08.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी अब आवाजभन्दा पर जानु छ , त्यसैले मुखले शिव शिव भन्ने पनि आवश्यकता छैन।”

प्रश्न:–
एक बाबालाई नै सर्वशक्तिमान्, ज्ञानको सागर भनिन्छ, अरूलाई भनिँदैन– किन?

उत्तर:–
किनकि एक बाबालाई याद गरेमा नै आत्मा पतितबाट पावन बन्छ। उहाँ बाबा नै हुनुहुन्छ, जसले पतितलाई पावन बनाइदिनुहुन्छ, बाँकी कुनै पनि देहधारी मानिसले पावन बनाउन सक्दैनन्। बाबाले तिमीलाई रावण राज्यबाट मुक्त गरिदिनुहुन्छ। तिमीले शिवबाबाबाट शक्ति लिन्छौ, जति धेरै याद गर्छौ, त्यति शक्ति मिल्छ र खाद निस्कँदै जान्छ।

गीत:–
ओम् नमः शिवाय...

ओम् शान्ति ।
मीठा-प्यारा सिकिलधे बच्चाहरूले भक्तिको महिमा सुन्यौ। तिमीले पनि महिमा गाउँथ्यौ। अब महिमा गाउँदैनौ अनि न तिम्रो लागि महिमाको आवश्यकता छ। जे भक्तहरूले गर्छन्, त्यो तिमी बच्चाहरूले गर्न सक्दैनौ। तिमी भक्त थियौ, अब तिमीलाई भगवान् मिल्नुभएको छ। बाबा सबैलाई सँगसँगै त मिल्न सक्नुहुन्न। बाबाले सबैलाई सँगसँगै कसरी पढाउनुहुन्छ? यो त हुन सक्दैन। सबै भक्तहरू पनि सँगसँगै भक्त हुन सक्दैनन्। हो, बाबाले निश्चय नै पढाउनु पर्छ किनकि यो राजयोग हो। सूर्यवंशी, चन्द्रवंशी राज्य स्थापन हुनु छ। बच्चाहरूले प्रदर्शनीमा सम्झाउनु छ, चाडपर्व आदिमा पनि तिमीले धेरै राम्रो सेवा गर्न सक्छौ। तिमीले आफ्नो लागि नै राज्य स्थापन गर्नु छ। तिमी शिवशक्ति, महारथी सेना हौ, तिमीले अरू कुनै ड्रिल आदि सिक्दैनौ। तिमीले रुहानी ड्रिल सिक्छौ। भारतवर्षको यो ड्रिल नामी छ। यो हो योगको ड्रिल। आत्माले परमपिता परमात्मासँग योग लगाउनु छ, उहाँबाट वर्सा लिनु छ। यसमा लडाइँको कुनै कुरा छैन। तिमीले बाबाबाट वर्सा लिन्छौ, यसमा लडाइँको सम्बन्ध छैन। तिमी बेहदका बाबाका वारिस हौ। त्यसैले बाबाको बनेर बाबाको श्रीमतमा चल्नु छ। बाबाको मत लडाइँ आदिको लागि होइन। बाबा केवल भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमी सतोप्रधान थियौ, तिमीले राज्य गर्थ्यौ, अब तिमीलाई स्मृति आएको छ। बाबा भन्नुहुन्छ– तिमीले आफ्ना जन्महरूको विषयमा जान्दैनौ। भन्छन् पनि, मानिसले ८४ जन्म लिन्छन्। ८४ लाख जन्म लिने कुरा, यो त गफ हो। भक्तिमार्गमा जसलाई जे आउँछ, त्यही भन्दै जान्छन्। ड्रामा अनुसार यो भक्तिमार्गको सामग्री हो। सत्ययुग-त्रेतामा भक्ति हुँदैन। भक्ति छुट्टै हो, ज्ञान छुट्टै हो। तिमी बच्चाहरूबाहेक अरू कुनै ऋषिमुनि आदिको बुद्धिमा यो ज्ञान छैन। उनीहरूलाई यो पनि थाहा छैन, सुख छुट्टै हो, दुःख छुट्टै हो। सुख बाबाले दिनुहुन्छ, दुःख रावणले दिन्छ। जो तिमी सूर्यवंशी, चन्द्रवंशी थियौ, तिमीहरू नै ८४ को चक्कर लगाएर शूद्रवंशी बन्यौ। बाबाले स्मृति दिलाउनुहुन्छ– तिमी विश्वका मालिक थियौ। तिमी ८४ जन्म भोगेर तल ओर्लियौ, तुच्छ बुद्धि, तमोप्रधान बनेका छौ। सतोप्रधानका आत्माहरूलाई स्वच्छ, उच्च बुद्धि भनिन्छ। तमोप्रधानलाई नीच बुद्धि भनिन्छ। नीच बुद्धि भएकाले उच्च बुद्धि भएकालाई नमस्ते गर्छन्। यो कुरा तिमीलाई पनि थाहा थिएन, हामी नै उच्च थियौँ, अब हामी नै नीच बनेका छौँ। बाबाले सम्झाउनुभएको छ, जसले पहिलो नम्बरमा जन्म लिएको हुन्छ, उही सतोप्रधान बन्छ। ८४ जन्म पनि सूर्यवंशीले नै लिन्छन्। अहिले तिमीले बुझेका छौ, हामी विश्वका मालिक थियौँ, त्यसैले पावन सतोप्रधान थियौँ। पतित कहाँ विश्वका मालिक बन्न सक्छन् र! उनीहरूको महिमा हेर कति उच्च छ! सर्वगुण सम्पन्न... त्रेतामा १४ कला सम्पूर्ण भनिँदैन। सूर्यवंशीलाई १६ कला सम्पूर्ण भनिन्छ। १४ कलाको पछाडि सम्पूर्ण शब्द आउँदैन। सम्पूर्ण १६ कला भएकालाई सम्पन्न लेख्नु छ। अब तिमी बच्चाहरू १६ कला सम्पूर्ण बन्छौ।

यो पनि तिमी बच्चाहरूलाई सम्झाइएको छ, यो ज्ञान अति सहज छ, यसभन्दा सहज अरू कुनै कुरा हुँदैन। बाबा रहमदिल हुनुहुन्छ नि! बाबालाई थाहा छ, बच्चाहरू भक्तिमा हण्डर खाँदा खाँदा थाकेका होलान्, त्यसैले देखाइएको छ, द्रौपदीको पाउ मिचिदिनुभयो। बाबाकहाँ वृद्ध वृद्ध माताहरू आउँछन्। बाबा भन्नुहुन्छ, तिमीहरू भक्तिको हण्डर खाएर थाकेका छौ, त्यसैले बाबाले अहिले तिम्रो सबै थकाइ हटाइदिनुहुन्छ। भक्तिमा राम राम भन्छन्, माला जपिरहन्छन्। बाबाको पादरीहरूसँग पनि सम्पर्क भएको छ। पादरीहरूले पनि बाइबल लिएर बसेर सम्झाउँछन्। धेरै क्रिस्चियन बन्छन्। यहाँ माला आदि जप्ने कुरा छैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। मुखले शिव शिव भन्नु पर्दैन। हामी त आवाजभन्दा पर जानुछ । बाबाले धेरै सहज युक्ति बताउनुहुन्छ, मलाई याद गर, अनि खाद निस्कन्छ र गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। कमलको फूल धेरै नामी छ। त्यसको ठुलो समुह (पञ्चायत) हुन्छ, तर पनि न्यारा र प्यारा हुन्छ। तिमी पनि विषय सागरमा रहेर न्यारा प्यारा रहनु छ। यो विषय सागर हो, यसलाई नदी भनिँदैन। तिमी बच्चाहरू अहिले कति समझदार बन्छौ, यही समझले तिमी महाराजकुमार बन्छौ। तिमीलाई त धेरै खुसी हुनुपर्छ। तिमीले पुरुषार्थ गर्नु छ, बच्चा अथवा बच्ची दुवैको आत्माले पुरुषार्थ गर्नु छ। लौकिक सम्बन्धमा पिताको वर्सा केवल बच्चाहरूलाई मिल्छ, बच्चीलाई मिल्दैन। यहाँ सबै आत्माहरूलाई वर्सा मिल्छ। बाबा सम्झाउनुहुन्छ, यादको यात्राबाट नै तिमीले उच्च पद पाउन सक्छौ। प्रदर्शनीमा सुरु सुरुमा बाबाको परिचय दिनु छ, त्यसपछि हुन्छ बाबाको वर्सा। पहिला यो निश्चय बसाऊ, उहाँ तिम्रो बेहदको बाबा हुनुहुन्छ। उनीहरूलाई सम्झाउनु छ, भगवान् एक हुनुहुन्छ– ब्रह्मा, विष्णु, शङ्कर पनि भगवान् होइनन्, देवता हुन्। भगवान् पतितपावन निराकार बाबा हुनुहुन्छ। उहाँको महिमा नै छुट्टै छ। आजकाल प्रदर्शनीमा त्रिमूर्तिको विषयमा सम्झाउनुपर्छ। उहाँ बाबा, यिनी दादा। वर्सा उहाँबाट मिल्छ। उहाँ निराकार हुनुहुन्छ, उहाँबाट वर्सा कसरी मिल्छ! उहाँ सबैका रचयिता हुनुहुन्छ। ब्रह्मा, विष्णु, शङ्कर पनि रचना हुन्। रचनालाई रचयिताबाट नै वर्सा मिल्न सक्छ। उहाँ निराकार बाबाले त यिनीद्वारा वर्सा दिनुहुन्छ। रचयिता सबैका एक हुनुहुन्छ, त्यसैले भनिन्छ, सबैका सद्गतिदाता एक। उहाँलाई ज्ञान सागर भनिन्छ। बाँकी ती सबै शास्त्रहरूका अधिकारी हुन्। उहाँ ज्ञान सागर स्वयं अधिकारी हुनुहुन्छ। विश्व सर्वशक्तिमान् अधिकारी स्वयं भन्नुहुन्छ, मैले वेद-शास्त्रहरूलाई जान्दछु र तिमीलाई सार सम्झाउँछु। यी सबै भक्तिमार्गका सामग्री हुन्, जुन सत्ययुग-त्रेतामा हुँदैनन्। भक्तिबाट नै सिँढी तल ओर्लनुपर्छ। सर्वशक्तिमान् एक बाबालाई नै भनिन्छ। उहाँसँग योग लगाएमा नै हामी पवित्र बन्छौँ, त्यसैले सर्वशक्तिमान् हुनुभयो नि! हामी सबैलाई पतितबाट पावन बनाइदिनुहुन्छ। रावण राज्यबाट मुक्त गरिदिनुहुन्छ। तिमीले अब शिवबाबाबाट शक्ति लिइरहेका छौ। जति धेरै याद गर्छौ, त्यति शक्ति मिल्छ र खाद निस्कन्छ। तिमीलाई दिनरात यही चिन्ता हुनुपर्छ, पतितबाट पावन, तमोप्रधानबाट सतोप्रधान बनौँ। मायाका तुफानहरू आउँछन्। बाबा भन्नुहुन्छ, होसियार रहनुपर्छ। तिम्रो युद्ध मायाँसँग छ। फालतु विकल्पहरू धेरै आउँछन्। जुन कहिल्यै अज्ञानमा आएका थिएनन्, ती पनि आउनेछन्। तिमी युद्धको मैदानमा छौ। मेहनत सबै यादको यात्रामा छ। भारतवर्षको योग नामी छ। योगको लागि नै बाबाले सम्झाउनुहुन्छ, तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यसरी अरू कुनै मानिसले सम्झाउन सक्दैन। उनीहरूले भनिदिन्छन्, सबै भगवानका रूप हुन्। जता हेर्छु, परमात्मा नै परमात्मा हुनुहुन्छ। बाबा सम्झाउनुहुन्छ, तिमीहरू आत्मा हौ, तिमीहरूले ८४ जन्म भोग्छौ। सबै परमात्मा हुन् भने के परमात्मा जन्ममरणको चक्रमा आउनुहुन्छ? आत्माले एक शरीर छोडेर अर्को लिन्छ। आत्मामा राम्रा नराम्रा संस्कार हुन्छन्। राम्रा संस्कार हुनेहरूको महिमा गरिन्छ। नराम्रा संस्कार हुनेलाई पापी, नीच भनिन्छ। बाबाले पवित्र बन्ने सहज युक्ति बताउनुहुन्छ। मनसा, वाचा, कर्मणा कसैलाई दुःख नदेऊ। आफैलाई पनि दुःख नदेऊ। कुनै पनि विकर्म, चोरी आदि गर्नुहुँदैन। कहीँ झुटो बोल्नुपर्छ भने बाबासँग राय लेऊ। सबैभन्दा ठुलो पाप हो– काम कटारी चलाउनु, त्यो कटारी नचलाऊ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! हातले काम गर्दा बुद्धिको योग मसँग लगाऊ (हथ कार डे... बुद्धि यार डे) । बाबा सर्जन पनि हुनुहुन्छ। सबैको रोग एकै किसिमको हुन सक्दैन। कर्म पनि एकै किसिमको हुन सक्दैन। त्यसैले पाइला पाइलामा सोध्नुपर्छ। लक्ष्य धेरै ठुलो छ। अमरनाथको यात्रामा जाँदा भन्छन्, अमरनाथको जय, बद्रीनाथको जय। हे बद्रीनाथ हाम्रो रक्षा गर्नुहोस्! अब तिमीले तीर्थयात्रा आदि केही गर्नु छैन। यी ज्ञानका कुराहरू बाबाले नै सम्झाउनुहुन्छ। यो उहाँको नै पार्ट हो। बाबाको साथसाथै तिमी पनि पार्टधारी हौ। जति जसले पढ्छ, त्यति उच्च पद मिल्छ। यसमा कसैको बडाइँ छैन। बडाइँ एकको नै हुन्छ, जसले सबै मानिसहरूलाई सद्गति दिनुहुन्छ। सबै बच्चाहरूलाई पतितबाट पावन बनाउनुहुन्छ। ड्रामामा मलाई पनि पार्ट मिलेको छ। ५ तत्त्वहरूलाई पनि आआफ्नो पार्ट मिलेको छ, त्यो पार्ट खेल्नु छ। धरती उथलपुथल हुनु छ, विनाश हुनु छ। तिम्रो पनि ड्रामामा पार्ट छ, यसमा के बडाइ छ। राज्य गर्दागर्दै पतित बन्यौ। तिमी पनि पहिला के थियौ? कौडी बराबर पनि थिएनौ। अब तिमी विश्वका मालिक बन्छौ, यो तिम्रो पार्ट हो, तैपनि हामी त्यस्तो बन्नु नै छ। यसमा बडाइँको वा महिमाको कुनै कुरा छैन। ड्रामा यस्तै बनेको छ। बाबा पनि आएर आफ्नो पार्ट खेल्नुहुन्छ। भक्तहरूले बडाइँ गरिदिन्छन्, महिमा गाउँछन्, त्यो काम हामीले गर्न सक्दैनौँ। यहाँ त बाबालाई याद गर्नु छ। बाबा, यस ड्रामाको रहस्य त धेरै अद्भुत छ! जुन कसैलाई थाहा छैन। बाबा, हामीले सत्ययुगमा यो पनि भुल्नेछौँ! ड्रामा धेरै विचित्र छ। आफैसँग यस्ता प्रकारका कुरा गर। कुनै पार्टधारीले राम्रो पार्ट खेल्यो भने ताली बजाउँछन्। हामीले पनि भन्छौँ, प्यारा बाबा शिवबाबाको पार्ट धेरै राम्रो छ। हामीले पनि बाबाको सङ्गतमा राम्रो पार्ट खेल्छौँ। कति राम्रोसँग सम्झाउनुहुन्छ, तैपनि कसैको समझमा आउँदैन भने बुझिन्छ, यिनीहरू हाम्रो राजधानीमा आउँदैनन्। यो पनि तिमीलाई थाहा छ, जो ब्राह्मण बनेका थिए, उनीहरू नै ब्राह्मण बनेर फेरि देवता बन्छन्। देवताहरूमा पनि प्रजा आदि सबै बन्छन्। सबैलाई अनादि पार्ट मिलेको छ। सृष्टि पनि एउटै छ, त्यो चलिरहन्छ। भगवान् एक हुनुहुन्छ, रचना एक छ। त्यही चक्र घुमिरहन्छ। मानिसहरूले खोज गर्छन्, हेरौँ चन्द्रमामा के छ! त्यो भन्दा माथि के छ! त्योभन्दा पनि माथि सूक्ष्मवतन छ। त्यहाँ के देख्छन्? लाइट नै लाइट। धेरै कोसिस गर्छन्– साइन्सको पनि हद छ नि! मायाको पनि धेरै आडम्बर छ। साइन्स सुखको लागि पनि हुन्छ, दुःखको लागि पनि हुन्छ। त्यहाँ हवाइजहाज कहिल्यै खस्दैनन्। दुःखको कुरा हुँदैन। यहाँ त दुःखैदुःख छ। चोरले लुट्छन्, आगोले जलाइदिन्छ। त्यहाँ घरहरू धेरै ठुला हुन्छन्। सारा आबु जति जमिन एकएक राजाको हुन्छ। तिमी आएका हौ स्वर्गवासी बन्न। बाबालाई याद गर, अनि खाद निस्कन्छ। तिमी सबै आसिक हौ, अब बाबा मासुकले तिमीलाई भन्नुहुन्छ– म एकलाई याद गर, अनि अमरपुरीको मालिक बन्छौ। त्यहाँ अकालमा मृत्यु हुँदैन। सत्ययुगमा दुनियाँ श्रेष्ठाचारी हुन्छ, यो भ्रष्टाचारी दुनियाँ हो। कति बीकेहरूले बाबाबाट वर्सा लिइरहेका छन्। तिमीले पनि वर्सा लेऊ। श्रीमतमा चलेनौ भने उच्च पद पाउन सक्दैनौ। हर ५ हजार वर्षपछि बाबा स्वर्ग बनाउन आउनुहुन्छ। कलियुगमा धेरै, सत्ययुगमा थोरै मानिसहरू हुन्छन्, त्यसैले विनाश अवश्य हुन्छ, त्यसैले महाभारत लडाइँ सामुन्ने छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मनसा, वाचा, कर्मणाबाट कसैलाई पनि दुःख दिनु छैन। नराम्रा संस्कारहरूलाई निकालेर अब राम्रा संस्कार धारण गर्नु छ। कुनै विकर्म नहोस्, यसको ध्यान राख्नु छ।

२) यस विचित्र ड्रामामा आफ्नो श्रेष्ठ भाग्यलाई हेरेर आफैसँग कुरा गर्नु छ, हामी भगवानका साथमा पार्टधारी हौँ। हाम्रो पार्ट कति राम्रो छ।

वरदान:–
स्नेहको सट्टा समानताको अनुभव गर्ने सर्वशक्ति सम्पन्न भव

जुन बच्चाहरू बाबाको स्नेहमा सदा समाहित भएका हुन्छन्, उनीहरूलाई स्नेहको रेस्पोन्डमा बाबा समान बन्ने वरदान प्राप्त हुन्छ। जो सदा स्नेहयुक्त र योगयुक्त छन्, उनीहरू स्वतः सर्व शक्तिहरूले सम्पन्न बन्छन्। सर्व शक्तिहरू सदा साथ छन् भने निश्चय नै विजय हुन्छ। जसलाई स्मृति हुन्छ, सर्वशक्तिमान् बाबा हाम्रो साथी हुनुहुन्छ, उनीहरू कहिल्यै कुनै पनि कुराबाट विचलित हुन सक्दैनन्।

स्लोगन:–
पुरुषार्थी जीवनमा जो सदा सन्तुष्ट र खुसी रहन्छन्, उनीहरू नै सौभाग्यशाली हुन्।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।

यतिबेला यस्तो परोपकारी ग्रुप चाहिन्छ, जो दिने दाता हुन्छ। जसरी सम्पन्न राजाहरूले सदा प्रजालाई दिन्छन्। सम्पन्न राजाहरूको हातले कहिल्यै पनि लिँदैन, उनीहरू दिने दाता हुन्छ। तिमी बच्चाहरूले त स्वर्गका विश्व महाराजा बनेर दाता रूपको पार्ट खेल्छौ, त्यसैले अहिलेदेखि नै त्यही संस्कार स्वयंमा भरिराख।