26.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कर्म गर्दा स्वयंलाई आसिक सम्झेर म एक मासुकलाई याद गर , यादबाट नै तिमी पावन बनेर पावन दुनियाँमा जान्छौ।”

प्रश्न:–
महाभारत लडाइँको समयमा तिमी बच्चाहरूलाई बाबाको कुन हुकुम (आज्ञा) वा फरमान मिलेको छ?

उत्तर:–
प्यारा बच्चाहरू! बाबाको हुकुम वा फरमान छ– देहीअभिमानी बन। सबैलाई सन्देश देऊ तिमीहरूले अब बाबा र राजधानीलाई याद गर। आफ्नो चालचलनलाई सुधार। धेरै धेरै मीठा बन। कसैलाई दुःख नदेऊ। यादमा रहने बानी पार र स्वदर्शन चक्रधारी बन। कदम अगाडि बढाउने पुरुषार्थ गर।

ओम् शान्ति ।
बच्चाहरू बाबाको यादमा बसेका छौ। यस्तो त कुनै सतसङ्ग छैन, जहाँ कोही बस्छन् र भन्छन्– सबै बच्चाहरू बाबाको यादमा बसेका छौ। यो एउटै स्थान हो। बच्चाहरूलाई थाहा छ, बाबाले निर्देशन दिनुभएको छ– जीवित रहँदासम्म बाबालाई याद गरिराख। उहाँ पारलौकिक बाबाले नै भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! सबै बच्चाहरूले सुनिरहेका छौ। केवल तिमी बच्चाहरूलाई मात्र होइन तर सबैलाई भन्नुहुन्छ। प्यारा बच्चाहरू! बाबाको यादमा रह्यौ भने जुन तिम्रा जन्मजन्मान्तरका पाप छन्, जसको कारण खिया लागेको छ, ती सबै निस्किन्छन् र तिम्रो आत्मा सतोप्रधान बन्छ। तिम्रो आत्मा वास्तवमा सतोप्रधान नै थियो, फेरि पार्ट खेल्दाखेल्दै तमोप्रधान बनेको हो। यी महावाक्य बाबाबाहेक अरू कसैले भन्न सक्दैन। लौकिक पिताका बढीमा दुई-चार जना बच्चाहरू होलान्। उनीहरूलाई भन्छन्– राम राम भन वा पतितपावन सीताराम भन अथवा श्रीकृष्णलाई याद गर। यसरी भन्दैनन्– हे प्यारा बच्चाहरू! अब म पितालाई याद गर। पिता त घरमै हुन्छन्। याद गर्ने कुरै भएन। यी बेहदका बाबाले जीव आत्माहरूलाई भन्नुहुन्छ। तिमी आत्माहरू नै बाबाको सामुन्ने बसेका छौ। आत्माहरूका पिता एकैपटक आउनुहुन्छ, ५ हजार वर्षपछि आत्माहरू र परमात्मा मिल्छन्। बाबा भन्नुहुन्छ– म कल्प कल्प आएर यो पाठ पढाउँछु। हे प्यारा बच्चाहरू! तिमीहरूले मलाई याद गर्दै आएका छौ– हे पतितपावन आउनुहोस्! म अवश्य आउँछु। नत्र कहिलेसम्म याद गरिरहन्छौ! सीमा त अवश्य हुन्छ नि! मानिसहरूलाई यो थाहा छैन, कलियुगको अवधि कहिले पूरा हुन्छ। यो पनि बाबाले नै बताउनुपर्छ। बाबा बाहेक अरू कसैले त भन्दैनन्– हे प्यारा बच्चाहरू! मलाई याद गर। मुख्य कुरा नै यादको हो। रचनाको चक्रलाई याद गर्नु पनि ठुलो कुरा होइन। केवल बाबालाई याद गर्नमा मेहनत लाग्छ। बाबा भन्नुहुन्छ– आधाकल्प भक्तिमार्ग हुन्छ, आधाकल्प ज्ञान मार्ग हुन्छ। तिमीले आधाकल्प ज्ञानको प्रारब्ध पाएका छौ, फेरि आधाकल्प भक्तिको प्रारब्ध। त्यो सुखको प्रारब्ध हो, यो दुःखको प्रारब्ध हो। दुःख र सुखको खेल बनेको छ। नयाँ दुनियाँमा सुख, पुरानो दुनियाँमा दुःख। मानिसहरूलाई यी कुराहरू केही पनि थाहा छैन। भन्छन् पनि– हाम्रो दुःख हर्नुहोस्, सुख दिनुहोस्! आधाकल्प रावण राज्य चल्छ। यो पनि कसैलाई थाहा छैन, बाबाबाहेक अरू कसैले दुःख मेटाउन सक्दैन। शरीरको रोगव्याधि आदि डाक्टरले मेटाउँछन्, त्यो त अल्पकालको लागि भयो। यो त आधाकल्पको लागि स्थायी हुन्छ। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। अवश्य त्यहाँ सबै सुखी हुन्छन्। फेरि बाँकी यति धेरै आत्माहरू कहाँ हुन्छन्? यो कसैको पनि ख्यालमा आउँदैन। तिमीलाई थाहा छ, यो नयाँ पढाइ हो, पढाउने पनि नयाँ हुनुहुन्छ। भगवानुवाच– मैले तिमीलाई राजाहरूको पनि राजा बनाउँछु। यो पनि अवश्य हो, सत्ययुगमा एउटै धर्म हुन्छ, त्यसैले अवश्य बाँकी सबै विनाश हुन्छन्। नयाँ दुनियाँ र पुरानो दुनियाँ केलाई भनिन्छ, सत्ययुगमा को हुन्छन्– यो पनि अहिले तिमीलाई थाहा छ। सत्ययुगमा एक आदि सनातन देवीदेवता धर्मको राज्य थियो। हिजोको त कुरा हो। यो ५ हजार वर्षको कहानी हो। बाबा बताउनुहुन्छ– ५ हजार वर्ष पहिला भारतवर्षमा यी देवीदेवताहरूको राज्य थियो। तिनीहरू ८४ जन्म लिँदालिँदै अहिले पतित बनेका छन्, त्यसैले अहिले पुकार्छन्– आएर पावन बनाउनुहोस्! निराकारी दुनियाँमा त सबै पावन आत्माहरू नै हुन्छन्। फेरि तल आएर पार्ट खेल्दा सतो, रजो, तमोमा आउँछन्। सतोप्रधानलाई निर्विकारी भनिन्छ। तमोप्रधानले आफूलाई विकारी भन्छन्। सम्झन्छन्– यी देवीदेवताहरू निर्विकारी थिए, हामी विकारी हौँ, त्यसैले बाबा भन्नुहुन्छ– देवताहरूका जुन पुजारी छन्, उनीहरूको बुद्धिमा यो ज्ञान तुरून्तै बस्छ किनकि तिनीहरू देवता धर्मका हुन्। अहिले तिमीलाई थाहा छ, जो हामी पूज्य थियौँ, हामी नै पुजारी बनेका छौँ। जसरी क्रिस्चियनले क्राइस्टको पूजा गर्छन् किनकि त्यस धर्मका हुन्। तिमी पनि देवताहरूका पुजारी हौ, त्यसैले त्यस धर्मका भयौ। देवताहरू निर्विकारी थिए, तिनीहरू अहिले विकारी बनेका छन्। विकारको लागि नै कति अत्याचार हुन्छन्।

बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन् र तिमी सदा सुखी बन्छौ। यहाँ सदा दुःखी छन्। अल्पकालको सुख छ। त्यहाँ त सबै सुखी हुन्छन्। तैपनि पदमा फरक छ नि। सुखको पनि राजधानी हुन्छ, दुःखको पनि राजधानी छ। बाबा आउनुभएपछि विकारी राजाहरूको राज्य पनि खतम हुन्छ किनकि तिनीहरूको यहाँको प्रारब्ध पूरा भएको हुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, बाबाको श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– जसरी म शान्तिको सागर हुँ, प्यारको सागर हुँ, तिमीलाई पनि यस्तै बनाउँछु। यो महिमा एक बाबाको हो। कुनै मानिसको महिमा होइन। तिमी बच्चाहरूलाई थाहा छ, बाबा पवित्रताको सागर हुनुहुन्छ। हामी आत्माहरू पनि परमधाममा हुँदा पवित्र हुन्छौँ। यो ईश्वरीय ज्ञान तिमी बच्चाहरूसँग मात्र छ, अरू कसैले जान्न सक्दैन। जसरी ईश्वर ज्ञानको सागर हुनुहुन्छ, स्वर्गको वर्सा दिनुहुन्छ। उहाँले बच्चाहरूलाई आफूसमान पनि अवश्य बनाउनु छ। पहिला तिमीलाई बाबाको परिचय थिएन। अहिले तिमीलाई थाहा छ, परमात्मा जसको यति महिमा छ, उहाँले हामीलाई यस्तो उच्च बनाउनुहुन्छ, त्यसैले आफूलाई त्यस्तै उच्च बनाउनुपर्छ। भन्छन् नि– यिनीमा धेरै राम्रा दैवीगुण छन्, जस्तै देवता...। कसैको शान्त स्वभाव हुन्छ, कसैलाई गाली आदि गर्दैन भने उसलाई राम्रो मानिस भनिन्छ। तर उनीहरूले बाबालाई, सृष्टि चक्रलाई जान्दैनन्। अब बाबा आएर तिमी बच्चाहरूलाई अमरलोकको मालिक बनाउनुहुन्छ। नयाँ दुनियाँको मालिक बाबा बाहेक अरू कसैले बनाउन सक्दैन। यो पुरानो दुनियाँ हो, त्यो नयाँ दुनियाँ हो। त्यहाँ देवीदेवताहरूको राजधानी हुन्छ। कलियुगमा त्यो राजधानी हुँदैन। बाँकी अनेक राजधानीहरू छन्। अब फेरि अनेक राजधानीहरूको विनाश भएर एक राजधानी स्थापना हुनु छ। अवश्य राजधानी नभएपछि नै बाबा आएर स्थापना गर्नुहुन्छ। त्यो कार्य त बाबाबाहेक अरू कसैले गर्न सक्दैन। तिमी बच्चाहरूको बाबामा कति प्रेम हुनुपर्छ। बाबाले जे भन्नुहुन्छ, त्यो अवश्य गर्छौ। एकातिर बाबा भन्नुहुन्छ– मलाई याद गर र सेवा गर, अरूलाई बाटो बताऊ। देवीदेवता धर्मका जो होलान्, उनीहरूलाई अवश्य असर पर्छ। हामीले महिमा गर्छौँ नै एक बाबाको। बाबामा गुण छन्, त्यसैले बाबा नै आएर हामीलाई गुणवान् बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! धेरै मीठा बन। प्यारले बसेर सबैलाई सम्झाऊ। भगवानुवाच– म एकलाई याद गर्छौ भने म तिमीलाई स्वर्गको मालिक बनाउँछु। तिमी अब फर्केर घर जानु छ। पुरानो दुनियाँको महाविनाश सामुन्ने छ। पहिला पनि महाभारी महाभारत लडाइँ भएको थियो। भगवानले राजयोग सिकाउनुभएको थियो। अहिले अनेक धर्म छन्। सत्ययुगमा एक धर्म थियो, जुन अब प्रायः लोप भएको छ। अब बाबा आएर अनेक धर्महरूको विनाश गरेर एक धर्मको स्थापना गर्नुहुन्छ। बाबा सम्झाउनुहुन्छ– मैले यो यज्ञ रच्छु, अमरपुरी जानको लागि तिमीलाई अमरकथा सुनाउँछु। अमरलोक जानु छ त्यसैले मृत्युलोकको अवश्य विनाश हुन्छ। बाबा हुनुहुन्छ नै नयाँ दुनियाँको रचयिता। त्यसैले बाबा अवश्य यहाँ नै आउनुपर्छ। अब त विनाश ज्वाला सामुन्ने छ। फेरि बुझ्नेछन्– तपाईंले सत्य भन्नुहुन्छ, अवश्य यो त्यही महाभारत लडाइँ हो। यो प्रसिद्ध छ, त्यसैले अवश्य यस समयमा भगवान पनि हुनुहुन्छ। भगवान कसरी आउनुहुन्छ, यो त तिमीले बताउन सक्छौ। तिमीले सबैलाई बताऊ– हामीलाई त साक्षात भगवानले सम्झाउनुहुन्छ। उहाँ भन्नुहुन्छ– तिमीले मलाई याद गर। सत्ययुगमा त सबै सतोप्रधान हुन्छन्, अहिले तमोप्रधान छन्। अब फेरि सतोप्रधान बनेमा मुक्ति-जीवनमुक्तिमा जान्छौ।

बाबा भन्नुहुन्छ– केवल मेरो यादबाट नै तिमी सतोप्रधान बनेर सतोप्रधान दुनियाँको मालिक बन्छौ। हामी रुहानी पण्डा हौँ, यात्रा गर्छौँ– मनमनाभवको। बाबा आएर ब्राह्मण धर्म, सूर्यवंशी चन्द्रवंशी धर्म स्थापना गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेनौ भने जन्मजन्मान्तरका पापहरूको बोझ उत्रिँदैन। यो सबैभन्दा ठुलो चिन्ता हो। कर्म गर्दा, कामधन्दा गर्दा मेरा आसिक तिमीहरूले म मासुकलाई याद गर। हरेकले आफ्नो पूरा सम्हाल गर्नुपर्छ। बाबालाई याद गर। कुनै पतित काम नगर। घर घरमा बाबाको सन्देश दिइराख– प्राचीन भारतवर्ष स्वर्ग थियो। लक्ष्मीनारायणको राज्य थियो। अहिले नर्क छ। नर्कको विनाशको लागि यो त्यही महाभारत लडाइँ हो। अब देहीअभिमानी बन्नुहोस्। बाबाको फरमान छ– मान्नुहोस् वा नमान्नुहोस्। हामी त आएका छौँ तपाईंहरूलाई सन्देश सुनाउन। बाबाको हुकुम छ– सबैलाई सन्देश सुनाऊ। बाबालाई सोध्छन्– कुन सेवा गरौँ? बाबा भन्नुहुन्छ– सन्देश दिइराख। बाबालाई याद गर, राजधानीलाई याद गर। अन्त मति सो गति हुन्छ। मन्दिरहरूमा जाऊ, गीता पाठशालाहरूमा जाऊ। पछि गएर तिमीसँग धेरै भेट हुँदै जानेछन्। तिमीले देवीदेवता धर्मका आत्माहरूलाई उठाउनु छ।

बाबा सम्झाउनुहुन्छ– धेरै धेरै मीठा बन। नराम्रो चालचलन भयो भने पद भ्रष्ट हुन्छ। कसैलाई दुःख नदेऊ, समय धेरै कम छ। परमप्रिय बाबालाई याद गर, जसबाट स्वर्गको राज्य भाग्य मिल्छ। कसैको मुरली चल्दैन भने सिँढीको चित्रको सामुन्ने बसेर केवल यो विचार गर– यसरी यसरी हामीले जन्म लिन्छौँ, यसरी चक्र घुमिरहन्छ... अनि आफै वाणी खुल्छ। जुन कुरा भित्र आउँछ, त्यो बाहिर अवश्य निस्किन्छ। याद गरेमा हामी पवित्र बन्छौँ र नयाँ दुनियाँमा राज्य गर्छौँ। हाम्रो अहिले चढ्तीकला छ। त्यसैले मनमा खुसी हुनुपर्छ। हामी मुक्तिधाममा गएर फेरि जीवनमुक्तिमा आउँछौँ। यसमा धेरै ठुलो कमाइ छ। बरु कामधन्दा गर– केवल बुद्धिले याद गर। यादको बानी बसाल्नुपर्छ। स्वदर्शन चक्रधारी बन्नु छ। चालचलन नराम्रो भयो भने फेरि धारणा हुँदैन। कसैलाई सम्झाउन सक्दैनौ। कदम अगाडि बढाउने पुरुषार्थ गर्नुपर्छ। पछाडि हट्नु हुँदैन। प्रदर्शनीमा सेवा गर्दा धेरै खुसी मिल्छ। केवल बताउनु छ– बाबा भन्नुहुन्छ, मलाई याद गर। देहधारीहरूलाई याद गरेमा विकर्म बन्छन्। वर्सा दिने म हुँ। म सबैको पिता हुँ। मैले नै आएर तिमीलाई मुक्ति-जीवनमुक्तिमा लैजान्छु। प्रदर्शनी मेलामा सेवा गर्ने धेरै सोख हुनुपर्छ। सेवामा ध्यान दिनुपर्छ। तिमी बच्चाहरू आफैलाई यो विचार आउनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) एक बाबालाई नै पूरा प्रेम गर्नु छ। सबैलाई सच्चा बाटो बताउनु छ। कामधन्दा आदि गर्दा आफ्नो पूरा सम्हाल गर्नु छ। एकको यादमा रहनु छ।

२)सेवा गर्ने धेरै धेरै सोख राख्नु छ। आफ्नो चालचलनलाई सुधार्नु छ, स्वदर्शन चक्रधारी बन्नु छ।

वरदान:–
मेहनत र महानताको साथै रुहानियतको अनुभव गराउने शक्तिशाली सेवाधारी भव

जुनसुकै आत्माहरू तिम्रो सम्पर्कमा आउँछन्, उनीहरूलाई रुहानी शक्तिको अनुभव गराऊ। यस्तो स्थूल एवं सूक्ष्म स्टेज बनाऊ जसबाट आउने आत्माहरूले आफ्नो स्वरूपको र रुहानियतको अनुभव गर्छन्। यस्तो शक्तिशाली सेवा गर्नको लागि सेवाधारी बच्चाहरूले व्यर्थ सङ्कल्प, व्यर्थ वचन, व्यर्थ कर्मको हलचलबाट पर एकाग्रता अर्थात् रुहानियतमा रहने व्रत लिनुपर्छ। यही व्रतबाट ज्ञान सूर्यको चमत्कार देखाउन सक्नेछौ।

स्लोगन:–
बाबा र सबैको दुआको विमानमा उड्नेहरू नै उड्ता योगी हुन्।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

अति पाप आत्मा, अति अपकारी आत्मा, बकुल्लामाथि पनि द्वेष होइन, घृणा होइन, निरादर होइन तर विश्वकल्याणकारी स्थितिमा स्थित भएर रहमदिल बनेर दयाको भावना राख्दै सेवाको सम्बन्ध सम्झेर सेवा गर, जति निराश परिस्थितिमा भएकाको सेवा गर्छौ, त्यति नै पुरस्कारको अधिकारी बन्छौ र प्रख्यात विश्वकल्याणकारी भनिनेछौ। शान्ति स्थापकको पुरस्कार लिनेछौ।