18.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– पतितपावन बाबाको श्रीमतबाट तिमी पावन बन्छौ त्यसैले तिमीलाई पावन दुनियाँको राज्य भाग्य मिल्छ , आफ्नो मतमा पावन बन्नेहरूलाई कुनै प्राप्ति हुँदैन।”

प्रश्न:–
बच्चाहरूले सेवामा विशेष कुन कुराको ध्यान राख्नुपर्छ?

उत्तर:–
सेवामा जाँदा कहिल्यै सानोतिनो कुरामा एकअर्कासँग नरिसाऊ अर्थात् नाराज नहोऊ। आपसमा मनमुटावमा आउँछौ (नुनपानी हुन्छौ), कुरा गर्दैनौ भने डिससर्भिसको निमित्त बन्छौ। कतिपय बच्चाहरू त बाबासँग पनि रिसाउँछन्। उल्टो कर्म गर्न थाल्छन्। फेरि यस्ता बच्चाहरूको एडप्सनको अधिकार नै रद्द हुन्छ।

ओम् शान्ति ।
पतितपावन बाबा, जो बच्चाहरू पावन बन्छन् उनीहरूलाई बसेर सम्झाउनुहुन्छ। पतित बच्चाहरूले नै पावन बनाउने बाबालाई पुकार्छन्। ड्रामा प्लान पनि भन्छन्, रावण राज्य भएको कारण सबै मानिस पतित छन्। पतित तिनलाई भनिन्छ जो विकारमा जान्छन्। यस्ता धेरै छन् जो विकारमा जाँदैनन्। ब्रह्मचारी रहन्छन्। सम्झन्छन् हामी निर्विकारी छौँ, जसरी पादरीहरू छन्, मुल्लाकाजी छन्, बौद्ध पनि हुन्छन् जो पवित्र रहन्छन्। उनीहरूलाई पवित्र कसले बनायो? उनीहरू आफै बनेका हुन्। दुनियाँमा धेरै यस्ता धर्महरूमा छन् जहाँ विकारमा जाँदैनन्। तर उनीहरूलाई पतितपावन बाबाले त पावन बनाउनुहुन्न नि, त्यसैले उनीहरू पावन दुनियाँका मालिक बन्न सक्दैनन्। उनीहरू पावन दुनियाँ शान्तिधाममा जान सक्दैनन्। संन्यासीहरूले पनि ५ विकारलाई छोडिदिन्छन्। तर उनीहरूलाई संन्यास गरायो कसले? पतितपावन परमपिता परमात्माले त संन्यास गराउनु भएको होइन नि! पतितपावन बाबा बाहेक अरूबाट त यसमा सफलता हुन सक्दैन। पावन दुनियाँ शान्तिधाममा जान सक्दैनन्। यहाँ त बाबा आएर तिमीलाई पावन बन्ने श्रीमत दिनुहुन्छ। सत्ययुगलाई भनिन्छ निर्विकारी दुनियाँ (वाइसलेस वर्ल्ड)। यसबाट सिद्ध हुन्छ, सत्ययुगमा आउनेहरू पवित्र अवश्य हुन्छन्। सत्ययुगमा पनि पवित्र थिए, शान्तिधाममा पनि आत्माहरू पवित्र हुन्छन्। यो रावणराज्यमा छन् नै सबै पतित। पुनर्जन्म त लिनु नै छ। सत्ययुगमा पनि पुनर्जन्म लिन्छन्, तर विकारबाट होइन। त्यो त सम्पूर्ण निर्विकारी दुनियाँ हो। हुन त त्रेतामा २ कला कम हुन्छन् तर त्यसलाई विकारी युग भनिँदैन। भगवान् श्रीराम, भगवती श्रीसीता भन्छन् नि! १६ कलाबाट फेरि १४ कला भनिन्छ। चन्द्रमाको पनि यस्तै हुन्छ नि! त्यसैले यसबाट सिद्ध हुन्छ पतितपावन बाबा आएर पावन नबनाउँदासम्म मुक्ति-जीवनमुक्तिमा कोही जान सक्दैनन्। बाबा नै मार्गदर्शक (गाइड) हुनुहुन्छ। यो दुनियाँमा पवित्र त धेरै छन्। संन्यासीहरूलाई पनि पवित्रताको कारण मान्यता हुन्छ। तर तिनीहरू बाबाबाट पवित्र बन्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ, हामीलाई पावन बनाउने निराकार परमपिता परमात्मा हुनुहुन्छ। उनीहरू त आफै आफ्नो मतमा पवित्र बन्छन्। तिमी बाबाबाट पवित्र बन्छौ। पतितपावन बाबाद्वारा नै पावन दुनियाँको वर्सा मिल्छ।

बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! काम तिम्रो महादुस्मन हो, यसमाथि विजय प्राप्त गर, आत्माहरू गिर्छन् पनि यसैमा। यस्तो कहिल्यै लेख्दैनन्, हामी रिसायौँ अनि कालो मुख पारिदियौँ। कामको लागि नै लेख्छन्, हामीले कालो मुख पारिदियौँ। गिरेकाछौँ। यी कुराहरू तिमी बच्चाहरूलाई नै थाहा छ, दुनियाँलाई थाहा छैन। ड्रामा अनुसार जो आएर ब्राह्मण बन्नु छ, उनीहरू आउँदै जानेछन्। अरू सतसङ्गहरूमा त कुनै लक्ष्य उद्देश्य (एम अब्जेक्ट) नै छैन। शिवानन्द आदिका अनुयायीहरू त धेरै छन् तर उनीहरूमध्ये पनि कोही कोहीले मात्र संन्यास लिन्छन् होला। गृहस्थीले त लिँदैनन्। बाँकी घरबार छोड्नेहरू धेरै कम निस्कन्छन्। संन्यासी बन्छन् फेरि पनि पुनर्जन्म लिनुपर्छ। शिवानन्दको लागि कहाँ भन्छन्, ज्योति ज्योतिमा समाहित भए। तिमीले बुझेका छौ, सबैको सद्गतिदाता बाबा नै हुनुहुन्छ, उहाँ नै मार्गदर्शक हुनुहुन्छ। मार्गदर्शकबिना कोही जान सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ, हाम्रो बाबा, बाबा पनि हुनुहुन्छ, नलेजफुल पनि हुनुहुन्छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सारा मनुष्य सृष्टिको आदि-मध्य-अन्त्यको नलेज त बीजलाई नै हुन्छ नि! फादर त सबैले भन्छन् नि! तिमी बच्चाहरूलाई त थाहा छ, हाम्रो परमपिता परमात्मा (गड फादर) एक मात्र हुनुहुन्छ भने परमपितालाई नै सबैमाथि दया पनि त लाग्छ नि! कति धेरै मानिस छन्, कति जीवजन्तु छन्। त्यहाँ मानिस थोरै हुन्छन् भने जीवजन्तु पनि थोरै हुन्छन्। सत्ययुगमा यस्तो फोहोर हुँदैन। यहाँ त अनेक प्रकारका कति रोग आदि निस्कन्छन्, जसको लागि फेरि नयाँ औषधिहरू निस्कन्छन्। ड्रामा प्लान अनुसार अनेक प्रकारका सीप (हुनर) निकालिहरन्छन्। ती सबै मानिसका सीप हुन्। पारलौकिक बाबाको सीप के हो? बाबाको लागि भन्छन्, हे पतितपावन आएर हाम्रो आत्मालाई पावन बनाउनुहोस्! शरीर पनि पावन बनाउनुहोस्!, भन्छन् पतितपावन, दुःखहर्ता, सुखकर्ता, एकलाई नै बोलाउँछन् नि! आआफ्नो भाषामा याद अवश्य गर्छन्। मानिसहरू जीवनको अन्तिम क्षणमा आइपुगे भने पनि भगवानलाई याद गर्छन् किनकि अरू कसैले सहारा दिँदैन भन्ने सम्झन्छन्, त्यसैले परमपिता परमात्मा (गड फादर) लाई याद गर्न भन्छन्। क्रिस्चियनले पनि भन्छन् परमपिता परमात्मालाई याद गर। क्राइस्टलाई याद गर भन्दैनन्। क्राइस्टभन्दा माथि परमात्मा (गड) हुनुहुन्छ भन्ने जान्दछन्। सबैको परमात्मा त एक हुनुहुन्छ नि! अहिले तिमी बच्चाहरूलाई थाहा छ, मृत्युलोक के हो, अमरलोक के हो! यो कुरा दुनियाँमा अरू कसैलाई थाहा छैन। उनीहरूले त भन्छन् स्वर्ग नर्क सबै यहाँ नै छ। कोही कोहीले सत्ययुग थियो, देवताहरूको राज्य थियो भन्ने सम्झन्छन्। अहिलेसम्म पनि कति नयाँ नयाँ मन्दिर बन्छन्। तिमी बच्चाहरूलाई थाहा छ, एक बाबाबाहेक अरू कसैले पनि हामीलाई पावन बनाएर फर्काएर आफ्नो घर लैजान सक्दैनन्। तिम्रो बुद्धिमा छ, हामी आफ्नो स्विट होममा गइरहेका छौँ। बाबाले हामीलाई फर्काएर लैजानको लागि लायक बनाइरहनुभएको छ। यो कुरा स्मृतिमा रहनुपर्छ।

बाबा सम्झाउनुहुन्छ, प्यारा बच्चाहरू! तिमीले यति धेरै जन्म लिएका छौ। अहिले हामी आएर शूद्रबाट ब्राह्मण बनेका छौँ। फेरि ब्राह्मणबाट देवता बन्नु छ, स्वर्गमा जानु छ। अहिले सङ्गम हो। विराट रूपमा ब्राह्मणहरूको टुपी प्रसिद्ध छ। हिन्दुहरूको लागि पनि टुपी निसानी हुन्छ। मानिस त मानिस नै हुन्। खालसा (सिख धर्मको एक पन्थ), मुसलमान आदि यस्ता बन्छन् जुन तिमीहरूलाई थाहा पनि हुँदैन यिनीहरू को हुन्? बाँकी कोही चिनियाँ हुन्, अफ्रिकन हुन्, उनीहरूको विषयमा थाहा हुन्छ। उनीहरूको अनुहार नै भिन्नै हुन्छ। क्रिस्चियनहरूको सम्बन्ध (कनेक्सन) भारतसँग छ, त्यसैले यी क्रिस्चियनहरूले स्वर्ग आदिको विषयमा भारतवर्षवासीबाट सिकेका छन्। धर्महरूमा कति विविधता (भेराइटी) छ। उनीहरूको रीतरिवाज, पहिरन सबै भिन्नै छ। अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ, हामीले सत्ययुगको स्थापना गरिरहेका छौँ। त्यहाँ अरू कुनै धर्म थिएन। अहिले त सबै विविध (भेराइटी) धर्मका आत्माहरू उपस्थित छन्। अब अन्त्यमा अरू कुन धर्म स्थापन गर्छन्। हो, नयाँ आत्माहरू पावन हुन्छन्, त्यसैले कुनै नयाँ आत्मा आयो भने केही न केही त्यो आत्माको महिमा भइरहन्छ। विवेकले भन्छ, जो पछाडि आउँछन् उनीहरूलाई अवश्य पहिला सुख मिल्छ। महिमा पनि हुन्छ फेरि दुःख पनि हुन्छ। उनीहरूको हुन्छ नै एक जन्म। जसरी तिमीहरू सुखधाममा धेरै रहन्छौ, उनीहरू फेरि शान्तिधाममा धेरै रहन्छन्। अन्त्यसम्म धेरै वृद्धि हुन्छ। वृक्ष ठुलो छ नि! यतिबेला मानिसहरू (जनसङ्ख्या) को कति वृद्धि भइरहेकोछ, त्यसैले यो जनसङ्ख्या वृद्धिलाई बन्द गर्ने उपाय निकाल्छन्। तर यसबाट केही हुन सक्दैन। तिमीलाई थाहा छ, ड्रामा प्लान अनुसार वृद्धि अवश्य हुनु नै छ । नयाँ पातहरू आउँदै जान्छन् फेरि हाँगाहरू आदि निस्कन्छन्। कति विविधता (भेराइटी) छ। अहिले बच्चाहरूलाई थाहा छ, हामी अरू कुनै सम्बन्धमा (कनेक्सनमा) छैनौँ। बाबाले नै हामीलाई पावन बनाउनुहुन्छ र सृष्टिको आदि-मध्य-अन्त्यको समाचार सुनाउनुहुन्छ। तिमीले पनि उहाँलाई नै बोलाउँछौ, हे पतितपावन आएर हामीलाई पावन बनाउनुहोस्! त्यसैले दुनियाँ अवश्य पतित हुनेछ। यो पनि हिसाब हो। सत्ययुगमा थोरै मानिस रहन्छन्। कलियुगमा कति धेरै मानिस छन्, तिमी बच्चाहरूले पनि सम्झाउनु छ। बाबाले हामीलाई पढाउनुहुन्छ, यो पुरानो दुनियाँको अब विनाश हुन्छ। स्थापना बाबाले नै गर्नुहुन्छ। भगवानुवाच मैले स्थापना गराउँछु। विनाश त ड्रामा अनुसार हुन्छ। भारतभूमिमा नै ती चित्रहरू पनि छन्। ब्रह्माद्वारा बनेका ब्रह्मामुख वंशावली ब्राह्मण हेर कति छन्। ती हुन् कोख वंशावली ब्राह्मण। तिनीहरूले त बाबालाई चिन्दै चिन्दैनन्। तिमीलाई अब हौसला आएको छ। तिमीलाई थाहा छ, अब कलियुग विनाश भएर सत्ययुग आउनु छ। यो राजस्व अश्वमेध अविनाशी रुद्र ज्ञान यज्ञ नै हो। यसमा पुरानो दुनियाँको आहुति पर्नु छ। अर्को त कुनै आहुति छैन। बाबा भन्नुहुन्छ– मैले सारा सृष्टिमा यो राजस्व अश्वमेध यज्ञ रचेको छु। सारा भूमिमा रचेको छु। यज्ञ कुण्ड हुन्छ नि! यसमा सारा दुनियाँ स्वाहा हुनेछ। यज्ञ कुण्ड बनाउँछन्। यो सारा सृष्टि यज्ञ कुण्ड बनेको छ। यो यज्ञ कुण्डमा के हुनेछ? सबै यसमा खलास हुनेछन्। यो कुण्ड पवित्र नयाँ हुनेछ, यसमा फेरि देवताहरू आउनेछन्। समुद्र चारैतिर रहि नै रहने छ, सारा दुनियाँ नयाँ हुनेछ। उथलपुथल त धेरै हुनेछ। यस्तो कुनै ठाउँ हुँदैन जुन कसैको नहोस्। सबैले भन्छन् यो मेरो हो। अब मेरो मेरो भन्ने मानिसहरू सबै खतम हुनेछन्। बाँकी मैले तिमीहरू जसलाई पवित्र बनाउँछु, तिमीहरू थोरै मात्रै सारा दुनियाँमा रहनेछौ। पहिला सुरुमा आदि सनातन देवीदेवता धर्म हुनेछ। यमुना नदीको किनारमा तिमीहरूको राज्य हुनेछ। यी सबै कुराहरू तिम्रो बुद्धिमा बस्नुपर्छ, तिमीहरूलाई खुसी हुनुपर्छ। मानिसहरू बसेर एकअर्कालाई कथा सुनाइरहन्छन् नि! यो पनि सत्यनारायणको कथा हो, यो बेहदको कथा हो। यी कुराहरू तिम्रो बुद्धिमा मात्रै छन्। तिमीहरूमध्ये पनि जो राम्रा राम्रा सेवाधारी छौ, तिमीहरूकै बुद्धिमा धारणा हुन्छ, झोली भरिन्छ, दान दिइरहन्छौ, त्यसैले भन्छन् धन दिएर धन घट्दैन। दान दिएमा धेरै फाइदा हुन्छ भन्ने सम्झन्छन्। तिम्रो त यो अविनाशी धन हो। अहिले धन दिए धन घट्दैन, जति दान दिन्छौ त्यति नै खुसी हुन्छौ। मुरली सुन्ने बेलामा कोही कोहीको मानौँ शिर झुलिरहन्छ। कोही त अस्थिरजस्तै भएर बसेका हुन्छन्। बाबाले यति राम्रा राम्रा प्वइन्टहरू सुनाउनुहुन्छ त्यसैले सुन्ने बेलामा स्वतः शिर हल्लिन्छ। यहाँ बच्चाहरू आउँछौ सामुन्ने बसेर बाबाबाट रिफ्रेस हुन। बाबा बसेर कसरी युक्तिले ज्ञानका प्वइन्टहरू सुनाउनुहुन्छ। तिमीलाई थाहा छ भारतवर्षमा देवीदेवताहरूको राज्य थियो। भारतवर्षलाई स्वर्ग भनिन्छ। अहिले त नर्क छ। नर्क परिवर्न भएर स्वर्ग हुनेछ, बाँकी यति सबैको विनाश हुनेछ। तिम्रो लागि त स्वर्ग मानौँ हिजोको कुरा हो। हामीले हिजो राज्य गर्थ्यौँ, अरू कसैले यसरी भन्न सक्दैन। भन्छन् पनि, क्राइस्टभन्दा यति वर्ष पहिला स्वर्ग थियो, त्यतिबेला कुनै अर्को धर्म थिएन। द्वापरदेखि सबै धर्म आउँछन्। यो धेरै सहज कुरा हो। तर मानिसहरूको बुद्धि यतातीर छैन जसबाट बुझ्न सक्छन्। पतितपावन आउनुहोस् भनेर बोलाउँछन् पनि त्यसैले आएर अवश्य पतितबाट पावन बनाउनुहुन्छ नि! यहाँ त कोही पावन हुन सक्दैन। सत्ययुगलाई निर्विकारी दुनियाँ भनिन्छ। अहिले त विकारी दुनियाँ हो। मुख्य कुरा पवित्रताको हो। यसको लागि तिमीले कति मेहनत गर्नुपर्छ। तिमीलाई थाहा छ, आजको दिनसम्म जे जति वितेर गयो त्यो ड्रामा अनुसार नै भएको हो भनिन्छ। यसमा हामीले कसैलाई नराम्रो भन्न सक्दैनौँ। जेजति हुन्छ, ड्रामामा पहिल्यै निश्चित छ। बाबाले अन्तिम समयको लागि सम्झाउनुहुन्छ, सेवामा यस्ता यस्ता कर्म नगर। नत्र ईश्वरीय सेवा विपरीत कार्य (डिससर्भिस) हुन्छ। बाबाले नै त बताउनुहुन्छ नि! तिमी आपसमा मनमुटावमा आएका (नुनपानी भएका) छौ। सम्झन्छन् हामी मनमुटावमा आएका छौँ, एकअर्कासँग मिल्दैनन् कुरा गर्दैनन्, फेरि कसैले केही भन्यो भने एकदम रिसाउँछन्। शिवबाबालाई भुल्छन्, त्यसैले सम्झाइन्छ, सदैव शिवबाबालाई याद गर। बाबाले तिमी बच्चाहरूलाई सावधानी दिनुहुन्छ। यस्ता किसिमका काम गरेमा दुर्गति हुन्छ। तर तकदिरमा छैन भने बुझ्दै बुझ्दैनन्। शिवबाबा जसबाट वर्सा मिल्छ, उहाँसँग पनि रिसाउँछन्। ब्राह्मणीसँग पनि रिसाउँछन्, यिनीसँग पनि रिसाउँछन्। फेरि कहिल्यै क्लासमा आउँदैनन्। शिवबाबासँग त कहिल्यै रिसाउनुहुँदैन नि! उहाँको मुरली त पढ्नुपर्छ नि! याद पनि उहाँलाई गर्नु छ। बाबा भन्नुहुन्छ नि- प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर मलाई याद गरेमा तिम्रो सद्गति हुनेछ। देह अभिमानमा आएमा देहधारीहरूसँग रिसाउँछन्। वर्सा त हजुरबुवाबाट मिल्छ। बाबाको बनेपछि हजुरबुवाको वर्सा मिल्छ। बाबालाई नै छोडपत्र दियौ भने वर्सा कसरी मिल्छ। ब्राह्मण कुलबाट निस्केर शूद्र कुलमा गयौ भने वर्सा समाप्त हुन्छ। एडप्सनको अधिकार नै रद्द हुन्छ। तैपनि बुझ्दैनन्। माया यस्तो छ जसले एकदम अस्थिर बनाइदिन्छ। बाबालाई त कति प्यारले याद गर्नुपर्छ तर बाबाको याद गर्दैगर्दैनन्। म शिवबाबाको बच्चा हुँ, जसले मलाई विश्वको मालिक बनाउनुहुन्छ भन्ने कुरा याद गर्नुछ। बाबाले अवश्य भारतभूमिमा नै जन्म लिनुहुन्छ। शिवजयन्ती मनाउँछन् नि! विश्वको इतिहास-भूगोल रिपिट हुन्छ त्यसैले पहिला सुरुमा शिवबाबा नै आएर स्वर्ग रच्नुहुन्छ। तिमीलाई थाहा छ, हामीलाई स्वर्गको बादसाही मिलिरहेको छ। बाबा नै आएर स्वर्गवासी बनाउनुहुन्छ। नयाँ दुनियाँको लागि राजयोग सिकाउनुहुन्छ। तिमी गएर नयाँ दुनियाँमा राज्य चलाउँछौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बुद्धिरूपी झोली अविनाशी ज्ञान रत्नले भरपुर बनाएर फेरि दान गर्नु छ। दान गरेमा नै खुसी हुनेछ। ज्ञान धन बढ्दै जानेछ।

२) कहिल्यै पनि आपसमा रिसाएर मनमुटावमा आउनुहुँदैन। धेरै प्यारले बाबालाई याद गर्नु छ र मुरली सुन्नु छ। अस्थिर बन्नुछैन।

वरदान:–
एक बाबासँग योग लगाएर सबैको सहयोग प्राप्त गर्ने सच्चा योगी र सहयोगी भव

जो जति योगी छ त्यति उसलाई सबैको सहयोग अवश्य प्राप्त हुन्छ। योगीको कनेक्सन अथवा स्नेह बीजसँग हुने भएका हुनाले स्नेहको प्रतिफल (रिटर्न) मा सबैको सहयोग प्राप्त हुन्छ। त्यसैले बीजसँग योग लगाउने र बीजलाई स्नेहको पानी दिनेले सर्व आत्माहरूद्वारा सहयोगरूपी फल प्राप्त गर्छ किनकि बीजसँग योग हुने भएका हुनाले उसको पूरै वृक्षसँग कनेक्सन हुन्छ।

स्लोगन:–
पुराना संस्कारहरूलाई मेरो भन्नु अर्थात् पुरुषार्थलाई फितलो बनाउनु हो।

अव्यक्त इसारा :– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

कहिल्यै पनि कसैलाई कुनै पनि प्रकारको सहयोग चाहियो भने तिमी दाताका बच्चाहरूले तिनीहरूलाई सहयोग देऊ। तर सबैको सहयोगी त्यतिबेला बन्नेछौ जुनबेला सबैको स्नेही बन्नेछौ। स्नेही बनेका छैनौ भने सबैको सहयोगी पनि बन्न सक्दैनौ, त्यसैले मनसा, वाचा, कर्मणा र सम्बन्धमा पनि सहयोगी र सफलतामूर्त बन।