09.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमीलाई थाहा छ , सबै आत्माहरूले बेहदका बाबाबाट पढ्दैनन् तर साथमा अवश्य जान्छन्।”

प्रश्न:–
चक्रवर्ती राजा बन्ने बच्चाहरूले कुन कुराको धेरै नै कदर गर्छन्?

उत्तर:–
उनीहरूले पढाइको धेरै कदर गर्छन्। जहाँ भए पनि पढाइ अवश्य पढ्छन्। साथसाथै इष्टमित्रहरूसँग सम्बन्ध निर्वाहगर्दै यादमा रहने अभ्यास गर्छन् र सबैलाई यही सन्देश दिन्छन्– बाबालाई याद गर, अनि शान्तिधाम-सुखधाममा जानेछौ। यस श्रीमतमा पूरा पूरा चल्ने बच्चाहरू नै चक्रवर्ती राजा बन्छन्।

ओम् शान्ति ।
बाबाले सबै रुहानी बच्चाहरूका साथै जति पनि सृष्टिभरिमा जीव आत्माहरू छन्, ती सबै जीव आत्माहरूलाई फर्काएर लैजानु नै छ किनकि अब अन्धकार रात पूरा हुन्छ। पुरानो दुनियाँ पूरा भएर नयाँ दुनियाँको स्थापना भइरहेको छ। दुनियाँ त छ तर पुरानोबाट नयाँ हुन्छ। सत्ययुग आदिमा अवश्य आदि सनातन देवीदेवता धर्म मात्रै थियो। अब ती सूर्यवंशी, चन्द्रवंशी छैनन्। बाबा सम्झाउनुहुन्छ, उनीहरूले पुनर्जन्म लिँदालिँदा अहिले ८४ जन्म पूरा गरेका छन्। यतिबेला सबै पार्टधारी तमोप्रधान भएका छन्। रामराज्य, नयाँ दुनियाँ, नयाँ दिल्ली हुनुपर्छ भन्ने पनि चाहन्छन्। जसरी बच्चाहरूले भन्छन् नि– हामीलाई फलानो नयाँ चिज चाहिन्छ। यिनीहरूले पनि भन्छन्, बाबा नयाँ दुनियाँको लागि हामीलाई नयाँ वस्त्र चाहिन्छ। दीपावलीमा मानिसहरूले नयाँ लुगा लगाउँछन्। श्रीकृष्ण जयन्तीमा नयाँ लुगा लगाउने कुरा हुँदैन। खासगरी दीपावलीमा नयाँ लुगा लगाउनको लागि धेरै किनमेल आदि गर्छन्। दीपावलीमा दियो बाल्छन्। अहिले तिम्रो दियो बलेको छ, तिमीले फेरि अरूको पनि दियो बाल्नु छ। उनीहरूको भक्तिमार्गको दीपावली हो, तिम्रो ज्ञानको दीपावली हो। तिमीले कुनै कपडा आदि फेर्नु छैन। जब तिम्रो दियो पूरा बल्नेछ, त्यसपछि फेरि नयाँ दुनियाँमा तिमीलाई नयाँ लुगा मिल्नेछ। बाबा भन्नुहुन्छ, मैले सबैलाई लैजान्छु। कसैले चाहोस् वा नचाहोस्। पुकार्छन् पनि– हे पतितपावन आउनुहोस्! उनीहरूले फेरि भन्छन्, मुक्तिदाता आउनुहोस्! कसैले कुन भाषामा भन्छन्, कसैले कुन भाषामा। म कल्प कल्प आएर सबैलाई लैजान्छु। सत्ययुगमा त धेरै कम मानिसहरू हुन्छन्। अहिले कति धेरै पार्टधारी छन्। यिनीहरू जीव आत्मा हुन्। शरीरलाई जीव भनिन्छ। यस्तो होइन, जीवले भन्छ, मैले एक आत्मा छोडेर अर्को लिन्छु। होइन, आत्माले भन्छ, मैले एक शरीर छोडेर अर्को लिन्छु। तर यो कुरा पनि कसैलाई थाहा छैन, हामीले ८४ जन्म लिन्छौँ। यस्तो पनि होइन, सबैले ८४ जन्म पाउँछन्। सबैको आफ्नो हिसाब हुन्छ। जो सुरु सुरुमा आउँछन्, उनीहरूले अवश्य धेरै जन्म लिन्छन्। धेरैभन्दा धेरै ८४ जन्म। कम्तीमा एक जन्म पनि हुन्छ। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ, सबैलाई त पढाउनुहुन्न। तर सबैलाई साथमा अवश्य लैजानुहुन्छ। ड्रामा प्लान अनुसार मेरो पार्ट हो सबैलाई साथमा लैजाने। दुनियाँलाई यो कुरा थाहा छैन, पुरानो दुनियाँ खतम हुने छ। अवश्य बाबा आएर नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। मानिसलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको विषयमा अलिकति पनि ज्ञान छैन। हो, भक्तिमार्गको विषयमा थाहा छ। भक्तिमार्गको रीतिरिवाज छुट्टै ज्ञान मार्गको रीतिरिवाज एकदमै छुट्टै छ। यो त हुन सक्दैन, सत्ययुगदेखि कलियुगसम्म भक्ति नै हुन्छ। भनिन्छ पनि ज्ञान दिन, भक्ति रात। अन्धकार रातमा मानिसहरूले हण्डर खान्छन्। बाबा भन्नुहुन्छ, ढुङ्गामाटोमा पनि गएर मलाई खोज्छन्। कसैले हनुमानको साक्षात्कार गर्छन्, कसैले गणेशको साक्षात्कार गर्छन्। अब ती सबै भगवान् त होइनन्। मेरो त कुनै आफ्नो शरीर छैन। माया रावणले सबैलाई बुद्धू बनाइदिएको छ। यहाँका मानिसहरूलाई यो पनि थाहा छैन, रामराज्य केलाई भनिन्छ। यो कुरा पनि ख्यालमा आउँछ, लक्ष्मीनारायणको राज्य यसै दुनियाँमा थियो। केवल भनिदिन्छन्– रामराज्य हुनुपर्छ। राम कुनै रघुपतिवाला राम होइनन्। उनीहरूको लागि शास्त्रहरूमा धेरै उल्टा कुराहरू लेखिदिएका छन्। मानिसहरू मृत्युसँग कति डराउँछन्। जीवन बचाउनको लागि आशीर्वाद मागिरहन्छन्। अब त धेरै मर्ने छन्। उनीहरूको लागि के भनिन्छ! बाबालाई बोलाइएको नै बाबा हामीलाई पावन दुनियाँमा लैजानुहोस् भन्नको लागि हो। शान्तिधाममा त शरीरहरूलाई लैजान्न। त्यहाँ त आत्माहरू जान्छन्। यो त पुरानो फोहोरी शरीर हो। दुनियाँ (भंभोर)मा आगो लाग्नु छ, त्यसैले आगाका गोला (बम) बनाइरहेका छन्। अब उनीहरूले भन्छन्– बम नबनाऊ। अब यति पनि समझ छैन, जोसँग धेरै बम हुन्छन्, उनीहरू अवश्य शक्तिशाली हुन्छन्। बम नबनाउने हो भने फेरि अरूले आफूलाई कसरी बचाउन सक्छन्। अब उनीहरूले सबै समुद्रमा फालेपछि मात्र उनीहरूले पनि बम बनाउन बन्द गर्छन्। तर समुद्रबाट पनि बादलले पानी तान्छ, त्यसको वर्षा भयो भने सारा नोक्सान हुन्छ। खेती आदि जल्नेछ, त्यसैले ड्रामामा युक्ति रचिएको छ। पहिला यी बम थिएनन्, अहिले निस्केका छन्, त्यसैले यो सारा होहल्ला मच्चिरहेको छ। अब यो कुरा तिमीहरूलाई थाहा छ– यो सबै भावी हो। तिमीमध्ये पनि धेरैलाई विनाशको भावीमा निश्चय छैन। हुन्थ्यो भने धेरै राम्रोसँग योगमा रहन्थ्यौ। योगबलद्वारा विश्वको बादसाही लिनु छ। तिम्रो सबैथोक गुप्त छ, सिकाउने बाबा पनि गुप्त हुनुहुन्छ। यी आँखाहरूले देखिँदैन। अब तिमीले आत्मा अनुभूति गरेका छौ, म आत्मामा ८४ जन्मको पार्ट भरिएको छ। म आत्मा अविनाशी हुँ। यो अति गुह्य कुरा हो। पत्रिकामा पनि लेखिएको छ, आत्मा के हो जुन शरीरमा रहन्छ? यो कसैले बतायो भने उसलाई लाखौँ रुपैयाँ मिल्न सक्छ। आत्मा के हो, कहाँबाट आउँछ? कसरी पार्ट खेल्छ? यो कसैलाई पनि थाहा छैन। कसैले भन्छन्, आत्मा पानीको फोका हो, कसैले भन्छन् ब्रह्मतत्त्व ठुलो ज्योति हो, त्यसमा आत्माहरू लीन हुन्छन्। अनेक प्रकारका कुराहरू गरिरहन्छन्। तिमीलाई थाहा छ, आत्मा बिन्दुसमान छ। त्यसमा आत्माले पार्ट खेल्ने कुरा पहिल्यै निश्चित हुन्छ। यो ड्रामा अनादि बनिबनाउ छ, त्यसको कहिल्यै विनाश हुँदैन। आत्मा पनि अविनाशी छ। आत्माले त्यही पार्ट खेल्नु छ, फरक पर्न सक्दैन। यी सबै कुराहरू उसको बुद्धिमा बस्नेछन्, जसको बुद्धिमा कल्प पहिला बसेको थियो।

बाबा भन्नुहुन्छ– यति धेरै मानिसहरूलाई मैले कसरी पढाउँछु। हो, यति कुरा तिमी बच्चाहरूले बुझेका छौ, बाबा भन्नुहुन्छ, म एकलाई याद गर, अनि तिम्रा विकर्म विनाश हुनेछन्। सबैलाई सन्देश मिल्नेछ, बाबाले सबैको लागि यो मन्त्र दिनुहुन्छ। बाबा सम्झाउनुहुन्छ, तिमी बच्चाहरूले दैवी गुण धारण गर्नु छ। अवगुणहरूलाई छोड्नु छ। देह अभिमानलाई छोडिदेऊ। तैपनि छोड्दैनन्। ती बिचराहरूलाई के मिल्छ? एकअर्कासँग प्यारले चल्दैनन्। तिमी धेरै मीठो बन्नु छ। बाबा प्यारको सागर हुनुहुन्छ। तिमीहरू पनि उहाँका बच्चा हौ, त्यसैले तिमी धेरै प्यारा बन्नु छ। कहिल्यै कसैले जतिसुकै रिस गरे पनि, स्तुतिनिन्दा आदि गरे पनि सबैथोक सहन गर्नु छ। कोही टाट पल्टियो भने सम्झन्छन्– बाबा अब बाबाले सहायता गरिदिए हुन्थ्यो। अरे, यो त तिम्रो कर्मभोग हो, त्यो त तिमीले सहन गर्नु छ। बाबाले यसमा के गर्नुहुन्छ। बाबा आउनुभएको छ सबै आत्माहरूलाई लैजान। यो पनि तिमी बच्चाहरूले नै जान्दछौ। दुनियाँमा सबै आत्माहरू घोर अन्धकारमा छन्। भक्तिमार्गमा अवश्य भक्तहरूको मान हुनुपर्छ। शङ्कराचार्य आदि यी सबै भक्त हुन्। उनीहरूलाई पवित्र भक्त भनिन्छ। भक्ति पन्थ त छ नि! जो पवित्र रहन्छन्, उनीहरूका ठुला ठुला अखाडाहरू बनेका छन्। उनीहरूको कति मान छ। धार्मिक किताबहरूको पनि धेरै मान छ। ती किताबहरूको ठुला ठुला परिक्रमा गराउँछन्। भक्तिको धेरै मान छ। ज्ञानको विषयमा कसैलाई थाहा पनि छैन। तिमी देवता बनेपछि तिम्रो कति महिमा हुन्छ। यस्तो कोही हुँदैन, जसका मातापिता कुनै न कुनै मन्दिर आदिमा जाँदैनन्। केही न केही भक्तिको चिह्न घरमा अवश्य हुन्छ। हे भगवान् भन्नु, यो पनि भक्तिमार्ग हो। अब तिमी बेहदका बाबाका बनेका छौ। उहाँ बाबा, यी दादा, त्यसैले त्रिमूर्तिको चित्रमा सम्झाउन धेरै राम्रो छ। भन्न त कसैले भन्न सक्छ, दादालाई यहाँ किन राखिएको हो? अरे, प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुनुपर्छ नि! यिनी त वृक्षमा तल तपस्यामा बसेका छन्। तर तिनीहरू परिवर्तन भइरहन्छन्। यिनी जो मुख्य छन्, उनीहरू सदैव कायम छन्। यसमा बच्चाहरू धेरै मीठो बन्नु छ। चालचलन धेरै रोयल हुनुपर्छ। कुरा कम गर्नुपर्छ। सुरु सुरुमा बाबाको परिचय दिनु छ। धेरै किचकिच गर्नु फालतु कुरा हो। धेरै कम बोल। तिमी पनि भक्तिमार्गमा धेरै बोलेका थियो, पुकार गरेका थियौ। कति हण्डर खायौ। अब तिमीलाई साधारण कुरा सम्झाउनुहुन्छ– केवल बाबालाई याद गर, अनि योगबलद्वारा विश्वका मालिक बन्न सक्छौ। पछि गएर यो थाहा हुनेछ, नम्बरवार को को के बन्छन्। प्रजाको हिसाब कहाँ निकालिन्छ र! उनीहरू त लाखौँ-करोडौँ हुन्छन्। जो ब्राह्मण बन्छन्, उनीहरू नै सूर्यवंशी-चन्द्रवंशी बन्छन्। पछि गएर धेरैले याद गर्न थाल्नेछन्। मृत्यु सामुन्ने आएपछि, फेरि वैराग्य आउनेछ। यो त्यही महाभारत लडाइँ हो। सबै आत्माहरूले हिसाबकिताब चुक्ता गरेर जानेछन्, यसलाई कयामतको समय भनिन्छ। यति सबै शरीर खतम हुनेछन्। प्राकृतिक प्रकोपहरू आउनु छ, यो पनि ड्रामामा पहिल्यै निश्चित छ। यो कुनै नयाँ कुरा होइन। अनिकालको कारण मानिसहरू भोकै मर्छन्।

बाबालाई थाहा छ, मेरा बच्चाहरू धेरै दुःखी छन्। सबैलाई दुःखबाट छुटाएर फर्काएर लैजान्छु। बाबा भन्नुहुन्छ– यिनीहरू सबै आपसमा लड्नेछन्। नौनी फेरि पनि तिमीलाई मिल्ने छ, तिमी सारा विश्वका मालिक बन्छौ। मुखमा चन्द्रमाको साक्षात्कार गर्थ्यौ नि! मुखमा यो विश्वको गोला आउँछ। तिमी राजकुमार-राजकुमारी बन्छौ। सारा सृष्टि मानौँ तिम्रो मुट्ठीमा हुन्छ। मुखमा पनि, मुट्ठीमा पनि देखाउँछन्। अहिले स्वर्गको गोला तिम्रो मुखमा छ। तिमीलाई थाहा छ, योगबलद्वारा हामी विश्वका मालिक बन्छौँ। योगद्वारा स्वास्थ्य र ज्ञानद्वारा धनसम्पत्ती मिल्छ। तिमी चक्रवर्ती राजा बन्छौ। तर बच्चाहरूले पढाइको त्यति कदर गर्दैनन्। हुन त झरिबादल आउँछ तर बाबा भन्नुहुन्छ, जहाँ बसे पनि अवश्य पढ्नुछ। पवित्र रहनु छ, खानपान शुद्ध बनाउनु छ। सबैसँग सम्बन्ध पनि निर्वाह गर्नु छ। यो दुनियाँ दुःखदायक छ। मुख्य हो काम कटारी चलाउनु, त्यो पनि मुस्किलले छोड्छन्। केही भन्यो भने द्रोही बन्छन्। फेरि अबलाहरूमाथि कति विघ्न आउँछन्। यी आर्यसमाजी त अहिले आएका हुन्। यो पछाडि निस्किएको एक शाखा हो। देवताहरूलाई मान्दैनन्। महावीर, हनुमानको नाम छ, यिनीहरूले वीरता देखाएका छन्। जैनीहरूले पनि महावीर नाम राखिदिएका छन्। त्यसको अर्थ त अहिले तिमीले बुझेका छौ। तिमी बच्चाहरू पनि महावीर हौ, जसले रावणमाथि विजय प्राप्त गर्छौ। यो सबै योगबलको कुरा हो। तिमीले बाबालाई याद गर्छौ, त्यसबाट तिम्रा विकर्म विनाश हुन्छन्। फेरि तिमीहरू सुख शान्तिमा जान्छौ। यो सन्देश सबैलाई दिनु छ। यो स्थापना धेरै अद्भुत छ, यसलाई कसैले जान्दैनन्। तिमीमध्ये पनि नम्बरवार छौ। तिमी भित्र कुनै पनि विकार हुनुहुँदैन। आत्मालाई बाबाले ज्ञान दिइरहनुभएको छ। आत्मा विकारी बन्छ, सबैथोक आत्माले नै गर्छ। त्यसैले अब बाबाको श्रीमतमा पूरा चल्नुपर्छ। सद्गुरुको सम्मुख बसेर निन्दा गरायौ भने कहीँ ठाउँ पाउन सक्दैनौ। कुनै पनि पाप गर्नु यो त निन्दा भयो। टिचरको मतमा चलेनौ भने ठाउँ पाउँदैनौ, फेल हुन्छौ। टिचरको शिक्षा लिइरह्यौ भने सम्मानसहित पास हुन्छौ। ती हुन् हदका कुराहरू, यी हुन् बेहदका कुराहरू। भगवान् को हुनुहुन्छ, दुनियाँमा यो कुरा कसैलाई थाहा छैन। माया पनि सतो, रजो, तमो हुन्छ। अहिले माया पनि तमोप्रधान छ। हेर, के के गरिरहन्छन्। हामीले केलाई आगो लगाउँछौँ भन्ने कसैको बुद्धिमा छैन। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। जे जति हुन्छ, ड्रामा अनुसार हुन्छ। यादवहरूको प्लान, कौरवहरूको प्लान र पाण्डवहरूको प्लान, के के गरेका थिए। पाण्डवहरूलाई उच्चभन्दा उच्च प्लान बताउने बाबा हुनुहुन्छ। नयाँ दुनियाँमा लक्ष्मीनारायणको राज्य थियो। अब पुरानो दुनियाँको विनाश हुनु छ। तिमी सबैभन्दा प्यारा बच्चाहरूले परमप्रिय बाबाबाट वर्सा लिइरहेका छौ। बाबाबाहेक अरू कसैले भन्न सक्दैन, मैले तिमीलाई साथमा लैजान्छु। उनीहरूले भनिदिन्छन्, सबै परमात्मा नै परमात्मा हुन्। फेरि उनीहरूलाई यसरी भन्न कसरी आउँछ। यी सबै कुराहरू तिमी बच्चाहरूले नै जान्दछौ, अरू कसैले जान्दैन। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) विनाशको भावीलाई जानेर पूरा पूरा श्रीमतमा चल्नु छ। यादको बलद्वारा विश्वको बादसाही लिने पुरुषार्थ गर्नु छ, आफ्नो बलेको दियोद्वारा सबैको दियो बालेर सच्चा दीपावली मनाउनु छ।

२) स्तुतिनिन्दा सबैथोक सहन गर्दै बाबासमान प्यारको सागर बन्नु छ। चालचलन धेरै रोयल बनाउनु छ। कुरा धेरै कम गर्नु छ।

वरदान:–
समयमा हरेक गुण वा शक्तिलाई प्रयोग गर्ने अनुभवीमूर्त भव

ब्राह्मण जीवनको विशेषता हो अनुभव। एउटा गुण वा शक्तिको अनुभूति भएको छैन भने पनि कुनै न कुनै बेला विघ्नको वशमा पर्नेछौ। अब अनुभूतिको कोर्स सुरु गर। हरेक गुण वा शक्तिरूपी खजानालाई प्रयोग गर। जुन बेला जुन गुणको आवश्यकता छ, त्यतिबेला त्यसको स्वरूप बन। ज्ञानको रीतीले बुद्धिको लकरमा खजानालाई नराख, प्रयोग गर, अनि विजयी बन्न सक्नेछौ र वाह म आत्मा वाहको गीत सदा गाइरहनेछौ।

स्लोगन:–
कमजोर सङ्कल्पहरूलाई समाप्त गरेर शक्तिशाली सङ्कल्प रच्नेहरू नै डबल लाइट हुन्छन्।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर।

जो स्वयंप्रति इच्छा मात्रम् अविद्या छ, अखण्ड दानी छ, उही परोपकारी हो। जसरी बाबाले स्वयंको समय पनि सेवामा दिनुभयो। स्वयं निर्मान बनेर बच्चाहरूलाई मान दिनुभयो। पहिला बच्चा भन्नुभयो– नाम बच्चाको, काम आफ्नो। कामको, नामको, प्राप्तिको पनि त्याग गर्नुभयो। नाममा पनि परोपकारी बन्नुभयो। यसरी नै फलो फादर गर।