23.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सङ्गमयुगमा तिमीलाई बाबाद्वारा असल बुद्धि र श्रेष्ठ मत मिल्छ , जसबाट तिमी ब्राह्मणबाट देवता बन्छौ।”

प्रश्न:–
तिमी बच्चाहरू कुन मस्तीमा रह्यौ भने चलन धेरै सभ्य हुन्छ?

उत्तर:–
तिमीलाई ज्ञानको मस्ती चढिरहनुपर्छ। ओहो! हामी भगवानको सम्मुख बसेका छौँ। हामी यहाँबाट जानेछौँ, गएर विश्वको मालिक, युवराज बन्नेछौँ। जब यस्तो मस्ती रहन्छ तब चलन स्वतः सभ्य हुनेछ। मुखबाट धेरै मीठा बोल निस्कनेछन्। आपसमा धेरै स्नेह रहनेछ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरू, रुहानी बच्चाहरू ब्राह्मण बनेर रुहानी बाबाबाट यो अवश्य बुझेका छन्– हामी सङ्गमयुगी ब्राह्मण हौँ। बाबाले हाम्रो बुद्धिको ताला खोल्नुभएको छ। अब हामीले बुझेका छौँ– यो सङ्गमयुग हो। जो पनि पतित भ्रष्टाचारी मानिसहरू छन्, उनीहरू नै फेरि पावन बनेर भविष्यमा पावन श्रेष्ठाचारी पुरुषोत्तम हुनेछन्। यी लक्ष्मी-नारायण कुनै समयमा त पुरुषार्थ गरेर पुरुषोत्तम बनेका हुन् नि। यिनीहरूको इतिहास अवश्य चाहिन्छ। यस्तो लक्ष्मी-नारायणको राज्य कहिले स्थापना भयो? न कलियुगमा, न सत्ययुगमा। स्वर्ग स्थापना हुने नै सङ्गममा हो। यति विस्तारमा कोही जाँदैनन्। तिमीलाई थाहा छ– यो सङ्गमयुग हो। कलियुगपछि सत्ययुग नयाँ दुनियाँ हुन्छ, त्यसोभए अवश्य सङ्गमयुग पनि हुन्छ। फेरि नयाँ दुनियाँमा नयाँ राज्य हुनेछ। बुद्धि चल्नुपर्छ। तिमीलाई थाहा छ– बाबाद्वारा हामीलाई असल बुद्धि र श्रीमत मिलिरहेको छ। भन्छन्– हे ईश्वर, यिनीहरूलाई सदैव सुमत अथवा असल मत दिनुहोस्। उहाँ सारा दुनियाँको पिता हुनुहुन्छ। सबैलाई असल मत दिने हुनुहुन्छ। सङ्गमयुगमा आएर आफ्ना बच्चाहरूलाई असल मत दिनुहुन्छ। जसलाई शास्त्रहरूमा पाण्डव सम्प्रदाय र दैवी सम्प्रदाय लेखिएको छ। ब्राह्मण सम्प्रदाय र दैवी सम्प्रदायलाई पनि कसैले बुझ्न सक्दैनन्। ब्रह्माद्वारा नै ब्राह्मण सम्प्रदाय बन्न सक्छन्। परमपिता परमात्माले नै ब्रह्माद्वारा यो रचना रच्नुहुन्छ। प्रजापिता हुनुहुन्छ तब त यति सबै ब्रह्माकुमार र ब्रह्माकुमारीहरू छन्। जबसम्म कसैले आएर तिमी ब्राह्मणहरूद्वारा ज्ञान लिँदैन तबसम्म कसरी सद्गति हुन सक्छ? तिमीहरूकहाँ धेरै आउनेछन्। संन्यासीहरू पनि आउनेछन् र अरू धर्मकाहरू पनि बाबाबाट वर्सा लिन आउनेछन्। स्वर्गमा उनीहरूको पार्ट हुँदैन तर सबैलाई सन्देश दिनु छ– बाबा आउनुभएको छ। यतिबेला हिन्दु कहलिने कसैले पनि देवी-देवता धर्मलाई जान्दै जान्दैनन्। उनीहरू जो पहिला सतोप्रधान थिए, उनीहरू नै फेरि तमोमा आएको कारणले आफूलाई देवी-देवता कहलाउन सक्दैनन्।

तिमी बच्चाहरूलाई थाहा छ– रावणको राज्य पनि यहीँ हुन्छ र परमपिता परमात्मा जसलाई राम पनि भनिन्छ, उहाँको जन्म पनि यहीँ नै हुन्छ, गाउँछन् पनि– पतित-पावन सीताराम। तर पतित कसले बनायो, रावण को हो, किन पतित-पावन बाबालाई बोलाउँछन्? यो कसैलाई पनि थाहा छैन। यो कसैले बुझ्दैनन्– हामीमा जुन ५ विकार छन्, त्यही रावण हो। जसमा ५ विकार छैनन् उनीहरू राम सम्प्रदाय हुन्। अहिले रामराज्य छैन त्यसैले सबैले चाहन्छन्– नयाँ दुनियाँ, नयाँ पवित्र राज्य चाहिन्छ। राम शिवबाबालाई भनिन्छ, तर उनीहरूले रामलाई परमात्मा सम्झिए त्यसैले शिवबाबालाई भुलिदिए। तिमीले रामराज्य कसलाई भनिन्छ भनी सम्झाउन सक्छौ। शास्त्रहरूमा लेखिदिएका छन्– रामकी सीता हरण गरियो, राजाकी रानीलाई कसैले चोरेर लैजान्छ, यो हुन सक्छ र? शास्त्रहरू पनि धेरै छन्। मुख्य शास्त्र गीता हो। शास्त्रहरूमा लेखिएको छ– ब्रह्माद्वारा ब्राह्मण, देवता, क्षत्रिय धर्मको स्थापना गर्नुहुन्छ। त्यसोभए प्रजापिता पनि यहीँ नै चाहिन्छ। ब्रह्माका यति धेरै बच्चाहरू छन्, त्यसैले यिनीहरू मुख वंशावली हुन्, यति धेरै कोख वंशावली हुन सक्दैनन्। जबकि सरस्वती पनि मुख वंशावली हुन् भने ब्रह्माकी स्त्री हुन सक्दिनन्। अब बाबा भन्नुहुन्छ– ब्रह्मा मुखद्वारा तिमी ब्राह्मण बन्छौ, मेरा बच्चा बन्छौ। तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाको कति महिमा छ। बाबा पतित-पावन, मुक्तिदाता पनि हुनुहुन्छ। यो सबै गाउँछन् पनि तर बुझ्दैनन्, त्यसैले पहिला बाबाको परिचय दिनु छ– उहाँ पतित-पावन हुनुहुन्छ, गीताको भगवान पनि हुनुहुन्छ। निराकार शिवबाबा हुनुहुन्छ भने अवश्य आएर ज्ञान सुनाउनुभएको होला। अब जुन शरीरद्वारा ज्ञान सुनाउनुहुन्छ उनको नाम ब्रह्मा राख्नुभएको छ। नत्र ब्रह्मा कहाँबाट आऊन्! ब्रह्माको पिता को? ब्रह्मा-विष्णु-शङ्करको रचयिता को? यो गुह्य प्रश्न हो। त्रिमूर्ति देवता त भन्छन् तर यी आए कहाँबाट! अब बाबा सम्झाउनुहुन्छ– यिनीहरूको पनि रचयिता उच्चभन्दा उच्च भगवान नै हुनुहुन्छ, जसलाई शिव भनिन्छ। यी ३ देवताहरू लाइटका हुन्, यिनीहरूमा हाड-मासु हुँदैन तर मोटो बुद्धिले बुझ्न सक्दैनन्। यसमा सम्झाउनु छ– उच्चभन्दा उच्च भगवान हुनुहुन्छ। उहाँले ब्रह्माद्वारा स्वर्गको वर्सा दिनुहुन्छ। गाउँछन् पनि– मनुष्यबाट देवता बनाउनुभयो... फेरि देखाउँछन्– विष्णुको नाभिबाट ब्रह्मा निस्किए। कहिल्यै नाभिबाट पनि बच्चा हुन्छ र? अहिले बाबा बसेर सबै रहस्य सम्झाउनुहुन्छ। तर कसैले बुझोस् न। तिमीलाई थाहा छ– आत्मालाई नै पाप आत्मा, पुण्य आत्मा भनिन्छ। यस्तो होइन, पवित्र आत्मा सो परमात्मा हो। परमात्मा बाबा त सदा पावन हुनुहुन्छ। तमोप्रधानलाई पतित भनिन्छ। सत्ययुगमा जब सुख थियो तब दुःखको नाम पनि थिएन। मानिसहरूले त भनिदिन्छन्– स्वर्ग अहिले नै छ। केही पनि बुझ्दैनन् तर अन्तमा आएर बाबाबाट वर्सा लिनेछन्। तिमी बच्चाहरूलाई नै थाहा छ, हामीले आफ्नो राजधानी स्थापना गरिरहेका छौँ। विश्वको मालिक अरू कोही बन्न सक्दैन। विश्वमा राज्य सत्ययुगमा हुन्छ। कलियुगमा सारा विश्वमा राज्य गर्न सक्दैनन्। यो पनि कसैलाई थाहा छैन। गीतामा पनि छ– महाभारी लडाइँ लागेको थियो तब नै सबै धर्म विनाश हुन्छन्। जसरी बाँसको जङ्गल हुन्छ, त्यो जब सुक्छ तब आपसमा ठोक्किँदा आगो लाग्छ र सारा जङ्गल जल्छ। यो मनुष्य सृष्टि वृक्ष पनि जीर्ण भइसकेको छ। यसमा पनि अब आगो लाग्नेछ, एक-अर्कामा लडेर खत्तम हुनेछन्। आगोको सामान बनाइरहन्छन्। अब एटमिक बमहरूद्वारा आगो लाग्नु छ, यो रहस्य उनीहरूले जान्दैनन्। अब कलियुग नर्क परिवर्तन भएर स्वर्ग बन्नेछ। यस ज्ञानमा धेरै मस्ती चाहिन्छ। आफूलाई हेर्नु छ– म त्यो मस्ती वा नसामा रहन्छु? हामी परमात्माका सन्तान हौँ, उहाँबाट स्वर्गको वर्सा पाइरहेका छौँ। आपसमा कुरा गर्ने सभ्यता चाहिन्छ। यहाँबाट सबैथोक सिक्नु छ। पछि त्यही संस्कार लिएर जानेछौँ। अति मीठो बन्नु छ, बडो नसा रहनुपर्छ। हामी शिवबाबाका सन्तान हौँ। देवता पद पाउनेवाला हौँ, त्यसैले एक-अर्कामा कति स्नेहले बोल्नुपर्छ। तर बच्चाहरूको मुखबाट अझै फूल निस्कँदैनन्। तिमी कति उच्च छौ। तिमीलाई यो याद रहोस्– हामी शिवबाबाका सन्तान हौँ, फेरि सत्ययुगमा महाराजा बन्नेछौँ। अर्थात् हामी विश्वका युवराज बन्नेछौँ। तिमी बच्चाहरूलाई आन्तरिक खुसी हुनुपर्छ– हामी परमात्माको सम्मुख बसेका छौँ, जसबाट स्वर्गको वर्सा मिल्छ उहाँको श्रीमतमा चल्नु छ। तिमीलाई थाहा छ– हाम्रो राजधानी स्थापना भइरहेको छ। राजधानीमा सबै चाहिन्छ। तर तिमी बच्चाहरूको मुखबाट सदैव रत्न निस्कनुपर्छ। बाबा रूप पनि हुनुहुन्छ भने बसन्त पनि हुनुहुन्छ। कथाहरू सबै अहिलेका हुन्। बाबा ज्ञानका सागर हुनुहुन्छ। उहाँले ज्ञानको वर्षा गर्नुहुन्छ। बाँकी ती इन्द्र देवताले वर्षा बर्साउँछन् भन्ने त्यस्तो कुरा होइन। यी बादल स्वाभाविक बन्छन्, वर्षा गर्छन्। सत्ययुगमा यी ५ तत्त्व पनि तिम्रा गुलाम बन्छन् जबकि यहाँ मानिसहरू सबैका गुलाम बनेका छन्। यहाँ हरेक कुरामा मेहनत गर्नुपर्छ। त्यहाँ सबै कुरा स्वतः हुन्छ। त्यसैले बच्चाहरूलाई बाबाको याद सदा रहनुपर्छ, यसबाट खुसीको पारा सदा चढिरहन्छ। ती मानिसहरू (वैज्ञानिकहरू) ले पनि मन्थन गर्छन्। तिमी बच्चाहरूले वाणीको मन्थन गर्नु छ। वाणीको प्रवाह कहिलेकाहीँ धेरै राम्रो रहन्छ, कहिले कम, यसलाई मन्थन गर्नु भनिन्छ। बच्चाहरूले बाबाको अवस्था देखिरहेका छन् र बाबाले आफ्नो अनुभव सुनाउनुहुन्छ। कहिले धेरै उछालको प्रवाह रहन्छ, कहिले कम। कहिले धेरै राम्रा पोइन्टहरू निस्कन्छन्। बाबा पनि मदतगार बन्नुहुन्छ। यो तिमीले पनि अनुभूति गर्छौ। बाबाले त कहिल्यै मुरली हातमा उठाउनुहुन्न। बच्चाहरूले म्यागजिन लेख्छन्, अनि बाबाले कहिलेकाहीँ बच्चाहरूले कहिल्यै गफलत त गर्दैनन् भनेर हेर्नुहुन्छ। म्यागजिनमा पनि राम्रा-राम्रा मुरलीका पोइन्टहरू आउँछन् र चारैतिर गइरहन्छन्। यदि कहीँ मुरली जाँदैन भने बाबा भन्नुहुन्छ– रचयिता र रचनाको ज्ञान ७ दिनमा बुझिहाल्यौ नि। बाँकी के चाहिन्छ? बाँकी ५ विकारहरूलाई भस्म गर्ने पुरुषार्थ गर्नु छ, अरू त कुनै कष्ट छैन। तिमी बच्चाहरू कसैको पनि सतसङ्गमा जान सक्छौ, सेवा गर्ने उमङ्ग पनि आउनुपर्छ। जब सबै धर्मका जम्मा हुन्छन् तब सम्झाउनुपर्छ– हरेकको धर्म अलग-अलग छ। भाइ-भाइ भन्छन् तर मिलेर एक हुन सक्दैनन्। यो केवल भन्ने कुरा हो। बाबा भन्नुहुन्छ– म आएर ब्राह्मण बनाएर फेरि देवी-देवता धर्म स्थापना गर्छु, त्यहाँ अर्को कुनै धर्म रहँदैन। यो त्यही महाभारत लडाइँ हो। गीतामा पनि यसको वर्णन गरिएको छ। यो एउटै पढाइ हो। पढाउने पनि एक मात्र हुनुहुन्छ। ज्ञान जब पूरा हुन्छ तब बाबा भन्नुहुन्छ– म पनि जानेछु। मैले कलियुगको अन्तमा ज्ञान सुनाउनु छ, मैले कल्प-कल्प आउनु छ। एक सेकेन्ड पनि घटी-बढी हुनेछैन। जब ज्ञान पूरा हुन्छ अनि कर्मातीत अवस्थामा जानेछौ, तब विनाश पनि हुनेछ। दिन-प्रतिदिन तिम्रो सेवा बढ्दै जानेछ। यहाँ त न कसैमा पवित्रता छ, न दैवीगुणको धारणा छ। त्यहाँ पवित्रताको अन्तर हेर कति छ। तिमी अहिले सङ्गममा बसेका छौ, यही पुरुषोत्तम युग हो। अहिले तिमी पुरुषोत्तम बनिरहेका छौ। तर त्यो चमक, त्यो चलन पनि चाहिन्छ। कहिल्यै मुखबाट ढुङ्गा निस्कनु हुँदैन। मुखबाट रत्न नै निस्कनुपर्छ। अहिले तिमी देवता समान फूल बनिरहेका छौ। भगवान आएर भगवान-भगवती बनाउनुहुन्छ। देवताहरूलाई नै भगवान-भगवती भनिन्छ। तर त्यस्तो कसले बनाउँछ? यो कसैले जान्दैनन्। तिम्रो बुद्धिमा पूरै रचयिता र रचनाको ज्ञान छ, फेरि अरूलाई आफू समान बनाउने जिम्मेवारी छ। धेरै आइरहनेछन्। स्वदर्शन चक्रधारी ब्राह्मण नै बन्छन्। मायाका तुफान पनि बच्चाहरूलाई नै आउँछन्। कतै तुफान आउनाले हड्डी खिइन्छन्। चल्दा-चल्दै कसैले डिससर्भिस पनि गर्छन्। बाबा भन्नुहुन्छ– कुनै पनि फोहोरी काम नगर। तिमी मुख वंशावली ब्राह्मण हौ, उनीहरू कोख वंशावली हुन्। कति फरक छ। उनीहरूले शारीरिक यात्रामा लैजान्छन्, तिम्रो रुहानी यात्रा हो। तिमीले बेहदका बाबाबाट वर्सा लिइरहेका छौ। उनीहरू पनि ब्राह्मण, हामी पनि ब्राह्मण हौँ भनेर बुझ्ने अक्कल पनि कसैमा छैन। तर सच्चा ब्राह्मण को हो? ती ब्राह्मणले आफूलाई ब्रह्माकुमार कहलाउन सक्दैनन्। तिमीले आफूलाई ब्रह्माकुमार कहलाउँछौ भने अवश्य ब्रह्मा पनि होलान्। तर सोधून् भन्ने यो कुरा उनीहरूको बुद्धिमा आउँदैन। बाबाले कल्प-कल्प तिमी बच्चाहरूलाई आएर यी कुरा सम्झाउनुहुन्छ– तिमी ब्रह्माका सन्तान ब्राह्मण सबै भाइ-बहिनी भयौ। फेरि उनीहरू विकारमा कसरी जान सक्छन्? यदि कोही जान्छन् भने ब्राह्मण कुललाई कलङ्कित गर्छन्। आफूलाई ब्रह्माकुमार-कुमारी कहलाएर फेरि पतित हुन सक्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) वाणीमा जे सुनिन्छ त्यसमा मन्थन गर्नु छ। पुरुषोत्तम बनिरहेका छौँ त्यसैले चलन धेरै सभ्य बनाउनु छ। मुखबाट कहिल्यै कटु वचन निकाल्नु छैन।

२) धेरैलाई आफू समान बनाउने जिम्मेवारी सम्झेर सेवामा तत्पर रहनु छ। कुनै पनि फोहोरी गन्दा काम गरेर डिससर्भिस गर्नु छैन।

वरदान:–
अतीन्द्रिय सुखमय स्थितिद्वारा अनेक आत्माहरूको आह्वान गर्ने विश्व कल्याणकारी भव

जति अन्तिम कर्मातीत स्टेज समीप आउँदै जानेछ त्यति आवाजभन्दा पर शान्त स्वरूपको स्थिति अधिक प्रिय लाग्नेछ। यस स्थितिमा सदा अतीन्द्रिय सुखको अनुभूति हुनेछ र यही अतीन्द्रिय सुखमय स्थितिद्वारा अनेक आत्माहरूको सहज आह्वान गर्न सक्नेछौ। यो पावरफुल स्थिति नै विश्व कल्याणकारी स्थिति हो। यस स्थितिद्वारा जतिसुकै टाढा रहने आत्मालाई पनि सन्देश पुर्याउन सक्छौ।

स्लोगन:–
हरेकको विशेषतालाई स्मृतिमा राखेर वफादार बन्यौ भने सङ्गठन एकमत हुनेछ।

अव्यक्त इसारा:– ब्रह्मा बाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

जसरी ब्रह्मा बाबाको लागि सबैको मुखबाट एउटै आवाज निस्कन्छ– “मेरो बाबा”। यसरी नै तिमीमा हरेक श्रेष्ठ आत्माप्रति यो भावना होस्, महसुसता होस्। हरेकबाट मेरोपनको भावना आओस्। हरेकले सम्झून्– यिनी मेरा शुभचिन्तक, सहयोगी सेवाका साथी हुन्, यसलाई भनिन्छ– बाबा समान। यही सम्पन्न वा सम्पूर्ण कर्मातीत स्टेज हो।