07.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– भिन्न
भिन्न युक्तिहरू अगाडि राखेर यादको यात्रामा रहने गर , यो पुरानो दुनियाँलाई भुलेर
आफ्नो स्वीट होम र नयाँ दुनियाँलाई याद गर।”
प्रश्न:–
कुनचाहिँ
कार्य अथवा पुरुषार्थ अहिले नै चल्छ सारा कल्पमा चल्दैन?
उत्तर:–
यादको यात्रामा
रहेर आत्मालाई पावन बनाउने पुरुषार्थ र सारा दुनियाँलाई पतितबाट पावन बनाउने कार्य
सारा कल्पमा केवल यसै सङ्गम समयमा चल्छ। यो कार्य हरेक कल्प दोहोरिन्छ। तिमी
बच्चाहरूले यस अनादि अविनाशी ड्रामाको आश्चर्यजनक रहस्यलाई जान्दछौ।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ त्यसैले रुहानी बच्चाहरूले देहीअभिमानी वा
रुहानी अवस्थामा निश्चयबुद्धि भएर बस्नु वा सुन्नुछ। बाबाले सम्झाउनुभएको छ– आत्माले
नै सुन्छ यी अङ्गहरूद्वारा, यो पक्का याद गरिराख। सदगति र दुर्गतिको यो चक्र त
हरेकको बुद्धिमा रहनु नै पर्छ, जसमा ज्ञान र भक्ति सबै आउँछ। हिँड्दा डुल्दा
बुद्धिमा यो रहोस्। ज्ञान र भक्ति, सुख र दु:ख, दिन र रातको खेल कसरी चल्छ। हामीले
८४ को पार्ट खेल्छौँ। बाबालाई याद छ त्यसैले बच्चाहरूलाई पनि यादमा रहने पुरुषार्थ
गराउँछन्, यसबाट तिम्रो विकर्म पनि विनाश हुन्छ र तिमीले राज्य पनि पाउँछौ। तिमीलाई
थाहा छ– यो पुरानो दुनियाँ त अब खतम हुनेछ। जसरी कुनै भवन पुरानो भयो र अर्को नयाँ
बनाइयो भने भित्र निश्चय हुन्छ– अब हामी नयाँ भवनमा जानेछौँ। फेरि भवन बन्नमा
कहिलेकाहीँ वर्ष दुई लाग्छ। जसरी नयाँ दिल्लीमा सरकारी भवन (गभर्मेन्ट हाउस) आदि
बन्दा अवश्य सरकारले भन्नेछ– हामी ट्रान्सफर भएर नयाँ दिल्लीमा जानेछौँ। तिमी
बच्चाहरूलाई थाहा छ– यो सारा बेहदको पुरानो दुनियाँ हो। अब जानुछ नयाँ दुनियाँमा।
बाबाले युक्तिहरू बताउनुहुन्छ– यस्ता यस्ता युक्तिहरूले बुद्धिलाई यादको यात्रामा
लगाउनुछ। हामी अब घर जानुछ त्यसैले स्वीट होमलाई याद गर्नुछ, जसको लागि मानिसहरूले
मेहनत गर्छन्। यो पनि मीठा-प्यारा बच्चाहरूलाई सम्झाइएको छ– यो दु:खधाम अब खतम
हुनुछ। हुन त तिमी यहाँ बसिरहेका छौ तर तिमीलाई यो पुरानो दुनियाँ मन पर्दैन। हामी
फेरि नयाँ दुनियाँमा जानुछ। अगाडि कुनै चित्र नभए पनि तिमीले जान्दछौ– अब पुरानो
दुनियाँको अन्त्य हुन्छ। अब हामी नयाँ दुनियाँमा जानेछौँ। भक्तिमार्गका त कति धेरै
चित्र छन्। उनीहरूको तुलनामा तिम्रा चित्र त धेरै कम छन्। तिम्रा यी चित्र
ज्ञानमार्गका हुन् र ती सबै भक्तिमार्गका हुन्। चित्रहरूमा नै सारा भक्ति हुन्छ।
अहिले तिम्रा त रियल चित्र हुन्, त्यसैले तिमीले सम्झाउन सक्छौ– गलत के हो, सही के
हो। बाबालाई भनिन्छ नै ज्ञानका सागर। तिमीलाई यो ज्ञान छ। तिमीलाई थाहा छ– हामीले
सारा कल्पमा कति जन्म लियौँ। यो चक्र कसरी घुम्छ। तिमी निरन्तर बाबाको याद र यस
ज्ञानको चिन्तनमा रहनुछ। बाबाले तिमीलाई रचयिता र रचनाको सारा ज्ञान दिनुहुन्छ।
त्यसैले बाबाको पनि याद हुन्छ। बाबाले सम्झाउनुभएको छ– म तिम्रो बाबा, टिचर, सदगुरु
हुँ। तिमीले केवल यो सम्झाऊ– बाबा भन्नुहुन्छ– तिमीले मलाई पतित-पावन, मुक्तिदाता (लिबरेटर),
पथप्रदर्शक (गाइड) भन्छौ नि। कहाँको पथप्रदर्शक? शान्तिधाम, मुक्तिधामको। बाबाले
त्यहाँसम्म लगेर छोड्नुहुनेछ। बच्चाहरूलाई पढाएर, सिकाएर, पवित्र फुल बनाएर घर लगेर
छोड्नुहुनेछ। बाबा सिवाय अरू कसैले पनि लैजान सक्दैनन्। हुन त कोही जतिसुकै
तत्त्वज्ञानी वा ब्रह्मज्ञानी हुन्। उनीहरूले सम्झन्छन्– हामी ब्रह्ममा लीन हुनेछौँ।
तिम्रो बुद्धिमा छ– शान्तिधाम त हाम्रो घर हो। त्यहाँ गएर फेरि नयाँ दुनियाँमा
सबैभन्दा पहिला हामी नै आउनेछौँ। उनीहरू सबै पछि आउनेछन्। तिमीलाई थाहा छ– कसरी सबै
धर्म नम्बरवार आउँछन्। सत्ययुग-त्रेतामा कसको राज्य हुन्छ। उनीहरूको धर्मशास्त्र के
हो। सूर्यवंशी-चन्द्रवंशीको त एउटै शास्त्र हुन्छ। तर त्यो गीता कुनै रियल होइन
किनकि तिमीलाई जुन ज्ञान मिल्छ त्यो त यहीँ नै खतम हुन्छ। त्यहाँ कुनै शास्त्र
हुँदैन। द्वापरबाट जुन धर्म आउँछन् तिनीहरूका शास्त्र कायम छन्। ती सबै चल्दै आएका
छन्। अब फेरि एक धर्मको स्थापना भएपछि बाँकी सबै विनाश हुनुछ। भनिरहन्छन्– एक राज्य,
एक धर्म, एक भाषा, एक मत होस्। त्यो त एकद्वारा नै स्थापना हुन सक्छ। तिमी
बच्चाहरूको बुद्धिमा सत्ययुगदेखि कलियुग अन्त्यसम्म सारा ज्ञान छ। बाबा भन्नुहुन्छ–
अब पावन बन्नको लागि पुरुषार्थ गर। आधाकल्प लाग्यो तिमीलाई पतित बन्नमा। वास्तवमा
सारा कल्प नै भनौँ, यो यादको यात्रा त तिमीले अहिले मात्रै सिक्छौ। त्यहाँ स्वर्गमा
यो यादको यात्रा हुँदैन। देवताहरू पतितबाट पावन हुने पुरुषार्थ गर्दैनन्। उनीहरू
पहिला राजयोग सिकेर यहाँबाट पावन हुन्छन्। त्यसलाई सुखधाम भनिन्छ। तिमीलाई थाहा छ–
सारा कल्पमा केवल अहिले नै हामीले यादको यात्राको पुरुषार्थ गर्छौँ। फेरि यही
पुरुषार्थ अथवा पतित दुनियाँलाई पावन बनाउनको लागि जुन कार्य चल्छ त्यही फेरि
कल्पपछि दोहोरिनेछ। चक्कर त अवश्य लगाउनेछन् नि। तिम्रो बुद्धिमा यी सबै कुरा छन्–
यो नाटक हो, सबै आत्माहरू पार्टधारी हुन् जसमा अविनाशी पार्ट भरिएको छ। जसरी त्यो
ड्रामा चलिहन्छ। तर त्यो फिल्म खिइएर पुरानो हुन्छ। यो अविनाशी हो। यो पनि आश्चर्य
छ। कति सानो आत्मामा सारा पार्ट भरिएको छ। बाबाले तिमीलाई कति गहन गहन महीन कुरा
सम्झाउनुहुन्छ। अहिले कसैले सुने भने भन्छन्– यी त धेरै आश्चर्यजनक कुरा
सम्झाउनुहुन्छ। आत्मा के हो, त्यो अहिले बुझियो। शरीरलाई त सबैले जान्दछन्।
डाक्टरहरूले त मानिसको मुटुलाई पनि निकालेर बाहिर राख्छन् र फेरि राखिदिन्छन्। तर
आत्माको विषयमा कसैलाई थाहा छैन। आत्मा पतितबाट पावन कसरी बन्छ, यो पनि कसैले
जान्दैनन्। पतित आत्मा, पावन आत्मा, महान् आत्मा भनिन्छ नि। सबैले पुकार्छन् पनि–
हे पतित-पावन आएर मलाई पावन बनाउनुहोस्! तर आत्मा कसरी पावन बन्छ, त्यसको लागि
अविनाशी सर्जन चाहिन्छ। आत्माले उहाँलाई पुकार्छ जो पुनर्जन्म रहित हुनुहुन्छ।
आत्मालाई पवित्र बनाउने औषधि उहाँसँग नै छ। त्यसैले तिमी बच्चाहरूको खुसीमा रोमाञ्च
खडा हुनुपर्छ– भगवानले पढाउनुहुन्छ र अवश्य तिमीलाई भगवान-भगवती बनाउनुहुन्छ।
भक्तिमार्गमा यी लक्ष्मी-नारायणलाई भगवान-भगवती नै भन्छन्। त्यसैले यथा राजा-रानी
तथा प्रजा हुन्छन् नि। आफूसमान पवित्र पनि बनाउनुहुन्छ। ज्ञान सागर पनि बनाउनुहुन्छ
फेरि आफूभन्दा पनि धेरै, विश्वको मालिक बनाउनुहुन्छ। पवित्र, अपवित्रको कम्प्लिट
पार्ट तिमीले खेल्नुपर्छ। तिमीलाई थाहा छ– बाबा आउनुभएको छ फेरि आदि सनातन
देवी-देवता धर्म स्थापना गर्न। जसको लागि नै भनिन्छ– यो धर्म प्राय: लोप भएको छ।
त्यस कुरालाई बरको वृक्षसँग नै तुलना गरिएको छ। हाँगाहरू धेरै निस्कन्छन्, जरा
हुँदैन। यहाँ पनि कति धर्मका हाँगाबिँगाहरू निस्किएका छन्, मूल आधार फाउन्डेसन देवता
धर्म छैन। प्राय: लोप भएको छ। बाबा भन्नुहुन्छ– त्यो धर्म छ तर धर्मको नाम फेरिदिएका
छन्। पवित्र नभएका कारण आफूलाई देवता भन्न सक्दैनन्। नभएकाले नै त बाबा आएर रचना
रच्नुहुन्छ नि। अहिले तिमीले जान्दछौ– हामी पवित्र देवता थियौँ। अहिले पतित बनेका
छौँ। हरेक चिज यस्तै हुन्छ। तिमी बच्चाहरूले यो भुल्नुहुँदैन। पहिलो मुख्य लक्ष्य
हो– बाबालाई याद गर्ने, जसबाट नै पावन बन्नुछ। सबैले यस्तै भन्छन् – हामीलाई पावन
बनाउनुहोस्! यस्तो भन्दैनन्– हामीलाई राजा-रानी बनाउनुहोस्। त्यसैले तिमी
बच्चाहरूलाई धेरै शुद्ध गर्व हुनुपर्छ। तिमीलाई थाहा छ– हामी त भगवानका बच्चा हौँ।
अब हामीलाई अवश्य वर्सा मिल्नुपर्छ। कल्प कल्प यो पार्ट खेलेका छौँ। वृक्ष बढ्दै
जानेछ। बाबाले चित्रहरूमा पनि सम्झाउनुभएको छ– यी सदगतिका चित्र हुन्। तिमीले मौखिक
पनि सम्झाउँछौ, चित्रहरूमा पनि सम्झाउँछौ। तिम्रा यी चित्रहरूमा सृष्टिको
आदि-मध्य-अन्त्यको रहस्य आउँछ। बच्चाहरू जो सेवाधारी छन्, उनीहरूले आफूसमान बनाउँदै
जान्छन्। पढेर पढाउने कोसिस गर्नुपर्छ। जति धेरै पढ्छौ त्यति उच्च पद पाउनेछौ। बाबा
भन्नुहुन्छ– मैले तदबिर (पुरुषार्थ) त गराउँछु, तर तकदिर पनि हुनुपर्छ नि! हरेकले
ड्रामा अनुसार पुरुषार्थ गरिरहन्छन्। ड्रामाको रहस्य पनि बाबाले सम्झाउनुभएको छ।
बाबा, बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ। साथमा लैजाने सच्चा सच्चा सदगुरु पनि
हुनुहुन्छ। उहाँ बाबा हुनुहुन्छ अकालमूर्त। आत्माको यो तख्त हो नि जसबाट यो पार्ट
खेल्छन्। त्यसैले बाबालाई पनि पार्ट खेल्न, सदगति गर्नको लागि तख्त चाहिन्छ नि। बाबा
भन्नुहुन्छ– मलाई साधारण तनमा नै आउनुछ। तडक भडक वा ठाँटबाँट केही पनि देखाउन
सक्दिनँ। ती गुरुहरूका अनुयायी भक्तहरूले त गुरुको लागि सुनको सिंहासन, महल आदि
बनाउँछन्। तिमीले के बनाउनेछौ? तिमी बच्चा पनि हौ, विद्यार्थी पनि हौ। त्यसैले
तिमीले उहाँको लागि के गर्नेछौ? कहाँ बनाउनेछौ? यो त साधारण कुरा हो नि।
बच्चाहरूलाई यो पनि
सम्झाइरहनुहुन्छ– वेश्याहरूको सेवा गर। गरिबहरूको पनि उद्धार गर्नुछ। बच्चाहरूले
कोसिस पनि गर्छन्, बनारसमा पनि गएका छन्। उनीहरूलाई तिमीले उठायौ भने भन्नेछन्– वाह
बी.के. को त कमाल छ– वेश्याहरूलाई पनि यो ज्ञान दिन्छन्। उनीहरूलाई पनि सम्झाउनुछ–
अब तिमीले यो कामधन्दा छोडेर शिवालयको मालिक बन। यो ज्ञान सिकेर फेरि सिकाऊ।
वेश्याहरूले पनि फेरि अरूलाई सिकाउन सक्छन्। सिकेर होसियार भए भने फेरि आफ्ना
अफिसरहरूलाई पनि सम्झाउनेछन्। हलमा चित्र आदि राखेर बसेर सम्झायौ भने सबैले भन्नेछन्–
वाह वेश्याहरूलाई शिवालयवासी बनाउनको लागि यी बी.के. निमित्त बनेका छन्।
बच्चाहरूलाई सेवाको लागि विचार चल्नुपर्छ। तिमीमाथि धेरै जिम्मेवारी छ। अहिल्याहरू,
कुब्जाहरू, भिल्लिनीहरू, गणिकाहरू यिनीहरू सबैको उद्धार गर्नुछ। गायन पनि छ–
साधुहरूको पनि उद्धार गर्नुभयो। यो त जान्दछौ– साधुहरूको उद्धार अन्त्यमा हुन्छ।
अहिले उनीहरू तिम्रा बने भने भक्तिमार्ग नै सारा खतम हुन्छ। क्रान्ति हुन्छ।
संन्यासीहरूले नै आफ्नो आश्रम छोडिदिन्छन्, बस् हामीले हार खायौँ। यो अन्त्यमा
हुन्छ। बाबाले निर्देशन दिइरहनुहुन्छ– यसो यसो गर। बाबा त कहीँ बाहिर जान
सक्नुहुन्न। बाबाले भन्नुहुन्छ– बच्चाहरूसँग गएर सिक। सम्झाउने युक्तिहरू त सबै
बच्चाहरूलाई बताइरहनुहुन्छ। यस्तो कार्य गरेर देखाऊ जसबाट मानिसहरूको मुखबाट वाह!
वाह! निस्कियोस्। गायन पनि छ– भगवानले शक्तिहरूमा ज्ञान बाण भर्नुभएको थियो। यी
ज्ञान बाण हुन्। तिमीलाई थाहा छ– यी बाणले तिमीलाई यस दुनियाँबाट त्यस दुनियाँमा
लैजान्छन्। त्यसैले तिमी बच्चाहरू धेरै विशाल बुद्धि बन्नुछ। एक ठाउँमा मात्रै पनि
तिम्रो नाम भयो, सरकारलाई थाहा भयो भने फेरि धेरै प्रभाव निस्कन्छ। एक ठाउँबाट
मात्रै कोही राम्रा ५-७ अफिसरहरू निस्किए भने उनीहरूले अखबारहरूमा लेख्न थाल्नेछन्।
भन्नेछन्– यी बी.के.हरूले वेश्याहरूबाट पनि त्यो कामधन्दा छुटाएर शिवालयको मालिक
बनाउँछन्। धेरै वाह! वाह! गर्नेछन्। धन आदि सबै उनीहरूले लिएर आउनेछन्। तिमीले धन
के गर्नेछौ! तिमीले ठुला ठुला सेन्टरहरू खोल्नेछौ। पैसाले चित्र आदि बनाउनुपर्छ।
मानिसहरूले देखेर धेरै आश्चर्य मान्नेछन्। भन्नेछन्– पहिला सुरुमा त तिमीलाई
पुरस्कार दिनुपर्छ। सरकारी भवनमा पनि तिम्रा चित्र लैजानेछन्। यिनीहरूमा धेरै
आकर्षित हुनेछन्। दिलमा चाहना हुनुपर्छ– मनुष्यबाट देवता कसरी बनाऊँ। यो त जान्दछौ–
जसले कल्प पहिला ज्ञान लिएका छन् उनीहरूले नै लिनेछन्। यती धेरै धन आदि सबै कुरा
छोडिदिनमा मेहनत छ। यी ब्रह्मा बाबाले बताउँछन्– मेरो आफ्नो घरबार मित्र-सम्बन्धी
आदि केही पनि छैन, मलाई के याद आउँछ, बाबा सिवाय र तिमी बच्चाहरू सिवाय अरू केही
याद आउँदैन। सबै कुरा एक्सचेन्ज गरिदिएँ। बाँकी बुद्धि कहाँ जान्छ। बाबालाई रथ दिएको
छु। जस्ता तिमी त्यस्तै मैले पनि पढिरहेको छु। केवल रथ बाबालाई लोनमा दिएको छु।
तिमीलाई थाहा छ–
हामीले पुरुषार्थ गरिरहेका छौँ, सूर्यवंशी घरानामा सबैभन्दा पहिला सुरुमा आउनको लागि।
यो हो नै नरबाट नारायण बन्ने कथा। तेस्रो नेत्र आत्मालाई मिल्छ। हामी आत्मा पढेर
ज्ञान सुनेर देवता बनिरहेका छौँ। फेरि हामी नै राजाहरूको राजा बन्नेछौँ। शिवबाबा
भन्नुहुन्छ– मैले तिमीलाई डबल सिरताज बनाउँछु। तिम्रो बुद्धि अहिले कति खुलेको छ,
ड्रामा अनुसार कल्प पहिला अनुसार। अब यादको यात्रामा पनि रहनुछ। सृष्टि चक्रलाई पनि
याद गर्नुछ। पुरानो दुनियाँलाई बुद्धिबाट भुल्नुछ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बुद्धिमा रहोस्– अब हाम्रो लागि नयाँ स्थापना भइरहेको छ, यो दु:खको पुरानो दुनियाँ
खतम भयो कि भयो। यो दुनियाँ बिल्कुल राम्रो नलागोस्।
२) जसरी बाबाले आफ्नो
सबै कुरा एक्सचेन्ज गरिदिनुभयो त्यसैले बुद्धि कहीँ जाँदैन। त्यसैगरी फलो फादर
गर्नुछ। दिलमा बस् यही चाहना रहोस्– हामीले मनुष्यबाट देवता बनाउने सेवा गरौँ, यस
वेश्यालयलाई शिवालय बनाऊँ।
वरदान:–
देह अभिमानको
रोयल रूपलाई पनि समाप्त गर्ने साक्षी र द ्र ष्टा भव
अरूको कुरालाई सम्मान
नगर्नु, अरूको कुरा कट गर्नु– यो पनि देह अभिमानको रोयल रूप हो जसले आफ्नो वा अरूको
अपमान गराउँछ किनकि जसले अरूको कुरै सुन्दैन उसलाई अभिमान आउँछ र जसको कुरालाई
सुन्दैन उसलाई अपमान लाग्छ त्यसैले साक्षी द्रष्टाको वरदानलाई स्मृतिमा राखेर,
ड्रामाको ढाल वा ड्रामाको पट्टीमा हरेक कर्म र सङ्कल्प गर्दै, मैपनको यस रोयल
रूपलाई पनि समाप्त गरेर हरेकको कुरालाई सम्मान देऊ, स्नेह देऊ अनि ऊ सदाको लागि
सहयोगी हुनेछ।
स्लोगन:–
परमात्म
श्रीमतरूपी जलको आधारबाट कर्मरूपी बीजलाई शक्तिशाली बनाऊ।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति म नसा द्वारा योगका शक्तिहरूको प्रयोग गर
हर घडी, हर आत्माप्रति
मनसा स्वत: शुभभावना र शुभकामनाको शुद्ध भाइब्रेसन स्वयंलाई र अरूलाई अनुभव होस्।
मनबाट हर घडी सर्व आत्माहरूप्रति आशीर्वाद निस्किरहोस्। मनसा सदा यसै सेवामा बिजी
रहोस्। जसरी वाचाको सेवामा बिजी रहने अनुभवी भएका छौ। यदि सेवा मिलेन भने आफूलाई
खाली अनुभव गर्छौ। त्यसैगरी हर घडी वाणीको साथसाथै मनसा सेवा स्वत: भइरहोस्।