत्त्व हुन्छ। त्यसैले आजको दिनको महत्त्व पनि धेरै गायनयोग्य छ।
पुरानो वर्ष समाप्त भएर नयाँ वर्ष आरम्भ हुनेछ। आजको दिन सबैको दिलमा आउँदो वर्षको
लागि कति उमङ्ग छ! प्रत्येकले आआफ्नो दिलमा प्लान बनाएका छौ– के छोड्नु छ र के बन्नु
छ! दुवै प्लान बनाएका छौ? बनाएका छौ? जसले आउँदो वर्षका लागि आफू अगाडि बढ्ने,
तीव्र पुरुषार्थको प्लान बनाएका छौ, तिमीहरूले हात उठाऊ। बनाएका छौ! बधाई छ, किनकि
तिमीहरू सबैलाई थाहा छ– बापदादाले हरेक बच्चाका लागि के चाहनुहुन्छ। बापदादाले हरेक
बच्चाका लागि यही शुभभावना राख्नुहुन्छ, हरेक बच्चा बाबासमान सम्पन्न र सम्पूर्ण
बनून्। अब त समयले पनि साथ दिइरहेको छ। प्रत्येकले आफ्नो मनमा आफैप्रति नयाँ प्लान
बनाएका छौ नि! केही छोड्नु छ र केही अगाडि बढ्नु छ। त्यसोभए के छोड्नु छ? बापदादाले
देख्नुभयो– पुरानो संसार र सम्बन्ध छोड्नको लागि सबैको पुरुषार्थमा अटेन्सन पनि छ।
एउटा कुरा जुन छोड्न पनि चाहन्छौ, तर अहिलेसम्म बापदादाले देख्नुभयो पुरानो संस्कार,
त्यसलाई छोड्न थोरै मेहनत लाग्छ। बापदादा यही चाहनुहुन्छ यस नयाँ वर्षमा हरेक
बच्चाले आफ्ना निजी संस्कारलाई समाप्त गरिदिउन्। तिमीहरू सबैले पनि यही सङ्कल्प पूरा
गर्न चाहन्छौ नि! किनकि पुरानो संस्कार जसलाई तिमीहरूले भन्छौ– यो मेरो स्वभाव हो,
नियत होइन तर स्वभाव हो। यस जन्मको ब्राह्मणको स्वभाव होइन तर पुरानो संस्कार हो।
त्यसोभए त्यो पुरानो संस्कार वा स्वभावलाई आजको दिनमा छोड्ने सङ्कल्प गर्न सक्छौ?
प्रत्येकले आफैलाई त जान्दछौ, त्यसोभए आज वर्षको बिदाइको साथसाथै त्यो पुरानो
संस्कारलाई छोड्ने दृढ सङ्कल्प गर्न सक्छौ? गर्न सक्छौ? चाहन्छौ पनि, यस्तो होइन कि
चाहँदैनौ, तर फेरि पनि बारम्बार पुरुषार्थमा तीव्रता ल्याउनमा त्यही संस्कारले
भिन्न भिन्न रूपले विघ्न पार्छ। बापदादा यही चाहनुहुन्छ– वर्षलाई बिदाइ दिनुको साथै
आजको दिनमा त्यस संस्कारलाई पनि बिदाइ देऊ। यसका लागि तयार छौ? जो तयार छौ,
तिमीहरूले हात उठाऊ। यसका लागि के गर्छौ? आफ्नो लागि कुनै प्लान पनि सोचेका छौ? यसका
लागि सबैभन्दा राम्रो कुरा हो दृढ सङ्कल्प। सङ्कल्प छ, हुनुपर्छ, तर सङ्कल्पमा
तीव्रता हुनुपर्छ। जसरी ब्राह्मण बन्नुको साथसाथै यो प्रतिज्ञा गरेका छौ कुनै पनि
अशुद्ध भोजन स्वीकार गर्नेछैनौँ। बापदादाले देख्नुभयो– यसमा दृढ सङ्कल्पद्वारा
अधिकांश पास भएका छौ। जसरी शरीरका लागि अशुद्ध भोजन ग्रहण नगर्ने सङ्कल्प गरेका छौ
र यथार्थमा गरिरहेका छौ, त्यसैगरी मनका लागि यो दृढ सङ्कल्प गर्नु छ कहिल्यै पनि
कसैप्रति पनि, कुनै पनि परिस्थिति अनुसार कुनै व्यर्थ सङ्कल्प नगरी सदा हरेक
आत्माप्रति शुभभावना, शुभकामना राख्नु नै छ। मनको भोजन हो सङ्कल्प, त्यसैले जसरी
शरीरका लागि धेरैजसोले दृढ सङ्कल्प गरेका छौ, त्यसैगरी के मनको लागि व्यर्थ सङ्कल्प,
अशुद्ध भावना मेटाउन सक्दैनौ? हरेक आत्माप्रति आफ्नो मनमा दिलको स्नेह र सहयोग
राख्न सक्दैनौ?
आज बापदादाले हरेक
बच्चाबाट यस पुरानो वर्षको साथै यो वृत्ति वा दृष्टिलाई बिदाइ चाहनुहुन्छ। यो दृढ
सङ्कल्प गर्न सक्छौ? गर्न सक्छौ? भन, माताहरू, टिचरहरू, सबै भाइहरूले पनि यही
चाहन्छौ नि! हो भने हात उठाऊ। भोलिदेखि कुनै पनि आत्माप्रति कुनै पनि व्यर्थ छ,
व्यर्थ भावना वा व्यर्थ भाव छ भने त्यसको आज समाप्ति समारोह मनाउन चाहन्छौ। भन,
टिचरहरू सबै तयार छौ? टिचरहरूले दुवै हात उठाऊ। उठाऊ। अच्छा। जसले उठाएनौ, तिमीहरूले
पनि उठाऊ। जसले उठाएनौ, तिमीहरू अलिकति उठेर खडा होऊ। अच्छा छ! जसले पुरुषार्थ गर्छौ
तर दृढ सङ्कल्प गर्दैनौ, त्यस्ता छौ? जो उठेका छौ, तिमीहरूले लक्ष्य राख्छौ र
पुरुषार्थ गर्छौ भने हात उठाऊ, किनकि समयको विषयमा अटेन्सन दिएर यो सोच– सबैले यस
सङ्गमको समयमा भविष्यमा लामो समयको लागि सफलता प्राप्त गर्नु छ। २१ जन्मको वर्सा
लिनु छ। कहाँ यो एक जन्म र कहाँ २१ जन्म! त्यसैले यस एक जन्ममा पनि धेरै समय आफ्नो
पुरुषार्थ तीव्र बनाउनुपर्छ अनि मात्र लामो समयको लागि जुन प्राप्ति गर्नु छ, त्यो
गर्न सक्नेछौ। बाबासँग प्रेम छ नि! त्यसैले बाबाको साथमा रहनु छ नि! उहाँको नजिक
रहनु छ नि! ब्रह्माबाबाका साथी बनेर राज्य अधिकारी बन्नु छ नि! त्यसोभए अहिले पनि त
त्यति नै समय बाबासमान बन्नुपर्छ। ब्रह्माबाबाको एक एक बच्चासँग कति प्रेम छ, त्यो
त जान्दछौ नै। प्रत्येकले भन्छौ– बाबाको जति मसँग प्रेम छ, त्यति अरू कसैसँग छैन,
मसँग प्रेम छ। त्यसैले यो प्रेम, बाप दादा दुवैको प्रेम यसै जन्ममा अनुभव गरिरहेका
छौ। जोसँग प्रेम हुन्छ, उसको कुरा कहिल्यै पनि टालिँदैन। त्यसोभए ब्रह्माबाबासँग
सबैको प्रेम छ, कति प्रेम छ? धेरै प्रेम छ। देखाउन त सक्दैनौ, तर बाबालाई थाहा छ
प्रेम सबै बच्चाहरूको छ, नम्बरवार छ तर प्रेम छ, यसमा बापदादाले पनि सबै
बच्चाहरूलाई सर्टिफिकेट दिनुहुन्छ बच्चाहरूको प्रेम छ। प्रेम त छ, तर बाबाले
देख्नुभयो कहिलेकाहीँ बच्चाहरू चञ्चल भइदिन्छौ त्यसैले बाबाले त्यतिबेला के
गर्नुहुन्छ? बाबाले हेरी हेरी विशेष शक्ति दिइरहनुहुन्छ, किनकि बाबा यही चाहनुहुन्छ
हरेक बच्चा राजा बच्चा होस्। दुनियाँमा जुन बच्चा प्यारो हुन्छ, उसलाई राजा बच्चा
भन्छन्। राजा त हुँदैन तर भन्छन् राजा बच्चा, तर तिमीहरू सबै बापदादाका अहिले पनि
राजा बच्चा हौ र भविष्यमा पनि राजा बच्चा हौ। अहिले स्वमान छ, स्वराज्य छ। अहिले
तिमी आत्माहरूको राज्य सर्व कर्मेन्द्रियहरूमाथि छ। त्यसैले अहिले स्वराज्यधारी हौ
र भविष्यमा विश्व राज्यधारी भविष्यमा हुन्छौ। त्यसोभए राजा बच्चा हौ नि! हौ भने शिर
हल्लाऊ।
बापदादाले आज अमृतवेला
चारैतिर, चाहे विदेश चाहे स्वदेश, चारैतिर चक्कर लगाउन जानुभयो। के देख्नुभयो?
अमृतवेला अधिकांश बच्चाहरू योगमा बस्छन्, तर स्नेहमा बस्छन्, बापदादासँग कुरा पनि
गर्छन्, आत्मिक स्मृतिमा पनि बस्छन्, बापदादाबाट शक्ति पनि लिन्छन्, तर अब बापदादा
आउँदो नयाँ वर्षमा नवीनता चाहनुहुन्छ, किनकि अहिले समय दिनप्रतिदिन नाजुक हुने नै
छ। यस्तो समयमा अब ज्वालामुखी योग चाहिन्छ। अब त्यो ज्वालामुखी योगको आवश्यकता
अनिवार्य छ। ज्वालामुखी योग अर्थात् लाइट-माइटस्वरूप शक्तिशाली योग, किनकि समय
अनुसार अब दुःख, अशान्ति, हलचल बढ्नु नै छ, त्यसैले आफ्ना दुःखी, दिकदार भएका
आत्माहरूलाई विशेष ज्वालामुखी योगद्वारा शक्तिहरू दिने आवश्यकता पर्नेछ। दुःख,
अशान्तिको सट्टा आफ्नो मनसा सेवाद्वारा केही न केही शक्ति, शान्ति दिनुपर्नेछ।
तिमीले यस समयको लागि जुन विषय राखेका छौ– एक परिवार, त्यसै अनुसार एक परिवार हो भने
अशान्त आत्माहरूलाई केही अञ्जली त दिनेछौ, त्यसैले बापदादा आउँदो वर्ष जुन आउनै
लागेको छ, त्यसका लागि विशेष अटेन्सन दिलाउँदै हुनुहुन्छ अहिले ज्वालामुखी योगको
आवश्यकता छ। ज्वालामुखी योगद्वारा नै जति पनि संस्कार रहेका छन्, ती पनि भस्म हुनु
छ।
अहिले तिम्रा एडभान्स
पार्टीका साथीहरूले तिमी सबैसँग यही चाहन्छन्– अब समाप्तिको समयलाई सामुन्ने
ल्याउनुछ। अब फिर्ती यात्रा याद राख। तिम्री दीदीले याद दिलाइरहेकी छिन्, मलाई सदा
यो याद रहन्थ्यो– “अब घर जानु छ”, अब घर जानु छ। तिम्री दादीले यही याद दिलाइरहेकी
छिन् जसरी मलाई याद रहन्थ्यो– अहिल्यै सम्पन्न बन्नु छ, सम्पूर्ण बन्नु छ, यही धुन
लागिरहन्थ्यो। आज विशेष अमृतवेला वतनमा बापदादासँग मिलन मनाउँदा सबैले भनिरहेका थिए
अहिले हाम्रो तर्फबाट, जति पनि दादीहरू गएका छन्, सबै मिलेर भनिरहेका थिए– अब
ज्वालामुखी योगको धेरै आवश्यकता छ, चाहे अरूलाई शक्ति दिनका लागि, चाहे आफ्नो
ब्राह्मण परिवारलाई सम्पन्न बनाउनका लागि। अहिले तिमीहरू समयलाई नजिक ल्याउन
निमित्त तिमी हौ, त्यसैले आउँदो वर्षमा के गर्छौ? विशेष के गर्छौ? एकअर्काका स्नेही,
सहयोगी बनेर हरेक सेन्टर, सेवास्थानले ज्वालामुखी योगको भाइब्रेसन र कर्ममा
एकअर्काका स्नेही, सहयोगी बनेर, हरेकप्रति अटेन्सन राख्दै जति पनि कमी छ त्यसमा
सहयोग देऊ। मनसाद्वारा अन्य आत्माहरूको सेवा गर र आफ्नो सहयोगद्वारा ब्राह्मण
साथीहरूको विशेष सेवा गर, तब दिलको आशा पूरा हुनेछ।
आज वतनमा एडभान्स
पार्टीले अर्को वर्षका लागि तिमी सबैलाई याद पनि दिइरहेका थिए र आफ्ना दिलका आशाहरू
पनि बताइरहेका थिए। त्यसोभए भन, बापदादाको सङ्कल्प त सुन्यौ नै, तर साथसाथै आफ्ना
दादीहरूका आउँदो वर्षका लागि शुभभावनाहरू पनि सुन्यौ नि! बापदादाले त सबै
बच्चाहरूलाई चाहे कोही कमजोर छन्, चाहे तीव्र पुरुषार्थी छन्, सबैलाई तीन बधाइ
दिइरहनुभएको छ– एक नवजीवनको बधाइ, अर्को नयाँ वर्षको बधाइ र तेस्रो साथी बनेर नयाँ
दुनियाँमा जाने कुराको बधाइ।
बापदादाले यो पनि
भन्नुभयो– सबैले आफैभित्र आफ्नो लागि समय निश्चित गर कहिलेसम्म आफूलाई बाबासमान
बनाउँछौ। आफैभित्र आफ्नो लागि समय निश्चित गर। यो समय निश्चित गर्न आउँछ नि?
बापदादाले त आज हरेक बच्चालाई देखेर यही वरदान दिइरहनुभएको छ– आउँदो वर्षमा हरेक
बच्चा तीव्र पुरुषार्थी भव। अमृतवेला यादमा बस्दा र उठ्ने समय हुँदा, त्यतिबेला
बापदादाको यो वरदान आफ्नो दिलमा याद राख्नु– तीव्र पुरुषार्थी भव। जसरी बापदादाले
दुई कुरामा पहिले नै अटेन्सन दिलाउनुभएको छ, किनकि सङ्गमको समय अचानक समाप्त हुनु
छ। त्यसैले एउटा समय, अर्को सङ्कल्प, दुवैमाथि हरघडी अटेन्सन राख्नुछ। बापदादाको
हरेक बच्चाप्रति यो शुभभावना पनि छ हरेक बच्चा यस वर्षमा के बन्नुछ? के बन्नेछौ?
जसले पनि तिम्रो अनुहारमा देख्छन्, तिम्रो अनुहारबाट फरिस्ता रूप देखियोस्। फलानी
हुँ, फलाना हुँ– होइन। फरिस्ता अनुभव होस्, यसका लागि ज्वालामुखी योग गर्नुछ, कुनै
व्यर्थ नहोस्। लाइट र माइटस्वरूप योगद्वारा व्यर्थलाई जलाऊ। जसलाई हेर्दा पनि समर्थ
फरिस्ता देखियोस् किनकि तिमीहरू त बाबाका सिकिलधे बच्चा हौ। बाबाले तिमीलाई खास कहाँ
कहाँबाट छानेर आफ्नो बनाउनुभएको छ। त्यसैले लक्ष्य राख– म ब्राह्मण सो फरिस्ता हुँ।
अमृतवेलामा आफ्नो दिनचर्यामा यो याद राख्नुछ– म ब्राह्मण सो फरिस्ता हुँ।
हिँड्दाडुल्दा फरिस्तारूप, फरिस्तास्वरूप त राम्रो लाग्छ नि! ब्रह्माबाबा फरिस्ता
बन्नुभयो, फलो फादर।
त्यसैले जुन यस वर्ष
तीव्र पुरुषार्थीको वरदान दिइयो, साधारण पुरुषार्थ होइन, साधारण पुरुषार्थ भयो भने
राज्यका साथी बन्नेछैनौ। बाबा यही चाहनुहुन्छ जति पनि बापदादाको मुरली अध्ययन गर्ने
ईश्वरीय विद्यार्थीहरू छौ, तिमीहरू सबैका सबै के बन्नेछौ? फरिस्ता। तिमीहरूको सबै
बोझ उत्रिनेछ। जुनसुकै संस्कारको बोझ पनि समाप्त भएर जानेछ। त्यसोभए यस वर्षको
होमवर्क के भयो? फरिस्तास्वरूपमा रहनु, यसलाई नै भनिन्छ तीव्र पुरुषार्थ। अब हरेक
सेन्टरले, हरेक हप्ता, हरेक विद्यार्थीको रिजल्ट हेर्नुछ– बच्चाहरू तीव्र पुरुषार्थी
रहे कि रहेनन्? कुनै पनि कुरा आयो भने त्यसका लागि सहयोगी बनेर, स्नेहले उनीहरूलाई
हिम्मत देऊ र आफ्नो सेन्टरलाई, विद्यार्थीलाई तीव्र पुरुषार्थी बनाऊ, हरेक हप्ता
रिजल्ट हेर किनकि समय हलचलको हुने नै छ। आजको सङ्गमको दिनमा बिदाइ र बधाइको दिनमा
चारैतिरका, जहाँ पनि जतिसुकै पनि बच्चाहरू बसेका छौ, बापदादाले देखिरहनुभएको छ, कसरी
सबैले साइन्सका साधनहरूद्वारा देखिरहेका पनि छौ र हेरी हेरी कति खुसी भइरहेका छौ!
चारैतिरका बच्चाहरूलाई बापदादाले विशेष वरदान दिइरहनुभएको छ– “सदा सन्तुष्टमणि भव”।
सन्तुष्ट रहनु, सन्तुष्ट बनाउनु। अच्छा।
अब दादीहरू मिलेर कुनै
नयाँ प्लान बनाऊ। (दादी जानकीले भन्नुभयो– बाबा, जनवरी महिनाको धेरै महत्त्व छ।
जनवरी महिनामा सबै मिलेर पुरुषार्थ गरौँ, यस्तो सेवाको कुनै प्लान बनाऊँ, जसले गर्दा
सबैको दिलबाट, हृदयबाट निस्कियोस् मेरो बाबा, यस्तो मेरो भावना छ।)
बापदादा नयाँ वर्षमा
नवीनता चाहनुहुन्छ, उही पुरानो संस्कार चाहनुहुन्न। एक एक बच्चा बाबासमान देखिऊन्।
फलो ब्रह्माबाबा। परिस्थिति, कुराहरू सबै बाबाको अगाडि आए तर ब्रह्माबाबा फरिस्ता
बन्नुभयो। त्यसैले फरिस्ता बन्नैपर्छ, प्रत्येकले यो दृढ सङ्कल्प आफूले आफैँसँग
गर्नुछ किनकि आफूले आफैँसँग दृढ सङ्कल्प गर्छौ भने अटेन्सन हुनेछ। म फरिस्ता बन्नु
छ, बस्। तिमी बनेपछि स्वाभाविक रूपमा भाइब्रेसन फैलिनेछ। त्यसोभए अहिले के लक्ष्य
राख्यौ? फरिस्ता बन्नैपर्छ, भन। पक्का हो नि! अच्छा। सबैलाई बापदादाको धेरै धेरै
दिलको प्यार र बधाई छ।
वरदान:–
एक बाबासँग सबै
खाता र सम्बन्ध राख्ने डबल लाइट फरिस्ता भव
डबल लाइट फरिस्ता
बन्नका लागि देहको भानबाट पनि पर रहनुछ किनकि देहभान माटो हो, यसको बोझ भयो भने पनि
गह्रुङ्गो हुन्छ। फरिस्ता अर्थात् आफ्नो देहसँग पनि सम्बन्ध छैन। बाबाले दिएको शरीर
पनि बाबालाई दिइसक्यौ। आफ्नो वस्तु अरूलाई दियौ भने आफ्नो सम्बन्ध समाप्त भयो। सबै
हिसाबकिताब, सबै लेनदेन बाबासँग भयो, बाँकी सबै अघिल्ला खाता र सम्बन्ध समाप्त भए–
यस्ता सम्पूर्ण भिखारी नै डबल लाइट फरिस्ता हौ।
स्लोगन:–
आफ्ना
विशेषताहरूलाई प्रयोगमा ल्यायौ भने हरेक पाइलामा प्रगतिको अनुभव गर्नेछौ।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
कुनै पनि आत्मासँग
केही लिएपछि मात्र दिने इच्छा नराख, सङ्कल्पमा पनि यो नआओस् यसले गरेछ भने मैले
गरुँला, यो परिवर्तन भयो भने म परिवर्तन हुन्छु, केही ऊ परिवर्तन होस्, केही म
परिवर्तन हुन्छु... भिखारीलाई पनि मालामाल बनाउने– अपकारीमाथि उपकार गर्ने नै
परोपकारको भावनाले सम्पन्न हुन्छ।