18.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– जसरी बाबा गाइड हुनुहुन्छ , त्यसरी नै गाइड बनेर सबैलाई घरको बाटो देखा उ नुछ , अन्धाको लट्ठी बन्नुछ ।”

प्रश्न:–
यो बनिबनाउ अनादि ड्रामाको रहस्य कुन हो, जुन तिमी बच्चाहरूलाई मात्र थाहा छ?

उत्तर:–
यो बनिबनाउ अनादि ड्रामा हो, यसमा न कुनै कलाकार थपिन सक्छ, न कुनै कम हुन सक्छ। मोक्ष कसैलाई पनि मिल्दैन। कसैले भन्छ– म यो आवागमनको चक्रमा आउँदै नआऊँ। बाबा भन्नुहुन्छ– हो, केही समयको लागि। तर पार्टबाट कोही पनि बिल्कुलै छुट्न सक्दैनन्। यो ड्रामाको रहस्य तिमी बच्चाहरूलाई मात्र थाहा छ।

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूलाई यो थाहा छ– भोलानाथ कसलाई भनिन्छ। तिमी सङ्गमयुगी बच्चाहरूले मात्र जान्न सक्छौ, कलियुगी मनुष्यले अलिकति पनि जान्दैनन्। ज्ञानको सागर एक बाबा हुनुहुन्छ, उहाँले नै सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सम्झाउनुहुन्छ। आफ्नो पहिचान दिनुहुन्छ। तिमी बच्चाहरूले अहिले बुझेका छौ, पहिला केही पनि थाहा थिएन। बाबा भन्नुहुन्छ– मैले नै आएर भारतवर्षलाई स्वर्ग बनाउँछु, बेहदको वर्सा दिन्छु। जुन वर्सा तिमीले अहिले लिइरहेका छौ। तिमीहरूले जान्दछौ– हामीले बेहदका बाबाबाट बेहद सुखको वर्सा लिइरहेका छौँ। यो बनिबनाउ ड्रामा हो, एउटा पनि कलाकार न थपिन सक्छ, न कम हुन सक्छ। सबैलाई आआफ्नो पार्ट मिलेको छ। मोक्ष कसैले पाउन सक्दैनन्। जो जो जुन धर्मका हुन्, फेरि त्यही धर्ममा जानेछन्। बौद्ध वा क्रिस्चियन आदिले हामी स्वर्गमा जाऔँ भनेर इच्छा गरे पनि जान सक्दैनन्। उनीहरूका धर्मस्थापक आएपछि मात्रै उनीहरूको पार्ट हुन्छ। यो तिमी बच्चाहरूको बुद्धिमा छ। सारा दुनियाँका मनुष्य मात्र यस समयमा नास्तिक छन् अर्थात् बेहदका बाबालाई चिन्दैनन्। मनुष्यले नै चिन्नेछन् नि। यो नाटकशाला मनुष्यको हो। हरेक आत्मा निर्वाणधामबाट आउँछ पार्ट खेल्न। फेरि पुरुषार्थ गर्छ निर्वाणधाममा जानको लागि। भनिन्छ– बुद्ध निर्वाण गए। तर बुद्धको शरीर त गएन, आत्मा गयो। तर बाबा सम्झाउनुहुन्छ, कोही पनि जाँदैनन्। नाटकबाट निस्कनै सक्दैनन्। मोक्ष पाउन सक्दैनन्। बनिबनाउ ड्रामा हो नि। कुनै मनुष्यले सम्झन्छन्– मोक्ष मिल्छ, त्यसैले पुरुषार्थ गरिरहन्छन्। जस्तै जैनीहरूले पुरुषार्थ गरिरहन्छन्, उनीहरूको आफ्नै रसमरिवाज छ, उनीहरूका आफ्ना गुरु हुन्छन्, जसलाई मान्छन्। बाँकी मोक्ष कसैलाई पनि मिल्दैन। तिमीलाई त थाहा छ– हामी पार्टधारी हौँ, यो ड्रामामा। हामी कहिले आयौँ, फेरि कसरी जानेछौँ, यो कसैलाई पनि थाहा छैन। जनावरले त जान्दैनन् नि। मनुष्यले नै भन्छन्– हामी कलाकारहरू पार्टधारी हौँ। यो कर्मक्षेत्र हो, यहाँ आत्माहरू रहन्छन्। त्यसलाई कर्मक्षेत्र भनिँदैन। त्यो त निराकारी दुनियाँ हो। त्यसमा कुनै खेलपाल (क्रीडा) हुँदैन, अभिनय हुँदैन। निराकारी दुनियाँबाट साकारी दुनियाँमा आउँछन् पार्ट खेल्न, जुन फेरि दोहोरिइरहन्छ। प्रलय कहिल्यै हुँदैन। शास्त्रहरूमा देखाउँछन्– महाभारत लडाइँमा यादव र कौरव मरे, बाँकी ५ पाण्डव बचे, उनीहरू पनि पहाडमा गएर गलेर मरे। बाँकी केही रहेन। यसबाट सम्झन्छन्– प्रलय भयो। यी सबै कुरा बसेर बनाएका हुन्, फेरि देखाउँछन्– समुद्रमा पिपलको पातमा एक बच्चा औँला चुस्दै आयो। अब यसबाट फेरि दुनियाँ कसरी पैदा हुन्छ। मनुष्यले जे जे सुन्छन्, त्यसलाई सत्य सत्य मानिरहन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– शास्त्रहरूमा पनि के के लेखिदिएका छन्। यी सबै भक्तिमार्गका शास्त्र हुन्। भक्तहरूलाई फल दिने एक भगवान बाबा मात्रै हुनुहुन्छ। कोही मुक्तिमा, कोही जीवनमुक्तिमा जानेछन्। हरेक पार्टधारी आत्माको पार्ट आउने बेला भएपछि फेरि त्यो आत्मा आउनेछ। यो ड्रामाको रहस्य तिमी बच्चाहरू बाहेक अरू कसैलाई थाहा छैन। भन्छन्– हामीले रचयिता र रचनालाई जान्दैनौँ। ड्रामाका कलाकार भएर पनि ड्रामाको आदि-मध्य-अन्त्य, अवधि आदिलाई जान्दैनन् भने बेसमझ भनिन्छ नि। सम्झाउँदा पनि बुझ्दैनन्। ८४ लाख जन्म हुन्छ भन्ने बुझ्नाले अवधि पनि लाखौँ वर्ष भनिदिन्छन्। अहिले तिमीले बुझेका छौ– बाबा, हामी आएर हजुरबाट कल्प कल्प स्वर्गको बादसाही लिन्छौँ। ५ हजार वर्ष पहिला पनि हजुरसँग भेटेका थियौँ, बेहदको वर्सा लिन। यथा राजा-रानी तथा प्रजा सबै विश्वका मालिक बन्छन्। प्रजाले पनि भन्नेछन्– हामी विश्वका मालिक हौँ। तिमी विश्वको मालिक बनेको बेलामा चन्द्रवंशी राज्य हुँदैन। तिमी बच्चाहरूले ड्रामाको सारा आदि-मध्य-अन्त्यलाई जान्दछौ। मनुष्यले भक्तिमार्गमा जसको पूजा गर्छन्, उनीहरूलाई पनि चिन्दैनन्। जसको भक्ति गर्नु पर्नेछ उनीहरूको जीवनी पनि जान्नुपर्छ। तिमी बच्चाहरूले अहिले सबैको जीवनी बाबाद्वारा जानेका छौ। तिमीहरू बाबाका बनेका छौ। तिमीहरूलाई बाबाको जीवनी थाहा छ। उहाँ बाबा पतित-पावन, लिबरेटर, गाइड हुनुहुन्छ। तिमीलाई पाण्डव भनिन्छ। तिमी सबैको गाइड बन्छौ, अन्धाको लट्ठी बन्छौ सबैलाई बाटो बताउनको लागि। जसरी बाबा गाइड हुनुहुन्छ, त्यसरी नै तिमी बच्चाहरू पनि गाइड बन्नुछ। सबैलाई बाटो देखाउनुछ। तिमी आत्मा, उहाँ परमात्मा हुनुहुन्छ, उहाँबाट बेहदको वर्सा मिल्छ। भारतवर्षमा बेहदको राज्य थियो, अहिले छैन। तिमी बच्चाहरूलाई थाहा छ– हामीले बेहदका बाबाबाट बेहद सुखको वर्सा लिन्छौँ अर्थात् मनुष्यबाट देवता बन्छौँ। हामी नै देवता थियौँ, फेरि ८४ जन्म लिएर शूद्र बनेका छौँ। बाबा आएर शूद्रबाट ब्राह्मण बनाउनुहुन्छ। यज्ञमा ब्राह्मण अवश्य चाहिन्छ। यो ज्ञान यज्ञ हो, भारतवर्षवर्षमा धेरै यज्ञ रच्छन्। यसमा खास गरी आर्य समाजीहरूले धेरै यज्ञ गर्छन्। अब यो त रुद्र ज्ञान यज्ञ हो, यसमा सारा पुरानो दुनियाँ स्वाहा हुनेछ। अब बुद्धिले काम लिनुपर्छ। कलियुगमा त धेरै मनुष्य छन्, यति सारा पुरानो दुनियाँ खतम हुनेछ। कुनै पनि चीज काममा आउनेछैन। सत्ययुगमा त फेरि सबै कुरा नयाँ हुनेछ। यहाँ त कति फोहोर छ। मनुष्य कस्ता फोहोरी हुन्छन्। धनवान् धेरै राम्रा राम्रा महलमा बस्छन्। बिचरा गरिब त फोहोरमा, झुपडीमा बस्छन्। अहिले यी झुपडीहरूलाई विनाश गरिदिन्छन्। उनीहरूलाई अर्को ठाउँ दिएर त्यो जमिन फेरि बेचिदिन्छन्। उठेनन् भने जबरजस्ती उठाउँछन्। गरिब धेरै दुःखी छन्, जो सुखी छन् उनीहरू पनि स्थायी सुखी छैनन्। यदि सुख हुन्थ्यो भने किन भन्थे– यो सुख काग विष्टासमान हो।

शिव भगवानुवाच, मैले यी माताहरूद्वारा स्वर्गको ढोका खोलिरहेको छु। माताहरूको शिरमाथि कलश राखिएको छ। उनीहरूले फेरि सबैलाई ज्ञान अमृत पिलाउँछन्। तर तिम्रो यो प्रवृत्तिमार्ग हो। तिमी हौ सच्चा सच्चा ब्राह्मण, त्यसैले सबैलाई ज्ञान चितामा बसाउँछौ। अहिले तिमी दैवी सम्प्रदाय बनिरहेका छौ। आसुरी सम्प्रदाय अर्थात् रावण राज्य। गान्धीले पनि भन्थे– रामराज्य होस्। बोलाउँछन्– हे पतित-पावन आउनुहोस्! तर आफूलाई पतित कहाँ सम्झन्छन् र? बाबाले बच्चाहरूलाई जगाउनुहुन्छ, तिमी घोर अन्धकारबाट उज्यालोमा आएका छौ। मनुष्यले त सम्झन्छन्– गङ्गा स्नान गर्नाले पावन बनिन्छ। गङ्गामा हरिद्वारको सारा फोहोर फाल्छन्। कतै फेरि त्यो फोहोर सारा खेतीमा लैजान्छन्। सत्ययुगमा यस्ता काम हुँदैनन्। त्यहाँ त अन्न अनगिन्ती हुन्छ। पैसा खर्च गर्नुपर्दैन। बाबा अनुभवी छन् नि। पहिला अन्न कति सस्तो थियो। सत्ययुगमा थोरै मनुष्य हुन्छन्, हरेक चीज सस्तो हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अहिले तिमी पतितबाट पावन बन्नुछ। युक्ति धेरै सहज बताउनुहुन्छ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। आत्मामा नै खाद मिसिएकाले खोटो बनेको छ। जो पारसबुद्धि थिए, उनै अब पत्थरबुद्धि बनेका छन्। तिमी बच्चाहरू अहिले बाबाको पासमा पत्थरनाथबाट पारसनाथ बन्न आएका छौ। बेहदका बाबाले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ, त्यो पनि सत्ययुगी विश्वको। यो हो कलियुगी विश्व। बाबा बसेर बच्चाहरूलाई पारसपुरीको मालिक बनाउनुहुन्छ। तिमीलाई थाहा छ– यहाँका यतिका महल, भवन आदि कुनै काममा आउनेछैनन्। सबै खतम हुनेछन्। यहाँ के राखिएको छ! अमेरिकासँग कति सुन छ! यहाँ त धेरथोर सुन जुन माताहरूको पासमा छ, त्यो पनि लिइरहन्छन् किनकि उनीहरूलाई त ऋणमा सुन दिनुछ। तिम्रो पासमा त्यहाँ सुनैसुन हुन्छ। यहाँ कौडी, त्यहाँ हीरा हुनेछन्। यसलाई भनिन्छ आइरन एज (कलीयुग) । भारतवर्ष नै अविनाशी खण्ड हो, यो खण्ड कहिल्यै विनाश हुँदैन। भारतवर्ष सबैभन्दा उच्चभन्दा उच्च छ। तिमी माताहरूले सारा विश्वको उद्धार गर्छौ। तिम्रो लागि अवश्य नयाँ दुनियाँ चाहिन्छ। पुरानो दुनियाँको विनाश हुनुपर्छ। कति बुझ्नुपर्ने कुरा छन्। शरीर निर्वाह अर्थ कामधन्दा आदि पनि गर्नुछ। छोड्नु केही पनि छैन। बाबा भन्नुहुन्छ– सबै कुरा गर्दागर्दै मलाई याद गरिराख। भक्तिमार्गमा पनि तिमीले म तिम्रो माशुक (प्रेमी) लाई याद गर्दै आएका छौ– हामीलाई आएर कालोबाट गोरो बनाउनुहोस्। उहाँलाई मुसाफिर (यात्री) भनिन्छ। तिमीहरू सबै मुसाफिर हौ नि। तिम्रो घर त्यो हो, जहाँ सबै आत्माहरू रहन्छन्।

तिमीले सबैलाई ज्ञान चितामा बसाउँछौ। सबैले हिसाबकिताब चुक्ता गरेर जानेछन्। फेरि नयाँ सिराबाट तिमी आउनेछौ, जति यादमा रहनेछौ त्यति पवित्र बन्नेछौ र उच्च पद पाउनेछौ। माताहरूलाई त फुर्सद हुन्छ। पुरुषहरूको बुद्धि कामधन्दा आदितिर चक्कर लगाइरहन्छ, त्यसैले बाबाले कलश पनि माताहरूमाथि राख्नुभएको छ। यहाँ त स्त्रीलाई भन्छन्– पति नै तिम्रो ईश्वर, गुरु सबै कुरा हुन्। तिमी उनकी दासी हौ। अहिले फेरि बाबाले तिमी माताहरूलाई कति उच्च बनाउनुहुन्छ। तिमी नारीहरूले नै भारतवर्षको उद्धार गर्छौ। कसै कसैले बाबासँग सोध्छन्– आवागमनबाट छुट्न सकिन्छ? बाबा भन्नुहुन्छ– हो, केही समयको लागि। तिमी बच्चाहरूले त आदिदेखि अन्त्यसम्म चौतर्फी पार्ट खेल्छौ। अरू जति पनि छन्, उनीहरू मुक्तिधाममा रहन्छन्। उनीहरूको पार्ट नै थोरै छ। उनीहरू त स्वर्गमा जाँदैनन्। आवागमनबाट मोक्ष त्यसलाई भनिन्छ जो पछाडि आए अनि गए। ज्ञान आदि त सुन्न सक्दैनन्। सुन्छन् उनीहरूले नै जसले सुरुदेखि अन्त्यसम्म पार्ट खेल्छन्। कसैले भन्छन्– हामीलाई त यही मन पर्छ। हामी त्यहीँ बसिरहौँ। यस्तो त हुन सक्दैन। ड्रामामा निश्चित छ, गएर अन्त्यमा आउनेछन् अवश्य। बाँकी सारा समय शान्तिधाममा रहन्छन्। यो बेहदको ड्रामा हो। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सच्चा सच्चा ब्राह्मण बनेर सबैलाई ज्ञान अमृत पिलाउनुछ। ज्ञान चितामा बसाउनुछ।

२) शरीर निर्वाह अर्थ कामधन्दा आदि सबै कुरा गर्दागर्दै पतितबाट पावन बन्नको लागि बाबाको यादमा रहनुछ र सबैलाई बाबाको याद दिलाउनुछ।

वरदान:–
विशेषताहरूको दानद्वारा महान् बन्ने महादानी भव

ज्ञान दान त सबैले गर्छन् तर तिमी विशेष आत्माहरूले आफ्ना विशेषताहरूको दान गर्नुछ। जोसुकै तिम्रो सामुन्ने आए पनि उसले तिमीबाट बाबाको स्नेहको अनुभव गरोस्, तिम्रो अनुहारबाट बाबाको चित्र र चालचलनबाट बाबाको चरित्र देखियोस्। तिम्रा विशेषताहरू देखेर उसले विशेष आत्मा बन्ने प्रेरणा प्राप्त गरोस्, यस्तो महादानी बन्यौ भने आदिदेखि अन्त्यसम्म, पूज्यपनमा पनि र पुजारीपनमा पनि महान् रहनेछौ।

स्लोगन:–
सदा आत्म अभिमानी रहने नै सबैभन्दा ठुलो ज्ञानी हो।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।

जो सदा बाबाको यादमा लवलीन रहेर मैपनको त्याग वृत्तिमा रहन्छन्, उनीहरूबाट नै बाबा देखिनुहुन्छ। तिमी बच्चाहरू ज्ञानको आधारमा बाबाको यादमा समाहित भयौ भने यो समाहित हुनु नै लवलीन स्थिति हो। जब प्रेममा लीन हुन्छौ अर्थात् लगनमा मग्न हुन्छौ, तब बाबासमान बन्छौ।