15.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सबेरै
सबेरै उठेर यही चिन्तन गर– म यति सानो आत्माले कति ठुलो शरीरलाई चलाइरहेको छु , म
आत्मामा अविनाशी पार्ट निश्चित गरि एको छ।”
प्रश्न:–
शिवबाबालाई
कुनचाहिँ अभ्यास छ, कुनचाहिँ छैन?
उत्तर:–
शिवबाबाको
आत्मालाई ज्ञान रत्नद्वारा शृङ्गार गर्ने अभ्यास छ, बाँकी शरीरको शृङ्गार गर्ने
अभ्यास उहाँलाई छैन किनकि बाबा भन्नुहुन्छ– मेरो त आफ्नो शरीर छैन। हुन त मैले यो
शरीर भाडामा लिन्छु तर यस शरीरको शृङ्गार यिनी आत्माले स्वयं गर्छन्, मैले गर्दिनँ।
म त सदैव अशरीरी छु।
गीत:–
बदल जाए दुनिया
न बदलेंगे हम...
ओम् शान्ति ।
बच्चाहरूले यो
गीत सुन्यौ। कसले सुन्यौ? आत्माले यो शरीरको कानद्वारा सुन्यो। बच्चाहरूलाई पनि यो
थाहा भयो– आत्मा कति सानो छ। त्यो आत्मा यो शरीरमा भएन भने शरीर कुनै कामको हुँदैन।
कति सानो आत्माको आधारमा यो कति ठुलो शरीर चल्छ। दुनियाँमा अरू कसैलाई पनि थाहा छैन–
आत्मा के चिज हो जुन यो रथमा विराजमान हुन्छ। अकालमूर्त आत्माको यो तख्त हो।
बच्चाहरूलाई पनि यो ज्ञान मिल्छ। यो ज्ञान कति रमणीय, रहस्ययुक्त छ। कुनै यस्तो
रहस्ययुक्त कुरा सुने पछि नै चिन्तन चल्छ। तिमी बच्चाहरूको पनि यही चिन्तन चल्छ–
आत्मा यति सानो छ यति ठुलो शरीरमा। आत्मामा ८४ जन्मको पार्ट निश्चित गरिएको छ। शरीर
त विनाश हुन्छ। बाँकी आत्मा रहन्छ। यी अत्यन्तै गहन र चिन्तनयोग्य कुरा हुन्। बिहान
उठेर यो ख्याल गर्नुपर्छ। बच्चाहरूलाई स्मृति आएको छ– आत्मा कति सानो छ, त्यसलाई
अविनाशी पार्ट मिलेको छ। म आत्मा कति अनौठो छु। यो नयाँ ज्ञान हो। जुन ज्ञान
दुनियाँमा कसैसँग पनि छैन। यो ज्ञान बाबाले नै आएर बताउनुहुन्छ, जुन याद गर्नुपर्ने
हुन्छ। हामी कति सानो आत्माले कसरी पार्ट खेल्छौँ। शरीर ५ तत्त्वले बन्छ। बाबालाई
कहाँ थाहा हुन्छ र। शिवबाबाको आत्मा कसरी आउँछजान्छ। यस्तो पनि होइन, सदैव यसैमा
रहन्छ। त्यसैले यही चिन्तन गर्नुछ। तिमी बच्चाहरूलाई बाबाले यस्तो ज्ञान दिनुहुन्छ
जुन कहिल्यै कसैलाई मिल्न सक्दैन। तिमीलाई थाहा छ– अवश्य यो ज्ञान यिनको आत्मामा
थिएन। अरू सतसङ्गहरूमा यस्ता यस्ता कुरामा कसैको ख्याल हुँदैन। आत्मा र परमात्माको
अलिकति पनि ज्ञान हुँदैन। कुनै पनि साधु-संन्यासी आदिले यो कहाँ सम्झन्छन् र– हामी
आत्माले शरीरद्वारा यिनलाई मन्त्र दिन्छौँ। आत्माले शरीरद्वारा शास्त्र पढ्छ। एक जना
मनुष्य मात्र पनि आत्म अभिमानी छैन। आत्माकै ज्ञान कसैसँग छैन भने फेरि बाबाको
ज्ञान कसरी हुन्छ।
तिमी बच्चाहरूले
जान्दछौ– हामी आत्माहरूलाई बाबाले भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमी कति
समझदार बनिरहेका छौ। यस्तो कुनै मनुष्य छैन जसले जान्दछ– यो शरीरमा जुन आत्मा छ,
त्यसलाई परमपिता परमात्माले बसेर पढाउनुहुन्छ। यी कति बुझ्नुपर्ने कुरा छन्। तर फेरि
पनि कामधन्दा आदिमा गएपछि बिर्सिन्छन्। पहिला त बाबाले आत्माको ज्ञान दिनुहुन्छ जुन
कुनै पनि मनुष्य मात्रसँग छैन। गायन पनि छ नि– आत्मा-परमात्मा अलग रहे बहुकाल...
हिसाब छ नि। तिमी बच्चाहरूले जान्दछौ– आत्माले नै बोल्छ शरीरद्वारा। आत्माले नै
शरीरद्वारा राम्रो वा नराम्रो काम गर्छ। बाबा आएर आत्माहरूलाई कति सुन्दर
बनाउनुहुन्छ। सबैभन्दा पहिला त बाबा भन्नुहुन्छ– सबेरै सबेरै उठेर यही अभ्यास वा
चिन्तन गर– आत्मा के हो? जसले यो शरीरद्वारा सुन्छ। आत्माका पिता परमपिता परमात्मा
हुनुहुन्छ, जसलाई पतित-पावन, ज्ञानको सागर भनिन्छ। फेरि कुनै मनुष्यलाई सुखको सागर,
शान्तिको सागर कसरी भन्न सकिन्छ! के लक्ष्मी-नारायणलाई सदैव पवित्रताको सागर भनिन्छ?
होइन। एक बाबा मात्रै सदैव पवित्रताको सागर हुनुहुन्छ। मनुष्यले त केवल बसेर
भक्तिमार्गका शास्त्रहरूको वर्णन गर्छन्। यथार्थ अनुभव हुँदैन। यस्तो सम्झँदैनन्–
हामी आत्माले यो शरीरबाट बाबाको महिमा गर्छौं। उहाँ हाम्रो धेरै मीठो बाबा
हुनुहुन्छ। उहाँले नै सुख दिनुनुहुन्छ। बाबा भन्नुहुन्छ– हे आत्माहरू! अब मेरो मतमा
चल। अविनाशी आत्मालाई अविनाशी बाबाद्वारा यो अविनाशी मत मिल्छ। ती विनाशी
शरीरधारीहरूलाई विनाशी शरीरधारीहरूको नै मत मिल्छ। सत्ययुगमा त तिमीले यहाँको
प्रारब्ध पाउँछौ। त्यहाँ कहिल्यै उल्टो मत मिल्दै मिल्दैन। अहिलेको श्रीमत नै
अविनाशी बन्छ, जुन आधाकल्प चल्छ। यो नयाँ ज्ञान हो, कति बुद्धि चाहिन्छ यसलाई ग्रहण
गर्न। र यो ज्ञान कर्ममा आउनुपर्छ। जसले सुरुदेखि धेरै भक्ति गरेको छ, उसैले
राम्रोसँग धारण गर्न सक्छ। यो बुझ्नुपर्छ– यदि मेरो बुद्धिमा राम्रोसँग धारणा
हुँदैन भने, अवश्य सुरुदेखि मैले भक्ति गरेको छैन। बाबा भन्नुहुन्छ– केही पनि
बुझ्दैनौ भने बाबासँग सोध किनकि बाबा अविनाशी सर्जन हुनुहुन्छ। उहाँलाई परम आत्मा
पनि भनिन्छ। आत्मा पवित्र बन्छ त्यसैले त उसको महिमा हुन्छ। आत्माको महिमा हुन्छ भने
शरीरको पनि महिमा हुन्छ। आत्मा तमोप्रधान छ भने शरीरको पनि महिमा हुँदैन। यस समयमा
तिमी बच्चाहरूलाई धेरै गुह्य बुद्धि मिल्छ। यो बुद्धि आत्मालाई नै मिल्छ। आत्मा कति
मीठो बन्नुपर्छ। सबैलाई सुख दिनुपर्छ। बाबा कति मीठो हुनुहुन्छ। आत्माहरूलाई पनि
धेरै मीठो बनाउनुहुन्छ। आत्माले कुनै पनि गर्न नहुने कार्य नगरोस्– यो अभ्यास
गर्नुछ। जाँच गर्नुछ– मबाट कुनै गर्न नहुने कार्य त भएन? शिवबाबाले कहिल्यै गर्न
नहुने कार्य गर्नुहुन्छ? गर्नुहुन्न। उहाँ आउनु नै हुन्छ उत्तमभन्दा उत्तम
कल्याणकारी कार्य गर्न। सबैलाई सद्गति दिनुहुन्छ। त्यसैले जुन कर्तव्य बाबाले
गर्नुहुन्छ, बच्चाहरूले पनि त्यस्तै कर्तव्य गर्नुपर्छ। यो पनि सम्झाउनुभएको छ, जसले
सुरुदेखि लिएर धेरै भक्ति गरेको छ, उसको बुद्धिमा नै यो ज्ञान बस्छ। अहिले पनि
देवताहरूका धेरै भक्त छन्। आफ्नो गर्धन थाप्नको लागि पनि तयार हुन्छन्। धेरै भक्ति
गर्नेहरूको पछाडि, थोरै भक्ति गर्नेहरू अल्झिइरहन्छन्। उनीहरूको महिमा गाउँछन्।
उनीहरूको कार्य त स्थुलमा सबै देखिन्छ। यहाँ तिमी गुप्त छौ। तिम्रो बुद्धिमा
सृष्टिको आदि-मध्य-अन्त्यको सारा ज्ञान छ। यो पनि बच्चाहरूलाई थाहा छ– बाबा हामीलाई
पढाउन आउनुभएको छ। अब फेरि हामी घर जान्छौँ। त्यहाँ सबै आत्माहरू आउँछन्, त्यो
हाम्रो घर हो। त्यहाँ शरीर नै हुँदैन भने आवाज कसरी हुन्छ। आत्माबिना शरीर जड बन्छ।
मानिसहरूको शरीरमा कति मोह हुन्छ! आत्मा शरीरबाट निस्कियो भने बाँकी ५ तत्त्व रहन्छ
त्यसमा पनि कति प्रेम हुन्छ। स्त्री पतिको चितामा चढ्नको लागि तयार हुन्छिन्। कति
मोह हुन्छ शरीरमा। अहिले तिमीले बुझेका छौ– नष्टोमोहा हुनुछ, सारा दुनियाँबाट। यो
शरीर त खतम हुनुछ। त्यसैले यसबाट पनि मोह निस्किनुपर्छ नि। तर धेरै मोह हुन्छ।
ब्राह्मणहरूलाई खुवाउँछन्। याद गर्छन् नि– फलानोको श्राद्ध हो। तर उसले कहाँ खान
सक्छ र। तिमी बच्चाहरू त अब यी कुराहरूबाट अलग हुनुपर्छ। ड्रामामा हरेकले आफ्नो
पार्ट खेल्छन्। यस समयमा तिमीलाई ज्ञान छ, हामी नष्टोमोहा बन्नुछ। मोहजित राजाको पनि
कथा छ नि, अरू कुनै मोहजित राजा हुँदैनन्। यी कथाहरू त धेरै बनाएका छन् नि। त्यहाँ
अकालमा मृत्यु हुँदैन। त्यसैले सोध्ने कुरा पनि हुँदैन। यस समयमा तिमीलाई मोहजित
बनाउनुहुन्छ। स्वर्गमा मोहजित राजाहरू थिए, यथा राजा रानी तथा प्रजा त्यस्तै हुन्छन्।
त्यो हो नै नष्टोमोहाको राजधानी। रावण राज्यमा मोह हुन्छ। त्यहाँ त विकार हुँदैन,
रावण राज्य नै हुँदैन। रावणको राज्य समाप्त हुन्छ। रामराज्यमा के हुन्छ, केही पनि
थाहा छैन। बाबाबाहेक अरू कसैले यी कुरा बताउन सक्दैनन्। बाबा यो शरीरमा हुँदा पनि
देहीअभिमानी हुनुहुन्छ। लोन अथवा भाडामा भवन लिइयो भने त्यसमा पनि मोह हुन्छ।
भवनलाई राम्रोसँग सजाउँछन्, यसलाई त सजाउनुछैन किनकि बाबा त अशरीरी हुनुहुन्छ नि।
उहाँलाई कुनै पनि शृङ्गार आदि गर्ने अभ्यास नै छैन। उहाँको त अविनाशी ज्ञान
रत्नद्वारा बच्चाहरूलाई शृङ्गार्ने नै अभ्यास छ। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य
सम्झाउनुहुन्छ। शरीर त अपवित्र नै छ, यसलाई अर्को नयाँ शरीर मिलेपछि मात्र पवित्र
हुनेछ। यस समयमा त यो पुरानो दुनियाँ हो, यो खतम हुनुछ। यो कुरा पनि दुनियाँमा अरू
कसैलाई थाहा नै छैन। बिस्तारै थाहा हुनेछ। नयाँ दुनियाँको स्थापना र पुरानो
दुनियाँको विनाश– यो त बाबाको नै काम हो। बाबाले नै आएर ब्रह्माद्वारा प्रजा रचेर
नयाँ दुनियाँको स्थापना गरिरहनुभएको छ। तिमी नयाँ दुनियाँमा छौ? छैनौ, नयाँ दुनियाँ
स्थापना हुन्छ। त्यसैले ब्राह्मणहरूको टुपी पनि माथि हुन्छ। बाबाले सम्झाउनुभएको छ,
बाबाको सम्मुख आउँदा पहिला यो याद गर्नुछ– हामी ईश्वर बाबाको सम्मुख जान्छौँ।
शिवबाबा त निराकार हुनुहुन्छ। उहाँको सम्मुख हामी कसरी जाऔँ। त्यसैले उहाँ निराकारी
बाबालाई याद गरेर फेरि साकार बाबाको सम्मुख आउनुछ। तिमीलाई थाहा छ– उहाँ यसमा
बस्नुभएको छ। यो शरीर त पतित छ। शिवबाबाको यादमा नरही कुनै काम गरेमा पाप लाग्छ।
हामी शिवबाबाको पासमा जान्छौँ। फेरि अर्को जन्ममा अर्कै आफन्त हुनेछन्। त्यहाँ
देवताहरूको गोदमा जानेछौँ। यो ईश्वरीय गोद एक पटक मात्र मिल्छ। मुखले भन्छौ– बाबा
हामी हजुरका भइसक्यौँ। धेरै छन् जसले कहिल्यै देखेका पनि छैनन्। बाहिर हुन्छन्,
लेख्छन्– शिवबाबा हामी हजुरको गोदका बच्चा भइसकेका छौँ। बुद्धिमा ज्ञान हुन्छ।
आत्माले भन्छ– हामी शिवबाबाका बनिसकेका छौँ। यसभन्दा पहिला हामी पतितको गोदका थियौँ।
भविष्यमा पवित्र देवताको गोदमा जानेछौँ। यो जन्म दुर्लभ छ। हिरासमान तिमी यहाँ
सङ्गमयुगमा बन्छौ। सङ्गमयुग कुनै त्यो पानीको सागर र नदीहरूलाई भनिँदैन। रातदिनको
फरक छ। ब्रह्मपुत्र सबैभन्दा ठुलो नदी हो, जुन सागरमा मिल्छ। नदीहरू गएर सागरसम्म
पुग्छन्। तिमी पनि सागरबाट निस्केका ज्ञान नदी हौ। ज्ञान सागर शिवबाबा हुनुहुन्छ।
सबैभन्दा ठुलो नदी हो ब्रह्मपुत्र। यिनको नाम ब्रह्मा हो। सागरसँग यिनको कति मेल छ।
तिमीलाई थाहा छ– नदीहरू कहाँबाट निस्किन्छन्। सागरबाटै निस्किन्छन्, फेरि सागरमा
पुग्छन्। सागरबाट मीठो पानी खिच्छन्। सागरका बच्चाहरू फेरि सागरमा गएर मिल्छन्। तिमी
पनि ज्ञान सागरबाट निस्केका हौ, फेरि सबै त्यहाँ जानेछौ, जहाँ उहाँ रहनुहुन्छ, त्यहाँ
तिमी आत्माहरू पनि त्यहीँ रहन्छौ। ज्ञान सागर आएर तिमीलाई पवित्र मीठो बनाउनुहुन्छ।
आत्मा जुन नुनिलो बनेको छ, त्यसलाई मीठो बनाउनुहुन्छ। ५ विकाररूपी फोहोरी नुनिलोपन
तिमीबाट निस्किन्छ, त्यसपछि तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबाले धेरै
पुरुषार्थ गराउनुहुन्छ। तिमी कति सतोप्रधान थियौ, स्वर्गमा रहन्थ्यौ। तिमी बिल्कुल
फोहोरी बनेका छौ। रावणले तिमीलाई के बनाएको छ। भारतवर्षमा नै गायन छ– हिरासमान जन्म
अमूल्य।
बाबा भनिरहनुहुन्छ–
तिमी कौडीको पछाडि किन हैरान हुन्छौ। कौडी पनि धेरै कहाँ चाहिन्छ र। गरिबले तुरुन्तै
बुझ्छन्। धनवानले त भन्छन्– अहिले हाम्रो लागि यहीँ स्वर्ग छ। तिमी बच्चाहरूले
जान्दछौ– जति पनि मनुष्य मात्र छन्, ती सबैको यस समयमा कौडीसमान जन्म हो। हामी पनि
त्यस्तै थियौँ। अहिले बाबाले हामीलाई के बनाउनुहुन्छ। लक्ष्य-उद्देश्य त छ नि। हामी
नरबाट नारायण बन्छौँ। भारतवर्ष अहिले कौडीसमान कङ्गाल छ नि। भारतवर्षका मानिसहरूले
स्वयं कहाँ जान्दछन् र। यहाँ तिमी कति साधारण अबलाहरू छौ। कुनै ठुलो मानिस रहेछ भने
उसलाई यहाँ बस्ने मन हुँदैन। जहाँ ठुला ठुला मानिस, संन्यासी, गुरु आदि मानिसहरू
हुन्छन्, त्यहाँका ठुला ठुला सभाहरूमा जानेछन्। बाबा पनि भन्नुहुन्छ– म गरिब निवाज
हुँ। भनिन्छ– भगवानले गरिबको रक्षा गर्नुहुन्छ। अहिले तिमीलाई थाहा छ– हामी कति
धनवान थियौँ। अहिले फेरि बन्छौँ। बाबाले लेख्नु पनि हुन्छ– तिमी पदमापदमपति बन्छौ।
त्यहाँ मारामार हुँदैन। यहाँ त हेर, पैसाको पछाडि कति मारामार छ। घुस कति चल्छ। पैसा
त मानिसहरूलाई चाहिन्छ नि। तिमी बच्चाहरूले जान्दछौ– बाबाले हाम्रो खजाना भरपुर
गराइदिनुहुन्छ। आधाकल्पको लागि जति चाहिन्छ त्यति धन लेऊ, तर पुरुषार्थ पूरा गर।
हेलचक्र्याइँ नगर। भनिन्छ नि– बाबाको अनुसरण गर। बाबाको अनुसरण गरेमा गएर यिनीजस्तै
बन्नेछौ। नरबाट नारायण, नारीबाट लक्ष्मी, धेरै ठुलो परीक्षा हो। यसमा अलिकति पनि
हेलचक्र्याइँ गर्नुहुँदैन। बाबाले श्रीमत दिनुभएको छ भने फेरि त्यसमा चल्नुपर्छ।
काइदा कानुनको उल्लङ्घन गर्नुहुँदैन। श्रीमतबाट नै तिमी श्री बन्छौ। लक्ष्य धेरै
उच्च छ। आफ्नो दिनहुँको खाता राख। कमाइ गरियो कि नोक्सान पारियो? बाबालाई कति याद
गरियो? कतिलाई मार्ग बताइयो? अन्धाहरूको लट्ठी तिमी हौ नि। तिमीलाई ज्ञानको तेस्रो
नेत्र मिलेको छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबा मीठो हुनुहुन्छ, त्यसैगरी मीठो बनेर सबैलाई सुख दिनुछ। कुनै पनि गर्न
नहुने कार्य गर्नुछैन। उत्तमभन्दा उत्तम कल्याणको कार्य नै गर्नुछ।
२) कौडीको पछाडि
हैरान हुनुछैन। पुरुषार्थ गरेर आफ्नो जीवन हिरासमान बनाउनुछ। हेलचक्र्याइँ गर्नुछैन।
वरदान:–
निश्चयरूपी
पाउलाई अचल राख्ने सदा निश्चयबुद्धि निश्चित भव
सबैभन्दा ठुलो बिमारी
हो चिन्ता, यसको औषधि डाक्टरहरूसँग पनि छैन। चिन्ता गर्नेहरू जति प्राप्तिको पछाडि
दौडिन्छन्, त्यति नै प्राप्ति अगाडि दौडिन्छ। त्यसैले निश्चयको पाउ सदैव अचल
राख्नुछ। सदैव एक बल एक भरोसा– यो पाउ अचल छ भने विजय निश्चित छ। निश्चित विजयी
सदैव नै निश्चिन्त हुन्छन्। माया निश्चयरूपी पाउलाई हल्लाउनको लागि नै भिन्न भिन्न
रूपले आउँछ तर माया हल्लिए पनि तिम्रो निश्चयरूपी पाउ हल्लिएन भने निश्चिन्त रहने
वरदान मिल्नेछ।
स्लोगन:–
हरेकको
विशेषतालाई हेर्दै गयौ भने विशेष आत्मा बन्नेछौ।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।
तिमी गोप-गोपिनीहरूको
चरित्रको गायन गरिएको छ– बाबासँग सर्व-सम्बन्धको सुख लिनु र मग्न रहनु अथवा
सर्व-सम्बन्धको प्रेममा लवलीन रहनु। कोही अति स्नेहले मिल्छन् भने त्यस समयमा स्नेह
मिलनको यही शब्द हुन्छ– एकअर्कामा समाहित भयौँ वा दुवै मिलेर एक भयौँ। त्यसैले
बाबाको स्नेहमा समाहित हुनु अर्थात् बाबाको स्वरूप हुनु।