07.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे – अहिलेसम्म जे जति पढेका छौ , त्यसलाई भुलेर एक बाबालाई याद गर। ”

प्रश्न:–
भारतवर्षमा सत्ययुगी स्वराज्य स्थापन गर्नको लागि कुन चाहिँ बल चाहिन्छ?

उत्तर:–
पवित्रताको बल। तिमीले सर्वशक्तिमान् बाबासँग योग लगाएर पवित्र बन्छौ। यो पवित्रताको नै बल हो, जसबाट सत्ययुगी स्वराज्यको स्थापना हुन्छ, यसमा लडाइँ आदिको कुनै कुरा छैन। ज्ञान र योगबलले नै पावन दुनियाँको मालिक बनाइदिन्छ। यही बलले एक मतको स्थापना हुन्छ।

गीत:–
आखिर वह दिन आया आज...

ओम् शान्ति ।
बच्चाहरूले गीत सुन्यौ। यो गीत कुनै आफैले बनाएको होइन। जसरी अरू वेद-शास्त्रहरूको सार सम्झाइएको छ। त्यसैगरी यो पनि जुन गीत बनाएका छन्, त्यसको पनि सार सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, खिवैया वा बागवान वा सद्गतिदाता एक बाबा मात्र हुनुहुन्छ। भक्ति गर्छन् जीवनमुक्तिको लागि। तर जीवनमुक्ति वा सद्गतिदाता एक भगवान् हुनुहुन्छ। त्यसको अर्थ बच्चाहरूले नै बुझ्न सक्छन्, मानिसहरूले बुझ्दैनन्। सद्गति अर्थात् दुःखबाट छुटाएर शान्तिको प्राप्ति गराउनुहुन्छ। यहाँका मानिसहरूलाई थाहा छ, यहाँ पवित्रता, सुख, शान्ति थियो, जुनबेला यी लक्ष्मीनारायणको राज्य थियो। राधाकृष्णको राज्य भन्न सकिँदैन। वास्तवमा माताहरूकी सङ्गी राधा हुन्। उनलाई बढी प्यार गर्नुपर्छ, तैपनि श्रीकृष्णलाई धेरै प्यार गर्छन्। कृष्णलाई झुलामा झुलाउँछन्। श्रीकृष्णको जन्माष्टमी पनि मनाउँछन्। राधाको जयन्ती मनाउँदैनन्। वास्तवमा मनाउनुपर्छ दुवैको। समझ त केही छैन। उनीहरूको जीवन कहानीलाई त कसैले जान्दैनन्। बाबा आएर आफ्नो र सबैको जीवन कहानी सुनाउनुहुन्छ। मानिसहरूले भन्छन् पनि शिव परमात्मने नमः तर उहाँको जीवन कहानीलाई जान्दैनन्। मानिसको जीवन कहानीलाई इतिहास भूगोल भनिन्छ, दुनियाँको इतिहास भूगोल त गायन गरिन्छ नि– कति इलाकामा राज्य गर्थे, कति जमिनमा राज्य गर्थे। कसरी राज्य गरे, फेरि उनीहरू कहाँ गए..... यी कुराहरू कसैलाई पनि थाहा छैन। तिमी बच्चाहरूलाई राम्रोसँग सम्झाइन्छ। बाबाले रचयिता र रचनाको ज्ञान (नलेज) बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा भएको छ, अवश्य अहिले कलियुगको अन्त्य हो र सत्ययुगको आदि हो। सङ्गममा नै परमपिता परमात्मा आएर मानिसलाई पतितबाट पावन देवता बनाउनुहुन्छ। उत्तम पुरुष अथवा पुरुषोत्तम बनाउनुहुन्छ किनकि यस समयका मानिसहरू उत्तम छैनन्, कनिष्ठ छन्। उत्तम, मध्यम, कनिष्ठ, सतो, रजो, तमो हुन्छन्। जसले राम्रोसँग ज्ञान सुन्छन्, उनीहरूलाई सतोगुणी भनिन्छ, जसले थोरै सुन्छन्, उनीहरूलाई रजोगुणी भनिन्छ, जसले सुन्दै सुन्दैनन्, उनीहरूलाई तमोगुणी भनिन्छ। पढाइमा पनि यस्तै हुन्छ। तिमी बच्चाहरूलाई सतोप्रधान पढाइ चाहिन्छ, त्यसैले सतोप्रधान लक्ष्मीनारायण बन्ने तिमीलाई ज्ञान दिइन्छ। नरबाट नारायण, नारीबाट लक्ष्मी बन्नु छ। गीताको लागि पनि तिमीले भन्छौ, यो हो सत्य गीता। तिमीले लेख्न पनि सक्छौ– यो हो सत्य गीता पाठशाला अर्थात् सत्यनारायण बन्ने कथा अथवा सत्य अमरकथा, सत्य तीजरीको कथा। सबै चित्र त तिमीसँग छन्, यी चित्रहरूमा सारा ज्ञान छ। तिमी बच्चाहरूले अब प्रतिज्ञा गर्छौ हामी प्रजापिता ब्रह्माकुमार-कुमारीहरूले सारा विश्वलाई सतोप्रधान स्वर्ग बनाएरै छोड्छौँ। तिमीले जानकारी दिनु छ। गान्धीजीले पनि पावन राज्य चाहन्थे भने अवश्य अब पतित राज्य थियो। यो कसैले बुझ्न सक्दैनन् हामी आफै पतित छौँ। रावण हो ५ विकार। भन्छन्, रामराज्य चाहिन्छ भने अवश्य अहिले यो आसुरी सम्प्रदाय ठहरियो नि, तर यो कसैको बुद्धिमा आउँदैन। कति ठुला ठुला गुरुहरूले यति पनि बुझ्दैनन्। तिमी बच्चाहरूले खबर दिन्छौ हामीले श्रीमतमा ब्रह्माद्वारा ५ हजार वर्ष पहिलाजस्तै दैवी राज्य स्थापन गर्नेछौँ। यो हो पुरुषोत्तम सङ्गमयुग, यसैबेला कनिष्ठ पुरुषबाट सतोप्रधान पुरुषोत्तम बन्छौ। मर्यादा पुरुषोत्तम आदि सनातन देवीदेवता धर्म नै हो। अब एक मात्र देवीदेवता धर्मको स्थापना हुन्छ, फेरि अर्को धर्म हुने नै छैन। तिमी बच्चाहरूले सिद्ध गरेर सम्झाउँछौ सत्ययुगमा एउटै धर्म, एउटै राज्य थियो। हुन त त्रेतामा सूर्यवंशीबाट परिवर्तन भएर चन्द्रवंशीमा जान्छन् तर त्यहाँ हुनेछ एउटै भाषा। अहिले त भारतवर्षमा अनेक भाषाहरू छन्। तिमी बच्चाहरूलाई थाहा छ, हाम्रो राज्यमा एउटै भाषा थियो। आजकाल त धेरै कुराहरू देखिरहेकाछौ। जसरी यात्राबाट आफ्नो देशतिर नजिक आउँदै गर्दा खुसी हुन्छन् अब हाम्रो घर आयौँ। बस् अब गएर मिल्नेछौँ। तिमीलाई पनि आफ्नो राजधानीको साक्षात्कार भइरहनेछ। आफ्नो पुरुषार्थको पनि साक्षात्कार हुनेछ। देख्नेछौ बाबाले हामीलाई कति पुरुषार्थ गर भन्नुहुन्छ। नत्र हाय-हाय गर्नेछौ र पद पनि सानो हुनेछ। योगको यात्रा सबैलाई बताइराख। सम्झाउन त धेरै सहज छ। सिँढी कति सहज छ। जो ढिला आउँछन्, उनीहरूलाई दिनप्रतिदिन सहज ज्ञान मिल्छ। एक हप्ता बुझेपछि नै सहजै बुझ्नेछन्। चित्र यस्ता बनेका छन्, जसमा एक्युरेट सम्झाइएको छ। ८४ जन्मको चक्र एकदम ठिक छ। यो यहाँका मानिसहरूको लागि हो। तिमी बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ। तिमीलाई थाहा छ, पतित-पावन, सद्गतिदाता शिवबाबाको मतमा हामीले फेरि सहज राजयोग बलले, आफ्नै तन-मन-धनले सारा विश्वलाई स्वर्ग बनाउँछौँ। अरू कसैको धन हामीले लगाउँदैनौँ। आफ्नै तन-मन-धनले सेवा गर्छौँ। जति जसले गर्छन्, त्यो सबै आफ्नै भविष्यको लागि बनाउँछन्। तिमी नै घरका जिम्मेवार सदस्य हौ। तिमीबाट नै बाबाले सत्ययुगी स्वराज्य स्थापन गराइरहनुभएको छ। खर्च पनि तिमीले नै गर्नेछौ। तिम्रो कुनै धेरै खर्च छैन। तिमीले केवल शिवबाबालाई याद गर्नु छ, कन्याहरूले के खर्च गर्नु छ र! उनीहरूसँग केही छ र? बाबाले बच्चाहरूबाट के फिस लिनुहुन्छ। केही पनि फिस लिनुहुन्न। स्कुलहरूमा त पहिला फिसको कुरा गर्छन्। त्यहाँ पढाइमा कति खर्च हुन्छ। यहाँ त शिवबाबाले बच्चाहरूबाट कसरी पैसा लिनुहुन्छ। शिवबाबाले आफ्नो घर कहाँ बनाउनु छ र, जसको लागि पैसा लिनुहुन्छ। तिमी बच्चाहरूले भविष्य स्वर्गमा गएर हिराजुहारातका महल बनाउनु छ, त्यसैले तिमीले यहाँ जे गर्छौ, त्यसको प्रतिफल भविष्यमा तिमीलाई महल मिल्छ। यी धेरै बुझ्ने कुरा हुन्। जति जसले तन-मन-धनले सेवा गर्छन्, उनीहरूले त्यस्तै त्यहाँ पाउनेछन्। कलेज वा हस्पिटल बनाउँछन्। १० लाख, २० लाख लगाउनुपर्छ। यहाँ त यति खर्च लाग्दैन। सानो घरमा रुहानी कलेज कम हस्पिटल बनाउँछन्। पाण्डवहरूको आदि पति को हुनुहुन्थ्यो? उनीहरूले त श्रीकृष्णको नाम लेखिदिएका छन्। वास्तवमा हुनुहुन्छ निराकार भगवान्। तिमीलाई श्रीमत दिने भगवान् हुनुहुन्छ। बाँकी सबै त छन् रावणको मतमा, रावण राज्यमा। रावणको मतमा कति विकारी (डर्टी) बनेका छन्। अब यही पुरानो सृष्टि, त्यही नयाँ बन्छ। सृष्टिमा भारतवर्ष मात्रै थियो। नयाँ भारतवर्ष, पुरानो भारतवर्ष भनिन्छ। नयाँ भारतवर्ष त स्वर्ग थियो। फेरि भारतवर्ष पुरानो भएपछि भने नर्क हुन्छ। यसलाई भनिन्छ रौरव नर्क। मानिसकै कुरा हो। यहाँ सुखको नामनिसान छैन। यो कुनै कहाँ सुख हो र! संन्यासीहरूले पनि भन्छन्, यस समयको सुख काग विष्टासमान छ, त्यसैले उनीहरूले गृहस्थ व्यवहारलाई छोडिदिन्छन्। उनीहरूले स्वर्ग वा सत्ययुगको स्थापना गर्न सक्दैनन्। श्रीकृष्णपुरी त परमात्माले नै स्थापन गर्नुहुन्छ। श्रीकृष्णको आत्मा र शरीर दुवै सतोप्रधान थिए, त्यसैले श्रीकृष्णलाई धेरै प्यार गर्छन् किनकि पवित्र हुन्छन् नि! भनिन्छ पनि– सानो बच्चा ब्रह्मज्ञानीसमान हुन्छ। साना बच्चाहरूलाई विकारहरूको विषयमा थाहै हुँदैन। संन्यासीहरूलाई फेरि पनि थाहा छ। बच्चा त जन्मदेखि नै महात्मा हुन्छ। बच्चाहरूलाई त पवित्र फूल भनिन्छ। नम्बरवन फूल हुन् श्रीकृष्ण। स्वर्ग नयाँ दुनियाँको पहिलो राजकुमार। जन्म लिने बित्तिकै भनिन्छ प्रथम राजकुमार। श्रीकृष्णलाई त सबैले याद गर्छन् श्रीकृष्णजस्तो बच्चा मिलोस्। अब बाबा भन्नुहुन्छ, जे बन्नु छ त्यो बन। केवल एक श्रीकृष्ण कहाँ बन्छन् र! प्रिन्स अफ वेल्स कति बन्छन्? सेकेन्ड थर्ड हुन्छन् नि! त्यसैले यहाँ पनि राजवंश हुन्छ। बाबा पछि फेरि अरू गद्दीमा बस्नेछन्। जसरी घरानाहरू हुन्छन्, त्यसैगरी यो घराना हो। तिम्रो कनेक्सन नै क्रिस्चियनसँग छ। श्रीकृष्ण र क्रिस्चियन दुवैको एउटै राशि हुन्छ। लेनदेन पनि आपसमा धेरै चल्छ। भारतवर्षबाट उनीहरूले कति धन लगेका छन्। अब फेरि दिइरहेका छन्। रिटर्न सर्भिस गरिरहेका छन्। यी युरोपवासीहरू आपसमा लडेर खतम हुनेछन्। यसमा कहानी पनि छ– दुई बिराला लडे, बीचमा नौनी बाँदरले खायो। यो कुरा अहिलेको हो। उनीहरू आपसमा लड्नेछन् र राज्य भाग्य तिमीलाई मिल्नेछ। अहिले तिमी बच्चाहरूलाई अथाह ज्ञान छ। तिमी बच्चाहरूको बुद्धिमा छ, हामी सबै ब्रह्माकुमार-कुमारीहरू हौँ। यस्तो होइन कि हामी गुजराती हौँ, हामी बङ्गाली हौँ। यो होइन। यो मतभेद पनि निस्कनुपर्छ। हामी एक बाबाका सन्तान हौँ। ब्रह्माद्वारा शिवबाबाको श्रीमतमा फेरि हामीले आफ्नो स्वराज्य स्थापन गरिरहेका छौँ– ज्ञान र योगबलले। योगबलले नै हामी पावन बन्छौँ। बाबा हुनुहुन्छ सर्वशक्तिमान्, उहाँबाट बल मिल्छ। तिमीले विश्वको बादसाही लिन्छौ। लडाइँ आदि यसमा केही गर्दैनौ। सारा पवित्रताको बल हो। भन्छन् पनि– आएर पतितबाट पावन बनाउनुहोस्, त्यसैले यो यादकै बल हो। यस्तो होइन त्यहाँ गएर उल्टो कामधन्दामा सबै भुलियोस्। यहाँ सामुन्ने त ज्ञान सागरका लहरहरू देखिरहन्छौ। नदीहरूमा त ती लहरहरू हुँदैनन्। सागरको एउटा लहरले कति नोक्सान पारिदिन्छ। भूकम्प (अर्थक्वेक) गएपछि सागर पनि उर्लेर उथलपुथल हुन्छ। सागरलाई सुकाएर जमिन बनाएका छन्, त्यो जमिन फेरि कति दाममा बेच्छन्। तिमीलाई थाहा छ, यो मुम्बई नै रहनेछैन। पहिला यो मुम्बई कहाँ थियो र, एउटा सानो गाउँ थियो। यी माताहरू त भोला छन्। यिनीहरू त्यति पढेलेखेका हुँदैनन्। यहाँ त पढेको सबै भुल्नु छ। तिमीले पनि केही पढेका छैनौ भने राम्रो हो। पढेका मानिसहरूले मुरली सुन्नेबेलामा कति प्रश्न गर्छन्। यहाँ त केवल बाबालाई याद गर्नु छ। कुनै देहधारी मानिसलाई याद गर्ने कुरा छैन। महिमा छ नै एक बेहदका बाबाको। तिमीलाई थाहा छ, उच्चभन्दा उच्च हुनुहुन्छ एक भगवान्, फेरि सेकेन्ड नम्बरमा ब्रह्मा। उनीभन्दा उच्च कोही छैन। योभन्दा ठुलो आसामी कुनै छैन, तर चालचलनमा हेर कति साधारण हुनुहुन्छ। कसरी साधारण तरिकाले बच्चाहरूसँग बस्नुहुन्छ। ट्रेनमा जानुहुन्छ, कसलाई के थाहा उहाँ को हुनुहुन्छ! भगवान् आएर ज्ञान दिनुहुन्छ, अवश्य कसैमा प्रवेश गरेर ज्ञान दिनुहुन्छ नि! श्रीकृष्ण भगवान् भएको भए भिड मच्चिन्थ्यो, त्यसपछि त पढाउन पनि सक्दैनथे, केवल दर्शन गरिरहन्थे। यहाँ त बाबा गुप्त साधारण भेषमा बसेर बच्चाहरूलाई पढाउनुहुन्छ।

तिमी हौ इन्कग्निटो, गुप्त सेना। तिमीलाई थाहा छ, हामी आत्माहरूले योगबलले फेरि आफ्नो राज्य स्थापन गरिरहेका छौँ। यो पुरानो शरीर छोडेर गएर नयाँ गोरो शरीर धारण गर्नेछौँ। अहिले छ आसुरी सम्प्रदाय, फेरि बन्नेछौँ दैवी सम्प्रदाय। आत्माले भन्छ, म नयाँ दुनियाँमा दैवी शरीर धारण गरेर गएर राज्य गर्नेछु। आत्मा पुरुष हो, शरीर प्रकृति हो। आत्मा सदैव पुरुष हो। बाँकी शरीरको हिसाबकिताबले पुरुष वा स्त्रीको मिल्छ। तर म हुँ अविनाशी आत्मा। यो चक्र घुमिरहन्छ। कलियुगको विनाश पनि अवश्य हुनेछ। विनाशका लक्षणहरू पनि सामुन्ने देख्छौ। यो त्यही महाभारत लडाइँ हो भने अवश्य भगवान् पनि हुनुहुन्छ होला। भगवान् कुन रूपमा, कुन तनमा हुनुहुन्छ, त्यो कुरा तिमी बच्चाहरूबाहेक अरू कसैलाई थाहा छैन। बाबाले भन्नुहुन्छ पनि– म एकदम साधारण तनमा आउँछु। म श्रीकृष्णको तनमा आउँदिनँ। यिनले नै पूरा ८४ जन्म लिन्छन्। म यिनको धेरै जन्महरूको अन्त्यको पनि अन्त्यमा आउँछु। ८४ जन्म सूर्यवंशी घरानाकाले नै लिन्छन्। उनीहरू नै पहिलो नम्बरमा आउनेछन्। तिमीलाई साकारी वृक्ष र निराकारी वृक्ष दुवैको सारा ज्ञान छ। मूलवतनबाट नम्बरवार आत्माहरू आउँछन्। पहिला सुरुमा देवीदेवता धर्मका आत्माहरू आउँछन्, फेरि नम्बरवार अरू धर्मका आत्माहरू आउँछन्। चित्रहरूमा ज्ञानको व्याख्या त धेरै उच्च छ। बच्चाहरूलाई सम्झाउनु छ, कुमारीहरू तयार हुनुपर्छ। कुनै बच्चीहरूले यस्ता यस्ता कुराहरू सम्झाए भने कमाल हुन्छ नि! कति नाम निकाल्नेछन्। लौकिक अलौकिक दुवै नाम प्रसिद्ध गर्नेछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सङ्गमयुगमा श्रेष्ठ कर्म गरेर पुरुषोत्तम बन्नु छ। कुनै पनि यस्तो कर्म गर्नु छैन, जुन कनिष्ठ बन्छ।

२) गुप्त रूपमा बाबाको मदतगार बनेर सारा विश्वलाई स्वर्ग बनाउने सेवा गर्नु छ। आफ्नै तन-मन-धनले सारा विश्वलाई स्वर्ग बनाउनु छ। याद र पवित्रताको बल जम्मा गर्नु छ।

वरदान:–
आफ्नो सम्पूर्ण स्टेजद्वारा सबै प्रकारको अधीनता समाप्त गर्ने प्रकृतिजित भव

तिमी आफ्नो सम्पूर्ण स्टेजमा स्थित भएपछि प्रकृतिमाथि पनि विजय अर्थात् अधिकारको अनुभव हुनेछ। सम्पूर्ण स्टेजमा कुनै पनि प्रकारको अधीनता रहँदैन। तर यस्तो सम्पूर्ण स्टेज बनाउनको लागि तीन कुराहरू सँगसँगै चाहिन्छ:- १-रुहानियत, २-रुहाब र ३-रहमदिलको गुण। यी तीनै कुराहरू प्रत्यक्ष रूपमा, स्थितिमा, अनुहार वा कर्ममा देखिन्छन् भने भनिन्छ अधिकारी वा प्रकृतिजित आत्मा।

स्लोगन:–
श्रीमतको लगाम बलियो छ भने मनरूपी घोडा भाग्न सक्दैन।

अव्यक्त इसारा :– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ ( पवित्र ) बन

कुनै पनि अपवित्रता वृत्ति, स्मृति वा सङ्कल्पमा छ भने ब्राह्मणपनको स्थितिमा स्थित हुन सक्दैनौ, त्यसैले पाइला पाइलामा सावधान होऊ। विशेषताहरूको साथ कुनै एउटा कमजोरी छ भने पनि एउटा कमजोरीले अनेक विशेषताहरूलाई समाप्त गरिदिन्छ।