21.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– अहिलेसम्म तिमी सुने सुनाएका कुराहरूमा चल्दै आयौ, अब बाबाले तिमीलाई सिधै ज्ञान सुनाएर आफूसमान ज्ञानवान बनाउनुहुन्छ।”

प्रश्न:–
राम्रा पुरुषार्थी बच्चाहरूका निसानीहरू तथा उनीहरूको अवस्थाको गायन के हो?

उत्तर:–
राम्रा पुरुषार्थी बच्चाहरूले– मातापितालाई पूरा पूरा अनुसरण गर्छन्। जीवनमा आफ्नो अवस्था देखेर आफैमाथि दया आउँछ। यसमा पूरा पूरा अटेन्सन राख्छन्। अलिकति समय निकालेर भए पनि बाबाको यादमा अवश्य बस्छन्। उनीहरूको अवस्थाको गायन हो– अचल, अडोल, स्थिर। उनीहरूलाई नै महावीर भनिन्छ।

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
भक्तिमार्गमा दुनियाँले केवल यो गीत गाउँछ। तिमी बच्चाहरूले अहिले बुझेका छौ– भक्तिमार्गमा हामीले पनि यो गीत गाउँथ्यौँ। अब उही भोलानाथ तिम्रो सामुन्ने हुनुहुन्छ, भोलानाथ शब्द भक्तिमार्गको हो। ज्ञानमार्गको शब्द हो शिवबाबा। तिमीले बुझेका छौ, अनादि बनीबनाउ ड्रामा प्लान अनुसार अब सङ्गमयुगमा बाबा आएर हामीबाट यो पुरुषार्थ गराउनु नै छ। कल्प कल्प पुरुषार्थ गराउँदै आउनुभएको छ। तिमी बच्चाहरूले कति समय भक्ति गरेका छौ, यो पनि सिद्ध गरेर बताउनुहुन्छ। जसले सुरुमा भक्ति सुरु गरेका हुन् उनीहरू नै आएर ज्ञान लिन्छन् र फेरि सूर्यवंशी बन्छन्। सत्ययुगमा केवल एक लक्ष्मीनारायण त आउँदैनन्। उनीहरूको घराना पनि हुन्छ नि! त्यसलाई भनिन्छ दैवीवर्ण। भारतवर्षमा दैवीवर्ण थियो। अहिले आसुरीवर्ण छ। यो सङ्गम हो। अब आसुरीबाट दैवीवर्णमा जानु छ। अवश्य यो महाभारत लडाइँ पनि त्यही हो जुन गायन गरिएको छ। केवल नाम शिवको सट्टा श्रीकृष्णको राखिदिएका छन्। एउटा गीता खण्डन भयो भने सबै शास्त्र खण्डन हुन्छन्। मूल कुरा गीताको हो। गीता पाठशालाहरू वा गीता भवन कति छन्! गीता ज्ञान सुन्ने पाठशाला। स्वयं सुनाउने व्यक्ति हुनुहुन्न। जो पहिला यहाँ थिए र अहिले छैनन्, फेरि उनीहरूको गायन चल्छ। बाबाले त बच्चाहरूलाई दिनहुँ धेरै प्यारले सम्झाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– बाबा प्यारको सागर हुनुहुन्छ। सबैलाई प्यारसँग सिकाउनुहुन्छ। बाबा कहिल्यै रिसाउनुहुन्न, सदैव प्यारले सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! तिमीहरू सतोप्रधान थियौ फेरि पुनर्जन्म लिँदै आएका हौ। तिमीहरू नै वास्तवमा देवीदेवता धर्मका हौ। यो पनि बताउनुहुन्छ। सुरुमा वर्सा लिन को आउँछन्? जसले कल्प पहिला लिएका छन्, उनीहरूले नै भन्छन्– बाबा हजुरबाहेक हामीलाई सहयोग गर्ने अरू कोही छैन। बाबा पनि सङ्गमयुग आएपछि मात्र हाम्रा गल्तीहरू माफ गरिदिनुहुन्छ। यो कुरा त बच्चाहरूलाई थाहा छ, रावण राज्य र रामराज्य यहाँ नै हुन्छ। रावणराज्य छ त्यसैले त रामराज्य चाहन्छन्। तिमीले शिवबाबा भनेपछि मात्र बुद्धि निराकारतिर नै जान्छ। निराकारको नै याद आउँछ। आत्माले नै बाबालाई पुकार्छ। यस्तो पनि होइन, परमात्माले बसेर सुन्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ– ड्रामा प्लान अनुसार पतितहरूलाई पावन बनाउनको लागि मात्र म शरीरमा आउँछु। यस्तो होइन, सबैको पुकार सुनेर आउँछु। भक्ति पूरा भएपछि म आउनु नै छ। यी बुझ्नुपर्ने कुराहरू हुन्। त्यो समय आउँछ, जुनबेला बच्चाहरूले पुकार्न थाल्छन्। यो त कतै लेखिएको छैन, बाबा कहिले आउनुहुन्छ? उनीहरूले कल्पको अवधि गलत लेखिदिएका छन्। यी चित्र घर घरमा हुनुपर्छ। जसलाई दिनहुँ हेर्नसक्छौ र याद गर्न सक्छौ– यी बाबा, यी दादा, यो वर्सा। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सतोप्रधान बन्नको लागि मलाई याद गरेमा खाद निस्कन्छ। यो युक्ति बाबाले नै सम्झाउनुहुन्छ। यी बाबाले पनि भन्नुहुन्छ– मैले पनि पुरुषार्थ गर्छु। बच्चाहरूले पनि एकअर्कालाई सावधान गराएर उन्नति गर्नु छ। यी चित्रहरूको ज्ञान धेरै राम्रो छ। शिवबाबाले ब्रह्माद्वारा स्थापना गरिरहनुभएको छ। सामुन्ने महाभारी महाभारत लडाइँ उपस्थित छ। यतिका अनेक धर्महरू विनाश हुन्छन्, त्यसको लागि लडाइँ अवश्य हुनुपर्छ। यी कुराहरू तिमी बच्चाहरूले भुल्नुहुँदैन। अवश्य अहिले कलियुगमा घोर अन्धकार छ। यहाँ कति धेरै मनुष्य छन्, अवश्य विनाश हुनु छ। सत्ययुगमा एक धर्म हुन्छ। अवश्य ८४ जन्मको चक्कर पनि उनीहरूले नै लगाएका छन्। यो कुरा त सहज छ। बाँकी यति सबै धर्महरूको विनाश अवश्य हुन्छ। फेरि एक धर्मको स्थापना अवश्य भइरहेको छ। सबैको सद्गतिदाता एक बाबा हुनुहुन्छ। बाबाबाट नै बच्चाहरूलाई वर्सा मिल्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले जुन यो पढाइ पढ्छौँ त्यो भविष्य २१ जन्मको लागि पढ्छौँ। भगवानुवाच– मैले तिमीहरूलाई पढाएर २१ जन्मको लागि स्वर्गको मालिक बनाउँछु। सूर्यवंशी, चन्द्रवंशी घरानाको पनि अवश्य स्थापना हुन्छ। जसले जति पुरुषार्थ गर्छ, त्यति उच्च पद पाउँछ, त्यसैले शिवबाबा भन्नुहुन्छ– यी मातापितालाई अनुसरण गर। यिनीहरूलाई सूक्ष्मवतनमा र वैकुण्ठमा पनि देख्छौ। आफूलाई पनि देख्छौ, हामी पनि महाराजा, महारानी बन्छौँ। वैकुण्ठको पनि साक्षात्कार हुन्छ। मान्छन् पनि अवश्य भारतवर्ष वैकुण्ठ थियो, श्रीकृष्णपुरी थियो। आज कंसपुरी छ, भोलि कृष्णपुरी हुन्छ। रात परिवर्तन भएर दिन हुनु छ। यो हो आधाकल्प बेहदको दिन र आधाकल्प बेहदको रात। अन्धकारमा नै ठक्कर खाइरहन्छन्। ब्रह्माको रात अर्थात् ब्राह्मणहरूको रात। फेरि तिमी ब्राह्मणबाट देवता बन्छौ। सत्ययुगमा ब्राह्मण हुँदैनन्, देवताहरू हुन्छन्।

यो पनि बच्चाहरूलाई थाहा छ, भारतवर्ष पवित्र राजस्थान थियो फेरि अपवित्र राजस्थान बनेको छ। भारतवर्ष सदैव राजस्थान रहेको छ। यहाँ सदैव राज्य चल्दै आउँछ र अरू धर्मका आत्माहरूको सुरुदेखि नै राज्य हुँदैन। भगवानले नै राज्य भाग्य स्थापना गर्नुहुन्छ। भगवानले नै आएर राजयोग सिकाउनुहुन्छ। उहाँ हुनुहुन्छ निराकार ज्ञानको सागर, सुखको सागर... तिमीलाई थाहा छ, बाबाबाट हामीलाई वर्सा मिलिरहेको छ। अवश्य हाम्रो पुरुषार्थमा ढिलाइ भएको छ। जति जसले पुरुषार्थ गर्छन्, जति बाटो बताउँछन्, त्यति उन्नति हुन्छ। बाबा भन्नुहुन्छ– म पितालाई याद गरेमा तिमी पतितबाट पावन बनेर पावन दुनियाँका मालिक बन्छौ, कति सहज छ। लौकिक मातापिता ज्ञानमा छन् भने बच्चाहरूलाई पनि आफूसमान बनाउनुपर्छ। मातापिताले सच्चा कमाइ गर्छन् भने आफ्ना बच्चाहरूलाई पनि सच्चा कमाइ गराउनुपर्छ। कुनै कुनै बच्चाहरू राम्रा हुन्छन्। भन्छन्, हामीले रुहानी पढाइ पढेर घर घरमा यो सन्देश दिइरहन्छौँ। बाबाले पनि भन्नुहुन्छ– ईश्वरीय सन्देशवाहक म नै हुँ, तिमीलाई सन्देश घर जाने दिन्छु। अरू धर्म स्थापकहरूले त केवल आएर आआफ्नो धर्म स्थापना गर्छन्। मैले सबैलाई सन्देश दिन्छु– अब फर्कर जानु छ। यो दुनियाँ अब बस्नलायक छैन। मलाई याद गर्छौ भने पावन बन्छौ। तिमी पावन थियौ फेरि रावणले तिमीलाई पतित बनाएको छ। म फेरि पावन बनाउन आएको छु। थोरै समयमा नै यी बम आदि चल्नेछन् त्यसपछि बुझ्नेछन् यो त्यही महाभारत लडाइँ हो। त्यसैले अवश्य भगवान पनि हुनुहुन्छ। तर उनीहरूले सम्झन्छन् गीताको भगवान श्रीकृष्ण हुन्। कति अन्योल छ। अन्योलमा नभएको भए भगवान आउनुपर्ने के आवश्यकता थियो। भक्तिमार्गलाई भुलभुलैयाको खेल भनिन्छ। अब बाबा भन्नुहुन्छ– मलाई याद गरेमा सबै भुलहरू समाप्त हुन्छन्। पहिले आफूलाई देह सम्झन्थ्यौ। अब आफूलाई देही सम्झन्छौ। यो सावधानी बाबाले नै दिनुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी बन। यहाँ तिमी बाबाको सामुन्ने बसेका छौ। त्यहाँ सेन्टरहरूमा शिवबाबाले यस्तो भन्नुहुन्छ भन्दै बच्चीहरू बसेर मुरली सुनाउँछन्। यहाँ त डाइरेक्ट बाबा भन्नुहुन्छ– म बसेर आत्माहरूसँग कुरा गर्छु। तिमी बच्चाहरूलाई थाहा छ, बाबाले यिनीद्वारा हामीलाई सम्झाइरहनुभएको छ। यो बडो कल्याणकारी मेला हो। बाबा भन्नुहुन्छ– निरन्तर मलाई याद गर। बाबाबाट हामीले स्वर्गको वर्सा लिनु छ। बाबा र स्वर्गलाई याद गर्नु छ। कुनै पनि विकर्म गर्नु छैन। विकर्म गरेमा सयगुणा बन्छ। विकर्म गराउने मायाले हो, त्यसमाथि विजय पाउनु छ त्यसैले हनुमान महावीरको कथा बनाइएको छ। तिमी हनुमान महावीर हौ नि! भन्छौ हामी त बाबाका बन्यौँ। हामीले मायासँग हार्न सक्दैनौँ। त्यसैले बाबालाई याद गर्दागर्दा सतोप्रधान, विकर्माजित बन्छौ। बनेनौ भने आफ्नो पद भ्रष्ट बनाउँछौ। जुन बच्चाहरू पुरुषार्थी हुन्छन् उनीहरूलाई जीवनमा आफ्नो अवस्था देखेर आफैमाथि दया आउँछ। जेसुकै भए पनि यादको यात्रामा रहन्छन्, अचल-अडोल-स्थिर रहन्छन्। विनाश त हुनु नै छ। सबैका काका, चाचा, मामा, गुरु, गोसाईं आदि सबै खतम हुन्छन्। बाबा सद्गुरु भन्नुहुन्छ– मैले तिमीहरूलाई साथै लैजान्छु। मनुष्य त बिलकलै अन्धकारमा छन्, तिमीलाई थाहा छ शिवबाबाले हामीलाई साथै लैजानुहुन्छ। भन्छन् नि– कालले खायो। तर मैले त तिमीलाई शान्तिधाममा लैजान्छु। आत्माले शरीर छोडेर जान्छ। आत्मालाई कालले लैजाँदैन, आत्मा आफै निस्कनुपर्छ। अब त म स्वयं आएको छु– तिमीलाई फर्काएर लैजान। बाबा कसैलाई मार्न आउनुभएको हो र? होइन। तिमीले पुरानो शरीर छोड्नु छ। आत्मा तमोप्रधानबाट सतोप्रधान हुनु छ। अब ५ तत्त्व पनि तमोप्रधान छन्, त्यसैले शरीर पनि त्यस्तै बन्छन्। त्यहाँ सतोप्रधान तत्त्वहरूबाट तिम्रा शरीर पनि गोरा बन्छन्।

बाबा भन्नुहुन्छ– मैले फेरि सत्ययुगी आदि सनातन देवीदेवता धर्म स्थापना गर्छु। तिमीले नै ८४ जन्म भोगेका छौ। तिमीले आफ्नो धर्मलाई भुलेका छौ र अरू कसैले आफ्नो धर्मलाई भुलेका छैनन्। तिमीलाई अहिले थाहा भएको छ, हामी वास्तवमा देवीदेवता धर्मका आत्माहरू त्यति उच्चबाट फेरि नीच कसरी बनेका हौँ। बाबा बसेर कल्प कल्प तिमीलाई नै सम्झाउनुहुन्छ। तिमीले फेरि अरूलाई सम्झाइरहन्छौ। अब ८४ को चक्र पूरा हुन्छ, विनाश सामुन्ने खडा छ। स्वर्गको मालिक बन्नको लागि आफूलाई योग्य बनाउनु छ। त्यस्तो उच्च बन्नु छ यादबाट। सवेरै उठेर बाबालाई याद गर। बाबा अदभूत हुनुहुन्छ– हजुर कसरी आउनुहुन्छ! कसरी हजुरले सामुन्ने कुरा गरिरहनुभएको छ। ती हुन् सुने सुनाएका भक्तिमार्गका कुराहरू। अब त हामी आत्माहरूलाई हजुर पिता मिल्नुभएको छ, आत्माहरूलाई पिता मिल्नुहुन्छ त्यसपछि बच्चाहरू आएर त्यो प्यारसँग मिल्छन्। बच्चाहरू पितासँग धेरै प्यारले मिल्छन्। यहाँ त उहाँ निराकार पिता गुप्त हुनुहुन्छ त्यसैले बाबा सदैव भन्नुहुन्छ– यिनी ब्रह्मासँग मिल्दा शिवबाबालाई याद गरेर मिल। मनुष्यले त केही पनि जान्दैनन्। तिमीहरूमध्ये पनि जसले जान्दछन्, तिनले पनि मेरो बनेर फेरि भुल्छन्। देह अभिमानमा आउँछन्। प्रतिज्ञा पनि गर्छन्– बाबा म हजुरको भइसकेको छु। चाहे मेल वा फिमेल, दुवैको आत्माले भन्छ। तर शरीरमा छ भने मेल पुरुषले भन्छ– हजुरको बनिसकेको छु। फिमेलले भन्छन्– म हजुरको बनिसकेकी छु। बाबा हामीले हजुरबाट पूरा वर्सा लिन्छौँ। पूरा याद गर्छौँ। यादबिना खिया निस्कन सक्दैन, तमोप्रधानबाट सतोप्रधान बन्न सक्दैनौँ। सत्ययुगमा तिमीलाई २१ जन्म अखण्ड, अटल, सुखशान्ति, सम्पत्तिको राज्य मिल्छ। स्वर्गको रचयिता बाबाले अवश्य आफैले वर्सा दिनुहुन्छ। गाया गर्छन् पनि परवाह छ पार ब्रह्ममा रहने परमपिता परमात्माको। उहाँ त एकैपटक आउनुहुन्छ। यी पनि बुझ्ने कुराहरू हुन् नि! कैयौँले त बुझ्दै बुझ्दैनन्, अलिकति ठुलो लडाइँ लाग्यो भने पछि गएर आँखा खुल्नेछ। वास्तवमा यो यज्ञ रचिएको हो। लडाइँ पनि हुन्छ। यस यज्ञको विषयमा कसैलाई थाहा नै छैन। विनाश नहोस् भनेर नै रुद्र ज्ञान यज्ञ रचिएको थियो। उनीहरूले फेरि शान्ति होस् भनेर यज्ञ रच्छन्। यो यज्ञ फेरि पनि रच्छन्। उनीहरूलाई यो थाहा छैन, विनाश हुन्छ त्यसपछि फेरि के बाँकी रहन्छ? अहिले तिमी बच्चाहरूले सारा विश्वको आदि-मध्य-अन्त्यलाई जानेका छौ। सबैको बेहदको जन्मको बेलीविस्तार (कहानी) लाई जानेका छौ। यस्तो कोही छैन, जसले भन्छ– हामीले परमपिता परमात्माको जीवन कहानी बताउँछौँ। सबैले परमात्मालाई नै बोलाउँछन् नि! घरी घरी याद गर्छन्। भन्छन् नि– भगवानले यो बच्चा दिनुभयो, यो गर्नुभयो। कोही कोहीले यो सम्झन्छन्– जसको वस्तु थियो, उहाँले लिनुभयो। यस्ता पनि कोही समझदार पुरुष हुन्छन्। अनेक प्रकारका मनुष्य छन्। अब तिमीलाई बाबा मिल्नुभएको छ त्यसैले बाबालाई नै याद गर्नु छ। यादबाट नै कमाइ हुन्छ। तिमीहरू विष्णुपुरीका मालिक बन्छौ। तिमीले सत्ययुगदेखि लिएर कलियुग अन्त्यसम्मको सारा चक्रलाई जानेका छौ। तिम्रो बुद्धिमा हुबहु यस्तो छ, जस्तो बाबाको बुद्धिमा छ त्यसैले उहाँलाई ज्ञानको सागर, नलेजफुल भनिन्छ। अहिले तिमीले बाबाबाट वर्सा लिइरहेका छौ। तिमी बच्चाहरू अचल स्थिर रहनुपर्छ। यस्तो नहोस्, माया आएर घरी घरी चञ्चल (डोलायमान) बनाउँछ। लज्जावती झार (छुईमुई) बन्नुहुँदैन। बाबालाई याद नगरेमा ओइलाउँछौ। तिमीले बाबालाई याद गर्ने पुरुषार्थ गरिरहेका छौ। समय नजिक आउनेछ, फेरि तिमीले देख्नेछौ हाम्रो पुरुषार्थ अब पूरा भयो। अब अन्तिम समय भयो। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) रुहानी पढाइ पढेर सच्चा कमाइ गर्नु र गराउनु छ। सबैलाई घर जाने सन्देश दिनु छ। अब कुनै पनि विकर्म गर्नु छैन।

२) सवेरै उठेर प्यारले बाबालाई याद गर्नु छ। सानातिना कुराहरूमा लज्जावती बन्नुछैन। आफ्नो अवस्था अचल अडोल बनाउनु छ।

वरदान:–
ज्ञा नको लाइट-माइटद्वारा आफ्नो भाग्यलाई जगाउने सदा सफलतामूर्त भव

जुन बच्चाहरूले ज्ञानको लाइट र माइटले आदि-मध्य-अन्त्यलाई जानेर पुरुषार्थ गर्छन्, उनीहरूलाई सफलता अवश्य प्राप्त हुन्छ। सफलता प्राप्त हुनु पनि भाग्यको निसानी हो। ज्ञानस्वरूप बन्नु नै भाग्यलाई जगाउने उपाय हो। ज्ञान केवल रचयिता र रचनाको मात्र होइन तर ज्ञानस्वरूप अर्थात् हर सङ्कल्प, हर शब्द र हरेक कर्ममा ज्ञानस्वरूप होऊ अनि सफलतामूर्त बन्छौ। यदि पुरुषार्थ सही हुँदा पनि सफलता देखिँदैन भने यही सम्झनुपर्छ– यो असफलता होइन, परिपक्वताको उपाय हो।

स्लोगन:–
न्यारा बनेर कर्मेन्द्रियहरूद्वारा कर्म गरायौ भने सहजै कर्मातीत स्थितिको अनुभव गर्न सक्नेछौ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

योगमा बस्दा सेकेन्डमा समाहित गर्ने शक्ति प्रयोग गर। सेवाका सङ्कल्प पनि समाहित हुन् यति शक्ति होस् जसले गर्दा बन्द भन्यो र बन्द भयो। फुल ब्रेक लागोस्, लुज ब्रेक होइन। एक सेकेन्डको सट्टा धेरै समय लाग्यो भने समाहित गर्ने शक्ति कमजोर रहेछ भनिन्छ।