27.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाले जे पढाउनुहुन्छ , त्यसलाई राम्ररी पढ्यौ भने २१ जन्मको लागि आम्दानीको स्रोत हुन्छ , सदा सुखी ब न्नेछौ ।”

प्रश्न:–
तिमी बच्चाहरूको अतीन्द्रिय सुखको गायन किन छ?

उत्तर:–
किनकि तिमी बच्चाहरूले नै यस समयमा बाबालाई चिन्छौ, तिमीले नै बाबाद्वारा सृष्टिको आदि, मध्य, अन्त्यलाई जानेका छौ। तिमी अहिले सङ्गममा बेहदमा उभिएका छौ। तिमीलाई थाहा छ– अहिले हामी यो नुनिलो जलमार्गबाट अमृतको मीठो जलमार्गमा गइरहेका छौँ। हामीलाई स्वयं भगवानले पढाइरहनुभएको छ, यस्तो खुसी ब्राह्मणहरूलाई नै हुन्छ त्यसैले तिमीहरूको नै अतीन्द्रिय सुख गायन गरिएको छ।

ओम् शान्ति ।
रुहानी बेहदका बाबाले बेहदका रुहानी बच्चाहरूलाई सम्झाइरहनुभएको छ– अर्थात् आफ्नो मत दिइरहनुभएको छ। यो त अवश्य जान्दछौ– हामी जीव आत्मा हौँ। तर आफूलाई त आत्मा निश्चय गर्नुछ नि। यो पढाइ हामीले कुनै नयाँ स्कुल पढ्दैनौँ। हर ५ हजार वर्षपछि पढ्दै आएका छौँ। बाबा सोध्नुहुन्छ नि– पहिला कहिल्यै पढ्न आएका थियौ? त्यसपछि सबैले भन्छन्– हामी हर ५ हजार वर्षपछि पुरुषोत्तम सङ्गमयुगमा बाबाको पासमा आउँछौँ। यो त याद होला नि कि यो पनि बिर्सन्छौ? विद्यार्थीलाई स्कुल त अवश्य याद आउँछ नि। लक्ष्य उद्देश्य त एउटै हो। जति पनि बाबाका बच्चाहरू बन्छौ फेरि दुई दिनको बच्चा होस् वा पुरानो होस् तर लक्ष्य उद्देश्य एउटै हो। कसैलाई पनि घाटा हुन सक्दैन। पढाइमा आम्दानी हुन्छ। उनीहरू पनि बसेर ग्रन्थ पढेर सुनाए भने कमाइ हुन्छ, तुरुन्त शरीर निर्वाहका लागि केही आम्दानी निस्कन्छ। साधु बनेर एक दुई शास्त्र बसेर सुनाए भने आम्दानी हुन्छ। अहिले यी सबै आम्दानीका स्रोत (सोर्स अफ इनकम) हुन्। हरेक कुरामा आम्दानी चाहिन्छ नि। पैसा छ भने जहाँसुकै घुमफिर गरेर आऊ। तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई धेरै राम्रो पढाइ पढाउनुहुन्छ जसबाट २१ जन्मको आम्दानी मिल्छ। यो आम्दानी यस्तो हो जसबाट हामी सदा सुखी बन्छौँ। कहिल्यै बिरामी हुँदैनौँ, सदा अमर रहन्छौँ। यो निश्चय गर्नुछ। यसरी यस्तो निश्चय गर्नाले तिमीलाई उल्लास आउँछ। नत्र कुनै न कुनै कुरामा बाधा आइरहन्छ। भित्र भित्रै स्मृति आउनुपर्छ– हामी बेहदका बाबाबाट पढिरहेका छौँ। भगवानुवाच– यो त गीता हो। गीताको पनि युग आउँछ नि। केवल बिर्सेका छन्– यो हो पाँचौँ युग। यो सङ्गम धेरै सानो छ। वास्तवमा चौथाइ पनि भनिँदैन। पर्सेन्टेज लगाउन सकिन्छ। त्यो पनि पछि गएर बाबाले बताउँदै जानुहुन्छ। केही त बाबाले बताउने पनि पहिल्यै निश्चित छ नि। तिमी सबै आत्माहरूको पार्ट पहिल्यै निश्चित छ जुन दोहोरिइरहेको छ। तिमीले जे सिक्छौ त्यो पनि दोहोरिएको हो नि। दोहोरिने कुराको रहस्य तिमी बच्चाहरूलाई थाहा भएको छ। कदम कदममा पार्ट परिवर्तन हुँदै गइरहेको छ। एक सेकेन्ड अर्कोसँग मिल्दैन। जुम्राजस्तै टिक टिक चलिरहन्छ। टिक भयो सेकेन्ड बित्यो। अहिले तिमी बेहदमा उभिएका छौ। अरू कुनै पनि मनुष्य मात्र बेहदमा उभिएका छैनन्। कसैलाई पनि बेहदको अर्थात् आदि-मध्य-अन्त्यको ज्ञान छैन। अहिले तिमीलाई भविष्यको विषयमा पनि थाहा छ। हामी नयाँ दुनियाँमा गइरहेका छौँ। यो हो सङ्गमयुग, जसलाई पार गर्नुछ। नुनिलो जलमार्ग हो नि। यो हो मीठो मीठो अमृतको जलमार्ग। त्यो हो विषको। अहिले तिमी विषको सागरबाट क्षीर सागरमा जान्छौ। यो हो बेहदको कुरा। दुनियाँमा यी कुराहरूको विषयमा केही पनि थाहा छैन। नयाँ कुरा हो नि। यो पनि तिमीलाई थाहा छ– भगवान कसलाई भनिन्छ। उहाँले के पार्ट खेल्नुहुन्छ। टपिकमा पनि बताउँछौ, आउनुभयो भने परमपिता परमात्माको जीवनी तपाईंलाई सम्झाउँछौँ। हुन त बच्चाहरूले पिताको जीवनी सुनाउँछन्। सामन्य कुरा हो। उहाँ त फेरि पिताहरूका पिता हुनुहुन्छ नि। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। अब तिमीले यथार्थ रीतिले बाबाको परिचय दिनुछ। तिमीलाई पनि बाबाले त्यो परिचय दिनुभएको छ त्यसैले त सम्झाउँछौ र त अरू कसैले बेहदका बाबालाई चिन्न सक्दैनन्। तिमीले पनि सङ्गममा नै चिन्छौ। मनुष्य मात्र देवता होस् वा शूद्र होस्, पुण्य आत्मा होस्, पाप आत्मा होस्, कसैले पनि चिन्दैनन् केवल तिमी ब्राह्मण जो सङ्गमयुगमा छौ, तिमीले नै चिनिरहेका छौ। त्यसैले तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। त्यसैले त गायन पनि छ– अतीन्द्रिय सुख सोध्नुछ भने गोप गोपिनीहरूलाई सोध।

बाबा पिता पनि हुनुहुन्छ, टिचर, सदगुरु पनि हुनुहुन्छ, सर्वोच्च शब्द त अवश्य राख्नुछ। कहिलेकाहीँ बच्चाहरूले बिर्सन्छौ। यी सबै कुरा तिमी बच्चाहरूको बुद्धिमा रहनुपर्छ। शिवबाबाको महिमामा यी शब्द अवश्य राख्नुछ। तिमी सिवाय अरू कसैले पनि जान्दैनन्। तिमीले सम्झाउन सक्छौ अर्थात् तिम्रो विजय भयो नि। तिमीलाई थाहा छ– बेहदका बाबा सर्वका शिक्षक, सर्वका सदगतिदाता हुनुहुन्छ। बेहदको सुख, बेहदको ज्ञान दिनेवाला हुनुहुन्छ। फेरि पनि यस्ता बाबालाई बिर्सन्छौ। माया कति समर्थ छ। ईश्वरलाई त समर्थ भनिन्छ नै तर माया पनि कम छैन। तिमी बच्चाहरूले अहिले एक्युरेट जान्दछौ– त्यसको त नाम नै राखिएको छ रावण। रामराज्य र रावण राज्य। यसमा पनि एक्युरेट सम्झाउनुपर्छ। रामराज्य हुन्छ भने अवश्य रावणराज्य पनि हुन्छ। सदैव रामराज्य त हुन सक्दैन। रामराज्य, श्रीकृष्णको राज्य कसले स्थापना गर्नुहुन्छ, यो कुरा बेहदका बाबा बसेर सम्झाउनुहुन्छ। तिमीले भारतवर्षको धेरै महिमा गर्नुपर्छ। भारतवर्ष सचखण्ड थियो, कति महिमा थियो। बनाउनेवाला बाबा नै हुनुहुन्छ। तिम्रो बाबासँग कति लभ छ। लक्ष्य उद्देश्य बुद्धिमा छ। यो पनि तिमीलाई थाहा छ– हामी विद्यार्थीलाई आफ्नो पढाइको नसा हुनुपर्छ। क्यारेक्टरको पनि ख्याल हुनुपर्छ। विवेकले भन्छ– ईश्वरीय पढाइ हो त्यसैले यसमा एक दिन पनि मिस गर्नुहुँदैन र टिचर आएपछि मात्र ढीलो पनि पुग्नुहुँदैन। टिचर आएपछि आउनु यो पनि एक अपमान हो। स्कुलमा पनि पछाडि आए भने उनीहरूलाई टिचरले बाहिर उभ्याइदिन्छन्। बाबाले आफ्नो सानैको उदाहरण पनि बताउनुहुन्छ। हाम्रो टिचर त धेरै कडा हुनुहुन्थ्यो। भित्र आउन पनि दिनुहुन्नथ्यो। यहाँ त धेरै छन् जो ढिलो आउँछन्। सेवा गर्ने सपुत बच्चा अवश्य बाबालाई प्यारा लाग्छन् नि। अहिले तिमीले बुझेका छौ– आदि सनातन देवी देवता धर्म त यो थियो नि। यिनीहरूको धर्म कहिले स्थापना भयो। अलिकति पनि कसैको बुद्धिमा छैन। तिम्रो बुद्धिबाट पनि घरी घरी चिप्लिन्छ। तिमीले अहिले देवी देवता बन्नको लागि पुरुषार्थ गरिरहेका छौ। कसले पढाइरहनुभएको छ? स्वयं परमपिता परमात्माले। तिमीले जान्दछौ– हाम्रो यो ब्राह्मण कुल हो। हाम्रो राजवंश हुँदैन। यो हो सर्वोत्तम ब्राह्मण कुल। बाबा पनि सर्वोत्तम हुनुहुन्छ नि। उच्चभन्दा उच्च हुनुहुन्छ भने अवश्य उहाँको आम्दानी पनि उच्च हुन्छ। उहाँलाई नै श्री श्री भनिन्छ। तिमीलाई पनि श्रेष्ठ बनाउनुहुन्छ। तिमी बच्चाहरूले नै जान्दछौ– हामीलाई श्रेष्ठ बनाउनेवाला को हुनुहुन्छ? अरूले केही पनि जान्दैनन्। तिमीले भन्छौ– हाम्रो बाबा, पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ, पढाइरहनुभएको छ। हामी आत्मा हौँ। हामी आत्माहरूलाई बाबाले स्मृति दिलाउनुभएको छ, तिमीहरू मेरा सन्तान हौ। ब्रदरहुड हो नि। बाबालाई याद पनि गर्छन्। जान्दछन्– उहाँ बाबा निराकारी हुनुहुन्छ भने अवश्य आत्मालाई पनि निराकार नै भन्छन्। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। फेरि पार्ट खेल्छ। मानिसहरूले फेरि आत्माको सट्टा आफ्नो शरीरलाई आत्मा सम्झन्छन्। म आत्मा हुँ, यो बिर्सन्छन्। मैले कहिल्यै बिर्सन्न। तिमी आत्माहरू सबै सालिग्राम हौ। म हुँ परमपिता अर्थात् परम आत्मा। उहाँभन्दा माथि अर्को कुनै नाम छैन। उहाँ परम आत्माको नाम हो शिव। हौ तिमी पनि त्यस्तै आत्मा तर तिमी सबै सालिग्राम हौ। शिवको मन्दिरमा जान्छौ, त्यहाँ पनि धेरै सालिग्राम राख्छन्। शिवको पूजा गर्दा सालिग्रामको पनि सँगसँगै पूजा गर्छन् नि। त्यसैले बाबाले सम्झाउनुभएको थियो– तिम्रो आत्मा र शरीर दुवैको पूजा हुन्छ। मेरो त केवल आत्माको मात्रै पूजा हुन्छ। मेरो शरीर छैन। तिमी कति उच्च बन्छौ। बाबालाई त खुसी हुन्छ नि। पिता गरिब हुन्छ, बच्चाहरू पढेर कति माथि जान्छन्। के बाट के बन्छन्। बाबालाई पनि थाहा छ– तिमी कति उच्च थियौ। अहिले कति अनाथ बनेका छौ, बाबालाई नै चिन्दैनौ। अहिले तिमी बाबाका बनेका छौ त्यसैले सारा विश्वको पनि मालिक बन्छौ।

बाबा भन्नुहुन्छ– मलाई भन्छौ नै– हेभेनली गड फादर अर्थात् स्वर्ग स्थापना गर्ने पिता परमात्मा। यो पनि तिमीलाई थाहा छ– अहिले स्वर्गको स्थापना भइरहेको छ। त्यहाँ के के हुन्छ– यो कुरा तिमी सिवाय अरू कसैको बुद्धिमा छैन। तिम्रो बुद्धिमा छ– हामी विश्वको मालिक थियौँ, अब फेरि बनिरहेका छौँ। प्रजाले पनि यस्तै भन्छन् नि– हामी मालिक हौँ। यी कुरा तिमी बच्चाहरूको बुद्धिमा मात्रै छन् त्यसैले खुसी हुनुपर्छ नि! यी कुरा सुनेर फेरि अरूलाई पनि सुनाउनुछ, त्यसैले सेन्टर वा सङ्ग्रहालय खोलिरहन्छन्। कल्प पहिला जे भएको थियो त्यही भइरहन्छ। सङ्ग्रहालय, सेन्टर आदिको लागि तिमीलाई धेरै ठाउँमा प्रस्ताव (अफर) गर्नेछन्, फेरि धेरै निस्कनेछन्। सबैको हड्डी नरम हुँदै जान्छ अर्थात् सबै सहयोगी बन्दै जानेछन्। अब तिमीले सारा दुनियाँलाई सहयोगी बनाउँदै जानेछौ। तिम्रो योगमा कति जबरजस्त तागत छ। बाबा भन्नुहुन्छ– तिमीमा धेरै तागत छ। तिमीले योगमा रहेर भोजन बनायौ र खुवायौ भने बुद्धि यस ज्ञानतिर खिचिन्छ। भक्तिमार्गमा त गुरुहरूको जुठो पनि खान्छन्। तिमी बच्चाहरूले जान्दछौ– भक्तिमार्गको त धेरै विस्तार छ, त्यसको वर्णन गर्न सकिँदैन। यो बीज त्यो वृक्ष हो। बीजको वर्णन गर्न सकिन्छ। बाँकी कसैलाई रुखका पात गन्ती गर्न भन्यौ भने गर्न सक्दैनन्। अथाह पात हुन्छन्। बीजमा त पातको निसानी देखिँदैन। आश्चर्य छ नि। यसलाई पनि कुदरत भनिन्छ। जीवजन्तु कति अनौठा छन्। अनेक प्रकारका किराहरू छन्, कसरी पैदा हुन्छन्, ड्रामा धेरै आश्चर्यजनक छ, यसलाई नै भनिन्छ प्रकृति। यो पनि बनिबनाउ खेल हो। सत्ययुगमा के के देख्नेछौ। त्यहाँ पनि नयाँ चीजहरू नै हुन्छन्, सबै चीज नयाँ हुन्छन्। मयूरको लागि त बाबाले सम्झाउनुभएको छ– त्यसलाई भारतको राष्ट्रिय चरा भन्छन् किनकि श्रीकृष्णको मुकुटमा मयूरको प्वाँख देखाउँछन्। भाले मयूर र पोथी मयूर सुन्दर पनि हुन्छन्। गर्भ पनि आँसुबाट हुन्छ, त्यसैले भारतमा राष्ट्रिय चरा भन्छन्। यस्ता सुन्दर पक्षीहरू बेलायततिर पनि हुन्छन्। अब तिमी बच्चाहरूलाई सारा सृष्टिको आदि, मध्य, अन्त्यको रहस्य सम्झाइएको छ जुन अरू कसैले जान्दैनन्। भन, हामीले तपाईंलाई परमपिता परमात्माको जीवनी बताउँछौँ। रचयिता हुनुहुन्छ भने अवश्य उहाँको रचना पनि हुन्छ। उहाँको इतिहास भूगोल हामीले जान्दछौँ। उच्चभन्दा उच्च बेहदका बाबाको के पार्ट छ यो हामीले जान्दछौँ, दुनियाँले त केही पनि जान्दैन। यो धेरै फोहोरी दुनियाँ हो। यस समयमा सुन्दरतामा पनि कष्ट छ। हेर बच्चीहरूलाई कसरी कसरी भगाइरहन्छन्। तिमी बच्चाहरूलाई यो विकारी दुनियाँबाट त घृणा हुनुपर्छ। यी फोहोरी दुनियाँ, फोहोरी शरीर हुन्। हामीले त अब बाबालाई याद गरेर आफ्नो आत्मालाई पवित्र बनाउनुछ। हामी सतोप्रधान थियौँ, सुखी थियौँ। अहिले तमोप्रधान बनेका छौँ त्यसैले दुःखी छौँ फेरि सतोप्रधान बन्नुछ। तिमीले चाहन्छौ– हामी पतितबाट पावन बनौँ। गाउँछन् पनि– पतित-पावन तर आफ्नै पतितपनाप्रति कत्ति पनि घृणा आउँदैन। तिमी बच्चाहरूले बुझेका छौ– यो फोहोरी दुनियाँ हो। नयाँ दुनियाँमा हामीलाई शरीर पनि गुल गुल फुलसमान मिल्छ। अहिले हामी अमरपुरीका मालिक बनिरहेका छौँ। तिमी बच्चाहरू सदैव खुसी र हर्षितमुख रहनुपर्छ। तिमीहरू धेरै प्रिय बच्चाहरू (स्विट चिल्ड्रेन) हौ। बाबा ५ हजार वर्षपछि तिनै प्यारा बच्चाहरूसँग आएर मिल्नुहुन्छ। त्यसैले अवश्य खुसी हुन्छ नि। म फेरि आएको छु बच्चाहरूसँग मिल्न। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) हामी ईश्वरीय विद्यार्थी हौँ, त्यसैले पढाइको नसा पनि रहनुछ र आफ्नो क्यारेक्टरमा पनि ध्यान राख्नुछ। एक दिन पनि पढाइ मिस गर्नुछैन। ढिलो क्लासमा आएर टिचरको इन्सल्ट वा अपमान गर्नुछैन।

२) यो विकारी फोहोरी दुनियाँलाई घृणा गर्नुछ, बाबाको यादबाट आफ्नो आत्मालाई पवित्र सतोप्रधान बनाउने पुरुषार्थ गर्नुछ। सदैव खुसी र हर्षितमुख रहनुछ।

वरदान:–
निरास हुनेहरू मा पनि आशा पैदा गर्ने सच्चा परोपकारी , सन्तुष्टमणि भव

त्रिकालदर्शी बनेर हरेक आत्माको कमजोरीलाई परख गरेर, उनीहरूको कमजोरीलाई स्वयंमा धारण गर्ने वा वर्णन गर्नुको सट्टा त्यस्तो कमजोरीरूपी काँडालाई कल्याणकारी स्वरूपले खतम पारिदिनु, काँडालाई फूल बनाइदिनु, स्वयं पनि सन्तुष्टमणिसमान सन्तुष्ट रहनु र सर्वलाई सन्तुष्ट पार्नु, जसप्रति सबैले निराशा देखाउँछन्, त्यस्तो व्यक्ति वा त्यस्तो स्थितिमा सदाको लागि आशाको दियो जगाउनु अर्थात् निराश आत्मालाई सामर्थ्यवान बनाइदिनु– यस्तो श्रेष्ठ कर्तव्य चलिरह्यो भने परोपकारी, सन्तुष्टमणिको वरदान प्राप्त हुन्छ।

स्लोगन:–
परीक्षाको समयमा प्रतिज्ञा याद आयो भने प्रत्यक्षता हुन्छ।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

सारा दिनमा बीच बीचमा एक सेकेन्ड मिल्यो भने पनि बारम्बार यो विदेही बन्ने अभ्यास गरिराख। दुई चार सेकेन्ड निकाले पनि यसबाट धेरै मदत मिल्छ। नत्र सारा दिन बुद्धि चलिरहन्छ, त्यसैले विदेही बन्नमा समय लाग्छ र अभ्यास भयो भने जब चाह्यो त्यही समयमा विदेही बन्छौ किनकि अन्त्यमा सबै अचानक हुनुछ। त्यसैले अचानकको परीक्षामा यो विदेहीपनको अभ्यास धेरै आवश्यक छ।