28.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा कति टाढाबाट तिमीलाई पढाउन आउनुहुन्छ , पढाइको शुल्क पनि लिनुहुन्न , त्यसैले कति प्यारले पढ्नुपर्छ।”

प्रश्न:–
रुहानी सरकारले सारा दुनियाँको लागि यो नि:शुल्क स्कुल खोलेको छ– किन?

उत्तर:–
किनकि सबै अनाथ, टुहुरा बनेका छन्। बाबाले यस्ता गरिब बच्चाहरूबाट के शुल्क लिनुहुन्छ र। यस अन्तिम जन्ममा बाबाले यस्तो पढाइ पढाउनुहुन्छ, जसबाट तिमी विश्वको मालिक बन्छौ। जो नयाँ नयाँ बच्चाहरू पढ्नको लागि आउँछन्, उनीहरूलाई पनि कुनै घाटा हुँदैन। पछाडि आएका भए पनि थोरै मेहनत गरेर पुरानाहरूभन्दा पनि अगाडि जान सक्छन्।

गीत:–
जाग सजनियाँ जाग...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बाबाले भन्नुभयो– यहाँ तिमी बच्चाहरू आत्म अभिमानी भएर बस्नुपर्छ। परमपिता परमात्मा र बच्चाहरू अहिले आएर मिलेका छौँ। यसलाई भनिन्छ यस सृष्टिमा आत्माहरू र परमपिता परमात्माको मेला। यो मेला एकैपटक हुन्छ। आधाकल्प सत्ययुग, त्रेतामा कसैले बोलाउँदै बोलाउँदैनन्। तिमी बच्चाहरू सुखी हुन्छौ, जुन सुख तिमी आत्माहरूले अहिले पाइरहेका छौ। तिमी पहिला सतोप्रधान थियौ, अहिले तमोप्रधान पतित बनेका छौ, फेरि बाबाले पावन बनाउनुहुन्छ। पुजारी बनेपछि दुःखी हुन्छौ। ५ विकारहरूको कारण नै दुःख हुन्छ। जति जति सिँढी ओर्लिंदै जान्छौ, त्यति दुःखी हुँदैजान्छौ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, दुःखका पहाड खस्नेछन्। यस पुरानो दुनियाँको अब विनाश हुनु छ। तिम्रो बुद्धिले जान्दछ– बाबा निराकार हुनुहुन्छ, उहाँ टिचर बनेर हामी सालिग्रामहरूलाई पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म फेरि तिमीहरूलाई विश्वको मालिक बनाउन आएको हुँ। ५ हजार वर्ष पहिला पनि तिमी स्वर्गका मालिक थियौ, याद छ नि। सङ्गममा नै तिमीहरूलाई त्यस्ता बनाएको थिएँ। अहिले फेरि तिमीहरूलाई मनुष्यबाट देवता, वैकुण्ठ स्वर्गका मालिक बनाउन आएको छु। तिमीलाई यो वर्सा दिएको थिएँ, फेरि तिमीले ८४ जन्म लिनुपरेको हो। अहिले तिम्रा ८४ जन्म पूरा भएका छन्। अब म आएको छु, फेरि तिमीले पहिलो नम्बर जन्मबाट सुरु गर्नु छ। म तिम्रो पिताले तिमीलाई पनि पढाउँछु। तर बाबाले पढाएको शुल्क बच्चाहरूबाट लिन्छु र? बच्चाहरूबाट शुल्क कसरी लिन्छु! एक पाई पनि शुल्क लिन्नँ। कति टाढा परमधामबाट आउँछु तिमीलाई पढाउन। यो नोकरी गर्न दिनहुँ आउँछु। कसैको नोकरी कहीँ टाढा रहेछ भने दिनहुँ आउजाउ हुन्छ नि। तिमीलाई थाहा छ, बाबा ज्ञानको सागर हुनुहुन्छ, जसले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। भगवानुवाच– म निराकार परमात्मा हुँ, न कि श्रीकृष्ण। तिमीले जुन श्रीकृष्णलाई भगवान सम्झन्छौ, उनी भगवान हुन सक्दैनन्। उनले त पूरा ८४ जन्म लिन्छन्। भगवानको आफ्नो शरीर हुँदैन। जसरी तिमी आत्मा हौ, उहाँ पनि आत्मा हुनुहुन्छ। तर केवल आत्मा भन्दा त सबैसँग मिल्छ, त्यसैले मलाई परम आत्मा भनिन्छ। ड्रामा प्लान अनुसार म आत्माको नाम शिव हो। म निराकार हुँ। मलाई बोलाउँछन् नै– शिवबाबा भनेर। वास्तवमा मेरो नाम एउटै हो। बाँकी विभिन्न नाम राखिदिएका छन्। मेरो नाम कुनै रुद्र होइन। न श्रीकृष्णले कुनै यज्ञ रचेका हुन्। यो सबै झुटो हो। म नै आएर तिमीलाई सत्य बताउँछु। तिमीलाई सच्चा सच्चा नरबाट नारायण बनाउन म आएको हुँ। मेरो घर धेरै टाढा छ। यहाँ आएर यस शरीरद्वारा तिमीलाई पढाउँछु। दिनभरि यिनमा बस्दिनँ। चक्कर लगाइरहन्छु। मेरो ग्लानि गरेका हुनाले तिमी धेरै दुःखी, घोर पतित बनेका छौ। ब्रह्मालाई पनि कसैले आदिदेव भन्छन्, कसैले एडम भन्छन्, कसैले महावीर भन्छन्, तिमीले प्रजापिता भन्छौ। तिमीले मलाई आधाकल्प याद गरेका हौ, त्यसैले म यस पराई देशमा आउनुपरेको हो। सबै पतित दुःखी छन्। अनाथ छन्। मालिक (धनी-धोरी) कोही छैन। अनाथलाई पढाउनको लागि सरकारले शुल्क लिँदैन। यो त धेरै ठुलो रुहानी सरकार हो। बेहदका बाबालाई कसैले चिन्दैनन्। कति जपतप, दानपुण्य आदि गर्छन्। सोधिन्छ– यो किन गर्छौ? अनि भन्छन्– यसबाट भगवानको समीप पुग्छौँ। कोही जपतप गरेर पुग्छन्, कोही शास्त्र पढेर। बाबा भन्नुहुन्छ– यस्तो त होइन। भक्ति गर्दागर्दा त तिमी झन् पतित बनेका छौ। पखेटा भाँचिएका छन्। तिमी उड्न सक्दैनौ, जबसम्म तिमी आत्मामा ज्ञान घृत पर्दैन। घृत अथवा पेट्रोल खतम भएकाले ज्योति निभ्न लागेको छ। फेरि म आएर भर्छु।

तिमीलाई थाहा छ– बाबा आउनुभएको छ। यहाँ तिमी खुसी हुन्छौ। घरमा गएपछि तिमीले भुल्छौ। तिमीसँग मैले यस पढाइको शुल्क लिन्नँ। तिमीहरूले भन्छौ– यो एक मुठी चामल दिन्छौँ। यो एक मुठी चामल त तिमीले भक्तिमार्गमा दिँदै आएका हौ, जसको प्रतिफल फेरि अर्को जन्ममा मिल्छ। अहिले त तिमीलाई थाहा छ– बाबा सामुन्ने बस्नुभएको छ, नि:शुल्क पढाउनुहुन्छ किनकि उहाँलाई थाहा छ, यिनीहरूसँग छ नै के र। त्यसैले बाबाले तिमीसँगबाट केही लिनुहुन्छ र। त्यो पढाइमा त कति खर्च गर्नुपर्छ। कति परीक्षा पास गर्नुपर्छ। मैले त एउटै पढाइ पढाउँछु। जो स्कुलमा आउँदै जान्छन्, उनीहरूलाई थप्दै जान्छु। हो, जो ढिलो आउँछन्, उनीहरूले केही बढी मेहनत गर्नुपर्छ। त्यसको सट्टा फेरि ढिलो आउनेहरूलाई राम्रा पोइन्ट मिल्छन्। जसले छिटो छिटो पढ्छन्, उनीहरूलाई कुनै घाटा छैन। नयाँ नयाँ राम्रा पोइन्ट मिलेपछि पुरानाहरूभन्दा पनि तीक्ष्ण हुन्छन्। बाबा भन्नुहुन्छ– सुरुमा जो आए, उनीहरूमध्ये कति भागे। राम्रो भयो जो तिमी ढिलो आयौ, त्यसैले फेरि तिमीलाई गुह्यभन्दा गुह्य पोइन्ट मिल्छन्। बाबा भन्नुहुन्छ– जिस्मानी पढाइ पनि पढ। शरीर निर्वाहको लागि कामधन्दा पनि गर, केवल मलाई याद गर र चक्रलाई याद गर। यो भुल्नुहुँदैन। यो त बुझेका छौ नि, अब हाम्रा ८४ जन्महरूको यो अन्तिम जन्म हो।

बाबा सम्झाउनुहुन्छ– मलाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। याद त तिमीले पितालाई पनि गर्छौ, पतिलाई पनि गर्छौ। अब म तिम्रो पतिहरूको पति, पिताहरूको पिता हुँ, टिचर पनि हुँ। म तिम्रो सबैथोक हुँ। सुखदाता हुँ। ती पतित मित्रसम्बन्धी आदिले त तिमीलाई दुःख नै दिन्छन्। सत्ययुगमा कसैले कसैलाई दुःख दिँदैनन्। अब म आएको छु सत्ययुगको राज्य भाग्य दिन। तिमीलाई थाहा छ, यस सङ्गममा नै बाबाबाट हामीले वर्सा लिन्छौँ। अब जति तिमीले पढ्छौ (त्यो तिम्रो कुरा हो)। पढाइ पनि धेरै सहज छ। यो हो नै सहज ज्ञान, सहज याद। मृत्यु पनि सामुन्ने छ। म आएको छु तिमीहरू सबैलाई लैजान, त्यसैले मलाई कालहरूको काल पनि भन्छन्। यो पनि भन्छन्– यिनलाई कालले खायो। कालले शरीरलाई खान्छ, आत्मालाई त खान सक्दैन। आत्माले त एक शरीर छोडेर गएर अर्को लिन्छ। पार्ट खेल्छ। अहिले तिमीलाई थाहा छ, एकै झट्कामा यो सबै खतम हुनेछ, मृत्यु यस्तो हुनु छ जहाँ कोही कसैको लागि रुनेछैन। सबै फर्केर जानु नै छ। रुन्छन् त्यसैले जब पुनर्जन्म फेरि फेरि दुःखको दुनियाँमा नै लिन्छन्। तिमीले बाबालाई बोलाउँछौ पनि यसैकारणले– बाबा हामीलाई हजुर आफैसँग लैजानुहोस्। त्यसैले अब बाबा आउनुभएको छ, जो जति मनुष्य मात्र छन्, सबैलाई लैजानुहुन्छ। विनाश हुँदा सबै मर्नेछन्। कोही रहनेछैन। सरकारले आफ्नो योजना बनाइरहेको छ। मनुष्य सृष्टि त बढ्दै जान्छ। साना साना हाँगाहरूमा पनि कति पातहरू निस्किन्छन्। वृक्ष त बढ्छ नै। तर त्यसको आयु पनि अवश्य हुन्छ। कल्पवृक्षको आयु कुनै लाखौँ वर्ष कहाँ हुन सक्छ र। अहिले बाबाले तिमीलाई पढाइरहनुभएको छ, पूज्य देवीदेवता बनाउनको लागि। सबैभन्दा पहिला बाबा तिमीलाई नै मिल्नुहुन्छ र अरू धर्मवाका आत्माहरू त आउँछन् नै पछाडि। सत्ययुगमा तिमी आउँछौ। पढाउँछु पनि तिमीलाई नै। केवल भन्छु– पावन दुनियाँमा जानु छ भने विकारमा नजाऊ। तैपनि तिमीले किन मान्दैनौ, विषबिना तिमी रहन सक्दैनौ? मेरो मतमा चलेनौ भने उच्च पद पनि पाउँदैनौ। तिम्रो आशा नै थियो कृष्णपुरीमा जाने। त्यसैले श्रीकृष्णको राजधानीमा जान्छौ वा प्रजामा? श्रीकृष्णको साथमा राजकुमार-राजकुमारीले नै खेलपाल गर्नेछन्। प्रजाले कहाँ गर्छन् र। यी मम्मा-बाबाले पनि पढिरहेका छन्। तिमीलाई थाहा छ, यी राधे-कृष्ण स्वयंवरपछि फेरि लक्ष्मीनारायण बन्नेछन्। राज्य भाग्य पाउनेहरूको नै माला बन्छ नि। ८ दानामा आऊ, ८ मा नभए १०८ मा त आऊ। कम्तीमा १६१०८ मा त आऊ। यो हो नै राजयोग। बाबाको श्रीमतमा चल्नुपर्छ। घरका सदस्यहरूलाई पनि सम्झाऊ। बाबाले तिमीलाई सम्झाउनुहुन्छ, अरूलाई सम्झाउनको लागि। पुरानो दुनियाँको विनाश हुनु नै छ। महाभारतको लडाइँ पनि प्रसिद्ध छ जुनबेला भगवान आउनुभएको थियो। भगवानले नै आएर राजयोग सिकाउनुभएको थियो, स्वर्गको स्थापना र नर्कको विनाश भयो, यो समय त्यही हो। फेरि राजधानी स्थापना हुनेछ। सत्ययुगमा अर्को धर्म हुँदैहुँदैन। भारतवर्ष कति शिरताज थियो, कति धनवान् थियो, क्रिस्चियनहरू सबै यहाँबाट नै धनवान् भएका हुन्। सोमनाथको मन्दिरबाट पनि कति मालसामान लगे, ऊँट भरेर। यो त एउटा मन्दिरको कुरा हो। भारतवर्षमा धेरै मन्दिर थिए। बाबाले सारा वृक्षको रहस्य सम्झाउनुहुन्छ। म वीज माथि छु। यो उल्टो वृक्ष हो नि। म ज्ञान सागर हुँ। तिमीले मलाई पुकार्छौ नै– पतितपावन आउनुहोस्। तैपनि भनिदिन्छन्– नाम-रूपबाट न्यारा हुनुहुन्छ। रावणले सबैलाई एकदम बेसमझ बनाइदिएको छ। अब तिमीलाई स्मृति आएको छ, हाम्रो पिता को हुनुहुन्छ। यो चक्र कसरी घुम्छ। सबैको समझ त एउटै हुँदैन। एकको समझ मिल्दैन अर्कोसँग। एकको अनुहार मिल्दैन अर्कोसँग। त्यसैले अब तिमी बच्चाहरू बाबाको बन्नुपर्छ नि। उहाँ पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ भने सद्गुरु पनि हुनुहुन्छ। तिमीलाई थाहा छ, उहाँले केही शुल्क लिनुहुन्न। कौडी खर्च नगरी तिमीलाई २१ जन्मको लागि राज्य भाग्य मिल्छ। तिमीले भक्तिमार्गमा ईश्वरको लागि केही दियौ भने अर्को जन्ममा तिमीलाई मिल्थ्यो। अहिले त म साक्षात आएर विश्वलाई स्वर्ग बनाउँछु। यसमा जे जति खर्च लाग्छ, त्यो बच्चाहरूकै लाग्छ। बच्चाहरूलाई नै भन्छु खर्च गर्नु छ। यी एक ब्रह्मालाई राम्रोसँग समातेँ खर्च गर्नको लागि। यिनमा प्रवेश गरेर यिनीबाट सबै थोक गराएँ। यिनी त तुरून्तै स्वाहा भए। जे जति यिनीसँग थियो, सबै दिए। बाबाले भन्नुभयो– भिखारी बन्यौ भने फेरि यस्तो राजकुमार बनाउँछु, साक्षात्कार गराइदिएँ। ख्याल आयो– अब यिनले के गर्छन्। विनाश हुनु नै छ। बाबाले भन्नुभयो– बाँदरलेजस्तो मुठी बन्द नगर, खोलिदेऊ। तुरून्तै खोलिदिए। नत्र यति धेरै बच्चाहरूको खर्च कसरी चल्थ्यो। बच्चु बादशाह, पीरु वजीर यी भए। एउटैलाई नै पैसाको लागि समातेँ। तिमी बच्चाहरूको भट्ठी बन्नु थियो। स्कुल पनि बनेका थिए। अहिले तिमी होसियार छौ, फेरि अरूलाई पनि पढाउँछौ। तिमीले कतिको कल्याण गर्छौ। बाबा हुनुहुन्छ नै कल्याणकारी, सबैलाई नर्कबाट निकालेर स्वर्गमा लैजानुहुन्छ।

अब जति पुरुषार्थ गर्छौ, त्यति उच्च पद पाउँछौ। प्रजाको लागि पनि प्रदर्शनी आदि गर्ने युक्तिहरू अझै निस्किरहनेछन्। धेरै प्रजा बन्दै जानेछन्। राजारानी त थोरै हुन्छन्। प्रजा त करोडौँको अन्दाजमा हुन्छन् नि। राजारानी त एउटै हुन्छन्। त्यहाँ लडाइँझगडा आदि हुँदैन। बच्चाहरूलाई थाहा छ– अब त मृत्यु सामुन्ने छ। जति योगमा रहन्छौ, त्यति पाप आत्माबाट पुण्य आत्मा बन्छौ, अरू कुनै उपाय छैन। सपुत बच्चाहरूले मातापितालाई अनुसरण गर्छन्। पिता पावन बने, बच्चा बनेन भने ऊ कपुत बच्चा भयो नि। यसमा त नष्टोमोहा बन्नुपर्छ। मेरो त एक शिवबाबा, अर्को कोही छैन। वर्सा पनि उहाँबाट मिल्छ। बाबाबाट नयाँ दुनियाँको वर्सा पाउनु छ, त्यसैले अब पतित नबन। पावन नबनी नयाँ दुनियाँमा जान सक्दैनौ। जन्मजन्मान्तर पाप गरेका छौ, तिनको सजाय भोग्नुपर्छ। जस्तै ६३ जन्मका पापहरूको सजाय मिल्छ। गर्भजेलमा पनि सजाय भोग्छन्। सत्ययुगमा कुनै जेल आदि हुँदैन। त्यो त हो नै स्वर्ग। अब बाबा साधारण तनमा आउनुभएको छ, त्यसैले बाबालाई चिन्दैनन्। बाबासँग योग लगाएमा नै आत्मा पावन बन्छ। बाबा भन्नुहुन्छ– म पतित दुनियाँ, पतित शरीरमा आउँछु, फेरि यिनलाई नम्बर वन पावन बनाउँछु। तत् त्वम्। तिमी पनि पावन बन्छौ। तिमी बाबाका बच्चा बनेका छौ। प्रजापिता ब्रह्माका पनि बच्चा हौ, त्यसैले बापदादा भनिन्छ। बाबा सम्झाउनुहुन्छ– अब समय धेरै कम छ। शरीरको भरोसा छैन। बाबालाई याद गरिराख, स्वदर्शन चक्रधारी बन। दिनभरि यही कुरा ख्याल रहोस्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) पूरा पूरा नष्टोमोहा बन्नु छ। एक शिवबाबा दोस्रो न कोही, यो पाठ पक्का गर्नु छ। सपुत बच्चा बनेर मातापितालाई अनुसरण गर्नु छ।

२) कौडी खर्च नगरी पढाइबाट २१ जन्मको राजाइ मिल्छ, त्यसैले धेरै लगनले पढाइ पढ्नु छ। स्वदर्शन चक्रधारी बन्नु छ।

वरदान:–
सदा आफ्नो श्रेष्ठ भाग्यको नसा र खुसीमा रहने पद्मापद्म भाग्यशाली भव

सारा विश्वमा जति पनि धर्मपिताहरू वा जगद्गुरु भनाउँदाहरू बनेका छन्, कसैलाई पनि मातापिताको सम्बन्धबाट अलौकिक जन्म र पालना प्राप्त हुँदैन। उनीहरूले सपनामा पनि अलौकिक मातापिताको अनुभव गर्न सक्दैनन् र तिमी पद्मापद्मपति श्रेष्ठ आत्माहरू हरेक दिन मातापिताको वा सर्व सम्बन्धहरूको याद-प्यार लिने पात्र हौ। स्वयं सर्वशक्तिमान् बाबा तिमी बच्चाहरूको सेवाधारी बनेर हरेक कदममा साथ निभाउनुहुन्छ, त्यसैले यही श्रेष्ठ भाग्यको नसा र खुसीमा रहने गर।

स्लोगन:–
तन र मनलाई सदा खुसी राख्नको लागि खुसीकै समर्थ सङ्कल्प गर।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

बापदादा सदा श्रीमत दिनुहुन्छ– मनमा हरेक आत्माप्रति शुभभावना र शुभकामना राख, अपकारीमाथि पनि उपकारको वृत्ति राख, यो हो स्वच्छ मन। स्वयंप्रति वा अरूप्रति व्यर्थ सङ्कल्प आउँछ भने यो स्वच्छ मन होइन। स्वच्छ मन, सफा र स्पष्ट बुद्धि भयो भने मात्र डबल लाइट स्थिति बन्न सक्नेछ। बाबासमान स्थिति बनाउने यही सहज उपाय हो।