11.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
पढाइद्वारा आफ्नो कर्मातित अवस्था बनाउनुछ , साथसाथै पतितबाट पावन बनाउने मार्ग पनि
बताउनुछ , रुहानी सेवा गर्नुछ ।”
प्रश्न:–
कुनचाहिँ
मन्त्र याद गरेमा पाप कर्मबाट बच्न सक्छौ?
उत्तर:–
बाबाले मन्त्र
दिनुभएकोछ– हियर नो इभिल, सि नो इभिल... यही मन्त्र याद राख। तिमीले आफ्ना
कर्मेन्द्रियबाट कुनै पाप गर्नुछैन। कलियुगमा सबैबाट धेरै पाप कर्म नै हुन्छन्,
त्यसैले बाबाले यो युक्ति बताउनुहुन्छ, पवित्रताको गुण धारण गर– यही नम्बर वन गुण
हो।
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! कसको अगाडि बसेका छौ? बुद्धिमा अवश्य चल्दो हो– हामी पतित-पावन, सबैका
सदगतिदाता, आफ्नो बेहदका बाबाको सामुन्ने छौँ। हुन त ब्रह्माको तनमा हुनुहुन्छ,
तैपनि याद उहाँलाई नै गर्नुछ। कुनै मनुष्यले सबैको सदगति गर्न सक्दैन। मनुष्यलाई
पतित-पावन भनिँदैन। प्यारा बच्चाहरूले आफूलाई आत्मा सम्झनुपर्छ। हामी सबै आत्माहरूका
पिता उहाँ हुनुहुन्छ। उहाँ बाबाले हामीलाई स्वर्गको मालिक बनाइरहनुभएको छ। यो कुरा
बच्चाहरूले बुझ्नुपर्छ र फेरि खुसी पनि हुनुपर्छ। यो पनि बच्चाहरूलाई थाहा छ– हामी
नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौँ। धेरै सहज मार्ग मिलिरहेको छ। केवल याद गर्नुछ
र आफूमा दैवीगुण धारण गर्नुछ। आफ्नो जाँच गर्नुछ। नारदको उदाहरण पनि छ। यी सबै
दृष्टान्त ज्ञानका सागर बाबाले नै दिनुभएको हो। जति पनि संन्यासी आदिले दृष्टान्त
दिन्छन्, ती सबै बाबाले दिनुभएका दृष्टान्त हुन्। भक्तिमार्गमा केवल गाइरहन्छन्।
कछुवा, सर्प, कुमालकोटीको दृष्टान्त दिन्छन्। तर स्वयं केही पनि गर्न सक्दैनन्।
बाबाले दिएका दृष्टान्त भक्तिमार्गमा फेरि दोहोर्याउँछन्। भक्तिमार्ग हो नै विगतको
कुरा। यस समयमा जुन यथार्थमा हुन्छ, त्यसको फेरि गायन हुन्छ। हुन त देवताहरूको
जन्मदिन अथवा भगवानको जन्मदिन मनाउँछन् तर केही पनि जान्दैनन्। अहिले तिमीले बुझ्दै
गएका छौ। बाबाबाट शिक्षा लिएर तिमी पतितबाट पावन पनि बन्छौ र तिमीले पतितहरूलाई
पावन बन्ने मार्ग पनि देखाउँछौ। यो हो तिम्रो मुख्य रुहानी सेवा। सबैभन्दा पहिला
जोसुकैलाई पनि आत्माको ज्ञान दिनुछ। तपाई आत्मा हुनुहुन्छ। आत्माको बारेमा पनि
कसैलाई थाहा छैन। आत्मा त अविनाशी छ। समय भएपछि आत्मा आएर शरीरमा प्रवेश गर्छ,
त्यसैले आफूलाई घरी घरी आत्मा सम्झनुछ। हामी आत्माहरूका पिता परमात्मा हुनुहुन्छ।
परम टिचर पनि हुनुहुन्छ। यो पनि तिमी बच्चाहरूलाई हरपल याद रहनुपर्छ। यो
भुल्नुहुँदैन। तिमीलाई थाहा छ– अब फर्केर जानुछ। विनाश सामुन्ने खडा छ। सत्ययुगमा
धेरै सानो दैवी परिवार हुन्छ। कलियुगमा त कति धेरै मानिसहरू छन्। अनेक धर्म, अनेक
मतहरू छन्। सत्ययुगमा यी केही पनि हुँदैनन्। बच्चाहरूले सारा दिन बुद्धिमा यी कुरा
ल्याउनुपर्छ। यो पढाइ हो नि। त्यो पढाइमा त कति किताब आदि हुन्छन्। हरेक कक्षामा नयाँ
नयाँ किताब खरिद गर्नुपर्छ। यहाँ त कुनै पनि किताब वा शास्त्र आदिको कुरा छैन। यसमा
त एउटै कुरा, एउटै पढाइ छ। भारतमा ब्रिटिस सरकार भएको बेलामा, राजाहरूको राज्य थियो,
त्यतिबेला टिकटमा पनि राजा-रानी बाहेक अरू कसैको तस्बिर राख्दैनथे। आजकाल त हेर,
भक्त आदि जति पनि आएर गए, उनीहरूका पनि टिकट बनाइरहन्छन्। यी लक्ष्मी-नारायणको
राज्य हुँदा तस्बिर पनि एउटै महाराजा-महारानीको हुन्छ। यस्तो होइन– जो पहिलाका
देवताहरू आएर गए, उनीहरूको तस्बिर मेटिएको छ। होइन, पुरानाभन्दा पुराना देवताहरूका
तस्बिरलाई धेरै श्रद्धा र निर्मल मनले लिन्छन् किनकि शिवबाबापछिका अर्का देवताहरू
नै हुन्। यी सबै कुरा तिमी बच्चाहरूले धारण गरिरहेका छौ, अरूलाई मार्ग बताउन। यो
बिल्कुलै नयाँ पढाइ हो। तिमीले नै यो सुनेका थियौ र पद पाएका थियौ, यो कुरा अरू
कसैले जान्दैनन्। परमपिता परमात्माले तिमीलाई राजयोग सिकाइरहनुभएको छ। महाभारत लडाइँ
पनि प्रसिद्ध छ। के हुन्छ, त्यो त पछि गएर हेर्नेछौ। कसैले के भन्छन्, कसैले के
भन्छन्। दिनहुँ मानिसहरूलाई महसुस हुँदै जान्छ। भनिन्छ पनि– विश्व युद्ध हुनेछ।
त्यसभन्दा पहिला तिमी बच्चाहरूले आफ्नो पढाइद्वारा कर्मातित अवस्था प्राप्त गर्नुछ।
बाँकी असुर र देवताहरूको कुनै लडाइँ हुँदैन। यस समयमा तिमी ब्राह्मण सम्प्रदाय हौ,
जो फेरि गएर दैवी सम्प्रदाय बन्छौ। त्यसैले यस जन्ममा दैवीगुण धारण गरिरहेका छौ।
नम्बर वन दैवीगुण हो पवित्रताको। तिमीले यस शरीरद्वारा कति पाप गर्दै आएका छौ।
आत्मालाई नै पाप आत्मा भनिन्छ, आत्माले यी कर्मेन्द्रियहरूबाट कति पाप गरिरहन्छ। अब
हियर नो इभिल... कसलाई भनिन्छ? आत्मालाई। आत्माले नै कानले सुन्छ। बाबाले तिमी
बच्चाहरूलाई स्मृति दिलाउनुभएको छ– तिमी आदि सनातन देवी-देवता धर्मका थियौ, चक्कर
लगाएर आयौ, अब फेरि तिमी तिनै देवता बन्नुछ। यो मीठो स्मृति आएपछि पवित्र बन्ने
हिम्मत आउँछ। तिम्रो बुद्धिमा छ– हामीले कसरी ८४ को पार्ट खेलेका हौँ। पहिला सुरुमा
हामी यी देवी-देवता थियौँ। यो कहानी हो नि। बुद्धिमा आउनुपर्छ– ५ हजार वर्ष पहिला
हामी नै देवता थियौँ। हामी आत्मा मूलवतनका निवासी हौँ। पहिला यो अलिकति पनि ख्याल
थिएन– हामी आत्माहरूको त्यो घर हो। त्यहाँबाट हामी आउँछौँ पार्ट खेल्न।
सूर्यवंशी-चन्द्रवंशी... बन्यौँ। अहिले तिमी ब्रह्माको सन्तान ब्राह्मणवंशी हौ। तिमी
ईश्वरीय सन्तान बनेका छौ। ईश्वर बसेर तिमीलाई शिक्षा दिनुहुन्छ। उहाँ सर्वोच्च बाबा,
सर्वोच्च टिचर, सर्वोच्च गुरु पनि हुनुहुन्छ। हामीले उहाँको मतले सबै मानिसहरूलाई
श्रेष्ठ बनाउँछौँ। मुक्ति-जीवनमुक्ति दुवै श्रेष्ठ छन्। हामी आफ्नो घर जानेछौँ, फेरि
पवित्र आत्माहरू आएर राज्य गर्नेछन्। यो चक्र हो नि। यसलाई स्वदर्शन चक्र भनिन्छ।
यो ज्ञानको कुरा हो। बाबा भन्नुहुन्छ– तिम्रो यो स्वदर्शन चक्र रोकिनुहुँदैन।
घुमिरहेमा विकर्म विनाश हुन्छन्। तिमीले यस रावणमाथि विजय पाउनेछौ। पाप मेटिनेछन्।
अब स्मृति आएको छ, याद गर्नको लागि। यस्तो होइन– माला लिएर जप गर्नुछ। आत्माभित्र
ज्ञान छ, जुन ज्ञान तिमी बच्चाहरूले अरू भाइ-बहिनीहरूलाई सम्झाउनुछ। बच्चाहरू पनि
मदतगार त बन्छन् नि। मैले तिमी बच्चाहरूलाई नै स्वदर्शन चक्रधारी बनाउँछु। यो ज्ञान
ममा छ, त्यसैले मलाई ज्ञानको सागर, मनुष्य सृष्टिको बीजरूप भनिन्छ। उहाँलाई बागवान
भनिन्छ। देवी-देवता धर्मको बीउ शिवबाबाले नै लगाउनुभएको हो। अहिले तिमी देवी-देवता
बनिरहेका छौ। यो कुरा सारा दिन जपिरह्यौ भने पनि तिम्रो धेरै कल्याण छ। दैवीगुण पनि
धारण गर्नुछ। पवित्र पनि बन्नुछ। स्त्री-पुरुष दुवै सँगसँगै रहेरै पवित्र बन्छौ।
यस्तो त अरू कुनै धर्म हुँदैन। निवृत्तिमार्गका त केवल पुरुष पवित्र बन्छन्। भनिन्छ
नि– स्त्री-पुरुष दुवै सँगसँगै पवित्र रहन सक्दैनन्, मुस्किल छ। सत्ययुगमा पवित्र
थिए नि। लक्ष्मी-नारायणको महिमा पनि गाउँछन्।
अहिले तिमीलाई थाहा
छ– बाबाले हामीलाई शूद्रबाट ब्राह्मण बनाएर फेरि देवता बनाउनुहुन्छ। हामी नै
पूज्यबाट पुजारी बन्नेछौँ। फेरि वाममार्गमा गएपछि शिवको मन्दिर बनाएर पूजा गर्नेछौँ।
तिमी बच्चाहरूलाई आफ्नो ८४ जन्मको ज्ञान छ। बाबाले नै भन्नुहुन्छ– तिमीले आफ्नो
जन्मलाई जान्दैनौ, मैले बताउँछु। यस्तो अरू कुनै मनुष्यले भन्न सक्दैनन्। तिमीलाई
अब बाबाले स्वदर्शन चक्रधारी बनाउनुहुन्छ। तिमी आत्मा पवित्र बनिरहेका छौ। शरीर त
यहाँ पवित्र बन्न सक्दैन। आत्मा पवित्र बनेपछि फेरि अपवित्र शरीरलाई छोड्नुपर्छ। सबै
आत्माहरू पवित्र भएर जानुछ। पवित्र दुनियाँ अहिले स्थापना भइरहेको छ। बाँकी सबै
प्यारो घर परमधाममा जानेछन्। यो याद राख्नुपर्छ।
बाबाको यादको साथसाथै
घरको पनि याद अवश्य हुनुपर्छ किनकि अब फर्केर घर जानुछ। घरमा नै बाबालाई याद गर्नुछ।
हुन त तिमीलाई थाहा छ– बाबा यस तनमा आएर हामीलाई ज्ञान सुनाइरहनुभएको छ तर बुद्धि
परमधाम प्यारो घरबाट टुट्नुहुँदैन। टिचर घर छोडेर आउनुहुन्छ, तिमीलाई पढाउन। पढाएर
फेरि धेरै टाढा जानुहुन्छ। सेकेन्डमा जहाँ पनि जान सक्नुहुन्छ। आत्मा कति सानो
बिन्दु छ। आश्चर्य मान्नुपर्छ। बाबाले आत्माको ज्ञान पनि दिनुभएकोछ। यो पनि तिमीलाई
थाहा छ– स्वर्गमा कुनै फोहोरी चीज हुँदैन, जसबाट हातखुट्टा अथवा कपडा आदि मैलो
हुन्छ। देवताहरूको कती सुन्दर पहिरन हुन्छ। कति फस्टक्लास कपडा होलान्। धुने पनि
आवश्यकता पर्दैन। तिनलाई देखेर कति खुसी हुनुपर्छ। आत्मालाई थाहा छ– भविष्य २१ जन्म
हामी यो बन्नेछौँ। बस्, हेरिरहनुपर्छ। यो चित्र सबैसँग हुनुपर्छ। यसमा धेरै खुसी
हुनुपर्छ– हामीलाई बाबाले यस्तो बनाउनुहुन्छ। यस्तो बाबाका हामी बच्चाहरू फेरि किन
रुन्छौँ! हामीलाई कहाँ कुनै फिक्र हुसक्छ र। देवताहरूको मन्दिरमा गएर महिमा गाउँछन्–
सर्वगुण सम्पन्न... अच्युतम् केशवम्... कति नाम भन्दै जान्छन्। यी सबै शास्त्रहरूमा
लेखिएको छ, जुन याद गर्छन्। शास्त्रहरू कसले लेखे? व्यासले। वा कुनै नयाँ नयाँले पनि
बनाइरहन्छन्। ग्रन्थ पहिला धेरै सानो थियो, हातले लेखिएको। अहिले त कति ठुलो
बनाइदिएका छन्। अवश्य थपेको हुनुपर्छ। तर गुरुनानक त आउँछन् नै धर्मको स्थापना गर्न।
ज्ञान दिने दाता त एउटै हुनुहुन्छ। क्राइस्ट पनि आउँछन् केवल धर्मको स्थापना गर्नको
लागि। सबै आइसकेपछि त फर्केर जानेछन्। घर पठाउने को हुनुहुन्छ? के क्राइस्ट? होइन।
उनी त भिन्न नाम-रूपमा तमोप्रधान अवस्थामा छन्। सतो, रजो, तमोमा आउँछन् नि। यस समयमा
सबै तमोप्रधान छन्। सबैको जडजडीभूत (जर्जर) अवस्था छ नि। पुनर्जन्म लिँदा लिँदा यस
समयमा सबै धर्मका आएर तमोप्रधान बनेका छन्। अब सबै फर्केर अवश्य जानुछ। फेरि चक्र
घुम्नुपर्छ। पहिला नयाँ धर्म हुनुपर्छ, जुन सत्ययुगमा थियो। बाबाले नै आएर आदि
सनातन देवी-देवता धर्मको स्थापना गर्नुहुन्छ। फेरि विनाश पनि हुनुछ। स्थापना, विनाश
फेरि पालना। सत्ययुगमा एउटै धर्म हुन्छ। यो स्मृति आउँछ नि। सारा चक्र स्मृतिमा
ल्याउनुछ। अहिले हामी ८४ को चक्र पूरा गरेर फर्केर घर जानेछौँ। तिमी हिँड्दा-डुल्दा
स्वदर्शन चक्रधारी होऊ। उनीहरूले फेरि भन्छन्– श्रीकृष्णसँग स्वदर्शन चक्र थियो,
त्यसबाट सबैलाई मारे। अकासुर, बकासुर आदिका चित्र देखाएका छन्। तर यस्तो कुनै कुरा
होइन।
तिमी बच्चाहरू अहिले
स्वदर्शन चक्रधारी भएर रहनुछ किनकि स्वदर्शन चक्रबाट तिम्रो पाप काटिन्छ। आसुरीपन
खतम हुन्छ। देवता र असुरहरूको लडाइँ त हुन सक्दैन। असुरहरू हुन्छन् कलियुगमा,
देवताहरू हुन्छन् सत्ययुगमा । बीचमा छ सङ्गमयुग। शास्त्रहरू भक्तिमार्गका नै हुन्।
ज्ञानको नामनिसान हुँदैन। ज्ञान सागर एउटै बाबा हुनुहुन्छ सबैको लागि। बाबा बाहेक
अरू कुनै पनि आत्मा पवित्र बनेर फर्केर जान सक्दैन। पार्ट अवश्य खेल्नुछ, त्यसैले
अब आफ्नो ८४ को चक्रलाई पनि याद गर्नुछ। हामी अहिले सत्ययुगी नयाँ जन्ममा जान्छौँ।
यस्तो जन्म फेरि कहिल्यै मिल्दैन। शिवबाबा फेरि ब्रह्माबाबा। लौकिक, पारलौकिक र यो
हो अलौकिक बाबा। यस समयको नै कुरा हो, यसलाई अलौकिक भनिन्छ। तिमी बच्चाहरूले उहाँ
शिवबाबाको जप गर्छौ। ब्रह्मालाई होइन। हुन त ब्रह्माको मन्दिरमा गएर पूजा गर्छन्,
त्यो पनि तब पूजा गर्छन् जब सूक्ष्मवतनमा सम्पूर्ण अव्यक्तमूर्त हुनुहुन्छ। यो
शरीरधारी पूजाको लायक छैन। यो त मनुष्य हो नि। मनुष्यको पूजा हुँदैन। ब्रह्माका
दाह्री देखाउँछन्, त्यसबाट थाहा हुन्छ– यिनी यहाँका हुन्। देवताहरूका दाह्री
हुँदैनन्। यी सबै कुरा बच्चाहरूलाई सम्झाइदिएको छु। तिम्रो नाम प्रसिद्ध हुन्छ,
त्यसैले तिम्रो मन्दिर पनि बनेको छ। सोमनाथको मन्दिर कति उच्चभन्दा उच्च छ। सोमरस
पिलाउनुभयो, फेरि के भयो? फेरि यहाँ पनि देलवाडा मन्दिर हेर। मन्दिर हुबहु यादगार
बनेको छ। तल तिमीले तपस्या गरिरहेका छौ, माथि स्वर्ग छ। मानिसहरूले सम्झन्छन्–
स्वर्ग कतै माथि छ। मन्दिरमा पनि तल स्वर्ग कसरी बनाउने! त्यसैले माथि छतमा
बनाइदिएका छन्। बनाउनेहरूले केही बुझ्दैनन्। ठुला ठुला करोडपति छन्, उनीहरूलाई यो
सम्झाउनुछ। तिमीलाई अहिले ज्ञान मिलेको छ, त्यसैले तिमीले धेरैलाई ज्ञान दिन सक्छौ।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मनभित्रबाट आसुरीपनलाई समाप्त गर्नको लागि हिँड्दा-डुल्दा स्वदर्शन चक्रधारी भएर
रहनुछ। सारा चक्र स्मृतिमा ल्याउनुछ।
२) बाबाको यादको
साथसाथै बुद्धि परमधाम घरमा पनि लागिरहोस्। बाबाले जुन स्मृति दिलाउनुभएको छ, त्यसको
याद गरेर आफ्नो कल्याण गर्नुछ।
वरदान:–
सर्वगुण
सम्पन्न बन्नुको साथसाथै कुनै एक विशेषतामा विशेष प्रभावशाली भव
जसरी डाक्टरहरूले
सामान्य बिमारीहरूको ज्ञान त राख्छन् नै तर साथसाथै कुनै रोग विशेषको ज्ञानमा नाम
चलेका हुन्छन्, त्यसैगरी तिमी बच्चाहरू सर्वगुण सम्पन्न त बन्नु नै छ, फेरि पनि एक
विशेषतालाई विशेष रूपले अनुभवमा ल्याउँदै, सेवामा ल्याउँदै अगाडि बढ्दै जाऊ। जसरी
सरस्वतीलाई विद्याकी देवी, लक्ष्मीलाई धनकी देवी भनेर पूजा गर्छन्। त्यसैगरी आफूमा
सर्वगुण, सर्वशक्ति हुँदाहुँदै पनि एक विशेषतामा विशेष अनुसन्धान गरेर स्वयंलाई
प्रभावशाली बनाऊ।
स्लोगन:–
विकाररूपी
सर्पहरूलाई सहजयोगको शय्या बनाइदियौ भने सदैव निश्चिन्त रहनेछौ।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
जब मन नै बाबाको हो
भने फेरि बाबामा मन कसरी लगाउने! उहाँलाई प्यार कसरी गर्ने! यो प्रश्न नै उठ्न
सक्दैन किनकि सदैव लवलीन भइन्छ, प्यार स्वरूप, मास्टर प्यारको सागर बन्यौ भने प्यार
गर्नुपर्दैन, प्यारको स्वरूप भयौ। जति जति ज्ञान सूर्यको किरण वा प्रकाश बढ्छ, त्यति
नै धेरै प्यारका लहरहरू लहराउँदै जान्छन्।