24.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सुखद ाता बाबालाई धेरै प्यारले याद गर , याद विना प्यार हुन सक्दैन।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई दिनहुँ यादको अभ्यास गर्ने इसारा किन दिनुहुन्छ?

उत्तर:–
किनकि यादले नै आत्मा पावन बन्छ। यादले नै पूरा वर्सा लिन सक्छौ। आत्माका सबै बन्धन खतम हुन्छन्। विकर्महरूबाट मुक्त हुन्छौ। सजायहरूबाट छुट्छौ। जति याद गर्छौ त्यति खुसी हुन्छ। मन्जिल समीप अनुभव हुन्छ। कहिल्यै पनि थाक्दैनौ। बेहदको सुख पाउँछौ त्यसैले यादको अभ्यास अवश्य गर्नु छ।

गीत:–
बचपन के दिन भुला न देना...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीतको लाइनको अर्थ बुझ्यौ। अहिले जीवनछँदै तिमी बेहदको बाबाका बनेका छौ। सारा कल्प त हदको बाबाका बनेका हौ। सत्ययुगमा पनि हदको बाबाका बन्छौ। अहिले केवल तिमी ब्राह्मण बच्चाहरू बेहदको बाबाका बनेका छौ। तिमीलाई थाहा छ, बेहदको बाबाबाट हामीले बेहदको वर्सा लिइरहेका छौँ। बाबालाई छोड्यौ भने बेहदको वर्सा मिल्न सक्दैन। सम्झाउन त तिमीले सम्झाउँछौ तर थोरैमा कोही राजी हुँदैन। मानिसहरूले धेरै धन चाहन्छन्। धनविना सुख हुन सक्दैन। धन पनि चाहिन्छ, शान्ति पनि चाहिन्छ, निरोगी शरीर पनि चाहिन्छ। तिमी बच्चाहरूलाई नै थाहा छ, दुनियाँमा आज के छ, भोलि के हुनु छ। विनाश त सामुन्ने उभिएको छ, अरू कसैको बुद्धिमा यी कुराहरू छैनन्। विनाश सामुन्ने उभिएको छ भनेर बुझे अब पनि के गर्नु छ, यो जान्दैनन्। तिमी बच्चाहरूले बुझेका छौ, तिमीहरूलाई यस्तो लाग्छ– जतिबेला पनि लडाइँ सुरु हुन सक्छ, अलिकति झिल्को निस्कियो भने हिंसा भट्किन बेर लाग्दैन। पहिला पनि सानो कुराले कति ठुलो लडाइँ सुरु भयो। तिमी बच्चाहरूलाई थाहा छ, पुरानो दुनियाँ खतम भइ नै हाल्छ त्यसैले अब छिट्टै बाबाबाट वर्सा लिनु छ। बाबालाई सदैव याद गरिराख्यौ भने धेरै हर्षित हुनेछौ। देह अभिमानमा आएपछि नै त्यो खुसी गायब हुन्छ। देहीअभिमानी बन्यौ भने बाबालाई याद गर्छौ। देह अभिमानमा आएपछि बाबालाई भुल्छौ र दुःख पाउँछौ। जति बाबालाई याद गर्छौ, त्यति बेहदको बाबाबाट सुख पाउँछौ। यहाँ तिमी आएका नै हौ लक्ष्मीनारायणजस्ता बन्न। राजारानी र प्रजाको नोकरचाकरमा धेरै फरक छ नि! अहिलेको पुरुषार्थ फेरि कल्पकल्पान्तरको लागि कायम हुन्छ। अन्त्यमा सबैलाई साक्षात्कार हुनेछ– हामीले कति पुरुषार्थ गरेका छौँ। अहिले पनि बाबा भन्नुहुन्छ– आफ्नो अवस्था नियाली राख्नुछ। मीठाभन्दा मीठा बाबा, जसबाट स्वर्गको वर्सा मिल्छ, उहाँलाई हामीले कति याद गर्छौँ। तिम्रो सारा कुरा यादमा नै आधारित छ। जति याद गर्छौ त्यति खुसी पनि हुन्छ। सम्झनेछौ बस् अब नजिक आइपुगेका छौँ। कोही थाक्छन् पनि, भन्छन् थाहा छैन मन्जिल कति टाढा छ, पुग्यौँ भने मेहनत पनि सफल हुन्छ। दुनियाँलाई यो पनि थाहा छैन, भगवान कसलाई भनिन्छ। हे भगवान! भन्छन् पनि फेरि भनिदिन्छन् भगवान् ढुङ्गोमाटोमा हुनुहुन्छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ, हामी बाबाका बनिसकेका छौँ। अब बाबाकै मतमा चल्नु छ। चाहे बेलायतमा होऊ त्यहाँ बसेर पनि केवल बाबालाई याद गर्नु छ। तिमीलाई त श्रीमत मिलेको छ। बाबाको याद विना आत्मा तमोप्रधानबाट सतोप्रधान हुन सक्दैन। तिमीले भन्छौ– बाबा हामीले हजुरबाट पूरा वर्सा लिन्छौँ। जसरी हाम्रो बाबा (ब्रह्माबाबा) ले वर्सा लिनुहुन्छ, हामी पनि पुरुषार्थ गरेर उहाँको गद्दीमा अवश्य बस्छौँ। मम्मा बाबा राजराजेश्वर, राजराजेश्वरी बन्नुहुन्छ भने हामी पनि बन्छौँ। परीक्षा त सबैको लागि एउटै हो। तिमीलाई धेरै कम सिकाइन्छ, केवल बाबालाई याद गर। यसलाई भनिन्छ सहज राजयोग बल। तिमीले बुझेका छौ, योगबाट धेरै बल मिल्छ। हामीले कुनै विकर्म गरेका छौँ भने सजाय धेरै खानुपर्नेछ, पद भ्रष्ट हुनेछ। यादमा नै मायाले विघ्न पार्छ।

तिमीलाई थाहा छ, हामी पावन दुनियाँमा गइरहेका छौँ। जो ब्राह्मण बन्छन् उनीहरू नै निमित्त बन्छन्। ब्रह्मामुख वंशावली ब्राह्मण नबनी तिमीले बाबाबाट वर्सा लिन सक्दैनौ। बाबाले बच्चाहरूलाई रच्नु हुन्छ नै वर्सा दिनको लागि। शिवबाबाका बच्चाहरू त हामी नै हौँ। उहाँले नयाँ सृष्टि रच्नुहुन्छ हामी बच्चाहरूलाई वर्सा दिनको लागि। शरीरधारीलाई नै वर्सा दिनुहुन्छ। आत्माहरू त माथि परमधाममा रहन्छन्। त्यहाँ त वर्सा वा प्रारब्धको कुरा हुँदैन। तिमीले अहिले पुरुषार्थ गरेर प्रारब्ध लिइरहेका छौ, जुन कुरा दुनियाँलाई थाहा छैन। अब समय नजिक आउँदै गइरहेको छ। चेतावनी दिइरहन्छन् फलानोले यसो गरेछ भने हामीले त्यसलाई बिल्कुलै उडाइदिन्छौँ। उडाउने तयारी भइरहेको छ। बमहरू आदि कुनै राख्नु छैन। तयारीहरू धेरै भइरहेका छन्। ब्रिटिस सरकारको समयमा पाकिस्तान, हिन्दुस्तान थियो र? लेखिएको छ यवनहरूको लडाइँ। पाण्डव र कौरवहरूको लडाइँ हुँदैन। यवनहरू अवश्य लडिरहेका छन्। बमहरू पनि तयार भइसकेका छन्। अहिले बाबाले हामीलाई आदेश दिनुहुन्छ– मलाई याद गर, नत्र अन्त्यमा धेरै रुनुपर्नेछ। परीक्षामा फेल भए भने गएर रिसले डुबेर मर्छन्। यहाँ रिसको त कुरै छैन। अन्त्यमा तिमीलाई धेरै साक्षात्कार हुनेछ। हामी के के बन्नेछौँ– त्यो पनि थाहा हुनेछ। बाबाको काम हो पुरुषार्थ गराउनु। बाबा भन्नुहुन्छ बच्चाहरूले कर्म गर्दागर्दै याद गर्न भुल्यौ वा फुर्सत मिलेन भने पनि राम्रोसँग यादमा बस। यादमा बसेर बाबालाई याद गर। आपसमा तिमीहरू मिल्यौ भने पनि यही कोसिस गर हामीले बाबालाई याद गरौँ। मिलेर बसेमा तिमीले राम्ररी याद गर्नेछौ, मदत मिल्नेछ। मूल कुरा हो बाबालाई याद गर्नु। यहाँ आऊ वा नआऊ। कोही बेलायत जान्छन् फेरि आउन त सक्दैनन्। त्यहाँ पनि केवल एउटा कुरा याद राख। बाबाको यादले नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। बाबा भन्नुहुन्छ केवल एउटा कुरा याद राख– बाबालाई याद गर्नुछ। बाबा भन्नुहुन्छ– मनमनाभव। मलाई याद गर्छौ भने विश्वको मालिक बन्छौ। मूल कुरा हुन्छ यादको। कतै पनि जाने आदि कुरा छैन। घरमै बस केवल बाबालाई याद गरिराख। पवित्र बनेनौ भने याद गर्न सक्दैनौ। यस्तो कहाँ हो र सबै आएर क्लासमा पढ्छन्। मन्त्र लियौ फेरि चाहे जहाँसुकै जाऊ। सतोप्रधान बन्ने बाटो बाबाले बताउनुभएको छ। हुन त सेन्टरमा आएमा नयाँ नयाँ प्वइन्ट सुनिरहनेछौ। कुनै कारणले आउन सक्दैनौ, पानी परेछ अथवा कर्फ्यु लाग्यो, कोही बाहिर निस्कन सक्दैनौ भने के गर्छौ। बाबा भन्नुहुन्छ हर्जा छैन। जहाँ बसे पनि तिमी यादमा रहनुछ। हिँड्दाडुल्दा याद गर। अरूलाई यही भन– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ र देवता बन्छौ। शब्द नै दुईवटा छन्, मनमनाभव, मध्याजी भव।

बाबा भन्नुहुन्छ– यो बचपन नभुल्नु। बाबालाई भुल्यौ भने आज हाँस्छौ भोलि रुनुपर्नेछ। बाबाबाट पूरा वर्सा लिनुपर्छ। यस्ता धेरै छन् जसले भन्छन् स्वर्गमा त जान्छौँ नि फेरि जे तकदिरमा होला। त्यसलाई कुनै पुरुषार्थ गर्नु भनिँदैन। मानिसहरूले पुरुषार्थ गर्छन् नै उच्च पद पाउनको लागि। अब यतिबेला बाबाबाट उच्च पद मिल्छ भने लापर्बाही किन गर्नुपर्छ। कसैले स्कुलमा पढेनन् भने पढेलेखेकाको अगाडि भारी बोक्नुपर्नेछ। बाबालाई पूरा याद गरेनौ भने गएर प्रजाको पनि नोकरचाकर बन्नेछौ। यसमा खुसी कहाँ हुनुपर्छ र! बाबा सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरू! सम्मुख रिफ्रेस भएर जान्छौ। कैयौँ बाँधेलीहरू छन्, हर्जा छैन, घरमै बसेर बाबालाई याद गरिराख। तिमीलाई कति सहजै सम्झाउनुहुन्छ, मृत्यु सामुन्ने उभिएको छ, अचानक नै लडाइँ सुरु हुनेछ। एकअर्कालाई भन्छन् अलिकति पनि गडबड गर्छौ भने हामीले यस्तो गर्नेछौँ। पहिलादेखि नै भनिदिन्छन्, बमहरूको अहङ्कार धेरै छ। बाबा भन्नुहुन्छ– बच्चाहरू अझै योगबलमा होसियार भएका छैनन्, यस्तो नहोस् लडाइँ सुरु भइहाल्छ। तर ड्रामा अनुसार यस्तो हुनु नै छैन। बच्चाहरूले पूरा वर्सा लिएका छैनन्, निश्चय हुन्छ, यो लडाइँ सुरु भयो भने पनि बन्द हुनेछ किनकि अहिल्यै राजधानी स्थापना भएको छैन। त्यसको लागि टाइम हुनुपर्छ। बाबाले पुरुषार्थ गराइरहनुहुन्छ, थाहा छैन कुनै पनि समयमा जे पनि हुन सक्छ। बस खस्छ, एरोप्लेन, ट्रेन खस्छ, मृत्यु कति सामुन्ने छ। धरती पनि हल्लिरहन्छ। सबैभन्दा बढी काम भूकम्पले गर्नेछ। तर विनाश हुनुभन्दा पहिला बाबाबाट पूरा वर्सा लिनु छ त्यसैले धेरै प्रेमले बाबालाई याद गर्नु छ। बाबा हजुरविना हाम्रो अर्को कोही छैन। केवल बाबालाई नै याद गरिराख। कति सहज तरिकाले मानौँ साना साना बच्चाहरूलाई जस्तै सम्झाउनुहुन्छ र कुनै तकलिफ दिनुहुन्नँ, भन्नुहुन्छ केवल याद गर। काम चितामा बसेर जो तिमी जलेर मरेका छौ, तिमीहरू अब ज्ञान चितामा बसेर पवित्र बन। तिमीलाई सोध्छन् तिम्रो उद्देश्य के हो? भन, जो सबैका पिता हुनुहुन्छ उहाँ भन्नुहुन्छ म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन् र तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। सबैको सद्गतिदाता एक बाबा हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– केवल मलाई याद गरेमा खिया उत्रिनेछ। यो यति सन्देश त दिन सक्छौ नि! आफैले याद गरेपछि मात्र अरूलाई याद गराउन सक्छौ। अरूलाई रुचिपूर्वक भन्नेछौ। नत्र दिलबाट निस्कनेछैन। बाबा भन्नुहुन्छ– जहाँ भए पनि जति सकिन्छ केवल याद गर। हुन त अलिकति खानपानको तकलिफ आदि हुन्छ। बस्नु त घरमै छ। घरमै बसेर बाबालाई याद गर, जो भेटिन्छ उसलाई पनि यही शिक्षा देऊ– मृत्यु सामुन्ने उभिएको छ।

बाबा भन्नुहुन्छ– तिमी सबै तमोप्रधान पतित बनेका छौ, अब मलाई याद गर र पवित्र बन। आत्मा नै पतित बनेको छ, सत्ययुगमा हुन्छ पावन आत्मा। बाबाको यादले नै आत्मा पावन बन्छ याद बाहेक अरू कुनै उपाय छैन। यो सन्देश सबैलाई दिँदै गयौ भने पनि धेरैको कल्याण गर्नेछौ। बाबाले अरू कुनै तकलिफ दिनुहुन्न। पुरुषोत्तम महिनामा पनि गएर सम्झाऊ– सबैभन्दा पुरुषोत्तम को हुन्? सत्ययुगको आदिमा यी लक्ष्मीनारायण पुरुषोत्तम थिए। यिनीहरूलाई यस्तो पुरुषोत्तम बनाउने अर्थात् स्वर्गको स्थापना गर्ने बाबा हुनुहुन्छ। सबै आत्माहरूलाई पावन बनाउने पतितपावन बाबा नै हुनुहुन्छ। सबैभन्दा उत्तमभन्दा उत्तम पुरुष बनाउने बाबा हुनुहुन्छ। जो पूज्य थिए उनीहरू नै फेरि पुजारी बनेका छन्। रावण राज्यमा हामी पुजारी बनेका छौँ, रामराज्यमा पूज्य थियौँ। अब रावण राज्यको अन्त्य हुन्छ। हामी पुजारीबाट फेरि पूज्य बन्छौँ। बाबालाई याद गर्ने बाटो अरूलाई पनि बताउनु छ। वृद्ध माताहरूले पनि यो सेवा गर्नुपर्छ। इष्टमित्रहरूलाई पनि बाबाको परिचय देऊ। भन, शिवबाबा भन्नुहुन्छ म एकलाई याद गरेमा तिमी स्वर्गको मालिक बन्छौ। निराकार शिवबाबा, सर्वका सद्गतिदाता बाबा, सबै आत्माहरूलाई भन्नुहुन्छ मलाई याद गरेमा सतोप्रधान बन्छौ। यो कुरा सम्झाउन त सहज छ नि! वृद्ध माताहरूले पनि यो सेवा गर्न सक्छन्। मूल कुरा नै यही हो। विवाह वा मलामी जहाँसुकै गए पनि कानमा यो कुरा सुनाऊ। गीताका भगवान भन्नुहुन्छ मलाई याद गर, यो कुरालाई सबैले मन पराउनेछन्। धेरै बोल्न आवश्यक छैन। केवल बाबाको सन्देश दिनु छ– बाबा भन्नुहुन्छ मलाई याद गर।

अच्छा– यस्तो सम्झ, भगवानले प्रेरणा दिनुहुन्छ। स्वप्नमा साक्षात्कार हुन्छ, आवाज सुनिन्छ– बाबा भन्नुहुन्छ मलाई याद गर्छौ भने सतोप्रधान बन्छौ। तिमी आफैले पनि केवल यही चिन्तन गरिराख्यौ भने बेडा पार हुनेछ। हामी यथार्थमा बेहदको बाबाका बनेका छौँ र बाबाबाट २१ जन्मको वर्सा लिइरहेका छौँ भने खुसी हुनुपर्छ नि! बाबालाई भुलेमा नै तकलिफ हुन्छ। बाबा कति सहजै बताउनुहुन्छ– मलाई याद गरेमा सबैले बुझ्नेछन् यिनीहरूलाई बाटो त अवश्य सही मिलेको छ। यो बाटो कहिल्यै कसैले बताउन सक्दैन। समय यस्तो हुनेछ जुनबेलामा तिमी घरबाट बाहिर निस्कन सक्नेछैनौ। बाबालाई याद गर्दागर्दै शरीर छोड्नेछौ। अन्तकाल जो शिवबाबा सिमरे... फिर नारायण योनि बल-बल उतरे। लक्ष्मीनारायण घरानामा आउनेछौ। घरी घरी राजकीय पद पाउनेछौ। बस् केवल प्यारसँग बाबालाई याद गर। यादविना प्यार कसरी गर्छौ। सुख मिल्छ त्यसैले त याद गरिन्छ। दुःख दिनेलाई प्यार गरिँदैन। बाबा भन्नुहुन्छ– मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु त्यसैले मलाई प्यार गर। बाबाको मतमा चल्नुपर्छ नि! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पढाइमा कहिल्यै लापर्बाही गर्नुहुँदैन, लडाइँभन्दा पहिला बाबाबाट पूरा पूरा वर्सा लिनु छ।

२) श्रीमतमा बाबालाई धेरै प्यारले याद गर्नु छ।

वरदान:–
सङ्कल्प , वृत्ति र स्मृतिबाट व्यर्थलाई समाप्त गर्ने सच्चा ब्राह्मण सम्पूर्ण पवित्र भव

आफ्नो सङ्कल्प, वृत्ति र स्मृतिलाई चेक गर– यस्तो होइन केही गलत भयो, पश्चात्ताप गर्छौ, माफी माग्छौ अनि छुट भयो। जतिसुकै कसैले माफी मागोस् तर जुन पाप वा व्यर्थ कर्म भयो त्यसको निसान मेटिँदैन। रजिस्टर स्वच्छ सफा हुँदैन। केवल यो रीतिरिवाजलाई नअपनाऊ, तर तिमीलाई स्मृति रहोस् तिमी सम्पूर्ण पवित्र ब्राह्मण हौ। अपवित्रताले– सङ्कल्प, वृत्ति वा स्मृतिलाई पनि छुन सक्दैन। यसको लागि पाइला पाइलामा सावधान रहनुछ।

स्लोगन:–
बाबाको साथलाई प्रयोग गरेमा कहिल्यै निराश हुनेछैनौ।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

पवित्रताको रहस्य यथार्थमा ल्याउनु अर्थात् सङ्कल्प रूपले पनि पाँचै विकारहरूमा विजयी बन्नु। व्यर्थ सङ्कल्पले क्रोध पनि पैदा गर्छ त्यसैले काम अर्थात् कुनै आत्माप्रति व्यर्थ दृष्टि जान्छ भने पनि त्यस समयमा पवित्र मानिनेछैन। त्यसैले यो व्यर्थ सङ्कल्प बाबाको प्यारमा न्यौछावर गरिदेऊ।