29.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफूलाई आत्मा सम्झेर आत्मासँग कुरा गरेमा फूलमा सुगन्ध आउँदै जान्छ , देह-अभिमान को दुर्गन्ध निस्केर जान्छ।”

प्रश्न:–
आफ्नो सुगन्ध चारैतिर फैलाउने सच्चा फूल वा परवाना (पुतली) को हुन्?

उत्तर:–
सच्चा फूल ती हुन् जसले अनेकौँलाई आफूसमान सुगन्धित फूल बनाउँछन्। श्रीमतमा चलेर शमा (ज्योति) रूपी बाबामाथि जलेर मर्ने अर्थात् पूरा पूरा बलिहार जाने, जीवन छँदै मर्ने सच्चा परवानाहरूको वा यस्ता फूलहरूको सुगन्ध स्वतः चारैतिर फैलिन्छ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
परवानाहरूले गीत सुन्यौ। परवाना भन वा फूल भन कुरा एउटै हो। तिमी बच्चाहरूले जान्दछौ, हामी साँच्चै परवाना बनेका छौँ वा केवल फन्को मारेर जान्छौँ? शमालाई भुल्छन्। हरेकले आफ्नो दिललाई सोध्नुछ– हामी कहाँसम्म फूल बनेका छौँ र ज्ञानको सुगन्ध फैलाउँछौँ? आफूजस्तै फूल कसैलाई बनाएका छौ? यो त बच्चाहरूलाई थाहा छ– बाबा ज्ञानको सागर हुनुहुन्छ, उहाँको कति सुगन्ध छ? जो राम्रा फूल वा परवाना हुन्, उनीहरूको अवश्य राम्रो सुगन्ध आउँछ। उनीहरू सदैव खुसी रहन्छन्, अरूलाई पनि आफूसमान फूल वा परवाना बनाउँछन्। फूल नभए कोपिला बनाउँछन्। पूरा परवाना ती हुन् जो जीवन छँदै मर्छन्। बलि चढ्छन् अथवा ईश्वरीय सन्तान बन्छन्। कुनै धनवानले, कुनै गरिबको बच्चालाई गोद लियो भने उसलाई ती धनवानको गोदमा आएपछि फेरि तिनै आमाबुबा याद आइरहन्छ र गरिब आमाबुबाको याद बिर्सिएर जान्छ। त्यस बच्चालाई थाहा हुन्छ, हाम्रा आमाबुबा गरिब छन् तर याद धनवान आमाबुबालाई गर्छन्, जसबाट धन मिल्छ। साधुसंन्यासीहरू आदि हुन्छन्, उनीहरूले मुक्तिधाममा जाने साधना गर्छन्। सबैले मुक्तिको लागि नै पुरुषार्थ गर्छन् तर मुक्तिको अर्थ कसैले बुझ्दैनन्। कसैले भन्छन् ज्योतिमा ज्योति समाहित हुन्छ। कसैले ठान्छन् पारनिर्वाणधाम जान्छौँ। निर्वाणधाममा जानुलाई ज्योतिमा समाहित हुनु वा मिल्नु भनिँदैन। तिमीले बुझेका छौ– हामी दूर देशका निवासी हौँ। यस विकारी दुनियाँमा बसेर के गर्छौँ। तिमी बच्चाहरूलाई सम्झाइएको छ, कोहीसँग मिल्दा यो कुरा सम्झाउनुपर्छ– यो बनिबनाउ ड्रामा हो। सत्ययुग, त्रेता... फेरि सङ्गमयुग। यो पनि सम्झाइएको छ, सत्ययुगपछि त्रेताको सङ्गम हुन्छ। त्यहाँ युग घुम्छ र यहाँ कल्प घुम्छ। जसरी मानिसहरूले ठान्छन् त्यसरी नै बाबा युग युगमा आउनुहुन्न। बाबा भन्नुहुन्छ– सबै तमोप्रधान बनिसकेपछि कलियुगको अन्त्य हुन्छ, त्यो कल्पको सङ्गममा आउँछु। युग पूरा भएपछि कलाहरू कम हुन्छन्। पूरा ग्रहण लागेपछि म आउँछु। म युग युगमा आउँदिनँ। यो कुरा बाबा बसेर परवानाहरूलाई सम्झाउनुहुन्छ। परवानाहरूमा पनि नम्बरवार छन्। कोही त जलेर मर्छन्, कोही फन्को मारेर जान्छन्। श्रीमतमा तिमी नै चल्न सक्छौ। कहीँ पनि श्रीमतमा चलेनौ भने मायाले पछारिरहन्छ। श्रीमतको धेरै गायन छ। श्रीमत भगवद् गीता भनिन्छ। शास्त्र त पछि बसेर जसले बनाएका हुन्, त्यस समयमा बुद्धि रजो भएको कारणले सम्झछन्– श्रीकृष्ण द्वापरमा आए। आदि सनातन देवीदेवता धर्म प्रायः लोप भएपछि मात्रै म आउँछु। बाँकी सबै धर्म रहन्छन्। यस्तो होइन, ती देवता धर्मका मानिसहरू गुम हुन्छन् तर यो भुल्छन्– हामी देवीदेवता धर्मका थियौँ। आफ्नो धर्म हिन्दु धर्म हो भनिदिन्छन्, यो पनि ड्रामामा पहिल्यै निश्चित छ। यसरी भुलेपछि मात्र फेरि मैले आएर देवीदेवता धर्मको स्थापना गर्छु। उहाँ एक मात्र बाबा हुनुहुन्छ जसले आएर दुःखधामबाट सुखधामको मालिक बनाउनुहुन्छ। तिमीले भन्छौ, अहिले हामी नर्कका मालिक छौँ। दुनियाँलाई तमोप्रधान त बन्नु नै छ। सबै पतित छन् त्यसैले त पावनको अगाडि गएर नमस्कार गर्छन्। अब बाबा भन्नुहुन्छ– श्रीमतमा चल। शिरमा जन्मजन्मान्तरको धेरै बोझ छ। नत्र त्राहि-त्राहि गर्नुपर्नेछ। उनीहरूले त ठान्छन्, आत्मा निर्लेप छ तर होइन, आत्माले नै सुख-दुःख भोग्छ। यो कुरा कसैले बुझ्दैनन्। बाबा बारम्बार सम्झाउनुहुन्छ– लक्ष्य धेरै ठुलो छ। यस समयमा तिमीले पुरुषार्थ गर्छौ किनकि तिमीहरू दुःखी छौ। तिमीलाई थाहा छ, सत्ययुगमा हामी धेरै सुखी हुन्छौँ। त्यहाँ यो कुरा थाहा हुँदैन– हामी फेरि दुःखधाममा जानुछ। हामी सुखमा कसरी आएका हौँ, हामीले यहाँ कति जन्म लिन्छौँ, केही पनि जान्दैनौँ। अहिले तिमीलाई थाहा छ, त्यसोभए उच्च को ठहरियो? तिमी ईश्वरका सन्तान भएको कारण जसरी ईश्वर ज्ञानको सागर हुनुहुन्छ, त्यसरी नै तिमी पनि ज्ञानस्वरूप ठहरियौ। अहिले तिमी ईश्वरीय सन्तान हौ तर नम्बरवार। कोही त धेरै मस्त छन्, तिनीहरूले ठान्छन् हामी बाबाको मतमा चलिरहन्छौँ। जति मतमा चल्छौ त्यति श्रेष्ठ बन्छौ। बाबा सम्मुख बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू देह-अभिमान छोडिदेऊ, देहीअभिमानी बन, निरन्तर याद गर! बाबा त सदैव सुखदाता नै हुनुहुन्छ। यस्तो होइन, दुःख पनि बाबाले नै दिनुहुन्छ। बाबाले बच्चाहरूलाई कहिल्यै दुःख दिनुहुन्न। बच्चाहरूले आफ्नै उल्टो आचरणले दुःख पाउँछन्। बाबाले दुःख दिन सक्नुहुन्न। भन्छन् हे भगवान बच्चा दिनुहोस्! जसले गर्दा कुलवृद्धि हुन्छ। बच्चालाई धेरै प्यार गर्छन्। बाँकी दुःख आफ्नै कर्महरूले गर्दा नै पाउँछन्। अब बाबाले तिमी बच्चाहरूलाई धेरै सुखी बनाउनुहुन्छ। भन्नुहुन्छ श्रीमतमा चल। आसुरी मतमा चलेमा तिमीले दुःख पाउँछौ। तिमी बच्चाहरूले बाबा, टिचर अथवा ठुलाबडाहरूको आज्ञा नमानेमा दुःखी हुन्छौ। दुःखदायी आफै बन्छौ, मायाका बन्न पुग्छौ। अहिले मात्रै तिमीलाई ईश्वरको मत मिल्छ। ईश्वरीय मतको रिजल्ट २१ जन्म चल्छ फेरि आधाकल्प मायाको मतमा चल्छौ। ईश्वरले एकैपटक आएर मत दिनुहुन्छ। मायाले त आधाकल्पदेखि मत दिइरहन्छ। बाबाले एकैपटक मत दिनुहुन्छ। मायाको मतमा चलेर १०० प्रतिशत दुर्भाग्यशाली बन्न पुग्छन्।

जो राम्रा राम्रा फूलहरू छन्, तिनीहरू त्यही खुसीमा सदैव मस्त रहन्छन्। नम्बरवार छन् नि। कुनै परवाना त बाबाको बनेर श्रीमतमा चल्न थाल्छन्। गरिबले नै आफ्नो चार्ट लेख्छन्। धनवानहरूलाई डर लाग्छ– यहाँ हाम्रो पैसा नलिउन्। धनवानहरूको लागि धेरै मुस्किल छ। बाबा भन्नुहुन्छ– म गरिब निवाज हुँ। दान पनि सदैव गरिबहरूलाई नै दिइन्छ। सुदामाको कुरा छ नि– एक मुठी चामल लिएर उनलाई महल दिनुभयो। तिमी हौ गरिब। मानौँ कोहीसँग २५-५० रुपैयाँ छ, त्यसमध्ये २०-२५ पैसा दिन्छ। धनवानले ५० हजार दिए पनि बराबर हुन्छ त्यसैले गरिब निवाज नाम गायन गरिएको छ। धनवान मानिसहरूले पनि भन्छन्, हामीलाई फुर्सत मिल्दैन किनकि तिनीहरूलाई पूरा निश्चय हुँदैन। तिमी हौ गरिब। गरिबहरूलाई धन मिलेपछि खुसी हुन्छ। बाबाले सम्झाउनुभएको छ, यहाँका गरिब त्यहाँ धनवान बन्छन् र यहाँका धनवान त्यहाँ गरिब बन्छन्।

धेरैले भन्छन्, हामीले यज्ञको ख्याल राखौँ कि परिवारको ख्याल राखौँ? बाबा भन्नुहुन्छ– तिमीले आफ्नो परिवारको धेरै राम्रो सम्हाल गर। राम्रो भयो जो तिमी यस समयमा गरिब छौ। धनवान भएको भए बाबाबाट पूरा वर्सा लिन सक्दैनथ्यौ। संन्यासीले यस्तो भन्दैनन्। उनीहरूले त पैसा लिएर आफ्नो सम्पत्ति बनाउँछन्। शिवबाबाले कहाँ त्यसरी सम्पत्ति बनाउनुहुन्छ र! यी भवन आदि सबै तिमी बच्चाहरूले आफ्नो लागि बनाएका हौ। यो कसैको सम्पत्ति होइन, यो त अस्थायी हो किनकि अन्त्य समयमा बच्चाहरू यहाँ आएर बस्नुछ। हाम्रो यादगार पनि यहीँ छ। त्यसैले अन्त्यमा यहाँ आएर विश्राम लिन्छन्। बाबाकहाँ ती बच्चाहरू दौडेर आउँछन् जो योगयुक्त हुन्छन्। उनीहरूलाई मदत पनि मिल्छ। बाबाको धेरै मदत मिल्छ। तिमीले यहाँ बसेर विनाश हेर्नुछ। जसरी सुरुमा बाबाले तिमी बच्चाहरूलाई बहलाउनुभयो फेरि अन्त्यमा बहलाउन सुरु गर्नुहुन्छ। बाबाले धेरै प्यार गर्नुहुन्छ। मानौँ वैकुण्ठमा बसेका छौँ, धेरै नजिक हुँदैजान्छौँ। यो त बुझेका छौ– हामी यात्रामा छौँ। केही समयपछि विनाश हुन्छ। तिमी धेरै खुसी हुन्छौ। बस्, हामी गएर राजकुमार बन्छौँ। किसिम किसिमका फूल छन्। हरेक बच्चाले बुझ्नुपर्छ– मैले कति ज्ञानको सुगन्ध दिइरहेको छु! कसलाई ज्ञान र योगको शिक्षा दिन्छु! जसले यो सेवा गर्छन् उनीहरू भित्र प्रफुल्लित भइरहन्छन्। बाबाले थाहा पाउनुहुन्छ– यिनीहरू कुन अवस्थामा रहन्छन्। यिनीहरूको अवस्थाले कहाँसम्म छलाङ लगाउँछ! छलाङ उनीहरूले लगाउँछन् जो परवाना बनिसकेका हुन्छन्। बाबा सम्झाउनुहुन्छ– मायाका तुफान त धेरै आउँछन्, त्यसबाट आफूलाई बचाउनुछ। अहिले यो राजयोग परमपिता परमात्मा आएर सिकाउनुहुन्छ। परमात्मा आएर आत्माहरूलाई सम्झाउनुहुन्छ। आत्मालाई ज्ञान छ– म आत्माले आफ्नो यस भाइ आत्मालाई सम्झाउँछु। जसरी परमात्मा बाबाले हामी आत्मा बच्चाहरूलाई सम्झाउनुहुन्छ। हामी पनि आत्मा हौँ। बाबाले हामीलाई सिकाउनुहुन्छ, मैले फेरि यी आत्माहरूलाई सम्झाउँछु तर यो आत्मभावको निश्चय नभएका हुनाले आफूलाई मानिस सम्झेर, मानिसलाई नै सम्झाउँछन्। म परम आत्माले तिमी आत्माहरूसँग कुरा गर्छु। तिमीले आत्मालाई सुनाउँछौ। यसरी तिमी देहीअभिमानी भएर कसैलाई सुनायौ भने तुरून्तै त्यो तीर लाग्छ। यदि आफै नै देहीअभिमानी रहन सक्दैनौ भने धारणा गराउन सक्दैनौ। यो धेरै उच्च मन्जिल हो। बुद्धिमा यो कुरा रहनुपर्छ– मैले यी इन्द्रियहरूद्वारा सुन्छु। बाबा भन्नुहुन्छ– मैले आत्माहरू (बच्चाहरू) सँग कुरा गर्छु। बाबाको आदेश छ अशरीरी (नाङ्गो) बन। देह-अभिमान छोड, मलाई याद गर– यो कुरा बुद्धिमा आउनुपर्छ। मैले आत्मासँग कुरा गर्छु, शरीरसँग होइन। चाहे फिमेल हुन्, उनीहरूको पनि आत्मासँग कुरा गर्छु।

तिमी बच्चाहरूले ठान्छौ– हामी बाबाका त बन्यौँ तर होइन, यसमा धेरै सूक्ष्म बुद्धि चल्छ। म आत्मा हुँ, मैले यिनको आत्मालाई सम्झाउँछु। यी हाम्रा भाइ हुन्, यिनलाई बाटो बताउनुछ। आत्माले बुझिरहेको छ। यस्तो सम्झेमा आत्मालाई तीर लाग्छ। देहलाई देखेर ज्ञान सुनायौ भने आत्माले सुन्दैन। पहिला यो सावधानी देऊ– मैले आत्मासँग कुरा गर्छु। आत्मालाई न त मेल, न फिमेल भनिन्छ। आत्मा त न्यारा छ। मेल-फिमेल शरीरको आधारमा भनिन्छ। जस्तै ब्रह्मा-सरस्वतीलाई मेल-फिमेल भनिन्छ। शिवबाबालाई न मेल, न फिमेल भनिन्छ। त्यसैले बाबाले आत्माहरूलाई सम्झाउनुहुन्छ। यो ठुलो मन्जिल हो। प्वाइन्ट धेरै कडा छ। आत्मालाई इन्जेक्सन लगाउनु छ अनि देह-अभिमान टुट्छ। नत्र सुगन्ध आउँदैन, तागत हुँदैन। कुरा धेरै सानो छ। मैले आत्मासँग कुरा गरिरहेको छु। बाबा भन्नुहुन्छ– तिमी फर्केर जानुछ त्यसैले देहीअभिमानी बन। मनमनाभव। फेरि स्वत: मद्याजी भव आइहाल्छ। अहिले तिमीलाई धेरै सूक्ष्म बुद्धि मिल्छ। सबेरै सबेरै बसेर विचार सागर मन्थन गर्नुछ। दिनमा त सेवा गर्नुछ किनकि कर्मयोगी हौँ। लेखिएको पनि छ निद्राजित बन। रातमा जागेर कमाइ गर। दिनमा त मायाको बखेडा हुन्छ। अमृतवेला वायुमण्डल राम्रो हुन्छ। बाबालाई यो त लेख्दैनन्– फलानो टाइममा उठेर विचार सागर मन्थन गर्छौँ। यसमा धेरै मेहनत छ। तिमी विश्वको मालिक बन्छौ। यहाँ त हदका मालिक छौ। पानीको हदमा पनि कति झगडा चलिरहन्छ। दुस्मनी भइरहेको छ। आपसमा एकअर्कालाई भाइ भाइ सम्झँदैनन्। केवल यत्तिकै भनिदिन्छन्– हामी सबै एक हौँ। एक त हुन सक्दैनन्। अनेक आत्माहरू छन्, सबैको आ-आफ्नो पार्ट छ। तिमी यहाँ बसेका छौ। कल्प पहिला पनि बसेका थियौ। पात हल्लियो ड्रामा अनुसार। यस्तो होइन, पात पातलाई परमात्माले हल्लाउनुहुन्छ। यस्ता यस्ता कुराहरू बुझेर फेरि सम्झाऊ। हरेकले बुझ्न सक्छन्– हामी परवाना बनेका छौँ! हामी बाबाको मतमा चलिरहन्छौँ! फालतु कुरा त गर्दैनौँ! कतै आफ्नो पैसा पापतिर त लगाइरहेका छैनौँ? अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) स्वयंलाई आत्मा सम्झेर आत्मासँग कुरा गर्नुछ। देहीअभिमानी बनेर ज्ञान सुन्ने सुनाउने गरेमा धारणा राम्रो हुन्छ।

२) निद्राजित बन्नुछ, रातमा जागेर कमाइ गर्नुछ। विचार सागर मन्थन गर्नुछ। कुनै पनि फालतु कुराहरूमा आफ्नो समय खेर फाल्नुहुँदैन।

वरदान:–
तपस्याद्वारा आफ्ना विकर्महरू वा तमोगुण ी संस्कारहरूलाई भस्म गर्ने तपस्वीमूर्त भव

जसरी अहिले ईश्वरीय पालनाको कर्तव्य चलिरहेको छ, त्यसैगरी अन्त्यमा तपस्याद्वारा आफ्ना विकर्म र हरेक आत्माका तमोगुणी संस्कार वा प्रकृतिको तमोगुणलाई भस्म गर्ने कर्तव्य चल्नेछ। यसको लागि सदा एकरस स्थितिको आसनमा स्थित भएर आफ्नो तपस्वी रूपलाई प्रत्यक्ष गर। तिम्रो हरेक कर्मेन्द्रियबाट देह-अभिमानको त्याग र आत्म अभिमानी बन्ने तपस्या प्रत्यक्ष रूपमा देखियोस्।

स्लोगन:–
संस्कारहरूको टक्करबाट बच्नको लागि बालक र मालिकपनको सन्तुलन राख।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभाव लाई सरल बनाऊ , सहनशील बन ।

बाबालाई भोलानाथ भन्छन् तर यस्तो भोला हुनुहुन्न जसले गर्दा सामना गर्न सक्नुहुन्न। भोलानाथको साथसाथै अलमाइटी अथोरिटी पनि हुनुहुन्छ। तिमी पनि आफ्नो शक्तिस्वरूपलाई भुलेर केवल भोला नबन्नु, नत्र मायाको गोला लाग्छ। यस्तो शक्तिस्वरूप बन जसलाई मायाले सामना गर्नुभन्दा पहिला नै नमस्कार गरोस्। धेरै सावधान, खबरदार होसियार रहनुछ।