28.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो भुलभुलैयाको खेल हो , तिमी ले घरी घरी बाबालाई बिर्सन्छौ , निश्चयबुद्धि बन्यौ भने यो खेलमा फस्दैनौ।”

प्रश्न:–
कयामतको समयलाई ध्यानमा राख्दै तिमी बच्चाहरूको कर्तव्य के हो?

उत्तर:–
तिम्रो कर्तव्य हो– आफ्नो पढाइमा राम्ररी लाग्नु, अरू कुरामा जानुहुँदैन। बाबाले तिमीलाई नयनमा बसाएर, गलाको हार बनाएर साथमा लैजानुहुन्छ। बाँकी सबैले त आआफ्नो हिसाबकिताब चुक्ता गरेर जानु नै छ। बाबा आउनुभएको छ सबैलाई आफ्नै साथमा घर लैजान।

गीत:–
दूर देश का रहने वाला...

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ– सारा विश्वमा सबैले शान्ति चाहन्छन्। अब यो त बुझ्नुपर्छ– अवश्य विश्वको मालिकले नै विश्वमा शान्ति स्थापना गर्नुहुन्छ। परमात्मा पितालाई नै पुकार्नुपर्छ– आएर विश्वमा शान्ति फैलाउनुहोस्। कसलाई पुकारौँ त्यो पनि बिचराहरूलाई थाहा छैन। सारा विश्वको कुरा हो नि। सबैले सारा विश्वमा शान्ति चाहन्छन्। तर शान्तिको धाम त अलग छ, जहाँ बाबा र तिमी आत्माहरू रहन्छौ। यो पनि बेहदका बाबाले नै सम्झाउनुहुन्छ। अहिले यो दुनियाँमा त धेरैभन्दा धेरै मानिसहरू छन्, अनेक धर्म छन्। भन्छन्– एक धर्म भयो भने शान्ति हुन्छ। सबै धर्म मिलेर एक त हुन सक्दैनन्। त्रिमूर्तिको महिमा पनि छ। त्रिमूर्तिको चित्र धेरै राख्छन्। यो पनि जान्दछन्– ब्रह्माद्वारा स्थापना। कसको? केवल शान्तिको कहाँ हुन्छ र। शान्ति र सुखको स्थापना हुन्छ। यो भारतवर्षमा नै ५ हजार वर्ष पहिला जब यिनीहरूको राज्य थियो त्यतिबेला अवश्य बाँकी सबै जीव आत्माहरू, जीवलाई छोडेर आफ्नो घर गएका थिए। अब चाहन्छन्– एक धर्म, एक राज्य, एक भाषा। तर तिमी बच्चाहरूलाई थाहा छ– बाबाले सुख, शान्ति, सम्वृद्धिको दुनियाँ स्थापना गरिरहनुभएको छ। एक राज्य पनि अवश्य यहीँ नै हुन्छ नि। एक राज्यको स्थापना भइरहेको छ– यो कुनै नयाँ कुरा होइन। अनेक पटक एक राज्य स्थापना भएको छ। फेरि अनेक धर्महरूको वृद्धि हुँदै हुँदै वृक्ष ठुलो हुन्छ फेरि बाबालाई आउनुपर्छ। आत्माले नै सुन्छ, पढ्छ, आत्मामा नै संस्कार रहन्छन्। हामी आत्माले भिन्न भिन्न शरीर धारण गर्छौं। तिमी बच्चाहरूलाई यसमा निश्चय बुद्धि हुनमा पनि ठुलो मेहनत लाग्छ। भन्छन्– बाबा घरी घरी बिर्सन्छौँ। बाबा सम्झाउनुहुन्छ– यो भुलभुलैयाको खेल हो। यसमा तिमी फसेजस्तै छौ, थाहा छैन– हामी आफ्नो घर अथवा राजधानीमा कसरी जान्छौँ। अब बाबाले सम्झाउनुभएको छ– पहिला केही जान्दैनथ्यौ। आत्मा कति पत्थरबुद्धि बन्छ। भारतवर्षमा नै पत्थरबुद्धि र पारसबुद्धिको गायन छ। पत्थरबुद्धि राजाहरू र पारसबुद्धि राजाहरू यहीँ हुन्छन्। पारसनाथको मन्दिर पनि छ। अहिले तिमीलाई थाहा छ– हामी आत्माहरू कहाँबाट पार्ट खेल्न आएका हौँ। पहिला त केही पनि जान्दैनथ्यौ। यसलाई भनिन्छ काँडाहरूको जङ्गल। यो सारा दुनियाँ काँडाहरूको जङ्गल हो। फूलहरूको बगैँचामा आगो लाग्यो, यस्तो कहिल्यै सुनेका छैनौ होला। सदैव जङ्गलमा आगो लाग्छ। यो पनि जङ्गल हो, यसमा आगो लाग्नुछ अवश्य। भंभोरमा आगो लाग्नुछ। यो सारा दुनियाँलाई नै भंभोर भनिन्छ। अहिले तिमी बच्चाहरूले बाबालाई चिन्यौ। बाबाको सम्मुख बसेका छौ। जुन गाउँथ्यौ– तुम्हीं से बैठूं...। त्यो सबै भइरहेको छ। भगवानुवाच त अवश्य पढ्छौ नि। भगवानुवाच प्यारा बच्चाहरूप्रति नै हुन्छ नि। तिमीलाई थाहा छ– भगवानले पढाउनुहुन्छ। भगवान को हुनुहुन्छ? निराकार शिवलाई नै भगवान भनिन्छ। भगवान शिवको पूजा पनि यहीँ हुन्छ। सत्ययुगमा पूजा आदि हुँदैन। याद पनि गर्दैनन्। भक्तहरूलाई सत्ययुगको राजधानीको फल मिल्छ। तिमीले जान्दछौ– हामीले सबैभन्दा धेरै भक्ति गरेका छौँ त्यसैले हामी नै पहिला सुरुमा बाबाको पासमा आएका छौँ। फेरि हामी नै राजधानीमा आउँछौँ। त्यसैले तिमी बच्चाहरूले पूरा पुरुषार्थ गर्नुपर्छ– नयाँ दुनियाँमा उच्च पद पाउन। बच्चाहरूको दिल हुन्छ– अब हामी छिट्टै नयाँ घरमा जाऊँ। सुरुमा नै नयाँ घर हुन्छ फेरि पुरानो हुँदैजान्छ। घरमा बच्चाहरूको वृद्धि हुँदै जान्छ। पुत्र, नाति, पनाति उनीहरू त पुरानो घरमा आउँछन् नि। भन्छन्– यो हाम्रा बाजे बराजुको घर हो। पछि आउनेहरू पनि धेरै हुन्छन् नि। जति जोडले पुरुषार्थ गर्छौ त्यति पहिला नयाँ घरमा आउँछौ। पुरुषार्थको युक्ति बाबाले धेरै सहजै सम्झाउनुहुन्छ। भक्तिमा पनि पुरुषार्थ गर्छन् नि। धेरै भक्ति गर्नेहरूको नाम प्रसिद्ध हुन्छ। कैयौँ भक्तहरूको हुलाक टिकट पनि निकाल्छन्। ज्ञानमालाको विषयमा त कसैलाई थाहा छैन। पहिला हुन्छ ज्ञान, पछाडि हुन्छ भक्ति। यो तिमी बच्चाहरूको बुद्धिमा छ। आधा समय हुन्छ ज्ञान– सत्ययुग-त्रेता। अहिले तिमी बच्चाहरू ज्ञानवान बन्दै जान्छौ। टिचर सदैव पूरा ज्ञानवान हुन्छन्। विद्यार्थीले नम्बरवार नम्बर पाउँछन्। यहाँ हुनुहुन्छ बेहदका टिचर। तिमी हौ बेहदका विद्यार्थी, विद्यार्थी त नम्बरवार नै पास हुन्छन्। जसरी कल्प पहिला पास भएका थिए। बाबा सम्झाउनुहुन्छ– तिमीले नै ८४ जन्म लिएका छौ। ८४ जन्ममा ८४ टिचर हुन्छन्। पुनर्जन्म त अवश्य लिनु नै छ। पहिला अवश्य सतोप्रधान दुनियाँ हुन्छ फेरि पुरानो तमोप्रधान दुनियाँ हुन्छ। मानिसहरू पनि तमोप्रधान हुन्छन् नि। वृक्ष पनि पहिला नयाँ सतोप्रधान हुन्छ। नयाँ पातहरू धेरै राम्रा राम्रा हुन्छन्। यो त बेहदको वृक्ष हो। धेरै धर्म छन्। तिम्रो बुद्धि अब बेहदतिर जान्छ। वृक्ष कति ठुलो छ। सबैभन्दा पहिला आदि सनातन देवीदेवता धर्म नै हुन्छ। फेरि भेराइटी धर्म आउँछन्। तिमीले नै ८४ भेराइटी जन्म लिएका छौ। ती पनि अविनाशी छन्। तिमीलाई थाहा छ– कल्प कल्प ८४ को चक्र हामी घुमिरहन्छौँ। ८४ को चक्रमा हामी नै आउँछौँ। ८४ लाख जन्म कुनै मनुष्य आत्माले लिँदैन। ती भेराइटी जनावर आदि त धेरै छन्। ती जनावरहरूको कसैले गन्ती पनि गर्न सक्दैन। मनुष्यको आत्माले ८४ जन्म लिएको छ। त्यसैले यो पार्ट खेल्दाखेल्दै एकदम थाकेकाजस्तै छन्। दुःखी बनेका छन्। सिँढी ओर्लंदा सतोप्रधानबाट तमोप्रधान बनेका छन्। बाबाले फेरि तमोप्रधानबाट सतोप्रधान बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म तमोप्रधान शरीर तमोप्रधान दुनियाँमा आएको छु। अहिले सारा दुनियाँ तमोप्रधान छ। मानिसहरूले त त्यत्तिकै भनिदिन्छन्– सारा विश्वमा शान्ति कसरी हुन्छ। बुझ्दैनन्– विश्वमा शान्ति कहिले थियो। बाबा भन्नुहुन्छ– तिम्रो घरमा त चित्र राखेका छौ नि। यिनीहरूको राज्य थियो– त्यतिबेला सारा विश्वमा शान्ति थियो, त्यसलाई स्वर्ग भनिन्छ। नयाँ दुनियाँलाई नै हेभेन, गोल्डेन एज भनिन्छ। अहिले यो पुरानो दुनियाँ परिवर्तन हुनुछ। त्यो राजधानी स्थापना भइरहेको छ। विश्वमा राज्य त यिनीहरूको नै थियो। लक्ष्मी-नारायणका मन्दिरमा धेरै मानिसहरू जान्छन्। यो कहाँ कसैको बुद्धिमा छ र– यिनीहरू नै भारतवर्षका मालिक थिए– यिनीहरूको राज्यमा अवश्य सुख शान्ति थियो। ५ हजार वर्षको कुरा हो– जुनबेला यिनीहरूको राज्य थियो। आधाकल्पपछि पुरानो दुनियाँ भनिन्छ त्यसैले व्यापार गर्नेहरूले खातामा स्वस्तिक लेख्छन् । त्यसको पनि अर्थ छ नि। उनीहरूले त गणेश भनिदिन्छन्। गणेशलाई फेरि विघ्न विनाशक देवता सम्झन्छन्। स्वस्तिकमा पूरा ४ भाग हुन्छन्। यो सबै हो भक्तिमार्ग। अहिले दीपावली मनाउँछन्, वास्तवमा सच्चा सच्चा दीपावली यादको यात्रा नै हो जसबाट आत्माको ज्योति २१ जन्मको लागि बल्छ। धेरै कमाइ हुन्छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। अहिले नयाँ दुनियाँको लागि तिम्रो नयाँ खाता सुरुहुन्छ। २१ जन्मको लागि अहिल्यै खातामा जम्मा गर्नुछ। अब बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ, आफूलाई आत्मा सम्झेर सुनिरहेका छौ। आत्मा सम्झेर सुन्यौ भने खुसी पनि हुन्छ। बाबाले हामीलाई पढाउनुहुन्छ। भगवानुवाच पनि छ नि। भगवान त एउटै हुनुहुन्छ। अवश्य उहाँ आएर शरीर लिनुहुन्छ, त्यसपछि भगवानुवाच भनिन्छ। यो पनि कसैलाई थाहा छैन त्यसैले नेती नेती भन्दै आएका छन्। भन्छन् पनि– उहाँ परमपिता परमात्मा हुनुहुन्छ। फेरि भनिदिन्छन्– हामीले जान्दैनौँ। भन्छन् पनि– शिवबाबा, ब्रह्मालाई पनि बाबा भन्छन्। विष्णुलाई कहिल्यै बाबा भन्दैनन्। प्रजापिता त बाबा हुनुभयो नि। तिमी हौ बी.के., प्रजापिता नाम नभएकाले बुझ्दैनन्। यति धेरै बी.के. छन् भने अवश्य प्रजापिता नै हुनुहुन्छ त्यसैले प्रजापिता शब्द अवश्य राख्नुछ। त्यसपछि बुझ्छन्– प्रजापिता त हाम्रै पिता हुनुभयो। नयाँ सृष्टि अवश्य प्रजापिताद्वारा नै रचिन्छ। हामी आत्माहरू भाइ भाइ हौँ फेरि शरीर धारण गरेर भाइ बहिनी हुन्छौँ। बाबाका बच्चाहरू त अविनाशी छन् फेरि साकारमा भाइ बहिनी हुनुपर्छ। त्यसैले नाम हुन्छ प्रजापिता ब्रह्मा। तर ब्रह्मालाई हामी कसैले याद गर्दैनौँ। याद लौकिकलाई गर्छौं र पारलौकिकलाई गर्छौं। प्रजापिता ब्रह्मालाई कसैले याद गर्दैनन्। दुःखमा बाबाको याद गर्छन्, ब्रह्माको याद गर्दैनन्। हे भगवान भन्छन् , हे ब्रह्मा भन्दैनन्। सुखमा त कसैलाई पनि याद गर्दैनन्। त्यहाँ सुखै सुख हुन्छ। यो पनि कसैलाई थाहा छैन। तिमीलाई थाहा छ– यस समयमा ३ पिता छन्। भक्तिमार्गमा लौकिक र पारलौकिक पितालाई याद गर्छन्। सत्ययुगमा केवल लौकिक पितालाई याद गर्छन्। सङ्गममा तीनै पितालाई याद गर्छन्। लौकिक पिता पनि हुन्छन् तर जान्दछन्– उनी हदका पिता हुन्। उनीबाट हदको वर्सा मिल्छ। अहिले हामीलाई बेहदका बाबा मिल्नुभएको छ जसबाट बेहदको वर्सा मिल्छ। यो समझको कुरा हो। अब बेहदका बाबा ब्रह्माको तनमा आउनुभएको छ, हामी बच्चाहरूलाई बेहदको सुख दिन। उहाँको बनेपछि हामीले बेहदको वर्सा पाउँछौँ। यो मानौँ ब्रह्माद्वारा हजुरबुबाको वर्सा मिल्छ, उहाँ भन्नुहुन्छ– मैले तिमीलाई वर्सा दिन्छु। पढाउँछु मैले। ज्ञान मसँग छ। तर न मानिसहरूमा ज्ञान छ, न देवताहरूमा। ज्ञान छ मसँग। जुन मैले तिमी बच्चाहरूलाई दिन्छु। यो हो रुहानी ज्ञान।

तिमीलाई थाहा छ– रुहानी बाबाद्वारा हामीलाई यो पद मिल्छ। यस्ता यस्ता विचार सागर मन्थन गर्नुपर्छ। गायन छ– मन के जीते जीत, मन से हारे हार... वास्तवमा भन्नुपर्छ– मायामाथि विजय किनकि मनलाई त जितिँदैन। मानिसहरूले भन्छन्– मनलाई शान्ति कसरी हुन्छ? बाबा भन्नुहुन्छ– आत्माले कसरी भन्छ– मनलाई शान्ति चाहियो। आत्मा त शान्तिधाममा नै रहन्छ। आत्मा शरीरमा आएपछि मात्र कार्य गर्न थाल्छ। बाबा भन्नुहुन्छ– अब तिमी स्वधर्ममा टिक, आफूलाई आत्मा सम्झ। आत्माको स्वधर्म हो शान्ति। बाँकी आत्माले शान्ति कहाँबाट खोज्छ। यसमा रानीको हारको पनि दृष्टान्त छ। संन्यासीहरूले दृष्टान्त दिन्छन् अनि फेरि आफै जङ्गलमा गएर शान्ति खोज्छन्। बाबा भन्नुहुन्छ– तिमी आत्माको धर्म नै शान्ति हो। शान्तिधाम तिम्रो घर हो, जहाँबाट तिमी पार्ट खेल्न आउँछौ। फेरि शरीरबाट कर्म गर्नुपर्छ। आत्मा शरीरबाट अलग हुँदा सन्नाटा हुन्छ। आत्माले गएर अर्को शरीर लियो फेरि चिन्ता किन गर्नुपर्छ। फर्केर कहाँ आउँछ र! तर मोहले सताउँछ। त्यहाँ तिमीलाई मोहले सताउँदैन। त्यहाँ ५ विकार हुँदैनन्। रावणराज्य नै हुँदैन। त्यो हो रामराज्य। सदैव रावणराज्य भयो भने फेरि मानिसहरू थाक्छन्। कहिल्यै सुख देख्न सक्दैनन्। अहिले तिमी आस्तिक बनेका छौ र त्रिकालदर्शी पनि बनेका छौ। मानिसहरूले बाबालाई जान्दैनन् त्यसैले नास्तिक भनिन्छ।

अहिले तिमी बच्चाहरूलाई थाहा छ– यी शास्त्र आदि जुन बितेका कुरा भइसकेका छन्, यो सबै हो भक्तिमार्ग। अहिले तिमी छौ ज्ञानमार्गमा। बाबाले तिमी बच्चाहरूलाई कति प्यारले नयनमा बसाएर लैजानुहुन्छ। गलाको हार बनाएर सबैलाई लैजान्छु। पुकार्छन् पनि सबैले। जो काम चितामा बसेर काला भएका छन् उनीहरूलाई ज्ञान चितामा बसाएर, हिसाबकिताब चुक्ता गराएर फर्काएर लैजान्छु। अब तिम्रो काम छ पढ्नुसँग, अरू कुरामा किन जानुपर्छ। कसरी मर्छन्, के हुन्छ... यी कुरामा हामी किन जाऊँ। यो त कयामतको समय हो, हिसाबकिताब चुक्ता गरेर सबै फर्केर जान्छन्। यो बेहदको ड्रामाको रहस्य तिमी बच्चाहरूको बुद्धिमा छ, अरू कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– हामी बाबाको पासमा कल्प कल्प आउँछौँ, बेहदको वर्सा लिन। हामी जीवका आत्मा हौँ। बाबाले पनि देहमा आएर प्रवेश गर्नुभएको छ। बाबा भन्नुहुन्छ– म साधारण तनमा आउँछु, यिनलाई पनि बसेर सम्झाउँछु– तिमीले आफ्नो जन्महरूलाई जान्दैनौ। अरू कसैले यसो भन्न सक्दैन– प्यारा बच्चाहरू! देहीअभिमानी बन, बाबालाई याद गर। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यादको यात्रामा रहेर दिनहुँ सच्चा सच्चा दीपावली मनाउनुछ। आफ्नो नयाँ खातामा २१ जन्मको लागि जम्मा गर्नुछ।

२) ड्रामाको रहस्यलाई बुद्धिमा राखेर पढाइ सिवाय अरू कुनै पनि कुरामा जानुछैन। सबै हिसाबकिताब चुक्ता गर्नुछ।

वरदान:–
रुहानियतको स्थितिद्वारा व्यर्थ कुराको स्टक समाप्त गर्ने खुसीको खजानाले सम्पन्न भव

रुहानियतको स्थितिद्वारा व्यर्थ कुराको स्टकलाई समाप्त गर, नत्र एक अर्काको अवगुणको वर्णन गर्दै बिमारीको किटाणु वायुमण्डलमा फैलाइरहन्छौ, यसबाट वातावरण पावरफुल बन्दैन। तिमीसँग अनेक भावले अनेक आत्माहरू आउँछन् तर ती आत्माहरूले तिमीसँगबाट शुभभावनाका कुरा नै लैजाऊन्। यो कुरा तिमी स्वयंसँग खुसीका कुराको स्टक जम्मा भएपछि मात्रै सम्भव हुन्छ। यदि दिलमा कसैप्रति कुनै व्यर्थ कुरा भयो भने जहाँ कुरा छन् त्यहाँ बाबा हुनुहुन्न, पाप हुन्छ।

स्लोगन:–
स्मृतिको स्विच अन भयो भने मुड अफ हुन सक्दैन।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

जति जो बिजी छ, त्यति नै उसले बीच बीचमा यो अभ्यास गर्नुपर्छ, फेरि सेवामा जुन कहिलेकाहीँ थकाइ लाग्छ, कहिले केही न केही आपसमा हलचल हुन्छ, त्यो हुँदैन। एक सेकेन्डमा न्यारा हुने अभ्यास भयो भने कुनै पनि कुरा हुँदा एक सेकेन्डमा आफ्नो अभ्यासले यी कुराबाट टाढा हुन्छौ। सोच्यौ र भयो। युद्ध गर्नुपर्दैन।